गोसाइँकुण्ड ताल : शिवजी, बिरामी भक्तालु अनि फोहोर

गोसाइँकुण्ड निकै सुन्दर लाग्छ मलाई । ४ हजार ३ सय मिटर उचाइमा रहेको यो ठाउँ प्राकृतिक रूपले परिपूर्ण लाग्छ । गोसाइँकुण्ड, भैरवकुण्ड, सूर्यकुण्ड, दूधकुण्ड, सरस्वतीकुण्डलगायत सुन्दर १७ कुण्डहरू नजिक–नजिक टाँसिएरै बसेका छन् । सत्ययुगमा समुद्र मथेर निस्केको विषले संसार तहसनहस पार्ने अवस्था आएपछि शिवजीले सेवन गर्नुभएछ । त्यो कालकुट विष सेवन गर्नासाथ शिवजीको कण्ठमा जलन सुरु भएछ । अरूअनेक उपाय लगाउँदा पनि जलन कम नभएपछि चिसो पानीको खोजीमा शिवजी भौँतारिँदै अहिलेको गोसाइँकुण्ड क्षेत्रमा पुग्नुभएछ । त्यहाँ पुग्दा असह्य भएर शिवजीले आफ्नो त्रिशूल नजिकैको ढुंगामा बजार्नुभएछ र त्यहीँबाट त्रिशूलधारा पानी बग्न थालेछ । त्यही त्रिशूलधाराको पानी पिएपछि शिवजीको तिर्खा शान्त भएछ । त्यही त्रिशूलधाराको पानी बगेर नै गोसाइँकुण्ड बनेको भन्ने किंवदन्ती रहँदै आएको छ । त्रिशूली नदीको मुहान पनि त्यसैलाई मानिन्छ ।

शिवजीको सम्झना र भक्तिमा हरेक वर्ष जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा भव्य मेला लाग्छ । बौद्ध र हिन्दूधर्मावलम्बी दुवैले पवित्र थलो मान्छन् गोसाइँकुण्डलाई ।करिब २ हजार मिटरको उचाइमा रहेको रसुवाको सदरमुकाम धुन्चेबाट बलियो गरी हिँड्नेहरूएकैदिनमा र सुस्त–सुस्त हिँड्नेहरुतथा वृद्धवृद्धा भने एक रात बाटोमावास बसेर दोस्रो दिन गोसाइँकुण्ड पुग्छन् । केही पर्यटक र तिर्थालु भने सुन्दरीजलको लामो र कठिन बाटो रोज्छन् । छोटो समयमै करिब १० हजारभन्दा बढी तिर्थालु आइपुग्छन् स्नान गर्न ।

तर, हाम्रो टोली भने २ रात बाटोमै वास बस्यो । हिँड्न नसकेर होइन, लेक लाग्ला भन्ने जोखिम आकलन गरेर होसियारी अपनायौँ । जनैपूर्णिमाको मेलालाई लक्ष्य गरेरहिमालयन उद्धार संघको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुने स्वास्थ्य शिविरका लागि यसवर्ष मसहित ७ जनाको टोली तयार भएका थियौँ । ३ वर्षअघि पनि सोही शिविरका लागि आएको थिएँ, मेडिकल स्टुडेन्टका रूपमा । तर,यसपटक भने फरक जिम्मेवारी थियो ।

भरियाले बोकिरहेका हाम्रा उपकरण, औषधि, अक्सिजन छेवैमा असरल्ल छर्यौँ । केटोले हिजो धुन्चेबाट गोसाइँकुण्ड पुगेको, मम्मीलाई हिजो साँझबाटै टाउको दुख्न सुरु भएपनि मध्यरातबाट निकै च्यापेको र करिब मिर्मिरेमा पटक–पटक बान्ता भई बेहोस भएको बतायो ।

सधैँझैँ एकादशीको दिन सबेरै गोसाइँकुण्ड पुग्ने लक्ष्यसहित धुन्चेबाट पैदलयात्रा सुरु गर्यौं । योजनामुताबिक नै सोही दिन चन्दनबारी र अर्को रात लौरीविनामा बस्यौँ । भोलिपल्ट सबेरै लौरीविनाको उकालो उक्लेर बुद्ध मन्दिर पुग्दानपुग्दै थर्पुकी साहुनीले हामीलाई रोकिहालिन् । ‘तपाईंहरू क्याम्पको डाक्साबहरू होइन?’ हामीले ‘हो’ भनेर मुन्टो हल्लाउन नपाउँदै ती तामाङ्नी साहुनीले थपिन्,‘माथि थर्पुमा एकजना आइमाईलाई लेक लागेजस्तो छ, बेहोस छिन्, गएर हेर्दिनुपर्यो,’ एकै सासमा ती साहुनीले आफ्ना कुरा सकिसक्दा पनि हाम्रो सास अझै आइपुगेको थिएन । हतार–हतार तिनले देखाएको थर्पुतिर लाग्यौँ । त्यहाँ पुगेर आफ्नो परिचय दिन नपाउँदै १८–२० वर्षको ठिटो छेवैमा अचेत पल्टिरहेकी अन्दाजी ४५ वर्षीया महिलालाई देखाउँदैरुन पो लाग्यो, ‘लौन सरहरू, मेरो मम्मीको ज्यान बचाइदिनुपर्यो !’

भरियाले बोकिरहेका हाम्रा उपकरण, औषधि, अक्सिजन छेवैमा असरल्ल छर्यौँ । केटोले हिजो धुन्चेबाट गोसाइँकुण्ड पुगेको, मम्मीलाई हिजो साँझबाटै टाउको दुख्न सुरु भएपनि मध्यरातबाट निकै च्यापेको र करिब मिर्मिरेमा पटक–पटक बान्ता भई बेहोस भएको बतायो । निकै गाह्रो भएपछि बुद्ध मन्दिरसम्म झार्ने भरिया खोजेर त्याहाँसम्म झारेको कुरा उसले रुँदै बतायो । सामान्य चेकजाँच गरेपछि लेकको कारणले दिमागमा पानी जमेको हुनसक्ने (हाई अल्टिच्युड सेरेब्रल एडेमा) सम्भावित निदान गर्यौँ र सोको उपचारार्थ अक्सिजन र एउटा सुई पनि लगाइदियौँ । हिजोदेखिनै केही नखाएकाले ग्लुकोजको मात्रा कम भएर हुने हाइपोग्लाइसेमिया पनि सँगसँगै भएको हुनसक्ने अड्कल गरी सोका लागि पनि उपचार गर्यौँ । केही अघिसम्म पुरै बेहोस अवस्थाकी ती दिदी अक्सिजन र सुईले चमत्कार नै गरेजसरी करिब १०–१५ मिनेटमै आफैँ बस्न र नाम भन्न सक्ने भइन् । हामीसबैले ढुक्कको लामो सास फेर्यौँ । तर, ढुक्क हुने स्थिति अझै भएको थिएन । मुखबाट दिइने थप १–२ दबाइ खुवाइसकेपछि उनलाई झट्ट तल झार्ने प्रबन्ध मिलाउन आग्रह गर्यौँ । भरिया दाइहरूभेटिए, झट्ट राजी पनि भइहाले तल ओराल्न ।

तिर्थालुमा आइपर्ने समस्याहरू भने अन्य पर्यटकमा भन्दा भिन्न र चुनौतीपूर्ण छन् । न जाडो छल्न पर्याप्त लुगा, न खुट्टामा जुत्ता, व्रत बसेको खालीपेट र सीमित जनचेतना ।बिरामी भइसक्दा पनि देवताले बचाउनुहुन्छ भन्ने अटुट विश्वास र पवित्रस्थानमा मृत्युवरण पनि स्वीकार्य हुनु प्रमुख चुनौती हुन् ।

हामी औषधिको पोकोपन्तुरो कसेर लाग्यौँ गोसाइकुण्डतिर । बाटोभरि मनमा कुरा खेलिरह्यो । पछि हाम्रो शिविरमा आउने बिरामीमा पनि लेक लाग्ने समस्या नै प्रमुख थियो । लेक लाग्ने सम्बन्धमा जनचेतना देखेर त म अवाक् भएँ । छिटो उचाइ उक्लनु लेक लाग्नुका जोखिमहरूमध्ये प्रमुख हो । अन्तर्राष्ट्रिय मापदण्डहरूले अघिल्लो रातको तुलनामा ५ सय मिटरभन्दा बढी उचाइमा नसुत्न सुझाए पनि निकै कम तिर्थालुले मात्र त्यसो गरेको पाइयो । बाटोमा भेटिएकी ती आमा पनि एकैदिन करिब २ हजार मिटर उचाइ उक्लेकाले नै बिरामी परेकी हुनसक्छ । जनैपूर्णिमामेलाको शान्तिसुरक्षार्थ भन्दै धुन्चेस्थित एपिएफको एक टुकडी जनैपूर्णिमाको अघिल्लो साँझ गोसाइँकुण्ड आइपुगेको थियो । त्यहाँ आइपुग्नासाथ गाह्रो भयो भन्दै सिपाहीहरू छटपटाउन थाले । बिसन्चोकै कारण सोही रात मेला नैभएपनि कसैले ड्युटी गर्न नसक्ने जानकारी दिएर पूरा टिम सुत्यो, शिविरकै छाप्रोमा । रातभर पनि कोही न कोही बिरामी भएँ भन्दै उठिरहे । भोलिपल्ट सबेरै टिमको अस्वस्थताकै कारण देखाएर प्रहरी जवानहरू धुन्चेकै बाटो सोझिए ।

करिब ७०–८० प्रतिशततिर्थालुले त लेक लाग्नबाट जोगिन भन्दै लशून, अदुवा खाने र कागती सुँघ्ने गरेको हामीले पायौँ । उक्लँदै गर्दा बाटोभरि तिर्थालुले सेवन गरेको लशूनको कडा गन्धले नाकलाई खूब सताइरह्यो, जबकि लशूनबारे व्याप्त धारणा भ्रम मात्रै हो । यसमा कत्ति पनि वैज्ञानिकता छैन । हाम्रै साथीहरूले गोसाइँकुण्डमा केहीवर्ष पहिले गरेको अध्ययनले पनि सोही कुरा संकेत गरेको थियो र लेक लाग्न नदिनमा लशूनको भूमिका सिद्ध हुन सकेन । दक्षिण अमेरिकी देशहरू पेरू, बोलिभियामा व्याप्त ‘कोका पातले लेक लाग्नबाट बचाउँछ’ भन्ने भ्रमजस्तै सिद्ध भयो लशून पनि । लेक लागेको बिरामीको उपचार भने निकै सजिलो छ । जतिसक्दो छिटो कम्तीमा ५ सय मिटरदेखि हजार मिटर तल झार्ने । तर, गोसाइँकुण्डमा भने यति सजिलो उपचार विधिको प्रयोग गर्न पनि निकै कठिनाइ भोग्नुपर्यो ।

जनैपूर्णिमाको अघिल्लो रात हामी सिफ्ट मिलाएर नाइट ड्युटीमा व्यस्त थियौँ । पूर्णिमाको चम्किलो उज्यालोले रातको अँध्यारोलाई परास्त गरेको थियो । त्यही चन्द्रमाको प्रकाशमुनितामाङ समुदायका तिर्थालु नाँच्दै–गाउँदै रमाइलो गर्दै थिए । भएका ४ स्थायी होटेलमा त मान्छे अट्ने कुरै भएन, अस्थायी थर्पुहरू पनि कोचाकोच थिए । सबैमा जसोतसो रात गुजारौँ भन्ने थियो । छेवैको शिवमन्दिरको घण्टीको आवाजसँगै मिसिएर तामाङ गीत र नाचको ध्वनि हाम्रो शिविरको छाप्रोसम्मै आइरहेको थियो । राति करिब १२ बजेतिर अन्दाजी ६० वर्षका एक बुवा आउनुभयो । आफ्नी श्रीमतीसिकिस्त बिरामी परेको भन्दै थर्पुमै पुगेर उपचार गरिदिन अनुनय–विनय गर्नुभयो । व्यस्तताका कारण हामीले त्यसो गर्न नसकिने बताएपछि पुलिसको सहयोगमा पछि क्याम्पमै लिएर आउनुभयो ।सामाखुसीबाट तीर्थ आउनुभएको रहेछ श्रीमान्श्रीमती भएर । आमाका लक्षणहरूसोधखोजगरिसकेपछि थाहा भयो, गम्भीर प्रकृतिको लेक लागेको रहेछ । हामीसँग उपलब्ध केही औषधिले आमाको अवस्थामा क्षणिक सुधार त आयो, तर तल झर्नुको विकल्प थिएन । आमालाई ढिला नगरी तुरुन्त तल ओराल्नुपर्ने बताएपछि आमा त उल्टै हामीसँग पो रिसाउनुभयो । ‘यत्रो टाढाबाट यति दुःख गरेर आएको म,भोलि बिहान ननुहाई झर्दिनँ ।मलाई केही हुँदैन । केही भइहाले नि ठिकै छ, पवित्र ठाउँमा आएर मरिन्छ । म झर्दिनँ’ भनेर आमाले ढिपी कस्नुभयो । निकै लामो रस्साकस्सीपछि बल्ल–बल्ल आमालाई सम्झायौँ र झर्न मान्नुभयो ।

शिविरबाट जानेवेला मनग्य आशिष पनि दिएर जानुभयो । त्यस उमेरका बुबाले आशीर्वाद दिँदा टन्नै पुण्य कमायौँ भनेर हामी पनि दंग पर्यौँ । पछि जनैपूर्णिमाको दिन बुबाले कुण्डछेवैमा ‘ताओ’ बाँधिरहेको भेट्टायौँ । हामीले पनि बुबाकै हातबाट ताओबाध्यौँ ।

तिर्थालुमा आइपर्ने समस्याहरू भने अन्य पर्यटकमा भन्दा भिन्न र चुनौतीपूर्ण छन् । न जाडो छल्न पर्याप्त लुगा, न खुट्टामा जुत्ता, व्रत बसेको खालीपेट र सीमित जनचेतना ।बिरामी भइसक्दा पनि देवताले बचाउनुहुन्छ भन्ने अटुट विश्वास र पवित्रस्थानमा मृत्युवरण पनि स्वीकार्य हुनु प्रमुख चुनौती हुन् । त्यसो तआन्तरिक पर्यटकमा पनि लेक लाग्ने समस्या र जनचेतना अभाव उत्तिकै विकरालरूपमा देखिएको छ । २०१६मा जोनाथान रिसम्यानले मनाङ गाउँमा गरेको अध्ययनले पनि सोही कुरालाई प्रस्ट्याएको छ । बेसीसहर–मनाङ सडकखण्डले लेक लाग्ने समस्यामा पारेको प्रभाव केलाइएको उक्त अध्ययनले बाटो निर्माणपश्चात् लेक लाग्ने समस्या बढेको, लेक लागेका आधाभन्दा बढी बिरामीले गाडीमा छिटो यात्रा गरेको र नेपाली बिरामीले तुलनात्मक रूपमा गाडीको बढी प्रयोग गरेको जनाएको छ । मुक्तिनाथ क्षेत्रमा गरिएको अर्को अध्ययनले पनि सोहीकुरा विम्बित गरेको छ । अर्थ, हामी नेपालीमा लेक लाग्ने सम्बन्धमा जनचेतना निकै न्यून छ ।

जनैपूर्णिमाको २ दिनअघि एकजना अधबैँसे तामाङ दिदी हाम्रो शिविर खोज्दै आइपुग्नुभयो । हेर्दै लत्रक्क गलेको, दयालाग्दो भएको थियो अनुहार । यसो बुझ्दा नागपञ्चमीदेखि नै गोसाइँकुण्ड आएर थर्पु चलाएर बसिरहनुभएको रहेछ । ‘भनेसि दिदीको घर स्याफ्रु त होला नि?’ मैले सोधेँ । दिदीले हो भन्ने इसारामा मुन्टो हल्लाइन् । अधिकांश थर्पु चलाउनेहरू स्याफ्रुकै हुन्छन् । हिजोदेखि पखाला चलेर दिदीलाई हैरान भएको रहेछ । झन् त्यसमाथि तारन्तार बान्ता पनि थपिएपछि त दिदीलाई अब बाँच्दिनँ भन्ने नै लागेछ । शरीरमा पानीको मात्रा कम भएको प्रस्टै हुन्थ्यो ।बान्ता रोक्न सकेसम्म मुखबाटै औषधि दिने प्रयास गर्ने र त्यसपछि जीवनजल र अन्य झोल खुवाउने हाम्रो योजना सफल हुन सकेन । नसाबाट औषधि र सलाइनपानी चलाउनुपर्ने भयो ।

करिब २ घण्टाको प्रयासपछि दिदीको मुहार अलिक उज्यालो भएको आभास भयो । बिरामी भएको पिर त छँदै छ, त्यत्रो दुःख गरेर पैसा कमाउन भनेर आएको, मेलाको मुखैमा बिरामी पर्दा वर्षभरिको कमाइ गुम्ने डरले दिदीलाई तर्साएको थियो । छुट्टिनेवेलामा अहिलेसम्म कतिको व्यापार भयो त भन्ने हाम्रो जिज्ञासामा ‘यो साल त छैन नि सर, मान्छे नै छैनन्’ भन्दै निराश भइन् । जानेवेलामा सबैजना डाक्टरलाई आफ्नो थर्पुमा चिया खान निम्ता पनि दिइन् । दिदीको जस्तो झाडाबान्ताको समस्या नौलो भने होइन गोसाइँकुण्डमा । करिब १० हजारभन्दा बढीले तीर्थ गर्ने ठाउँमा मुस्किलले ३–४ वटा बनाइन्छन् सार्वजनिक शौचालय । थर्पुहरूको आफ्नै शौचालय हुने कुरै भएन, ती ४ स्थायी होटेलहरूका शौचालय र ३–४ सार्वजनिक शौचालयको भर पर्नुपरेपछि त्याहाँको सरसफाइको अवस्था अनुमान गर्न सकिन्छ । यसमा अझै समितिको भने ध्यान पुग्न सकेको छैन ।

जनैपूर्णिमाको दिउँसो शिविरबाट होटेलतर्फ जाँदै थियौँ । बाटोमै तिनै दिदीको थर्पु पथ्र्यो । ‘सरहरू आउनुस् न चिया खान,’ दिदीले थर्पुभित्रैबाट निम्ता दिइन् । दिदीको अनुहार निकै फुर्तिलो देखिन्थ्यो र खुसी पनि । ‘अहिले त भ्याउँदैनौँ दिदी, अब अर्कोचोटि । कस्तो छ हजुरलाई? अनि हिजो राति कतिजना गेस्ट सुताउनुभयो त?’ हामीले सोध्यौँ । दिदीले मक्ख पर्दै भनिन्, ‘अस्ति त यसपालि काम गर्न नसक्ने भएँ भन्ठानेर पिर गरेको, सरहरूले गर्दा धन्न गर्न सकियो । हिजो त पूरै प्याक भो सर, १सय१२ जना अटे ।’ मैले मनमनै हिसाब गरेँ, ‘खाएको,बसेको गरेर करिब हजारका दरले लाखभन्दा माथि नै व्यापार भएछ ।’ दिदीसँग छुट्टिएर होटेलतिर लाग्दा मनमा खुसी लाग्यो । यसपटकको मेलामा हामीले अपेक्षा गरेभन्दा धेरै संख्यामा जाडोले कठ्यांग्रिएका (हाइपोथेर्मिया) बिरामी हामीकहाँ आए । गोसाइँकुण्डको चिसो पानीमा नुहाउने, तर नुहाइसकेपछि पर्याप्त न्यानो लुगा नहुनाले त्यस्ता समस्या आउँछन् । एक–दुईजना तिर्थालुको त निकै नाजुक अवस्था हुँदाहुँदै पनि ज्यान बचाउन सफल भयौँ । खुसी लाग्छ ।

जनैपूर्णिमाको दिन बिहान ३ बजे मन्दिरको घण्टीसँगै चहलपहल सुरु भइसकेको थियो । स्नान गर्ने तिर्थालुको भिडले कुण्डछेउछाउ पूरै भरिएको थियो । पवित्र दिन भएकाले कुण्डमै नुहाउने अठोटसहितअरू साथीसँगै म पनि लागेँ कुण्डतिर । तर, गोसाइँकुण्डको त्यो अवस्था देखेर साह्रै पीडा र लज्जाबोध भयो म आफैँलाई । सायद, शिवजी पनि दुःखी हुनुभयो होला । कुण्डको किनारैकिनार स्नान गरिसकेर फालिएका भित्री लुगाले कुण्डलाई नै कुरूप बनाएको थियो । मसँगै स्नान गर्न हिँडेका डा. बद्रीले जिस्कँदै भने,‘ओहो ! कट्टुआतंक नै फैलिएछ त दाइ ।’ समितिले यसै वर्षदेखि किनारछेउमा भित्री लुगा डम्प गर्न छुट्टै बिन नै बनाइदिएको भए पनि त्यसभित्र लुगा फाल्न धेरैलाई चासो थिएन । धेरैको चासो केवल कुण्डमा स्नान गर्ने र सात पुस्तासम्मकै पाप पखाल्नमा केन्द्रित थियो । यसरी पवित्र कुण्ड फोहोर गर्दा झन् पापी भइएला कि भन्ने चासो कसैलाई थिएन । पछि धुन्चेतिर फर्कने वेलासम्मै यही कुरा मनमा खेलिरह्यो । झन् बाटोको दृश्यले थप दुःखी बनायो । बाटोभरि असरल्ल छरिएका चाउचाउ, बिस्कुट, चकलेट, पराग आदिका प्लास्टिकजन्य फोहोरले म आएको सफा र सुन्दर बाटो नै त्यही थियो भनेर पत्याउनै मुस्किल भयो । ‘पदचापबाहेक केही नछोड, सम्झनाबाहेक केही नलैजाऊ’ भन्ने ट्रेकिङमा प्रचलित उक्ति त हावा खायो । म बाटाभरि सोच्दै आएँ– आखिर हामी नेपाली कहिले सुध्रन्छौँ त?

नेपाललाई प्रकृतिले अपार साथ दिएको छ । गोसाइँकुण्ड त्यस्तै प्रकृतिको अनुपम उपहार हो । सुन्दर तालहरू र यात्रा अवधिभर मनै लोभ्याउने लाङटाङ, गणेश र मनास्लु हिमालको ‘प्यानोरोमिक’ दृश्य देख्न पाइन्छ । सांस्कृतिक रूपमा पनि हिन्दू र बौद्ध धर्मको सहिष्णुताको संगम हो गोसाइँकुण्ड । तर, गोसाइँकुण्डमा जे देखियो, त्यसले कुन प्रकृतिप्रेमीको मन नरोला र? प्रकृतिको स्याहार–सम्भार हाम्रै दायित्व होइन र?

मेला सकेर धुन्चेतर्फ हतार–हतार ओर्लंदै थियौँ, पछाडिबाट कसैले ‘ओहो ! बाबुहरू पनि फर्कन लाग्नुभएछ’ भन्नासाथ टक्क रोकियौँ । पछाडिबाट को मानिसले बोलायो भनेर फर्किंदा बुटवलका ८० वर्षीया शर्मा बुबा पो हुनुहुँदोरहेछ । द्वादशीको दिन दमले च्यापेर स्वाँ–स्वाँ गर्दैहाम्रो शिविरमा आउनुभएको थियो बुबा । थर्पुका साहुले ‘बुबालाई लेक लागेजस्तो छ, अब तल झर्नुपर्छ’ भनिदिँदा बुबालाई कम्ता पिर परेनछ । ८० वर्षको उमेरमा तीर्थव्रत गर्न भनेर त्यत्रो उकालो उक्लेर आइयो, पूर्णिमासम्म पनि नबसी झर्नुपर्ने भयो भनेर बुबा निराश हुनुभएको रहेछ । हामीले चेकजाँच गरेपछि ‘बुबालाई लेक लागेको होइन, दमको लक्षण हो, तत्कालै झरिहाल्नुपर्दैन’ भनिदिँदा बुबा खुसीले फुरुंग पर्नुभयो । शिविरबाट जानेवेला मनग्य आशिष पनि दिएर जानुभयो । त्यस उमेरका बुबाले आशीर्वाद दिँदा टन्नै पुण्य कमायौँ भनेर हामी पनि दंग पर्यौँ । पछि जनैपूर्णिमाको दिन बुबाले कुण्डछेवैमा ‘ताओ’ बाँधिरहेको भेट्टायौँ । हामीले पनि बुबाकै हातबाट ताओबाध्यौँ ।त्यसरी आफैँले माथि उपचार गरेका भक्तालुहरू भेटिँदा मनै दंग हुन्थ्यो । फेरि बाटोमै बुबाले धन्यवाद टक्र्याउनुभयो ।
बुबासँग छुट्टिएर हामी फेरि आफ्नै बाटो लम्कियौँ । बाटाभरि माथि बिताएका क्षण,मेलाको रमाइलो, बिरामी र बिरामीका अज्ञानताबारे मनमा कुरा खेलिरह्यो ।

सत्ययुगमा कालकुट विष पिएर औडाहा भएपछि शिवजीले भैरवलाई एउटा अनुरोध गर्नुभएछ । आफूलाईभइरहेको जलन ठिक गर्न उच्च लेकमा चिसो पानी पिउन मिल्ने कुण्ड बनाउन लगाउनुभएछ । भैरवजी ‘हुन्छ’ भन्दै लेक उक्लिनुभएछ र अहिलेको गोसाइँकुण्डनजिकै एउटा सुन्दर कुण्ड बनाउनुभएछ । बनाइसकेपछि त्यो कुण्ड यति सुन्दर लागेछ कि, भैरवजी आफैँ त्यसमा सुत्नुभएछ । पछि भैरवजीको चाला देखेर शिवजी रिसले आगो हुनुभएछर भैरवजीलाईश्राप दिनुभएछ,‘भक्तालुले तिमीलाई पूजा गर्ने छैनन्, मेरो दर्शन गर्नुपूर्व तिम्रो दर्शन गरेमा उनीहरूलाई धर्म होइन, पाप मिल्नेछ ।’ धुन्चे हुँदै उक्लँदा भैरवकुण्ड नहेरी गोसाइँकुण्ड हेर्न सम्भवै छैन । उक्लिएपछि बिरामी पर्नेहरू कोहीले भैरवकुण्ड दर्शन गर्नाले शिवजीको श्राप लागेको त कोहीले कुन जन्ममा पाप गरेकाले अहिले तीर्थ आउँदा बिरामी परेको भन्दै आफैँलाई धिक्कार्छन् । उनीहरूलाई लेक लाग्ने वा बिरामी हुने भगवान्को श्रापले होइन, छिटो उकालो उक्लेर, पर्याप्त खाना–पानी नभएर, बाक्ला लुगा नभएर, सरसफाइको कमीले हुन्छ भनेर बुझाउन हामीले अझै कसरत गर्न बाँकी छ ।

माउन्टेन मेडिसिन सोसाइटी अफ नेपाल
sumann .acharya@gmail .com

3 thoughts on “गोसाइँकुण्ड ताल : शिवजी, बिरामी भक्तालु अनि फोहोर

  1. “आमा त उल्टै हामीसँग पो रिसाउनुभयो । ‘यत्रो टाढाबाट यति दुःख गरेर आएको म,भोलि बिहान ननुहाई झर्दिनँ ।मलाई केही हुँदैन । केही भइहाले नि ठिकै छ, पवित्र ठाउँमा आएर मरिन्छ ।”
    निकै खुशी एवम् गर्व लाग्यो भाई सुमन लगायत सम्पुर्ण टिम प्रती यसरी नै आफ्नो कर्तव्य लाई आत्मसात गर्दै जानू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय