भूकम्प मृतकका ३२ शव अझै अलपत्र, शव राखिएको ठाउँ पनि खोसियो

हेल्थपोस्ट
प्रकाशित
२०७५ असोज १६ गते १८:५०

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा परी मृत्यु भएका मध्ये सनाखत हुन नसकेका ३२ वटा शव गाड्ने ठाउँको समेत अभाव भएको छ । सरकारले शव गाड्ने सुरक्षित ठाउँसमेत उपलब्ध नगराउँदा समस्या भएको छ ।

हालसम्म फरेन्सिक मेडिसिन विभाग महाराजगन्जमा सुरक्षित गाडिएका ती शव नयाँ भवन बनाउनका लागि त्यहाँबाट हटाउनुपर्ने भएपछि फेरि समस्या उत्पन्न भएको हो । आफन्तहरू खोज्न आएमा दिन सकिने तथा डिएनए परीक्षण गरेर चिनिने गरी सुरक्षित रूपमा गाडेर राखिएको ठाउँमा नयाँ भवन बनेसँगै बेवारिसे शव राख्ने स्थानको अभाव भएको हो ।

सनाखत नभएका ३२ शवलाई विभागले आइओएमको खाली जग्गामा सुरक्षित गाडेको थियो । वर्षौंपछि पनि आफन्त खोज्न आए शव दिनुपर्ने भएकाले चिह्न लगाएर व्यवस्थित रूपमा गाडिएको थियो ।

यसअघि शव गाडिएको विभागअगाडिको खाली जग्गामा चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले करिब ६० करोड लागतमा ७ तलाको शैक्षिक भवन बनाउन थालेको छ । विभागका प्राध्यापक डा. हरिहर वस्तीले ३२ शवको व्यवस्थापनमा समस्या भएको बताए । शव व्यवस्थापनका लागि सरकारले जग्गा उपलब्ध गराउन नसक्दा ४२ वर्षदेखि आइओएमको उक्त जग्गामा शवको व्यवस्थापन हुँदै आएको थियो ।

अंग्रेजी अक्षरको एल आकार बनाएर प्रत्येक खाडल पाँच फिट गहिरो खनिएको छ । गाड्दा एक शवले अर्को शवलाई छोएको छैन । १६ शव ठाडो लाइनमा र १६ शव तेर्सो लाइनमा राखेर गाडिएको छ ।

फरेन्सिक विज्ञहरूका अनुसार भूकम्पमा मृत्यु भएकाको शव र बेवारिसे शव जलाउन मिल्दैन । केही समयअघि मात्रै दुई विदेशीको डिएनए रिपोर्ट मिलेको छ । तर, उनीहरू लिन आएका छैनन् ।

डा. वस्तीले शवको व्यवस्थापन कहाँ गर्ने भन्ने आफूहरूलाई जानकारी नभएको बताए । उनले भने, ‘यी शव जलाउन मिल्दैन, कुनै पनि समयमा आफन्तहरू शव खोज्न आउँछन् । हामीले नमुना संकलन गरेर मिलेको खण्डमा दिन सकिने गरी चिह्न लगाएर गाडेका छौँ । अब भवन बन्ने भएपछि अलपत्र परेको छ ।’ भूकम्प गएको ११ महिनापछि अर्थात् ५ चैतमा ३२ शव व्यवस्थित रूपले गाडिएका हुन् ।

यसरी गाडिएका छन् शव

भूकम्पका ३२ शव जुनसुकै समयमा पनि निकाल्न मिल्ने गरी गाडिएका छन् । अंग्रेजी अक्षरको एल आकार बनाएर प्रत्येक खाडल पाँच फिट गहिरो खनिएको छ । गाड्दा एक शवले अर्को शवलाई छोएको छैन । १६ शव ठाडो लाइनमा र १६ शव तेर्सो लाइनमा राखेर गाडिएको छ । हरेक शवसँगै फलामको नम्बर प्लेट राखिएको छ । सहजै पहिचान गर्न जमिनमाथि पनि नम्बर प्लेट राखिएको छ । ‘३२ शवको छुट्टाछुट्टै डिएनए र औँठाछाप ल्याबबाट बनाएर सुरक्षित राखेका छौँ । साथै, कोड नम्बर राखेर व्यवस्थित रूपमा गाडेका छौँ,’ डा. वस्तीले भने, ‘कपडा, वर्ण, उचाइ, लिंग, कुनै औँलाको छापसहितका रेकर्डलाई प्रमाण मानिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय