८ महिनाको बच्चामा २ केजीको ट्युमर, कान्तिमा भयाे सफल शल्यक्रिया

हेल्थपोस्ट नेपाल

कान्ति अस्पतालमा ८ महिनाकी बालिकाको पेटभित्र निकै अप्ठ्यारो गरी रहेको २ केजी तौलको ट्युमर (टेराटोमा)को सफलतापूर्वक शल्यक्रिया भएको छ । चितवनकी कृष्टिना बिसुन्खेको जन्मजात ट्युमरको दुर्लभ शल्यक्रिया सफल भएको हो ।
केही दिनअघि नै शल्यक्रिया भए पनि बालिका खतरामुक्त भएपछि मात्रै चिकित्सकहरुले शल्यक्रियाबारे सार्वजनिक गरेका थिए । ‘बेटोप्युमेनिक’ भनिने ट्युमर पेटको कलेजो, फियो र आन्द्रानजिकैको भागमा अप्ठ्यारो गरी बसेको थियो । अस्पतालका शल्यक्रिया विभाग प्रमुख डा. मधुसूदन पुनका अनुसार असाध्यै अप्ठ्यारो गरी रहेको ट्युमर हटाउने शल्यक्रिया गर्दा एउटा मात्रै गलत नसा कटिएमा बच्चाको ज्यानै जानेसम्मको जोखिम हुन्छ । डा. पुन, डा. रमाना राजकर्णीकारसहित १० जना शल्यचिकित्सक र एनेस्थेसियोलोजिस्टको समूहले ट्युमरको शल्यक्रिया गरेको थियो ।

डा. राजकर्णीकारका अनुसार उक्त ट्युमर रहेको ठाउँमा दुईवटा झिल्ली हुन्छन्, एउटा झिल्ली पेटसँग र अर्को आन्द्रा र कलेजोसँग टासिएका हुन्छन् । यो ट्युमर त्योभन्दा पनि पछाडिबाट आएर टाँसिएर रहेको थियो ।
यस्ता ट्युमरसँग थुप्रै रगतका नसाहरुसँगै महत्वपूर्ण अंगहरु मिर्गौला, आन्द्रा एकै ठाउँमा हुने भएकाले नसाहरु छुट्याउन निकै कठिन हुन्छ । त्यस्तो अवस्थामा एउटा मात्रै नसा काटियो भने पनि अत्यधिक रक्तस्राव भएर बच्चाको ज्यानै जान सक्छ ।

‘त्यसपछि पेट अलिक खाली भएपछि बल्ल मासु वा ट्युमरसम्म पुग्न सक्यौँ,’ डा. राजकर्णीकारले भनिन्, ‘पेटमा भएको पानीका कारण नै बच्चाको पेट ठूलो भएको थियो ।’

डा. राजकर्णीकारका अनुसार बच्चाको मिर्गौला र कलेजोमा समेत ट्युमर टाँसिएर रहेको थियो । यस्तो अवस्थामा पिसाबनलीसमेत काटिने त्रास हुन्छ । ठूलो थैलीजस्तो भएर बसेको ट्युमरबाट चिकित्सकहरुले धैर्यपूर्वक सुरुमा १ लिटर पानी निकालेका थिए । ‘त्यसपछि पेट अलिक खाली भएपछि बल्ल मासु वा ट्युमरसम्म पुग्न सक्यौँ,’ डा. राजकर्णीकारले भनिन्, ‘पेटमा भएको पानीका कारण नै बच्चाको पेट ठूलो भएको थियो ।’

३ महिनाकी हुँदादेखि पेट अस्वाभाविक रुपमा पेट बढ्न थालेपछि परिवारले चितवनकै विभिन्न अस्पतालमा उपचारका लागि पु¥याएका थिए । चितवनबाट रेफर भएकी कृष्टिना २२ असारमा कान्ति अस्पताल ल्याइएकी थिइन् ।
चिकित्सकहरुले रगत, भिडियो एक्सरेलगायत जाँचबाट ट्युमर भएको पत्ता लगाई शल्यक्रियाको विकल्प नभएको परिवारलाई बताएको बाबु ईश्वर नेपालीले बताए ।

उपचारमा संलग्न बालरोग सर्जन डा. राजकर्णीकारका अनुसार कसैकसैमा यस्तो ट्युमर जन्मँदै पनि देखिन्छ, कसैमा उमेर बढेसँगै देखिन्छ । चिकित्सकहरुका अनुसार यस्तो ट्युमर ढाडको पछाडि भाग, घाँटी, मस्तिष्क, छातीलगायतमा देखिन्छ ।
बच्चा डिम्बमा बस्दादेखि नै तन्तुमा समस्या आएर यस्तो ट्युमर विकास हुन्छ । यसमा तीनवटा फरक–फरक तन्तुहरु एक्टोडर्मल, मेजडर्मल, इक्टोडर्मलले आ–आफ्नो लाइन समाउनुपर्नेमा एउटा सेलले मात्रै पनि बाटो बिरायो भने यस्तो ट्युमर विकसित हुन्छ ।

सुरुमा रिपोर्ट हेर्दा ठूलो–ठूलो नसा र आन्द्रासमेत जेलिएर बसेको, कलेजो र मिर्गौलालगायतसँग टाँसिएर रहेकाले एकैपटक निकाल्न सकिन्न भने सोचेको डा. कर्णीकार बताउँछिन् । ‘सकेको निकाल्ने र बाँकीलाई किमोथेरापी, रेडियोथेरापी दिएर निकाल्ने भनेर हामीले निर्णय गरेका थियौँ,’ उनले भनिन्, ‘तर, बिस्तारै आन्द्रा, कलेजोबाट छुट्याउँदै एकैपटकमा निकाल्न सफल भयौँ ।’ बायप्सी गर्दा क्यान्सर प्रमाणित नभएपछि बच्चा खतरामुक्त भएको उनले बताइन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *