अन्धेर नगरी, चौपट राज

छानबिन आयोग भन्छ– फलानो व्यक्ति भ्रष्ट भएकाले कारबाही गर ।
तर,
सरकारले बर्खास्त गरेर कारबाही गर्नु त कता–कता, उल्टै गणतन्त्र दिवसका अवसरमा मानपदवी दिन्छ ।

न्यायपरिषद् भन्छ– फलानोको जन्ममिति गलत र प्रमाणपत्र फर्जी हो ।
तर,
सरकार र संसद्ले कारबाही गर्नु त कता–कता, फेरि पनि गणतन्त्र दिवसका अवसरमा मानपदवी दिन्छ ।

अहिले नागरिक अचम्ममा परिरहेका छन् : मानपदवी, तक्मा, विभूषण यदि त्यस्तै प्रयोजनका लागि बनेका हुन् भने यसपालि लोकमानसिंह कार्कीलाई किन छुटाइयो ? अरू तमाम भ्रष्टहरूलाई किन छुटाइयो ?

अहिले नागरिक अचम्ममा परिरहेका छन् : मानपदवी, तक्मा, विभूषण यदि त्यस्तै प्रयोजनका लागि बनेका हुन् भने यसपालि लोकमानसिंह कार्कीलाई किन छुटाइयो ? अरू तमाम भ्रष्टहरूलाई किन छुटाइयो ?

देशमा अहिले कुशासनको राज छ । अपराध र बलात्कारका घटना दिनमा दुईगुना, रातमा चारगुना बढिरहेका छन् । तर, प्रहरी के गर्दै छ त ?

फर्जी मुठभेड, फर्जी अपराधी उत्पादन, निर्दोषलाई यातना, अपराधीको संरक्षण ।

यसै पनि नेपालमा उत्कृष्ट विधिको शासन कहिल्यै पनि थिएन । यहाँ जहिले पनि विपन्न र पहुँच नहुनेहरूका लागि न जीविकाको माध्यम छ, न त न्याय नै । ठूला–ठूलालाई कहिल्यै कानुनले केही गर्नबाट रोकेको छैन ।
तर, पछिल्लो समय त दण्डहीनता र अराजकता अचाक्ली नै बढेको छ । सरकारमा हुनेहरूलाई त भाषण गर्नेबाहेक फुर्सद कहिल्यै पनि थिएन, अब त प्रहरी प्रमुख पनि काम गर्न छाडेर आश्वासन बाँडेर हिँडिरहेका छन् । गृहमन्त्री विधिको शासनलाई ठाडै लत्याइरहेका छन् ।

सरकार यतिसम्म नालायक र निकम्मा भएपछि सडकमा विरोध हुनु स्वाभाविक हो । त्यसबाट बच्ने एउटै उपाय भनेको राम्रोसित काम गरेर विरोधीको मुख थुन्ने हो ।

तर, जुन देशमा प्रधानमन्त्रीले कार्यकर्तालाई ‘अरिंगालझैँ’ आँखा चिम्लेर विरोधीमाथि होमिन खुला रूपमा निर्देशन दिन्छन्, त्यो देशमा सुधार र प्रगतिको आश कसरी राख्नु ?

जहाँ नागरिकले प्रहरीको बर्दीमा अपराधीको विम्ब भेट्छन्, त्यहाँ शान्तिसुरक्षाको अपेक्षा कसरी राख्नु ?

जुन व्यवस्थामा सरकारी मान्छेका अनुहारमा तानाशाही विम्ब देखिन्छ, जुन व्यवस्थामा सरकार जनताका मुख थुन्न सडकलाई निषेधित क्षेत्र घोषणा गर्छ, त्यो व्यवस्था कसरी लोकतान्त्रिक ?

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि हामी लामो समयदेखि संघर्षरत छौँ । यसैबीचमा यो अभियान र क्षेत्रकै सुशासनका बाधकका रुपमा देखिएका, भ्रष्टाचार गरेर अकूत कमाउन चाहने लोकमानसिंह कार्की र गोपाल पराजुलीजस्ता पात्रहरू पदबाट हट्नै बाध्य भए भने तीर्थ खनियाँजस्ता पात्रलाई बर्खास्त गर्ने सिफारिस न्यायिक जाँचबुझ आयोगले गरेको छ ।

तर, कार्कीलाई तत्कालीन संसदीय समितिले सिफारिस गरेबमोजिमको न्यूनतम कारबाही गर्नबाट समेत राजनीतिज्ञहरू थर्थरी काँपे भने गोपाल पराजुलीलाई महाभियोग लगाउन यथेष्ट प्रमाण हुँदाहुँदै पनि खुट्टा कँपाए । खनियाँलाई अहिलेसम्म पनि पदबाट बर्खास्त गरिएको छैन, कारबाहीको त कुरै छाडौँ ।

परिणाम ः विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूबीच अहिले पनि लोकमान प्रवृत्ति ज्युँदै छ । सर्वोच्च अदालतमा फर्जी प्रमाणपत्र प्रमाणित भएका न्यायाधीशहरू ससम्मान काममा छन् । खनियाँलगायत त्रिविका भ्रष्ट पदाधिकारीहरू अहिले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्तिमा चलखेल गरेर संस्थालाई नै धराशायी बनाउने निन्दनीय प्रयासमा छन् ।

दिसा गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैँ यस्तो शासन चलेको देशमा पराजुली र खनियाँलाई विभूषित गरेपछि कार्कीलाई किन छुटाइयो भन्ने प्रश्न सोध्नुबाहेक के नै गर्न सकिन्छ ?

सायद, यस्तै अवस्थालाई हेरेर उखान बनेको होला– अन्धेर नगरी, चौपट राज !

One thought on “अन्धेर नगरी, चौपट राज

  1. Exactly,The Same why Nepali is not conscious about their systemic Operation and Handling .its a Hell and Much Disgusting Matter.

Leave a Reply to Omkar Acharya Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय