बुद्धभूमि नगरका स्वास्थ्यकर्मी आधा वर्षदेखि तलबविहीन

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीहरू ५ महिनादेखि तलबविहीन बनेका छन् । तलब नपाउँदा दैनिकी चलाउन गाह्रो भएको भन्दै नगरअन्तर्गतका १० वटा स्वास्थ्यचौकीका प्रमुखहरू ५७ कर्मचारीको नेतृत्व गर्दै नगरपालिकामा धर्ना दिइरहेका छन् । तलब नपाउने ५७ जनामा स्वास्थ्यकर्मी र प्रशासनतर्फका कार्यालय सहयोगीहरू छन् ।
स्वास्थ्यकर्मीले ९ असोजभित्र तलब उपलब्ध गराउन दबाब दिँदै ५ असोजमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा जेठदेखि हालसम्म तलबभत्ता भुक्तानी नभएको हुँदा ध्यानाकर्षण गरिएको जनाइएको छ । तलबभत्ताको अभावमा दैनिक घरव्यवहार चलाउन निकै कठिनाइ परेको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा बालबालिकाको औषधोपचार, पढाइलेखाइ, नुनतेल, रासनसम्मको कठिनाइले जीवन धान्न मुस्किल परिरहेकाले तलबभत्ता भुक्तानीका लागि अनुरोध गरिएको उल्लेख छ । ज्ञापनपत्रमा १० वटा स्वास्थ्यसंस्थाका प्रमुखका साथै नगरका स्वास्थ्य शाखा संयोजकको समेत हस्ताक्षर छ ।

स्वास्थ्यकर्मीले ज्ञापनपत्रमा दिइएको म्याद सकिएपछि पनि समस्या समाधान नभएपछि उनीहरूले नगरपालिकामा धर्ना सुरु गरेका हुन् । मौखिक तथा लिखित रूपमा राखेका कुरा नगरले नसुनेपछि आफूहरूले दबाबका लागि शान्तिपूर्ण धर्ना दिइरहेको राजपुर स्वास्थ्यचौकी प्रमुख जनकराज अवस्थीले बताए । उनी कार्यरत स्वास्थ्यचौकीका ७ कर्मचारीमध्ये स्वास्थ्य सेवाका ३ कर्मचारीले तलब नपाएको उनको भनाइ छ । स्थानीय तहले करारमा राखेका ४ कर्मचारीले तलब पाएका छन् ।
धनकौली स्वास्थ्यचौकीका प्रमुख सिद्धार्थकाजी वज्राचार्यले पनि तलब नपाउँदा दैनिकी चलाउन अप्ठ्यारो परिरहेको बताए । ‘नगरपालिकाले आश्वासन मात्र दिएको छ,’ वज्राचार्यले भने, ‘आश्वासनले दैनिकी नचल्दोरहेछ, तलब नपाएको आधा वर्ष पुग्न लाग्यो ।’  नगरपालिकाका स्वास्थ्य सहसंयोजक गोकर्ण अर्यालले केन्द्रबाट ससर्त अनुदानमा रकम कम आएका कारण समस्या भएको बताए । पटक–पटक केन्द्रमा जानकारी गराउँदासमेत कागजी प्रक्रियाका कारण थप रकम आउन नसकेको अर्यालले बताए ।
नगरपालिकाको लापरबाहीका कारण आफूहरू तलबविहीन हुनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ । तर, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मेघनाथ पाण्डेले जेठ र असार महिनाको तलब गत आर्थिक वर्षको भएका कारण हिसाबमा समस्या देखिएको बताए । ताकेता गर्दा २९ असारतिर ३० लाख मात्र थप रकम पठाएको र उक्त रकमले तलब दिन नपुगेको पाण्डेको भनाइ छ । उनले २ महिनाको तलबका लागि ३६ लाख अपुग भएकाले त्यसको निकासाका लागि ताकेता गरिरहेको बताए । उनका अनुसार स्वास्थ्यका कर्मचारीका लागि ६० लाख रकम पठाएकोमा त्यसले पनि चाडपर्व खर्चसहितको तलब दिन पुग्दैन । ‘७२ लाख रूपैयाँ लाग्नेमा ६० लाख पठाएको छ,’ पाण्डेले भने, ‘जेठ र असारको तलब जोड्दा ४८ लाख रकम पुग्दैन ।’ संघमा बुझ्दा मंसिरमा मात्र कागजी प्रक्रिया सच्याउन सकिने जानकारी आएको हुँदा चाडपर्व खर्चसमेतको तलब कसरी दिन सकिन्छ भन्ने बाटो आफूहरूले खोजिरहेको पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय