दश चर्चित वलिउड स्टार जसलार्इ मुटुराेगले लग्याे

हेल्थपोस्ट
प्रकाशित
२०७५ असोज १३ गते १२:३५

हृदयाघात विश्वभर नै एक खतरनाक मृत्युको कारणमध्ये पर्छ । विश्वमा हुने मृत्युमध्ये एकतिहाइ अर्थात् मुटुरोग विश्वमा हुने मृत्युका कारणमध्ये एक नम्बरमा पर्छ । पछिल्लो समय मानिसको परिवर्तित जीवनशैलीले यसमा थप चुनौती सिर्जना गरेको छ । भारतीय फिल्म इन्डस्ट्रीका बहुचर्चित सेलेब्रिटीहरु मुटुरोगको सिकार बन्न पुगेका थिए ।
चर्चित भारतीय सेलेब्रेटी जो मुटुरोगका कारण जीवन गुमाउन पुगे, उनीहरुको जीवन जिउनेशैली नै रोगको प्रमुख कारक मानिएको छ ।

१. देव आनन्द


एभरग्रिन भर्सटाइल अभिनेता देव आनन्द भारतीय सिनेजगत्का पिलर नै मानिन्थे । गाइड, कालापानीलगायत १ सय १४ सिनेमा खेलेका उनको २०११ मा लन्डनमा ८८ वर्षको उमेरमा हृदयाघातका कारण मृत्यु भएको भनिएको छ । मृत्यु हुँदा उनी नियमित स्वास्थ्य परीक्षणको पर्खाइमा थिए ।

 

२. विनोद मेहरा


आफ्नो समयमा सर्वाधिक ह्यान्डसम मानिएका नायक विनोद मेहरा स्क्रिनबाहिर र भित्र उत्तिकै चार्मिङ व्यक्तित्व मानिन्थे । सयभन्दा बढी चलचित्रमा खेलेका मेहरा उत्कृष्ट अभिनय गर्ने नायकका रुपमा चित्रित थिए । तर, मुटुरोगले ४५ वर्षको कलिलो उमेरमै उनलाई लग्यो । १९९० मा उनलाई हृदयाघात भएको थियो ।

३. रिमा लागू


आमाको भूमिकामा सशक्त अभिनय गरी सर्वाधिक सफल बनेकी रिमा लागू सबैको मनमुटुमा बस्न सफल चरित्रअभिनेत्री हुन् । मैने प्यार किया, हम आपके हे कौन, हम साथ साथ हैँ जस्ता सफल चलचित्रमार्फत वास्तविक पारिवारिक जीवनलाई स्क्रिनमा उतार्न सफल लागूले टेलिभिजन सुटिङका क्रममा हृदयाघातका कारण मृत्युवरण गरिन् । मृत्युको मुखमा पनि पूर्णतः सक्रिय लागूको मृत्यु बलिउड जगत्मा आश्चर्यको विषय बनेको थियो ।

४. ओम पुरी


बलिउडमा मात्र नभएर हलिउडमा समेत आफ्नो अभिनयका कारण छाउन सफल ओम पुरी भारतीय सिनेजगत्का गहना थिए । उनी आफ्नो जीवनकालभर चुनौतीपूर्ण अभिनय गर्ने अभिनेताका रुपमा चिनिन्छन् । विश्व सिनेजगत्मा उनले पुर्याएको योगदानको कदरस्वरुप उनलाई एकेडेमी अवार्डद्वारा सम्मान गरिएको थियो । ६ जनवरी ०१७ मा हृदयाघातका कारण उनले आफ्नै निवासमा ज्यान गुमाउन पुगे ।

५. इन्दर कुमार


इन्देर कुमार एक यस्ता कलाकारमध्ये पर्छन्, जो अल्पायुमै जीवन गुमाउन पुगे । उनको मृत्यु २८ जुलाई ०१७ मा हार्ट फेलरका कारण भयो । उनले थुप्रै हिन्दी फिल्ममा सहायक भूमिका र अन्य धेरै भाषाका चलचित्र खेलेका थिए । वान्टेड, कहीँ प्यार ना हो जाए, तुमको ना भुल पाएंगे आदि उनका बिर्सनै नसकिने चलचित्र हुन् ।

६. रज्जाक खान


खान भिन्न हास्यपात्रका रुपमा चर्चित थिए । उनले गोविन्दासित धेरै अभिनय गरे । ‘गोल्डेन भाइ’ उपनामले चर्चित रज्जाकको २०१६ मा कार्डियाक अरेस्टका कारण मृत्यु भयो ।

७. फारुक सेख

फारुक चर्चित अभिनेता तथा टेलिभिजन प्रस्तोता थिए । उनले थुप्रै भारतीय चलचित्रमा अभिनय गर्नुका साथै चर्चित टेलिभिजन सिरिजहरु चलाएका थिए । ‘जिना इसिका नाम’ नामक टेलिसिरियलले चर्चित थिए । उनको होलिडे मनाउने क्रममा दुबईमा हृदयाघातका कारण मृत्यु भएको खवर सबैका लागि आश्चर्य बनेको थियो ।

८. विवेक सौक


विवेक उनको हास्यचरित्रका साथै गायनका कारण चर्चित थिए । जसपाल वात्ती र विवेकको जोडी बलिउडमा सबैभन्दा बढी चर्चित हास्यपात्रका रुपमा चिनिन्छ । ११ जनवरी ०११ मा हृदयाघातका कारण उनको मृत्यु भयो । उनी ऐतराज, ३६ चाइना टाउन, गदर–एक प्रेम कथालगायत चलचित्रबाट चर्चित थिए ।

९. श्रीदेवी


भारतमा मात्र होइन, विश्वभर धैरै मानिसको मुटुको ढुकढुकी बन्न सफल अभिनेत्री श्रीदेवीको मृत्यु पनि हृदयाघातका कारण भएको भनिएको छ । उनको आकस्मिक मृत्युले बलिउड जगत्का लागि ठूलो क्षति मात्र भएन, सम्पूर्ण फिल्म पारखीका लागि स्तब्ध बनाएको थियो । उनी कडा हृदयाघातको सिकार बन्न पुगिन् । २४ फेब्रुअरी ०१८ मा दुबईमा मोहित मारवाहको वैवाहिक समारोहमा सरिक हुन गएका वेला उनको हृदयाघातका कारण मृत्यु भएको थियो ।

१०. देवेन बर्मा


बलिउडले गर्व गर्नलायक एक उत्तम कमेडियन देवेन बर्मा २०१४ मा भारतको पुनेमा हृदयाघातका कारण मृत्युवरण गर्न पुगेका थिए । उनले बलिउडमा धेरै सम्झनलायक चलचित्रमा अभिनय गरेका छन् । अंगुर, चोरी मेरा काम, अन्दाज अपना अपना, चोरके घर चोर उनका सम्झनलायक चलचित्र हुन् । उनले हास्यअभिनयका कारण थुप्रै अवार्ड जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय