सुरुमा मैले जे सोचेको थिएँ, त्यसरी अगाडि जान सकेन

डा.गणेश राई बालरोग विशेषज्ञ हुन् । ३१ वर्षदेखि सरकारी सेवामा लागेका राई पछिल्लो १४ महिनादेखि मुलुकै एकमात्र सरकारी बाल अस्पतालका निर्देशकको जिम्मेवारीमा छन् । स्पष्ट वक्ता एवं इमान्दार चिकित्सकको छवी बनाएका डा.राईसँग निर्देशकको प्रशासनीक जिम्मेवारी सम्हाल्दाका अनुभुति र अस्पताल व्यवस्थापनको अवस्थाबारे हेल्थपोस्ट नेपालका लागि अतिन आचार्यले गरेको कुराकानी ।

तपाईं कान्ति बाल अस्पतालको निर्देशक हुनुभएको एक वर्षभन्दा बढी भयो, जिम्मेवारी आउनुअघि र आइसकेपछि के–के परिवर्तन भएका छन् ?
यो सरकारी अस्पताल हो, पहिलेदेखि नै अप्ठ्यारो अवस्था थियो । म आएर के गरेँ भन्ने रहन्छ होला । म यो अस्पताललाई यहाँ र यतिसम्म लान्छु भनेर आएको भन्दा पनि सिनियरिटीका आधारमा मन्त्रालयले मलाई चलाइदिनपर्यो भनेका कारण आएको हुँ । मलाई एउटा निर्देशक उदाहरणीय बन्नुपर्छ जस्तो लाग्छ । उदाहरणीय कसरी बन्ने त भन्ने कुरा आउन सक्छ । यसमा न्याय कसरी वितरण गर्ने भन्ने कुरा महत्वपूर्ण रहन्छ । समयमा आउने, समयमा जाने मात्र नभएर अहिलेको बेथितिलाई हटाउनुपर्यो नि ! विपन्न नागरिकलाई पनि हामीले सेवा–सुविधा दिने व्यवस्था गर्यौँ ।

सामाजिक एकाइ गठन गर्यौँ । क्यान्सरजस्तो भयानक रोगको उपचारमा सरकारले सहयोग गर्ने व्यवस्था भए पनि त्यसलाई प्रभावकारी बनाउन हामीले अझ परिणाममुखी काम गरेका छौँ । अस्पतालको छाना पनि चुहिने थियो । कान्ति अस्पताल पुरानोे अस्पताल हो र यसको आफ्नै महत्व छ । सँगसँगै यसका आफ्नै कमजोरी पनि छन्, धेरै सुधार गर्नु छ । पुराना संरचनालाई कसरी सुधार गरेर लाने, यसलाई मैले महत्वका साथ हेरेको छु । मैले यो पदमा आएपछि धेरै परिवर्तन गरेको गरेको छु । जस्तै, यहाँका छाना, ट्वाइलेट, धारा खराब थिए । सबै ट्वाइलेटका ढोकाहरू बनाएँ र भूकम्पको वेलामा भत्केका भवनहरूको मर्मत गर्न लगाएको छु । अर्को कुरा यहाँको ठूलो बोरिङ टुटेको थियो, त्यसलाई पनि मर्मत गराएँ । त्यतिखेर हिलो पानी आउँथ्यो, त्यसलाई मर्मत गर्यौँ, अहिले सफा पानी आउँछ । पैसा नभएर पनि मैले आफैँ व्यवस्था गरेको छु, विभिन्न संघसंस्थासित मागेर पनि निर्माण गर्न लगाएको छु ।

अझै बेथिति छन् होला नि ! व्यवस्थापन नमिलेको कि कर्मचारीको मनपरीतन्त्र ?
बेथिति भन्नाले यहाँ धेरै कुरा छन् । बिरामीसँग कसरी कुरा गर्नुपर्छ, त्यो एउटा समस्या । अर्को भनेको समयमा नआउने र समयभन्दा अगाडि जाने प्रवृत्ति । सकारात्मक सोच राख्न पनि सकेका छैनन् । सकारात्मक सोचले पनि बिरामीलाई ठूलो राहत मिल्छ । हामीले केसम्म गर्यौँ भने, यहाँ धेरै समस्या भएका कारण कर्मचारीका लागि उत्प्रेरक कक्षा पनि चलायौँ । कारबाहीभन्दा पनि हामीले प्रोत्साहित गरेका छौँ । पहिलेभन्दा धेरै कर्मचारीको व्यवहारमा सुधार आएको छ, तर म अहिले नै शतप्रतिशत सुधार भएको छ भनेर चाहिँ मान्दिनँ । म सबैजना सुध्रेका छन् भनेर दाबी गर्दिनँ । तर, केही सुधार भने अवश्य आएको छ ।

कस्तो समस्या छ भने, २२ जना बिरामीलाई २ जना नर्सले हेर्छन् । हामीले आइसियुमा ५२ बेड चलाउने भनेकोमा जनशक्ति अभावका कारण ३७ वटा मात्र बेड चलाएका छौँ । हामीसँग सबैभन्दा ठूलो समस्या भनेकै जनशक्ति हो ।

कार्यकारी भएर यो कुर्सीमा बसेको सम्झनुहुन्छ होला, एक वर्षको कार्यकाल पूरा गरिसक्दा कस्तो महसुस हुन्छ ?
यो कुर्सीमा बसेको दिन मलाई पहिले यो ठाउँ मेरा लागि गौरवको विषय हो भन्ने महसुुस भयो । टिम वर्कबाट सुधार हुनेछ भन्ने धेरै आशा लागेको थियो । टिम वर्कले नै मानिसलाई एउटा शक्ति प्रदान गर्छ । कान्ति अस्पतालमा मैले पहिलेदेखि काम गरेको र सबै कर्मचारी चिनेका कारण पनि मलाई सजिलो हुन्छ जस्तो लागेको थियो । धेरै गाह्रो पनि भएन, तर गर्दै बुझ्दै जाँदा धेरै कठिनाइ रहेछन् भन्ने बुझेँ । सुरुमा मैले जे सोचेको थिएँ, त्यसरी अगाडि जान सकेन ।

तपाईंलाई यहाँको मुख्य समस्या के हो जस्तो लाग्छ ?
यहाँका मुख्य समस्यालाई म तीन भागमा बाँड्छु । पहिलो जनशक्ति, दोस्रो भौतिक संरचना, तेस्रो बिरामी परीक्षणमा आवश्यक औजार, सामग्री । यहाँ स्टाफ नर्सको पनि कमी छ । कस्तो समस्या छ भने, २२ जना बिरामीलाई २ जना नर्सले हेर्छन् । हामीले आइसियुमा ५२ बेड चलाउने भनेकोमा जनशक्ति अभावका कारण ३७ वटा मात्र बेड चलाएका छौँ । हामीसँग सबैभन्दा ठूलो समस्या भनेकै जनशक्ति हो । जनशक्तिको कमीकै कारण हामीले यहाँ आएका बिरामीलाई पनि अन्यत्र पठाएका छौँ । यहाँको सिटी स्क्यानले काम गर्दैन, पुरानो राखेर चलाएका छौँ । एक्स रे मेसिनसमेत पुरानो छ, कामै गर्दैन । औजार ठूलो समस्या हो । डिआर एक्स रे मेसिन पनि धेरै महँगो छ, यतिखेर २ करोड पर्न आउँछ । हामीसँग पैसा नभएर पुरानै चलाएका छौँ । अर्को समस्या भौतिक संरचना हो । पल्ला भवनहरु एल्लो र रेड जोन भएकाले हामी यसमा छौँ । प्रशासन भवनका लागि समेत ठाउँ अभाव छ । यी तीनैथोकको व्यवस्था मिलाउन धेरै पैसा चाहिन्छ, त्यसैले हामीले बनाउन सकेका छैनौँ ।

पोहोर २१ करोड ८४ लाख बजेट विनियोजन भएको थियो । यसपटक त झन् बढ्नुपर्ने हो नि, झन् घटेर पो आउँछ, १९ करोड २० लाख मात्र आएको छ । अब भन्नुहोस्, म यो पैसाबाट के किनौँ ? किन्नै नसक्ने अवस्था छ । अर्को समस्या भन्नुपर्दा अहिले ६७ जना कर्मचारी ठेक्काबाट आउँछन् ।

अस्पतालमा कर्मचारीको व्यवस्थापन कसरी गर्नुभएको छ ?
कान्ति बाल अस्पतालमा २ किसिमका कर्मचारी छन्, एउटा स्वास्थ्य मन्त्रालयबाट सरकारी सेवा–सुविधा लिने कर्मचारी र अर्को कान्ति बाल अस्पताल समितिले नियुक्त गरेका कर्मचारी । स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारीको तलब मन्त्रालयले नै उपलब्ध गराउँछ भने अस्पताल विकास समितिले नियुक्त गरेका कर्मचारीको तलब अस्पतालले नै उपलब्ध गराउँछ । अस्पतालले नियुक्त गरेका कर्मचारीलाई तलब खुवाउन अलिक समस्या छ । ती कर्मचारी भएनन् भने अस्पताल बन्द हुन्छ । ५५ प्रतिशत त्यस्ता कर्मचारी छन् । मन्त्रालयका ४५ प्रतिशत मात्र छन् । हामीले ५५ प्रतिशत कर्मचारीलाई तलब खुवाउन भए पनि विभिन्न शीर्षकमा शुल्क लिएका छौँ । उनीहरूको तलबमा करिब–करिब ९० लाखदेखि १ करोडसम्म खर्च हुन्छ । तलब खुवाउन मैले कतिपय अवस्थामा शुल्क बढाएको पनि छु ।

यतिका समस्या छन्, समाधानमा कस्तो पहल गरिरहनुभएको छ त ?
मलाई गणेश राई भनेर जिम्मा दिइएको हो । आज मैले यसलाई कर्मथलोका रूपमा लिएको छु । यसको उन्नति र विकास हुनु भनेको मेरो पनि विकास हुनु हो । यो हिसाबले मैले दुई–तीन किसिमले पहल गरेको छु । एउटा भनेको आफूभन्दा माथिल्लो निकाय मन्त्रालयमा पहल गर्ने हो । बारम्बार मन्त्रीज्यू र सचिव तथा महाशाखाका कर्मचारीहरूसँग म निरन्तर छलफलमा छु र गर्नेछु । सबैलाई मैले समस्याको जानकारी गराएको छु लिखित रुपमै पनि । त्यसबाहेक हामीले बाहिर अन्य संघसंस्थासँग सहकार्य गरिरहेका छौँ । सिविन नामक बालस्वास्थ्यसँग सरोकार राख्ने संस्थाले विदेशीसँग मिलेर मानसिक रोगको उपचारका लागि भवन बनाउने प्रक्रिया अगाडि बढेको छ । त्यही संस्थामार्फत हामीलाई बाल मानसिक रोग विशेषज्ञ पनि दिनुभएको छ । हामीले उहाँहरूलाई तलब दिनुपर्दैन । यसैले बालमनोरोग सेवा दिइरहेको अवस्था छ । अर्को कुरा यहाँको पानी शुद्धीकरण गर्ने मेसिन पनि बिग्रेको थियो । पहिले माडवारी सेवा समितिले बनाइदिएको थियो । बिग्रिएपछि मेरै पहलमा एभरेस्ट बैंकले बनाइदिएको हो । सक्दो सहयोग सरकारसँग माग्ने, नत्र बाहिरका संघसंस्थासँग सहकार्य गरेर भए पनि काम गर्दै छौँ ।

तपाईंको विचारमा कान्ति बाल अस्पताललाई अझ सुधार गर्न के–के आवश्यक छ ?
यो अस्पताललाई अझ व्यवस्थित गर्न थप आइसियु वार्ड सञ्चालन गर्नुपर्छ । त्यसमा पनि दक्ष जनशक्तिको मात्रा बढाउनुपर्छ । सबैभन्दा बढी जरुरी दरबन्दी बढाएर स्टाफ नर्सको संख्या बढाउनुपर्छ । आवश्यक पदपूर्ति, मिलान गनुपर्छ । यहाँ डाक्टरभन्दा पनि सिनियर मेडिकल अफिसरको मिलान हुनुपर्छ । सिनियर लेभलका सर्जनहरूलाई यहाँ खटाउनु आवश्यक छ । त्यसबाहेक पोहोर २१ करोड ८४ लाख बजेट विनियोजन भएको थियो । यसपटक त झन् बढ्नुपर्ने हो नि, झन् घटेर पो आउँछ, १९ करोड २० लाख मात्र आएको छ । अब भन्नुहोस्, म यो पैसाबाट के किनौँ ? किन्नै नसक्ने अवस्था छ । अर्को समस्या भन्नुपर्दा अहिले ६७ जना कर्मचारी ठेक्काबाट आउँछन् । ड्राइभर, सेक्युरिटी गार्ड, सरसफाइका कर्मचारी छन् । यी सबैको व्यवस्थापन होस् जस्तो लाग्छ । यी कर्मचारीलाई तलब खुवाउन गाह्रो छ । सरकारद्वारा नियुक्तलाई केही समस्या छैन, तर ठेक्का विधिबाट आएकालाई तलब खुवाउन धेरै समस्या भएको छ । यसपालि पैसा झन् घटेर पो आएको छ । त्यसैबाट तलब खुवाउनुपर्छ, समस्या छ । पैसा घटेपछि मैले कर्मचारीलाई कसरी तलब खुवाउने ?

आइसियु ५२ बेड चलाउनुपर्ने, तर पैसाको कमीले हाल ३७ बेड मात्र चलेको छ । यो यस्तो अस्पताल हो जहाँ जस्तोसुकै बिरामी आए पनि उपचार पाउने सम्भावना छ । हड्डीको, आँखाको समस्या लिएर आउँछन्, तर हामीसँग पर्याप्त डाक्टर छैनन् । त्यसमा सरकारले पहल गर्नुपर्यो । साधारण उपचार हामी गर्छौं, तर ठूलो उपचारका लागि उहाँहरू चाहिन्छ । नाक, कान, घाँटीमा केही अड्काएर बिरामी आउँछन् । त्यसको उपचार गर्ने दरबन्दी भएर पनि डाक्टर छैनन् । हामीले क्यान्सरको पनि उपचार गरिरहेका छौँ । २४ घन्टा रगत दिनुपर्ने हुन्छ तर कर्मचारी अभाव छ । क्यान्सरको उपचारका लागि प्याथोलोजी डक्टर पनि चाहिन्छ । उसले कुन किसिमको क्यान्सर हो भनेर पत्ता लगाउँछ । तर, हामीसँग त्यस्ता डाक्टर छैनन् ।

दातृनिकाय र विभिन्न संघसंस्थाबाट धेरै सहयोग छ भन्नुहुन्छ, किन काम हुन सकेको छैन ?
तपाईंको कुरा सही हो । तर, ‘रेड टेप’ भन्ने चलन छ नि, यहाँ त्यस्तै चलन छ । टिप्पणी गर्ने चलन धेरै छ । यहाँ तपाईंले अलिकति पनि काम छिटो सक्नुभयो भने र अलिकति तलमाथि भयो भने पनि अख्तियारले निगरानी बढाउँछ । बरु पैसा फर्काइदियो भने सजिलो रहेछ । खर्च नगरे ‘किन काम नगरेको ?’ भनेर कराउँछ । खर्च गर्नेबित्तिकै ‘किन गरिस् ? कसरी गरिस् ? कहाँ लगेर गरिस् ? तेरो कुरा मिलेन’ भनेर प्रश्नमाथि प्रश्न गर्न थाल्छ । गर्न खोज्यो, सबै प्रक्रिया मिलाउँदा महिना बित्छ, सबैै मिलाएर काम गर्नुपर्यो नि त । आर्थिक प्रक्रिया, खरिद प्रक्रिया सबै मिलाउनुपर्यो । खुला प्रतिस्पर्धाद्वारा काम गर्ने प्रक्रिया मिलाउनुपर्यो । मिलाउँदामिलाउँदै अन्तिममा वैशाख–जेठमा पुग्दोरहेछ । यसलाई सहजीकरण गर्न सबैको सहयोग आवश्यक हुँदोरहेछ । प्रक्रियाको नै कमजोरी छ । यहाँ हामीमा नै कमजोरी छ, कर्मचारीमा पनि पुरानो शैलीमा काम गर्ने अवधारणा छ ।

अस्पतालबाट दैनिक उत्पादन हुने फोहोरको व्यवस्थापन कसरी गर्नुभएको छ ?
धेरै राम्रो प्रश्न गर्नुभएको छ । मैले तपाईंलाई यो कुरा भन्नु एकदमै जरुरी ठानेको छु । कान्ति अस्पतालमा फोहोर व्यवस्थापन एकदमै ठूलो समस्याका रूपमा रहेको छ । यहाँ प्रत्येक वडामा कन्टेनर छ । हामीले यहाँको कन्टेनरमा लगेर राख्ने गरेका छौँ । फोहोरको कुरामा चाहिँ यहाँको अवस्था नराम्रो छैन । अस्पतालको पर छुट्टै कन्टेनर पनि छ । हामीले त्यहाँ लगेर राख्छौँ र टिचिङको कन्टेनरमा पनि लगेर राख्ने गरेका छौँ । हप्तामा दुईपटक नगरपालिकाको गाडी आएर लाने गर्छ । अरू फोहोरचाहिँ टिचिङ र कान्तिको सँगसँगै लाने व्यवस्था गरेका छौँ । हाम्रा सरसफाइका कर्मचारीले पनि दिनहँु सफाइको काम गरिरहेका छन् ।

कान्ति बाल अस्पतालले उपलब्ध गराइरहेको विशेषज्ञ सेवा प्रयाप्त छ त ?
अस्पतालमा ३०८ बेड चलिरहेका छन् । यहाँ सबै किसिमका रोगका डाक्टरको दरबन्दी छ । हाम्रो लक्ष्य भनेको बिरामीले चाहेको सुविधा पाऊन् भन्ने नै हो । यसमा हामीले के गरिरहेका छौँ भने मानसिक रोग, मुटुरोग, सुगर, नसासम्बन्धी रोग, बाल दमरोगको पनि हामीले सेवा दिइरहेका छौँ, जुन अहिले विश्वव्यापी रूपमा फैलिरहेको छ । धेरै आवश्यक भएका विशेष पनि पुर्याउन सकेका छैनौं ।

सम्बन्ध सुमधुर बनाउन सबैभन्दा ठूलो कुरा त हामी मानिसमा, अझ भनौँ डाक्टर र बिरामीबीच राम्रो बोलीचाली हुनुपर्छ । उहाँहरूले बोलेर नै समस्या बताउनुपर्छ । धेरै मानिसको बोलचाल नभएका कारण सम्बन्ध बिग्रेको पनि देखेको छु । अस्पतालमा धेरै समस्या आउनुका पछाडि राम्रो बोलचाल नहुनु पनि प्रमुख कारण हो

यहाँ कुन–कुन रोगका बिरामीको बढी चाप छ ?
यहाँ सबैभन्दा बढी बिरामी आउने भनेको नै निमोनियाका हुन् । डायरियाका पनि आउँछन् । अर्को भनेको रगतमा समस्या भएकाहरू आउने गर्छन् । यस्तो समस्याचाहिँ भर्खरै जन्मेको बच्चामा हुने गर्छ । क्यान्सरका बिरामी पनि आउने गर्छन् । त्यस्तै, मुटुरोग वा किड्नीका रोगी पनि निकै आउँछन् । बिरामीको किसिमअनुसार भर पर्छ । कान्ति बाल अस्पताल बालरोगसम्बन्धी नेपालको सबैभन्दा ठूलो अस्पताल हो ।
यहाँ सबैभन्दा बढी बिरामी उपत्यकाबाट आउँछन् । त्यसबाहेक बाहिरबाट पनि ठूलो संख्यामा आउँछन् । झाडापखाला, निमोनिया, रुघाखेकीका बिरामी भने यहीँका बढी हुन्छन् । बाहिरबाट आउने बिरामीहरू त्यहाँ उपचार नभएपछि आउने गर्छन् । जस्तै, क्यान्सर, मुटुरोग, किड्नीको अप्रेसन गर्नुपरेमा, ठूला–ठूला अप्रेसन गर्नुपरेमा बाहिरबाट आउने गर्छन् । बाहिरको अस्पतालमा बच्चाको अप्रेसन कमै हुने भएकाले यहाँ आउँछन् । बाहिरबाट आउने भनेको कडा रोग लिएर आउँछन्, बाहिर उपचार सम्भव नभएर आउँछन् ।

कस्तो हुन्छ भने, क्यान्सरको उपचार गर्न २–३ वर्ष लाग्छ । क्यान्सरको किसिम हेरेर कुन ठिक हुँदैन भन्न सकिन्छ । क्यान्सर पनि ठिक हुन्छ र उपचार विधिबाटै ठिक हुने भइसकेको छ । यो कुरा संसारमा आइसकेको छ । हामीकहाँ आउने क्यान्सरका धेरै बिरामी ठीक भएर गएका छन् । क्यान्सरको उपचार मात्र गरेर हँुदैन, त्यसका लागि सपोर्टिभ पनि चाहिन्छ । हरेक वस्तुमा इन्फेक्सन हुन्छ । अस्पतालमा बिरामी बस्ने ठाउँ र ट्वाइलेट सफा राख्नुपर्यो । बिरामीलाई चाहिने औषधि समयमा उपलब्ध गराउनुपर्यो । रगतको उपलब्धता पर्याप्त हुनुपर्यो । यतिले मात्र नभएर सबै कुरामा सपोर्टिभ हुनुपर्छ जस्तो लाग्छ ।

विपन्न विरामीले केही सहुलियत पाइरहेका छन् ?
गरिबलाई औषधि आउँछ, त्यसलाई हामी वार्डमा लगेर दिन्छौँ । हामीले दिएकोले मात्र पुग्दैन, तर पनि हामीले सक्दो सहयोग गरेका छौँ । हामीले फार्मेसी सञ्चालन गरेका छौँ र क्यान्सरका बिरामीलाई हौसलास्वरूप अझ बढी सहयोग गरेका छौँ । क्यान्सरपीडितलाई सरकारले पनि १ लाख दिएको छ । त्यसबाहेक हामीले फन्ड खोजेर पनि सहयोग पुर्याइरहेका छौँ ।

रातिको समयमा ५२ जना बिरामीलाई २ जना नर्सले हेरिहेका छन् भन्नुहुन्छ, कसरी व्यवस्थापन गरिरहनुुभएको छ ?
डाक्टरले ६–६ घण्टामा सुई दिनु भनेर गएका हुन्छन् । २ जना नर्सले ६–६ घण्टामा बिरामीलाई मिलाएर सुई दिन नभ्याएपछि समय अलिक बढाएर दिन्छ । तलब खुवाउन नसक्दा पनि हामीले आवश्यक जनशक्ति बढाउन सकेका छैनौँ । यो हाम्रो मात्र नभएर राज्यकै समस्या हो । हामीकहाँ साँच्चै भन्नुपर्दा कर्मचारीको नै अभाव छ । बिरामीलाई सेवा दिन मन छ, तर स्टाफ नर्स नै छैनन् ।

पछिल्ला दिनमा डाक्टर र बिरामीको सम्बन्ध बिग्रँदै गएको छ, सम्बन्धन सुमधुर बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ?
सम्बन्ध सुमधुर बनाउन सबैभन्दा ठूलो कुरा त हामी मानिसमा, अझ भनौँ डाक्टर र बिरामीबीच राम्रो बोलीचाली हुनुपर्छ । उहाँहरूले बोलेर नै समस्या बताउनुपर्छ । धेरै मानिसको बोलचाल नभएका कारण सम्बन्ध बिग्रेको पनि देखेको छु । अस्पतालमा धेरै समस्या आउनुका पछाडि राम्रो बोलचाल नहुनु पनि प्रमुख कारण हो । त्यसैले राम्रो काउन्सिलिङको पनि व्यवस्था हुनुपर्छ । डाक्टरले सधैँ राम्रो काउन्सिलिङ दिनुपर्छ जस्तो लाग्छ । मलाई के लाग्छ भने, बिरामी अस्पतालमा रमिता हेर्न आउँदैनन्, उपचारका लागि आउँछन् । त्यसकारण हामी आफैँ बिरामी भएजस्तो गरेर उपचार गर्नुपर्छ । डक्टरले सधैँ बिरामीलाई माया र सम्मान दिनुपर्छ । शुद्ध मनले, सकारात्मक सोच राखेर उपचार गरेको खण्डमा पक्कै पनि डक्टरलाई हेर्ने दृष्टिकोण बदलिन्छ र दुईबीचको सम्बन्ध पनि सुमधुर हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय