आँखा उपचारको अन्तर्राष्ट्रिय गन्तव्य बन्यो नेपाल,उपचार गराउनेमा विदेशी दोब्बर

लक्ष्मी चौलागाईं
प्रकाशित
२०७५ असोज ९ गते ९:४१

नक्सामा एचले हाइलाइट गरिएका क्षेत्र उपचार सुविधा उपलब्धभएका ठाउँ हुन्।

नेपालमा आँखाको शल्यक्रिया गराउनेमा नेपालीभन्दा विदेशी नागरिक बढी भएको नेपाल नेत्रज्योति संघको पछिल्लो तथ्यांकले देखाएको छ । नेपालमा आँखाको शल्यक्रिया तथा उपचार एकदमै सस्तो तथा गुणस्तरीय भएका कारण नेपालीभन्दा विदेशी बिरामीको चाप नेपालका आँखा अस्पतालहरूमा बढ्ने गरेको हो । आँखा उपचारमा गुणस्तरीयता ल्याउन नेपालका आँखा अस्पतालहरूले नयाँ–नयाँ प्रविधि अपनाउँदै आएका छन् ।

आँखाका विभिन्न रोगहरू मोतियाविन्दु, जलविन्दु, रतन्धोलगायतको उपचारका लागि पुरुषको तुलनामा महिला बढी आउने गरेका छन् । नेत्रज्योति संघअन्तर्गत सञ्चालित अस्पतालहरूबाट बर्सेनि २४ लाखभन्दा बढीले बहिरंग सेवा लिने गरेको र करिब २ लाख ४० हजारभन्दा बढीले आँखाको शल्यक्रिया गराउने गरेको तथ्यांक छ । संघले हाल देशभर रहेका आफ्ना अस्पताल तथा उपचार केन्द्रहरूमा कार्यरत कुल ९९ नेत्रविशेषज्ञ, ३८ दृष्टिविशेषज्ञ, १ सय २३ नेत्रसहायक र १ सय ५४ आइवर्करमार्फत आँखा सेवा दिँदै आएको छ । संघअन्तर्गत देशभरमा १८ आँखा अस्पताल, ८४ आँखा उपचार केन्द्र छन् । साथै, ३७ जिल्लामा नेपाल नेत्रज्योति संघका शाखा छन् ।

संघअन्तर्गत सञ्चालित १८ अस्पतालमध्ये तराई क्षेत्रमा १० वटा छन् । तराईका अस्पतालमा नेपालीका साथै ठूलो संख्यामा छिमेकी मुलुकहरू भारत, भुटान, म्यान्मारलगायत अन्य मुलुकबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन् ।

संघअन्तर्गत सञ्चालित १८ अस्पतालमध्ये तराई क्षेत्रमा १० वटा छन् । तराईका अस्पतालमा नेपालीका साथै ठूलो संख्यामा छिमेकी मुलुकहरू भारत, भुटान, म्यान्मारलगायत अन्य मुलुकबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन् । सस्तो, सुलभ, स्तरीय तथा प्रभावकारी आँखा स्वास्थ्य सेवाको उपलब्धताका कारण नै यी अस्पतालहरूमा विदेशी नागरिकको घुइँचो लाग्ने गरेको हो ।

विराटनगर आँखा अस्पतालबाट सबैभन्दा बढी छिमेकी मुलुकका बिरामीले सेवा लिँदै आएका छन् । त्यस्तै, लहानमा रहेको सगरमाथा चौधरी अस्पताल संख्यात्मक रूपमा धेरै विदेशी बिरामीलाई सेवा दिने सूचीमा दोस्रो नम्बरमा छ । शल्यक्रियातर्फ भने नेपालीभन्दा झन्डै दोब्बरको संख्यामा विदेशी बिरामीले नेपालका स्वास्थ्यसंस्थाबाट सेवा लिएको तथ्यांकले देखाएको छ । सन् २०१६ मा कुल २ लाख ८५ हजार १ सय ९० बिरामीको शल्यक्रिया सम्पन्न भएकोमा नेपाली बिरामीको संख्या जम्मा १ लाख ७ सय ३५ थियो भने त्यसको ८३ दशमलव १ प्रतिशत बढी अर्थात् १ लाख ८४ हजार ४ सय ५५ विदेशी थिए । जसअनुसार उक्त वर्ष नेपालमा आँखाको शल्यक्रिया गराउनेमा ३५ दशमलव ३२ प्रतिशत नेपाली र ६४ दशमलव ६८ प्रतिशत विदेशी छन् ।

नेपालमा हालसम्म मोतियाविन्दुको ६ लाख शल्यक्रिया भइसकेका छन् । शल्यक्रिया गराउनेमा करिब ४ लाख भारतीय तथा २ लाख नेपाली छन् । नेपालका अस्पतालहरूले सामान्यतया १ हजार ४ सय नेपाली रूपैयाँमा मोतियाविन्दुको शल्यक्रिया गर्ने गरेका छन् । संघको तथ्यांकअनुसार सन् २०१४ मा संघअन्तर्गतका अस्पतालहरूमा १४ लाख ७७ हजार ८ सय २७ बिरामीले बहिरंग सेवा लिएका छन्, जसमा करिब ४४ प्रतिशत छिमेकी मुलुकका छन् । सन् २०१६ मा नेपालका सम्पूर्ण आँखा स्वास्थ्यसंस्थाहरूले बहिरंग सेवाअन्तर्गत ३८ लाख ७३ हजार ३ सय ४० बिरामीलाई सेवा दिएकोमा ९ लाख २९ हजार ५ सय ९६ विदेशी थिए ।

नेपालका स्वास्थ्यसंस्थाबाट नेपालीको तुलनामा झन्डै दोब्बर विदेशी नागरिकले आँखाको शल्यक्रिया गराउनुले नेपालमा आँखा उपचारको उच्च गुणस्तर र सहुलियतपूर्ण सर्वसुलभ सेवालाई पुष्टि गर्छ । यही गुणस्तरीय र सर्वसुलभ सेवाका कारण नै नेपाल विदेशी नागरिकका लागि समेत आँखा उपचारको प्रमुख गन्तव्य बन्न सफल भएको छ ।

देश तथा विदेशमा समेत लोकप्रिय नेत्रज्योति संघले नेपालमा सन् १९८१ मा शून्य दशमलव ८४ प्रतिशतमा रहेको अन्धोपनको समस्यालाई सन् २०११ मा शून्य दशमलव ३५ प्रतिशतमा झार्न सफल भएको संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र बताउँछन् । संघले देशको आँखा स्वास्थ्य समस्याको गम्भीरतालाई आकलन गर्दै सेवाको विकास र विस्तार गर्ने लक्ष्यका साथ सन् १९८१ मा राष्ट्रिय अन्धोपनको सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणले नेपालमा शून्य दशमलव ८४ प्रतिशतमा अन्धोपन रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

उक्त सर्वेक्षणले नेपालमा ७२ दशमलव १ प्रतिशत अन्धोपन मोतियाविन्दुका कारण भएको र अन्धोपनका अन्य कारणका ट्रकोमा, भिटामिन एको कमी, जलविन्दु, तथा आँखाका अन्य संक्रमण रहेको तथ्य पत्ता लगाएको थियो । सर्वेक्षणपश्चात् सन् १९८१ मा संघले विभिन्न स्वदेशी तथा विदेशी दातृसंस्थाहरूको सहयोग दिई मुलुकमा अन्धोपन न्यूनीकरणका लागि विभिन्न तहमा आँखा उपचार केन्द्र, अस्पताल तथा विशिष्टीकृत अस्पतालहरूको स्थापना गर्दै सेवा सुचारु गरेको र विभिन्न शिविरहरूका माध्यमबाट नेपालको दुर्गम क्षेत्रसम्म आँखा उपचारलाई प्रभावकारी बनाउने अभियान थाल्यो । फलस्वरूप अन्धोपन घट्दै गएको थियो ।

सन् २०२० सम्ममा संघले विश्व स्वास्थ्य संगठनको लक्ष्यअनुसार २५ प्रतिशतले अन्धोपन कम गर्ने लक्ष्यका साथ काम गर्ने मिश्र बताउँछन् । संघले आगामी ५ वर्षभित्र नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग मिलेर नेपालका सबै गाउँपालिका तथा नगरपालिकामा आधारभूत आँखा स्वास्थ्य सेवाको विस्तार गर्ने योजना बनाएको छ । संघले प्रत्येक प्रदेशमा एक–एक विशिष्टीकृत आँखा अस्पतालको विकास गर्ने उनको भनाइ छ ।

नेपालमा आँखारोगसम्बन्धी समस्याको पहिचानमै बिरामीलाई समस्या भएको मिश्रको बुझाइ छ । नेपालमा मात्र नभई भारतमा समेत आँखारोगबारे जनचेतनाको अभाव भएको उनको तर्क छ । उनी भन्छन्, ‘नेपालमा मात्रै नभई भारतलगायत अन्य मुलुकमा समेत यसको प्रभावकारिता कमजोर हुँदै गएको छ ।’ यसका लागि संघले विभिन्न चेतनामूलक कार्यहरू सञ्चालन गर्दै आएको छ भने नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पनि यसबारे विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । संसारका जुनसुकै देशमा आँखारोगीको संख्या बढ्दै गएको तथ्यांकले देखाएका छन् । वातावरणीय प्रदूषणका कारण संसारभर आँखारोगी बढ्दै छन् ।

नेपालका स्वास्थ्यसंस्थाबाट नेपालीको तुलनामा झन्डै दोब्बर विदेशी नागरिकले आँखाको शल्यक्रिया गराउनुले नेपालमा आँखा उपचारको उच्च गुणस्तर र सहुलियतपूर्ण सर्वसुलभ सेवालाई पुष्टि गर्छ । यही गुणस्तरीय र सर्वसुलभ सेवाका कारण नै नेपाल विदेशी नागरिकका लागि समेत आँखा उपचारको प्रमुख गन्तव्य बन्न सफल भएको छ । यसरी नेपालका आँखा अस्पतालहरू आँखा स्वास्थ्य सेवाको क्षेत्रमा विश्वमाझ छवि उच्च राख्न सफल हुनु सुखद पक्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय