चौथो गर्भजाँचमा ‘एक क्यारेट अण्डा’ उपहार

गर्भवती महिलालाई अण्डा प्रदान गर्दै तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ र अहेव सुन्दर तरामु मगर ।

पाल्पाको पूर्वखोला र तिनाउ गाउँपालिकाले अनिवार्य रूपमा स्वास्थ्यसंस्थामा सुत्केरी गराउने नीति ल्याएका छन् । गाउँपालिका क्षेत्रभित्र घरमा सुत्केरी हुनेको संख्या शून्य बनाउने उद्देश्यका साथ अनिवार्य रूपमा स्वास्थ्यसंस्थामा सुत्केरी गराउने नीति अगाडि सारिएको ती गाउँपालिकाले जनाएका छन् ।

स्वास्थ्यसंस्थामा सुत्केरी हुँदा गर्भवती महिला तथा बच्चाको मृत्युदर कम हुनुका साथै आमा र बच्चाको स्वास्थ्यसमेत राम्रो हुने भएकाले गर्भवतीलाई अण्डा उपहार दिन थालेको गाउँपालिकाहरूको भनाइ छ । अण्डाले बच्चा तथा आमाको पोषणमा सुधार आई स्वस्थ बच्चा जन्मने विश्वास लिइएको छ । नेपाल सरकारको स्वास्थ्य प्रक्षेपणमा तिनाउ गाउँपालिकामा वर्षदिनमा ५ सय ३२ र पूर्वखोला गाउँपालिकामा ५ सय ३१ महिला सुत्केरी हुने उल्लेख छ ।

गाउँपालिकाका सबै महिलालाई स्वास्थ्यचौकीमै सुत्केरी गराउने अभियानको सफलताका लागि गर्भजाँच गर्ने महिलालाई एक क्यारेट अण्डा उपहार दिन थालिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य उपसंयोजक मोहन ढकालले बताए । उनका अनुसार चौथोपटकको गर्भजाँच गर्न आउँदा स्वास्थ्यचौकीबाट अण्डा उपहार दिने गरिएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिला र ल्याउने सहयोगीलाई गाउँपालिकाका तर्फबाट थप पोषण र प्रोत्साहन भत्ता दिने गरेको ढकालले बताए । सुत्केरीका लागि ३ सय र ल्याउने व्यक्तिका लागि ३ सय रुपैयाँ छुट्याइएको छ ।

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले अन्तिम हप्ताको अण्डा वितरणले गर्भावस्थामा स्वास्थ्य परीक्षणको महत्व बढेको बताए । प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेल गर्भजाँचले महिला र बच्चा दुवैको स्वास्थ्यमा सहयोग पुर्याउने बताए । साउन मसान्तदेखि सुरु भएको गर्भवती जाँचसँगै अण्डा दिने कार्यक्रमबाट अहिलेसम्म २१ जनाले सेवा लिइसकेका छन् । वर्षदिनमा १ सय ५० जनाले सेवा लिने अनुमान गरी गाउँपालिकाले चालू आर्थिक वर्षका लागि ९० हजार बजेट विनियोजन गरेको छ ।

अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, जुन गर्भावस्थामा अत्यधिक आवश्यक हुन्छ । गर्भमा रहेको बच्चाका हरेक कोषिका प्रोटिनले नै बनेका हुन्छन् । गर्भवती महिलाले पर्याप्त अण्डा खानाले भ्रूणको राम्रोसँग विकास हुन पाउँछ ।

तिनाउ गाउँपालिकाले पनि चौथो गर्भजाँच गर्दाका बखत एक क्यारेट अण्डा उपहार दिने गरेको दोभान स्वास्थ्यचौकीका अहेव सुन्दर तरामु मगरले बताए । साउनदेखि सुरु भएको गर्भवतीलक्षित कार्यक्रमले प्रोत्साहनसँगै गर्भवती अवस्थामा पोषणयुक्त खाना खुवाउने सन्देश दिने मगरको भनाइ छ । गर्भवती र सुत्केरीलक्षित कार्यक्रमका लागि गाउँपालिकाले ७ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक शोभाकर पोख्रलले बताए । उनले नेपाल सरकारले दिने प्रोत्साहन र पोषण रकमबाहेक स्वास्थ्यसंस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले थप २ हजार पोषण रकम प्रदान गर्ने गरेको बताए । उक्त रकम लिनका लागि सुत्केरी महिलाले नागरिकता, स्वास्थ्यसंस्थाको बर्थ सर्टिपिकेट र डिस्चार्ज सर्टिफिकेट पेस गर्नुपर्ने प्रावधान राखेको छ । तिनाउ गाउँपालिकाले ४ स्वास्थ्यचौकी, २ वटा सामुदायिक स्वास्थ्य एकाइ र १२ वटा गाउँघर क्लिनिकबाट स्वास्थ्य सेवा दिइरहेको छ ।

गर्भावस्थामा अण्डाका फाइदा
अण्डामा पर्याप्त मात्रामा प्रोटिन, फ्याट, लवण तथा अन्यखाले पौष्टिक तत्व पनि पाइन्छ । शरीरका लागि अत्यावश्यक तत्वहरू सेलेनियम, जिंक, भिटामिन ए, डी तथा बीलगायत पौष्टिक तत्वको राम्रो स्रोतका रूपमा अण्डालाई लिइन्छ । त्यसैले अण्डालाई सुपर फुड पनि भनिन्छ ।
अण्डा स्वास्थ्यका लागि लाभदायक छ, तर दिनमा २ वटाभन्दा बढी अण्डा खानु भने राम्रो मानिँदैन । त्यस्तै, कोलेस्टेरोलको समस्या भएकाहरूले अण्डाको पहेँलो भाग खानुहुँदैन ।

अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, जुन गर्भावस्थामा अत्यधिक आवश्यक हुन्छ । गर्भमा रहेको बच्चाका हरेक कोषिका प्रोटिनले नै बनेका हुन्छन् । गर्भवती महिलाले पर्याप्त अण्डा खानाले भ्रूणको राम्रोसँग विकास हुन पाउँछ ।

अण्डामा सबै १२ थरी भिटामिनका साथै विभिन्नखाले लवण पनि पाइन्छ । अण्डामा पाइने कोलिन तथा ओमेगा थ्री फ्याट्टी एसिडले गर्भको बच्चाको समग्र विकासलाई बढावा दिन्छ । यसको सेवनले बच्चामा मानसिक समस्या हुने जोखिम कम हुनुका साथै मस्तिष्कको भरपूर विकास हुन्छ ।

गर्भवती महिलालाई दिनमा सामान्य अवस्थामाभन्दा २ सयदेखि ३ सयसम्म थप क्यालोरी आवश्यक पर्छ । यो थप क्यालोरी आमा र गर्भको बच्चा दुवैका लागि आवश्यक हुन्छ । एउटा अण्डामा ७० क्यालोरीबराबरको इनर्जी हुन्छ । त्यसैले अण्डाको सेवनले गर्भवतीलाई आवश्यक पर्ने क्यालोरीको ठूलो हिस्सा आपूर्ति हुन्छ ।
तर, झाडापखाला, बान्ता, फुड पोइजनिङ भएका वेला भने अण्डा खानुहुँदैन । त्यसका साथै पाचनक्रिया कमजोर भएका महिलाले पनि डाक्टरको सल्लाह लिएर मात्रै अण्डाको सेवन गर्नु राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय