कलिलैमा क्यान्सर, तर आशलाग्दो उपचार

अतिन आचार्य
प्रकाशित
२०७५ असोज ७ गते १४:१७

धुलिखेल खावाकी परिधि गिरी बल्ल ७ वर्ष टेकिन् । नियमित स्कुल गइरहने उनी कहिले खुट्टा त, कहिले ढाड दुख्यो भनेर गुनासो गर्न थालिन् । आमाले धुलिखेल अस्पताल पुर्याइन् । जाँच पनि भयो, चिकित्सकले केही बोलेनन्, सीधै कान्ति बाल अस्पतालमा रेफर गरे । कान्ति पुर्याएपछि बल्ल परिवारले रक्तक्यान्सर भएको थाहा पायो । ‘मुटु चिसो भएर आयो, संसार फनफनी घुम्यो,’ आमा पवित्रा सम्झिन्छिन्, ‘अहिले निको हुन्छ कि भन्ने आशा पलाएको छ ।’

भैरहवा स्थायी घर भएकी ६ वर्षीया विदी मगर कान्ति बाल अस्पतालको क्यान्सर वार्डमा मृत्युसँग संघर्ष गरिरहेकी छिन् । खेल्दाखाँदाकी छोरी अचानक सुक्न थालेपछि बाबुआमाको मनमा चिसो पस्यो । भैरहवाको क्लिनिकमा जाँच गर्दा भरतपुर क्यान्सर अस्पालमा रेफर गरिदिए । तर, उनीहरूको मन मानेन, छोरी बोकेर भारत लगे । त्यहाँ रगतको क्यान्सर भएकोे पुष्टि भयो । राजीव गान्धी क्यान्सर अस्पताल पुर्याइयो, तर रोग २० को १९ भएन । त्यहाँ आशा मारेर घर फर्काइदिए । पछि उनीहरूको कान्तिका चिकित्सक डा. प्रकाशनिधिसँग भेट भयो, उनीहरूले आशा पालेर काठमाडौं ल्याए । अहिले निरन्तरको उपचारपछि केही सुधारको आशा जागेको बाबु विष्णु ठकुरी मगर बताउँछन् ।

सर्ने खालका रोगहरू, कुपोषण नियन्त्रणमा आइसकेका देशहरूमा पनि दुर्घटनापछि सबैभन्दा बढी बालबालिका क्यान्सरका कारण मर्छन् ।नेपालमा बृहत् अनुन्धान नभएकाले क्यान्सरका कारण हुने धेरै मृत्युलाई अज्ञात रोगले मृत्यु भन्ने गरिएको डा. तिवारी बताउँछन् ।

खोटाङका नायक राईले यो धर्तीमा पाइला हालेको १४ महिना मात्रै भयो । उनी जन्मसँगै बाबुआमाका लागि खुसी त लिएर आएका थिए, तर त्यो खुसी उनी २ महिना भएदेखि नै डरमा परिणत हुन थाल्यो । सुरुमा आँखामा सेतो दाग देखियो । केही दिन त बाबुआमाले केहीले घोचेछ कि भन्ने सोचे । पछि लहानको आँखा अस्पतालमा पुर्याएपछि त डाक्टरहरूले यहाँ निको हुँदैन पो भने । असारको दोस्रो हप्ता तीलगंगा ल्याएर जाँच गर्दा क्यान्सर प्रमाणित भयो, त्यो पनि तेस्रो स्टेजको । चिकित्सकहरू उपचारमा लागिरहेकै छन्, कम्तीमा ६ महिनाभित्रै उनको देब्रे आँखा निकालेर फाल्नुपर्छ भनेको आमा जानकी सुनाउँछिन् ।

जोरपाटीका ६ वर्षे नुगेन लिम्बूलाई जेठको पहिलो साता अचानक ज्वरो आयो । केही दिन घरमै औषधिमुलो गरियो तर घटेन । आमा सञ्जिताले नुगेनलाई जोरपाटी मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइन् । चिकित्सकहरूले मिर्गौलामा मासु पलाएको छ भने, त्यो निकालेर बायोस्पी गर्दा क्यान्सर प्रमाणित भयो । क्यान्सर चौथो स्टेजमा छ, ज्यामी काम गर्ने बाबुको कमाइले उपचार धान्न धौधौ छ । तर, मनको कुनामा आशा जीवित छ, छोरा निको भएर घर फर्केको र खेलेको हेर्ने ।
कान्ति अस्पताल क्यान्सर वार्डका शैय्याहरू यस्तै दुःखका कथाले भरिएका छन् । सम्भवतः बाबुआमाका लागि सबैभन्दा ठूलो खुसी र आशाका केन्द्र हुन् सन्तान । आँखैअगाडि भरोसा टुटेको, खुसी लुटिएको दृश्य हेरेर टोलाइरहेकाहरू कान्ति अस्पतालभर भेटिन्छन् । ती कलिला नानीहरू जीवनको याचनासहित बेडमा पल्टिरहेका दृश्य निकै मार्मिक लाग्छ ।
कलिला नानीहरूले भरिएका ती बेडमा कोही एकदिन अचानक हराउँछ, कोही निन्याउरो अनुहार लगाएर बेडयात्रा सुरु गर्छ । ‘यो बेडको बच्चा हिजो गयो (मृत्युभयो), यी तीनजना आज थपिएका हुन्,’ शैय्या देखाउँदै अस्पतालका क्यान्सररोग विशेषज्ञ डा. प्रकाशनिधि तिवारीले भने ।

डा. तिवारीका अनुसार अहिले विकसित र अविकसित देशमा समेत बालक्यान्सर विकराल रूपमा फैलिरहेको छ । सर्ने खालका रोगहरू, कुपोषण नियन्त्रणमा आइसकेका देशहरूमा पनि दुर्घटनापछि सबैभन्दा बढी बालबालिका क्यान्सरका कारण मर्छन् ।नेपालमा बृहत् अनुन्धान नभएकाले क्यान्सरका कारण हुने धेरै मृत्युलाई अज्ञात रोगले मृत्यु भन्ने गरिएको डा. तिवारी बताउँछन् ।

अस्पतालको क्यान्सर वार्डमा रहेका ३३ बेड सधैँ भरिभराउ हुन्छन् । ‘एउटा पनि बेड खाली छैन, अरू बिरामी अन्य वार्डमा राखिरहेका छौँ,’ उनले भने, ‘यही रूपमा बढ्दै गयो भने बिस्तारै यो अस्पताल क्यान्सरका बिरामीले मात्र भरिन्छ जस्तो छ ।’
आममानिसले क्यान्सरलाई निको नहुने रोगका रूपमा लिने गरे पनि समयमै अस्पताल पुगेका धेरै बालबालिका लामो उपचारपछि निको भएर फर्किन्छन् । तर, चिकित्सकहरूलाई अनौठो ढंगले बढ्दै गएको बालक्यान्सरको समस्याले चिन्ता थपेको छ ।
विभिन्न रासायनिक तत्वहरू, औषधि, विकिरणलगायतका कारण जिन वा जिनको समूह तथा क्रोमोजोममा चोट पुग्दा विकास हुने क्यान्सर पछिल्ला दिनमा अस्वाभाविक रूपमा बढ्दै गएको छ । गर्भावस्थामा विकिरणमा एक्सपोज, रासायनिक पदार्थ, मिसावट भएको खानेकुरा, रासायनिक मल मिसाएको चामल, विषदीको प्रयोग भएका फलफूल तथा तरकारीले पनि क्यान्सर गराउन मद्दत गर्ने चिकित्सकहरू बताउँछन् ।यस्ता खानेकुराको बारम्बार प्रयोगले जिनमा चोट पुर्याउने र कोष थकित भएर त्यसलाई मर्मत गर्न नसक्ने अवस्था उत्पन्न भएमा गलतखालको कोष बनेर क्यान्सर हुन्छ ।
बालबालिकामा हुने क्यान्सर उपचारका लागि प्रमुख सेन्टर कान्ति बाल अस्पतालको तथ्यांक मात्रै हेर्ने हो भने पनि ५ वर्षमै बालक्यान्सर दोब्बर भएको छ । अस्पतालका अनुसार २०७० सालमा ९ सय ९४ बालबालिका क्यान्सर उपचारका लागि ओपिडी आएकामा ०७० मा १४२५ ओपिडी बिरामी आएका थिए । अन्तरंग (भर्ना हुने)तर्फ पनि ०७० मा ३ सय ८९ जना भर्ना भएकामा गतवर्ष ६ सय ६ पुगेको छ ।

पहिलो स्टेज–
जुन ठाउँमा क्यान्सर भएको छ, त्यही ठाउँमा रहेको अवस्था ।

दोस्रो स्टेज–
नजिकको लिम्फुडहरूमा फैलिएको अवस्था ।

तेस्रो स्टेज–
अलि टाढासम्म फैलिएको अवस्था । उदाहरणका लागि लिम्फोमाको हकमा छाती र पेटको बीचमा डायफ्रान भन्ने एउटा झिल्ली हुन्छ, त्यसको दुवैतिर भएको अवस्था ।

चौथो स्टेज–
टाढासम्म फैलिएको अवस्था । उदाहरणका रूपमा खुट्टाको क्यान्सर छातीमा फैलिएको अवस्था ।

पाँचौँ स्टेज–
केही क्यान्सरमा मात्र पाँचौँ स्टेज हुन्छ । उदाहरणका लागि दुवै मिर्गौलाको क्यान्सर हुनु

प्राविधिक रूपमा क्यान्सर विकास हुनका लागि जिन वा क्रोमोजोमका कुनैखालको चोट, क्रोमोजोमको टुक्रा अर्कोमा जाँदा वा मिसिँदा क्रोमोजोम र जीवका समूहले दिने निर्देशन गलत भएर क्यान्सर हुन्छ । यसरी गतल निर्देशन दिँदा शरीरमा हुने तीन प्रकारका रक्तकोष (रातो, सेतो र प्लेटलेट)लाई वयष्क हुन नदिई संख्या अनियन्त्रित गराइदिन्छ र यस्ता कोषले पूरै शरीर ढाक्छ । जुन–जुन अंग ढाकिन्छन्, ती अंगले काम गर्न छाड्दै जान्छन् ।

अर्का वरिष्ठ बालक्यान्सर विशेषज्ञ डा. कैशाल साहका अनुसार प्रदूषित वायु, बढी कीटनाशक औषधि प्रयोग गरिएका तरकारी, कुनै पनि खालका रसायन वा त्यसको मात्रा बढी भएका खाद्य पदार्थले कोषमा भएको क्रोमोजोम, जिन वा जिनको समूहलाई चोट पु¥याई कार्यसञ्चालनमा असर गर्छ । ‘जिनको गलत निर्देशनले गलतखालका कोषहरू उत्पन्न हुन्छन् र नचाहिने कोषको संख्या बढ्न थाल्छन्,’ साह भन्छन्, ‘बिस्तारै जुन अंगमा यसको भार पर्छ, त्यही अंगले काम गर्न थाल्छ ।’ मल्टी अर्गन फेलियर भएर आन्तरिक रक्तस्राव हुने र विभिन्नखालका संक्रमण भएर मृत्युको अवस्था आउँछ ।

चिकित्सकहरूका अनुसार जिनहरूको समूह क्रोमोजोममा चोट पुगेको अवस्थामा क्यान्सर वंशजमा समेत जान्छ । त्यसबाहेक मांसपेशी, आन्द्रा, हड्डी, मस्तिष्क ब्रेनका क्यान्सर वंशजमा समेत जाने गर्छन् । ‘आमालाई क्यान्सर भयो भन्दैमा बच्चालाई क्यान्सर हुने होइन, तर आमाको बिग्रेको जिन मर्मत भएन वा भार बढी भयो भने केही हदसम्म बच्चामा जाने गर्छ,’ डा. साह भन्छन् ।
अधिकांश अवस्थामा नयाँ शरीरले नयाँ जिनलाई छानेर लिने र जिनमा पुगेको चोटलाई पनि आफैँ मर्मत गर्ने गर्छ । ‘सहज रूपमा क्यान्सर विकास हुने होइन, जिनमा कम्तीमा १६–१७ पटक यस्तो चोट पुगेको हुनुपर्छ भनिन्छ,’ डा. तिवारी भन्छन् ।
जिनमा जति ठूलो चोट पुग्यो, उति नै क्यान्सरको जोखिम हुन्छ । हिरोसिमामा भएको दुर्घटनापछि पुस्तौँपुस्तासम्म क्यान्सर देखिरहनु यसको प्रमाण हो । डा. तिवारीका अनुसार अस्पतालमा उपचारमा आएका मध्ये अधिकांश बालबालिकामा ल्युकिम्याज भनिने रक्तक्यान्सर हुन्छ । त्यसपछि मस्तिष्क ट्युमर बढी देखिएको छ ।

धेरैजसो रक्तक्यान्सर भएका बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उपचारका क्रममा बारम्बार संक्रमण हुनुका साथै मधुमेह, मिर्गौलारोगजस्ता नसर्ने रोगसमेत देखा पर्न सक्छन् ।

रक्तक्यान्सर हुँदा शरीरभित्र रगत अलपत्र बगेजस्तो गरी बग्ने गर्छ । रगत जताततै जाने भएकाले सबै अंगलाई असर पार्छ यो ब्रेनमा पनि जान सक्छ । मस्तिष्कमा गएको अवस्थामा टाउको दुख्ने वा वाकवाकी लाग्ने, बान्ता हुने, काँप्ने, खुट्टा नचल्नेजस्ता लक्षण देखापर्नुका साथै बच्चाको मृत्युसमेत हुन सक्छ ।

रगत बिस्तारै बग्ने भएकाले रक्तनली फुट्ने, नाकबाट रगत बग्ने हुनुका साथै दिशा र पिसाबमा रगत देखिन सक्छ ।
फोक्सोमा फैलियो भने निमोनिया हुने तथा खोकी लाग्ने हुन्छ । धेरैपटक ज्वरो आउने, रगत कम भएर जाने र ठाउँठाउँबाट रगत बग्दा बच्चा एकदम सिथिल हुने, तौल घटेर जाने शरीरमा ठाउँ–ठाउँमा गिर्खा आउने, आँखा कम देख्ने, आँखामा सेता दागहरू देखिने, आँखा सुन्निएर आउने, पेट दुख्ने र पेटका मांसपेशीमा डल्लाहरू आउने लक्षण देखिन्छन् ।
बिस्तारै साधारणतया १–२ दिनमा बिरामी लरबराएर हिँड्ने, बेहोस हुने, काम्ने वा ज्वरो जहिल्यै आइरहने हुन्छ ।
बच्चामा हुने यस्ता गम्भीरखालका क्यान्सरबाट बचाउन आमा एकदमै सचेत रहनुपर्ने चिकित्सक बताउँछन् । क्यान्सरका जोखिम भएका खानेकुराको प्रयोग आमाले घटाउन सके बच्चामा हुने क्यान्सरको दर घटाउन सकिन्छ ।

सम्भव छ उपचार
बालबालिकाको हकमा अन्य वातावरणको त्यति धेरै असर परिनसकेको हुँदा क्यान्सर निको हुने सम्भावना बढी हुन्छ । वयष्कको हकमा अन्य कारणले जिनमा चोट धेरै भइसकेको हुनाले क्यान्सर निको पार्न कठिन हुन्छ । तर, बालबालिकामा हुने क्यान्सर निको भएपछि उनीहरूको पूर्ण आयुमा खासै असर गर्दैन, अर्थात् ६०–७० वर्षसम्म पनि बचाउन सकिन्छ ।
डा. तिवारीका अनुसार कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरदेखि ब्रेन ट्युमरसम्मको उपचार हुने गरेको छ । कान्ति अस्पतालमा बोनम्यारो प्रत्यारोपणबाहेक अधिकांश बालक्यान्सरको उपचार सम्भव छ । बालबालिकामा हुनेमध्ये ७० प्रतिशत क्यान्सरको उपचारमा सफलता मिलिरहेको उनको भनाइ छ । ‘सरल भाषामा भन्ने हो भने चौथो स्टेजमा पुगेको क्यान्सर निको पार्न अलिक गाह्रो नै पर्छ,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा हामीले उपचार गरेर निको बनाएर पनि पठाएका छौँ ।’
क्यान्सर उपचार रेडियोलोजी, केमोथेरापी र सर्जरीबाट हुन्छ । धेरैजसो रक्तक्यान्सर भएका बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उपचारका क्रममा बारम्बार संक्रमण हुनुका साथै मधुमेह, मिर्गौलारोगजस्ता नसर्ने रोगसमेत देखा पर्न सक्छन् । पहिलो र दोस्रो स्टेजको क्यान्सर निको पार्न सजिलो हुने डा. तिवारी बताउँछन् । ‘हल्का केमोथेरापी दिएर, सर्जरी गरेर वा आवश्यकता हेरी रेडियोथेरापीसमेतको प्रयोगले क्यान्सर निको पार्न सकिन्छ,’ उनी भन्छन्, ‘तेस्रो र चौथो स्टेजको क्यान्सर भने एकदम जटिल हुन्छ ।’ क्यान्सर उपचारमा कडा–कडा प्रयोग गर्नुपर्ने हुनाले यसले बच्चाको मृत्युसमेत गराउने चिकित्सकहरू बताउँछन् । ‘चौथो स्टेजको क्यान्सर भएका बालबालिका २५ प्रतिशत बाँच्ने सम्भावना हुन्छ,’ उनले भने ।

 

रक्तक्यान्सरबाट बच्न :
जिन वा जिनहरूको समूह वा क्रोमोजोमलाई चोट पु¥याउने तत्वहरूलाई नियन्त्रणमा राख्ने
मिसावट भएको खाना कम प्रयोग गर्ने
कीटनाशक औषधि प्रयोग भएका खाद्यवस्तु नखाने
विकिरणको एक्सपोज घटाउने
चुरोट, रक्सी, ड्रग्सको प्रयोग नियन्त्रण गर्ने
जंक फुडको प्रयोग घटाउने
विकिरणबाट टाढा बस्ने
हाइटेन्सनको लाइनबाट टाढा बस्ने
मोबाइल बढी प्रयोग नगर्ने

वर्ष बहिरंग अन्तरंग
२०७०-९९४ ३८९
२०७१- ९६१ ४४०
२०७२-१०९३ ४९५
२०७३-१३६९ ५४९
२०७४-१४२५ ६०६
२०७५-(साउन) १४६ ८२

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय