पाठेघरको क्यान्सर जाँचका निम्ति कल्पोस्कोपी

स्त्री–जनेन्द्रिय अंगहरूजस्तै पाठेघरको मुख, योनि तथा योनिमार्गमा कुनै पनि असामान्य रोगका लक्षण भए–नभएको पत्ता लगाउन गरिने परीक्षणलाई कल्पोस्कोपी भनिन्छ । कल्पोस्कोपी प्रक्रियामा स्त्रीरोग विशेष उपकरणको प्रयोग गरिन्छ ।
स्त्रीरोग परीक्षण गर्ने सिलसिलामा गर्भाशय स्रावको जाँच गर्दा कुनै खराबी देखिएमा वा खराबीको शंका लागेमा चिकित्सकले कल्पोस्कोपी गर्ने सल्लाह दिन्छन् ।
कल्पोस्कोपी गर्दा यदि चिकित्सकले महिला जनेन्द्रियजस्तै पाठेघरको मुख, योनिद्वार, आदिमा असामान्य कोषिकाहरू भएको पाइएमा वा कोषिकाहरूमा असामान्य वृद्धि पाइएमा, ती कोषिकाहरूको बायोप्सी परीक्षण गर्न नमुना संकलन गर्ने गरिन्छ ।
धेरै महिला गुप्तांगको परीक्षण गर्नुपूर्व त्यसका लागि हिच्किचाउने र एककिसिमको तनावमा रहने गरेको पाइन्छ । कल्पोस्कोपी गर्नुपूर्व र प्रक्रियामा अपनाउनुपर्ने र जानकारी राख्नुपर्ने कुराहरू राम्ररी बुझ्न सकेमा यस्तो प्रक्रियामा असहज महसुस गर्नुपर्ने आवश्यकता हुँदैन ।

कल्पोस्कोपीबाट कुन–कुन रोग पत्ता लाग्छ ?
सर्वप्रथम त महिला स्वास्थ्य, अझ भनौँ महिलाको प्रजनन स्वास्थ्य ठिक भए–नभएको थाहा पाउनु सम्बन्धित स्वयम् महिलाका लागि श्रेयष्कर हुन्छ । तथापि कुनै महिलाले अस्वस्थ भएको महसुस गरी स्त्रीरोग विशेषज्ञले ती महिलाको गर्भाशय स्राव परीक्षण गर्दा वा पेटको जाँच गर्दा कुनै पनि असामान्य परिस्थिति देखापरेमा कल्पोस्कोपी जाँच गर्न सल्लाह दिइन्छ ।
सामान्यतया निम्न रोगहरू पत्ता लगाउन कल्पोस्कोपी गरिन्छ –
– पाठेघरको मुखको क्यान्सर,
– गुप्तांगमा हुने घाउखटिरा,
– पाठेघरको मुखको सुजन, सुन्निने, दुख्ने,
– योनि क्षेत्रको बाहिरी प्रकोष्ट वा भगकोष्टको क्यान्सर,
त्यसैगरी,
कल्पोस्कोपिक परीक्षणले–
– पाठेघर, पाठेघरको मुख वा योनिद्वारमा हुने घाउ–खटिराहरू पत्ता लगाउँछ ।
– रोगका शंकास्पद क्षेत्रहरूसँग सम्बन्धित असामान्य अवस्था वा क्षेत्रको पहिचान गर्छ ।
– रोग शंकास्पद क्षेत्रका असामान्य कोषिकाहरूको जाँच गर्न सहयोग पु¥याउँछ ।
– शल्यक्रिया गर्नुपर्नेखालका अर्बुदरोग भए–नभएको पत्ता लगाउँछ ।
– योनिद्वारमा क्यान्सरका घातक कोषिकाहरू उत्पादन हुनुपूर्व र ती कोषिकाहरू उत्पादित भइसकेपश्चात् त्यहाँ देखिने परिवर्तनहरूबारे पत्ता लगाउन सहयोग पु¥याउँछ ।

कुन अवस्थामा गरिन्छ कल्पोस्कोपी ?
– मूलाधार, योनि, योनिद्वार, गर्भाशय वा पाठेघरको मुखमा शंकास्पद गिर्खा, घाउ–खटिराहरू देखिएमा,
– गर्भाशय स्राव परीक्षण गर्दा असामान्य घाउ–खटिराको लक्षण पाइएमा वा अर्बुदरोगको शंका लागेमा कडा जोखिमका रोगहरू पत्ता लगाउन गर्भाशय स्राव परीक्षण गर्दा असामान्य नतिजा पाइएमा,
– गर्भाशयभित्र कडाखाले वा जटिल रोगको इतिहास भएमा,
– पाठेघरको मुख र योनि क्षेत्रका कोषिकाहरूमा अर्बुदरोग हुने लक्षण पाइएमा वा त्यसखाले रोग हुनुपूर्व देखिने परिवर्तनहरूको शंका लागेमा,
– योनि क्षेत्र, योनिद्वार वा बाहिरी भागमा अर्बुदरोग हुनुपूर्व हुने परिवर्तनहरूको शंका लागेमा, आदि ।
– गर्भाशयमा कडा जोखिमका रोगहरू उपचार गरी तिनको पुनः परीक्षण गर्नुपर्ने अवस्था आइपरेमा,
– बालिकाहरूमा हुने यौन हिंसा वा व्यभिचार, बलात्कारजस्ता अपराधहरूको निक्र्योल गर्नुपरेमा, आदि ।

(डा.श्रेष्ठ गाइने अन्को युनिट, भक्तपुर क्यान्सर अस्पताल कार्यरत हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय