हाँसेरै सेवा दिन सकिन्छ भने किन नहाँस्ने ?

म लमजुङको गाउँमा जन्मेको मान्छे, तर पढाइका लागि बन्दीपुर बस्थेँ । मेलै एसएलसीसम्मको पढाइ गाउँकै स्कुलबाट पूरा गरेँ । त्यसवेला नर्सिङ पेसामा आबद्ध दिदीहरूको कामप्रतिको समर्पण र सक्रियताले मलाई नर्सिङ पढ्न प्रेरणा प्रदान ग¥यो ।

मेरो परिवारमा ३ दिदीबहिनी र २ दाजुभाइ, म सानै छँदा आमाले ‘तिमी मोटी–मोटीखालकी छ्यौ, डाक्टर बन्न सुहाउँदोखालको जिउडालछ तिम्रो’ भन्नुहुन्थ्यो । बच्चावेलामा डाक्टर को हो ? स्वास्थ्यकर्मीले कसरी बिरामीको सेवा गर्छन् भन्ने थाहा नपाए पनि मेरो दिमागमा भने म स्वास्थ्य क्षेत्रमा नै लाग्नुपर्छ, त्यसैमा करियर बनाउनुपर्छ भन्ने लाग्यो ।

त्यतिवेला छोरीलाई शिक्षाको खासै आवश्यकता छैन भन्ने मानसिकता आमअभिभावकको थियो । अभिभावकको समर्थनविनै म काठमाडौं पढ्न आएँ । मैले मामाको सहयोगमा नर्सिङ अध्ययनका लागि आवेदन दिएँ । त्यसमा नाम निस्किँदा ज्यादै खुसी लाग्यो । काठमाडौंमा मामाघरमा बसेर मैले नर्सिङ पढ्न सुरु गरेँ । मेरा लागि मामा सधैँ प्रेरणाको स्रोत हुनुहुन्छ । पढाइको सुरुवातदेखि जागिर खानेवेलासम्म निरन्तर उहाँले मलाई सहयोग गर्नुभयो । म गाउँकी केटी भएकाले बाहिरी वातावरणमा त्यतिसारो घुलमिल हुन सक्दिनथेँ । मामाले नै मलाई धेरै विषयको जानकारी लिँदै अगाडि बढ्न निरन्तर हौसला दिनुभयो ।

पढाइ सम्पन्न भएको भोलिपल्टै म रोजगारीको खाेजीमा वीर अस्पताल गएँ । त्यतिवेला मेरो भेट प्राध्यापक अञ्जनकुमारसँग भयो । उहाँले नै वीर अस्पतालमा काम लगाइदिनुभयो । त्यतिवेला नर्सिङ पढ्नेको संख्या एकदमै कम हुने भएकाले पनि मैले सजिलै काम पाइहालेँ ।

पढ्न सुरु गर्नुअघि नर्सिङ नपढे हुन्थ्यो भन्ने आमाबुबाको चाहना भए पनि पढ्न सुरु गरेपश्चात् भने उहाँहरूले मेरो पढाइमा सहयोग नै गर्नुभयो । मेरा सहपाठी साथीहरू प्रायः पूर्वतिरका थिए । म उनीहरूको तुलनामा अतिरिक्त क्रियाकलापमा त्यति अगाडि थिइन । बिस्तारै उनीहरूले मलाई प्रत्येक क्रियाकलापमा अगाडि प्रेरित गरे । म हल्का अन्तर्मुखी स्वभावको भएकाले साथीहरूसँग घुलमिल हुन धेरै समय लाग्यो । पछि म बोलेको देखेर साथीहरूले ‘तिम्रो पनि मुख रहेछ त’ बनेर हाँसिमजाकसमेत गर्ने गर्थे ।

०३६ मा सुरु भएको मेरो नर्सिङ ०४० मा सम्पन्न भयो । त्यतिवेला पञ्चायतविरुद्धको आन्दोलन व्यापक रूपमा चलेको हुनाले पढाइ केही लम्बियो । पढाइ सम्पन्न भएको भोलिपल्टै म रोजगारीको खेजीमा वीर अस्पताल गएँ । त्यतिवेला मेरो भेट प्राध्यापक अञ्जनकुमारसँग भयो । उहाँले नै वीर अस्पतालमा काम लगाइदिनुभयो । त्यतिवेला नर्सिङ पढ्नेको संख्या एकदमै कम हुने भएकाले पनि मैले सजिलै काम पाइहालेँ । उहाँसँगको भेटको भोलिपल्टदेखि नै मैले वीर अस्पतालमा नर्सको रूपमा काम गर्न सुरु गरेँ । त्यतिवेला मेरो मासिक तलब ४०० रूपैयाँ थियो । मेरो बसाइ महाबौद्धमा थियो । त्यहाँबाट वीर अस्पताल नजिकै भएकाले मलाई काम गर्न सजिलो भयो ।

त्यतिवेला वीर अस्पतालमा आइसियुमा काम गर्ने नर्स आवश्यकता रहेछ । मलाई आइसियुबारे आधारभूत जानकारीसमेत थिएन । काम गर्दै जानेक्रममा मैले आइसियुबारे जानकारी लिएँ । वीर अस्पतालमै कार्यरत हुँदा त्रिवि अस्पतालमा केही नर्सका लागि आवेदन खुल्यो । मलाई मामाले त्रिविमा आवेदन गर्न भन्नुभयो । मैले अन्तिम दिन आवेदन दिएँ । फर्म भरेको केही समयमै नतिजा प्रकाशन भयो, जसमा म सफल भएँ । २०४० जेठदेखि म त्रिवि शिक्षण अस्पतालमा कार्यरत छु । अस्पतालको स्थापना ०४० मा भए पनि यहाँ अन्तरंग र प्रसूति सेवाको विस्तार भने ०४२ मा मात्रै भएकाले मलाई त्रिविबाट वीर अस्पतालमै काजमा पठाइयो । मलाई वीर अस्पतालमा आइसियुका लागि पठाइएको थियो ।

नर्सिङ पेसामा आबद्ध भएपश्चात् विभिन्न वर्ग तथा क्षेत्रका मानिसहरूसँग घुलमिल भएपछि अन्तर्मुखी स्वभावकी म धेरै बोल्ने बनेँ । कतिपय मान्छेलाई पेसाले पनि परिवर्तन गराउँदोरहेछ भन्ने मेरो व्यक्तिगत अनुभव छ । मलाई नर्सिङ पेसा एकदमै रमाइलो र मर्यादित लाग्छ । पारिवारिक समर्थन भएको खण्डमा यो पेसा सोचेभन्दा धेरै रमाइलो छ । पारिवारिक समर्थन भएकाले मेरो पेसागत करिअरमा कुनै कठिनाइ आएको छैन । विवाहपश्चात् पनि मेरो परिवारले मलाई सधैँ समर्थन दिइ नै रहनुभएको छ । विवाहअघि मेरा मामाले तथा विवाहपश्चात् मेरो सम्पूर्ण परिवारले मलाई पेसागत करिअर विकासमा सधैँ साथ र सहयोग प्रदान गरि नै रहनुभयो । विशेषगरी सासूआमा मेरो नर्सिङ करिअरप्रति सधैँ सकारात्मक देखिनुभयो । पेसामा आबद्ध भएको यति लामो समयमा पेसाका कारण मैले कुनै पारिवारिक कठिनाइको सामना गर्नुपरेको छैन । यही सकारात्मक प्रभावका कारण मेरी छोरी पनि हाल नर्स नै छिन् । हाल उनी अस्ट्रेलियामा नर्सकै रूपमा कार्यरत छिन् ।

नर्सले बिरामीलाई एकदमै सकारात्मक भएर डिल गर्नुपर्ने हुन्छ । व्यक्तिगत तथा पारिवारिक चिन्ता बिरामीलाई देखाउनुहुँदैन ।

कतिपय अवस्थामा नर्सिङ पेसा चुनौतीपूर्णसमेत देखिन्छ । अझ सहनर्सिङ निर्देशक भएर काम गर्न झन् चुनौतीपूर्ण छ । व्यवस्थापकीय भूमिका निर्वाह गर्दा चुनौती हुन्छ नै । कतिपय अवस्थामा २४ घण्टै बिरामीसँगको प्रत्यक्ष सम्पर्कमा रहने नर्स र बिरामीबीचको सम्बन्ध सोचेजस्तो राम्रो नहुन पनि सक्छ । बिरामीलाई हाँसी–हाँसी घर पठाउन पाउँदा मलाई औधी खुसी लाग्छ ।

हामीकहाँ नयाँ आउने नर्सहरूलाई ओरिएन्टेसन कक्षाको व्यवस्था गरिएको हुँदा उनीहरू समेत पेसाप्रति जिम्मेवार नै रहेको मेरो बुझाइ छ । उनीहरूले हाँसी–हाँसी जवाफदेही सेवा दिने गरेका छन् । कतिपय अवस्थामा सामान्य सरसफाइका ज्ञानसमेत नभएका बिरामी अस्पतालमा आउने भएकाले उनीहरूमा जनचेतना दिने दायित्व नर्सकै हुन्छ । नर्सले बिरामीलाई एकदमै सकारात्मक भएर डिल गर्नुपर्ने हुन्छ । व्यक्तिगत तथा पारिवारिक चिन्ता बिरामीलाई देखाउनुहुँदैन । सकेसम्म आफ्नो व्यक्तिगत कारणले बिरामीको उपचारमा प्रभाव पार्नुहुँदैन भन्ने मलाई लाग्छ । कतिपय विनाकारण समस्या दिनेखालमा मानिससमेत अस्पतालमा नआउनेचाहिँ होइनन् । उनीहरूमा पनि सकारात्मक परिवर्तन ल्याउन सक्ने क्षमता नर्समा हुनु आवश्यक छ । पछिल्लो समय हाम्रो विभागमा भने त्यस्तोखाले समस्या देखिएको छैन । सकेसम्म हाँसेरै सेवा दिन सकिन्छ भने किन नहाँस्ने भन्ने मेरो विचार हो । हाँसेको पैसा त तिर्नुपर्दैन नि !

(प्रस्तुतिः लक्ष्मी चौलागाईं)

One thought on “हाँसेरै सेवा दिन सकिन्छ भने किन नहाँस्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय