यस्ता छन् संविधान दिवसमा विभूषित डाक्टरका काम

Health Post Nepal

Health Post Nepal
प्रकाशित
२०७५ असोज ३ गते १२:१५

  deepakdahal1   deepakdahal1

संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति÷व्यक्तित्व विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुने चिकित्साकर्मीमा २५ चिकित्सकसहित १ औषधि उद्योगी र २ नर्स छन् । विभूषित हुनेमध्ये केही आफ्नो क्षेत्रमा उल्लेखनीय कामले चर्चित छन् भने अधिकांश आफ्नो क्षेत्रमा नाम कमाएका चिकित्सक छन् ।

मानपदवी, अलंकार र पदक पाउनेमध्ये १२ चिकित्सक र १ नर्सले सुप्रबल जनसेवाश्री तृतीय श्रेणी, १२ चिकित्सकले प्रबल जनसेवाश्री चतुर्थश्रेणी, परमपौरख भास्कर, अतिपौरख भास्कर र प्राकृतिक प्रकोप पीडितोद्धार पदक एक–एकजनाले प्राप्त गरेका छन् ।

पदकबाट विभूषितमध्ये केही चिकित्सक महत्वपूर्ण कामले चर्चित छन् । जसमा वीरका निर्देशक डा. भूपेन्द्र बस्नेत, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, नेपालमा आँखा सेवालाई उचाइ दिने डा. रामप्रसाद पोखरेल, व्यवसायी हरिभक्त शर्मासमेत प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भएका छन् ।

डा. भूपेन्द्र बस्नेत
१ सय २८ वर्ष पुरानो वीर अस्पताल पछिल्लो दशक दिनानुदिन ओरालो लागिरहेको अवस्थामा डा. भूपेन्द्र बस्नेतले नेतृत्व लिएपछि अस्पतालको ओरालो यात्रामा ब्रेक लागेको मात्रै होइन, यसबीचमा उल्लेखनीय सुधार भएका छन् । पछिल्ला २ वर्षमा आमपब्लिक र सेवाग्राहीले वीरले प्रदान गर्ने सेवामा साँच्चै फरकपनको महसुस गरेका छन् । पछिल्लो समय अस्पतालबाट सेवा लिने सेवाग्रहीको संख्याले नै यसलाई प्रमाणित गर्छ । ओपिडी, आइपिडी र ओटीसँगै अस्पताल सरसफाइ, सुन्दरता, नयाँ निर्माणलगायतमा थुप्रै काम भइसकेका र हुनेक्रममा छन् ।

अस्पतालमा हेमोडाइलासिस, न्युक्लियर मेडिसिन, युरोलोजी, रगतरोग, फोक्सोको उपचार, ग्यास्ट्रोलोजी र लिभररोगको उपचारमा यही अवधिमा अत्याधुनिक उपकरणसहित निकै नवीन उपचार सेवा थप भएका छन् । वीरले धेरै वर्षदेखि प्रदान गर्दै आएका बहुप्रतिष्ठित सेवाअन्तर्गत यही अवधिमा सबै विभागमा केही न केही सुधार र सेवा विस्तार गरेर डा. बस्नेतले आफूलाई अब्बल व्यवस्थापक साबित गरेका छन् । उनी नामी ग्यास्ट्रोलोजिस्टसमेत हुन् ।

डा. रामप्रसाद पोखरेल
सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पाउने डा. रामप्रसाद पोखरेल नेपालमा ‘आँखा बा’का नामले सुपरिचित चिकित्सक हुन् । उनले नेपालमा नेत्रज्योति संघ खोलेर देशभर आँखा उपचारको सञ्जाल विस्तार गरेर लाखौँ–लाख आँखा रोगीमाझ सुलभ सेवा पुर्याउन उल्लेखनीय काम गरेका छन् । नेपालमा पहिलोपटक वीर अस्पतालमा २०३० मा आँखा प्रत्यारोपण सुरु गरेका नेपालका पहिलो नेत्ररोग विशेषज्ञ पोखरेल त्रिपुरेश्वर आँखा अस्पतालका समेत संस्थापक हुन् ।

डा. राजेन्द्र कोजू
२२ वर्षअघि धुलिखेलमा अस्पताल स्थापना गर्दा डा. रामकण्ठ माकाजू संस्थापक थिए । माकाजूलाई साथ दिने पहिलो डाक्टर थिए डा. कोजू । काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सका डिनसमेत रहेका कोजूले १० वर्षसम्म धुलिखेल अस्पतालको निर्देशक भएर अस्पताल हाँके । आमनागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने काममा नमुना बनेको धुलिखेलमा कार्यरत मुटुरोग विशेषज्ञ कोजू सुप्रबल जनसेवाश्री तृतीय श्रेणीबाट विभूषित भएका हुन् ।

डा. धर्मकान्त बास्कोटा र डा. दिलीप शर्मा
त्रिवि शिक्षण अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा. धर्मकान्त बास्कोटा पछिल्लो सयम नेपाल मेडिकल काउन्सिलका अध्यक्ष छन् । चिकित्सा शिक्षामा लामो सयमदेखि भित्रिएको विकृतिको एउटा ‘कारक’ बनेको नेपाल मेडिकल काउन्सिललाई पछिल्लो समय सुधार्न बास्कोटा र काउन्सिलकै रजिस्ट्रार डा. दिलीप शर्माले नेतृत्व लिएका छन् । उनीहरुपूर्वका अधिकांश नेतृत्व विवादित रहेको काउन्सिलमा बास्कोटा र शर्माले अगाडि बढाएको सुधार प्रयास र सफलता सह्रानीय छ ।

डा. ओममूर्ति अनिल
धमौरा महोत्तरीको सामान्य किसान परिवारमा जन्मिएका ४० वर्षे डा. ओममूर्ति अनिल मुटुरोगका नामी विशेषज्ञ हुन् । भारतको अल इन्डिया मेडिकल इन्स्टिच्युटबाट डिएम कार्डियोलोजी गरेका अनिल पछिल्लो समय मुटुरोग, जीवनशैली परिवर्तनका लागि जनचेतना बढाउन क्रियाशील छन् । सामाजिक सञ्चालहरुमा विभिन्न रोगबारे जनचेतना बढाउने भिडियो सन्देश र लेख–रचनाका लागि उनी निकै चर्चित छन् । आइओएमबाट गोल्डमेडलसहित एमडी गरेका उनी एम्समा खुल्ला प्रतिस्पर्धामा डिएम कार्डियोलोजीमा नाम निकाल्ने पहिलो विदेशी विद्यार्थी थिए । उनले सन् २०१४ मा विभिन्न रोगका जोखिमसम्बन्धी परीक्षण एवं सर्वे शिविरसमेत गरेका थिए ।

डा. गणेश राई
१४ महिनादेखि कान्ति बाल अस्पतालको निर्देशक रहेका डा. गणेश राई इमानदार र स्पष्टवक्ता चिकित्सकका रुपमा चिनिन्छन् । विशेषज्ञका रुपमा डा. राईले खोटाङजस्तो दुर्गम जिल्लामा ६ वर्ष, त्यसपछि विराटनगर, जनकपुरलगायत जिल्लामा बसेर सेवा गरे । अहिले उनले कान्ति अस्पतालमा थुपै्र सुधारका काम थालेका छन् ।

डा. हरिहर वस्ती
नेपालमा विद्यमान परम्परागत पोस्टमार्टमलाई विज्ञानसम्मत बनाउन डा. वस्तीले नयाँ अध्याय सुरु गरे । उनले पोस्टमार्टमलाई विज्ञानसम्मत बनाएर फरेन्सिक मेडिसिनलाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

डा. गीता गुरुङ
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की प्राध्यापक डा. गीता गुरुङ इमानदार चिकित्सकका रुपमा चिनिन्छिन् । विषयगत ज्ञान र पेसागत सीपमा समेत उनी निकै खारिएकी चिकित्सक हुन् । शिक्षण अस्पतालकी निवर्तमान विभागीय प्रमुखसमेत रहेकी डा. गुरुङ फेलो कलेज अफ फिजिसियन एन्ड सर्जन्स पाकिस्तानकी नेपाल संयोजकसमेत हुन् ।

हरिभक्त शर्मा
नेपालमा औषधिको गुणस्तर कायम गर्ने, यसको व्यावसायिकता विकास गर्ने सन्दर्भमा प्रतिष्ठित उद्योगीको नाम लिँदा सबैभन्दा अगाडि हरिभक्त शर्माकै नाम आउँछ । ०४६ को परिवर्तनलगत्तै नेपालमा औषधि उद्योग खोल्नुका साथै सुरुकै दिनदेखि गुणस्तरलाई प्राथमिकता दिने शर्मा सुप्रबल जनसेवाश्री तृतीयबाट सुशोभित भएका छन् ।

त्यसैगरी, पदवी अलंकार पाउने अन्य चिकित्सकमध्ये चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. गणेश गुरुङले पनि आफ्नो कार्यकालमा न्याम्सको प्राज्ञिक र व्यवस्थापकीय उचाइ दिन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यसैगरी, त्रिवि शिक्षण अस्पताल आकस्मिक विभाग प्रमुखका रुपमा लामो समय काम गरेका महाराजगन्ज क्याम्पसका प्रमुख डा. प्रताप नारायणसमेत आफ्नो कामले चर्चित छन् ।

को–को भए मानपदवी, अलंकार, पदकबाट विभूषित ?

सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी)
प्रा.डा. गणेशबहादुर गुरुङ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)
प्रा.डा. राजेन्द्रप्रसाद कोजू – अस्पताल प्रमुख, धुलिखेल अस्पताल
डा. आशा सिंह – नेपाल प्रहरी अस्पताल
दुर्गालक्ष्मी श्रेष्ठ – नर्सिङ प्रमुख, भेरी अञ्चल अस्पताल
डा. गणेशकुमार राई – निर्देशक, कान्ति बाल अस्पताल
डा. हरिहर वस्ती – फरेन्सिक विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल
डा. धर्मकान्त बास्कोटा – अध्यक्ष, नेपाल मेडिकल काउन्सिल
डा. प्रतापनारायण प्रसाद – क्याम्पस प्रमुख, महाराजगन्ज मेडिकल कलेज
डा. ओममूर्ति अनिल – मुटुरोग विशेषज्ञ,
डा. रामप्रसाद पोखरेल – आँखा विशेषज्ञ)
प्रा.डा. पशुपति चौधरी – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
डा. गीता गुरुङ – त्रिवि शिक्षण अस्पताल
हरिभक्त शर्मा – देउराली जनता फर्मास्युटिकल्स

प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी)
डा. रोशन न्यौपाने (मेसु, जिल्ला अस्पताल म्याग्दी)
डा. सगुन जोशी (आँखा विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल)
डा. फणिन्द्रप्रसाद बराल (जिल्ला अस्पताल धनकुटा)
डा. दिलीप शर्मा – (रजिस्ट्रार, नेपाल मेडिकल काउन्सिल)
प्रा.डा. भूपेन्द्रकुमार बस्नेत (निर्देशक, वीर अस्पताल)
डा. निलिजा शाक्य (मन्थली प्राथमिक स्वास्थ्य केन्द्र, रामेछाप)
डा. पवनकुमार कर्ण (चिकित्सक, विराटनगर)
डा. दीपक श्रेष्ठ (चिकित्सक, काठमाडौं)
डा. राम थापा क्षेत्री (चिकित्सक)
डा. दृष्टिराज्य लक्ष्मी शाह (वीरेन्द्र सैनिक अस्पताल, छाउनी)
डा. प्रवीन नेपाल (नेपाल एपिएफ अस्पताल)
राधा पौडेल (नर्सिङ निरीक्षक, जिल्ला अस्पताल, दाङ)

परमपौरख भास्कर
डा. गोपाल महर्जन (वीरेन्द्र सैनिक अस्पताल)

अतिपौरख भास्कर
डा. मुन थापा (वीरेन्द्र सैनिक अस्पताल)

प्राकृतिक प्रकोप पीडितोद्धार पदक
डा. सुमना थापा (फिल्ड अस्पताल, इटहरी)

4 thoughts on “यस्ता छन् संविधान दिवसमा विभूषित डाक्टरका काम

  1. congratulations to all.डा. हरिहर वस्ती – फरेन्सिक विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल, डा. रामप्रसाद पोखरेल, डा. गणेश राई yes of course they deserves. but other and most of them chakadi,chaplusi, natabaad kripabaad.??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय