राज्यले गरेको अपमान डाक्टरकै दलगत चरित्रको परिणति हो

म नेपाल चिकित्सक संघको सन् १९७३ देखिको सदस्य हुँ । बूढो चिकित्सकको नाताले केही कुरा तपाईंहरूसमक्ष राख्नु जरुरी सम्झेको छु । चिकित्सकहरू समाजका दास होइनन्, न त राज्यको नै । हामी समाजका सहयात्री हौँ । समाजको हरेक सदस्यसँग हाम्रो मित्रवत् सम्बन्धको गाँठो छ । हामी आफ्नो समाजलाई आफूले सिकेको सीप र ल्याकतअनुसार सेवा गर्ने प्रण गर्दै यो व्यवसायमा आबद्ध भएका हौँ । यो हाम्रो साधना, साधन र जीविका पनि हो । संसारभरि चिकित्सकलाई उसले प्रदान गरेको सेवाको सम्मानमा सुविधायुक्त रहन–सहनसँग बाँच्न प्रेरित गरिन्छ ।

सीप र ल्याकत सबैमा समान हुँदैन । भर्खर विश्वविद्यालयको निर्धारित समयावधिको अध्ययन सकेर सेवामा सामेल भएको चिकित्सकको सीपमा कमी हुनु स्वाभाविक हो । उसले आफ्नो सीप र अनुभव दिनानुदिन जिन्दगीभर सँगाल्दै जानु र नवीकरण गर्दै जानुपर्ने आवश्यकता या बाध्यता यो व्यवसायको खासियत हो । त्यही कारणले गर्दा यो व्यवसायभित्र जस्तो भ्रातृत्वको कडी अरू व्यवसायमा कमै देखिन्छ । सिपालु चिकित्सकले आफ्नो व्यावसायिक भाइ तथा बहिनीलाई साथमा राखी आफ्नो सीप हस्तान्तरण गर्दै जाने प्रचलन संसारभरको अलिखित नियम हो । सो नभएको खण्डमा सीप नै लोप हुने निश्चित छ ।

हामी चिकित्सकमा मानवीय कमजोरी पनि छन् । पद र पदार्थ सँगाल्न पाइन्छ कि भनेर एउटा–एउटा राजनीतिक समूह समातेर व्यक्तिगत स्वार्थको परिपूर्ति गर्न जहिले पनि तत्पर भयौँ । त्यसकिसिमको व्यवहारले यो संस्थाको मेरुदण्ड अलि फुस्किएकै हो । तर, हमीसित समय छ, अर्थोपेडिक सर्जन भएर यो संस्थाको मेरुदण्ड ठिकसँग फेरि मिलाउने ।

यो संस्था राजनीतिक दलको भ्रातृ या भगिनी संगठन हुनु व्यवसायका निम्ति ठूलो दुर्भाग्य हुन गयो र जान्छ । यही धारणा बोकेर हिँड्दा र राजनीतिक शक्ति बोकेर सन् १९९० को जनआन्दोलनपछि हिँडेका दुवै खेमाका चिकित्सक हस्ती डा. शशांक कोइराला, डा. मथुरा श्रेष्ठ र डा. वंशीधर मिश्रलाई सम्झाउन नसक्दा र स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्षसमेत गरिएको नेपाल चिकित्सक संघलाई तटस्थ व्यावसायिक संगठनका रूपमा बाँच्न दिऔँ भन्ने विनयको सुनुवाइ नभएपछि मैले १९९२ पछिको संस्थानको कुनै पनि चुनावमा भाग लिनबाट आफूलाई वञ्चित गराएँ ।

आजको दिनमा हामीप्रति राज्य र समाजले पनि देखाएको अपमान हामीले बोकेर हिँडेको त्यही दलगत र अव्यावसायिक चरित्रको परिणति हो भन्नेमा म अडिग छु ।

चिकित्सा पेसामा लगनशीलताले अत्यन्त दूरगामी माने राख्छ भन्ने कुरा हामी कसैले पनि बिर्सनुहुँदैन । लगनशीलता बिरामीको उपचारमा मात्र सीमित नभएर दिनहुँजतो परिष्कृत प्रक्रियामा अग्रसर हुनुपर्ने व्यवसाय हो यो । यही परिप्रेक्ष्यमा दुराशय, लापरबाही र हेलचक्य्राइँको व्याख्या हुनु जरुरी छ । त्यो कसौटीमा हामी सबैले समर्पित हुनै पर्छ । जानी–जानी कुनै पनि चिकित्सकले आफ्नो बिरामीको अहितको कल्पना पनि गर्दैन । अहित हुन जान्छ– या त ल्याकतको कमीले, या त हेलचक्य्राइँ वा लापरबाहीले गर्दा या व्यवस्थापनमै भएका कमी–कमजोरीले ।

यस सन्दर्भमा भन्नुपर्दा नेपाल चिकित्सक संघले राजनीतिको अलमल छोडेर देशभरिको चिकित्सास्तरको अनुगमन र व्याप्त रूपमा भएका कमी–कमजोरीलाई सच्याउनेतर्फ मूल नेतृत्व लिनुपथ्र्यो । राज्यतर्फबाट भएका कमी–कमजोरीमाथि कडा चेतावनी जानुपथ्र्यो । चिकित्सा विज्ञानका विविध विधालाई ठाउँ दिएर त्यस विधाका नयाँ तथा चलनचल्तीमा रहेका प्रविधिसम्बन्धी शिक्षण गोष्ठीहरू चलाई कहाँ के–कस्ता कमजोरी छन्, त्यसको नियमित अनुगमन गरी कमजोर पक्षलाई सचेत गर्नु र कमजोरी सच्याउन मद्दतको प्रयोजन हुनुपथ्र्यो । ती कुराहरू भएनन् । बर्सेनि महामारी फैलिराख्ने देशमा चिकित्सक समूहको खास ठूलो चासो देखिएन । के देखियो भने, स्थानीय तथा केन्द्रीय राजनीतिक उपलब्धिका निम्ति कहीँ समस्या देखियो भने ‘नी जर्क रियाक्सन’अनुरूप समस्यालाई ढाकछोप गर्ने र सञ्चारमाध्यमद्वारा आ–आफ्नो राजनीतिक समूहलाई र निज आफूलाई नाफा दिलाउने र लिने मात्र काम भए ।

स्तरीय प्रयोगशालाविनाको सर्वेक्षण भनेको जुवाखेलाइ हो । नागरिकको ज्यान जुवामा बाजी राख्ने हक हाम्रो राज्यले मात्र प्राप्त गरेको छ । यस्तो स्थितिमा नेपाल चिकित्सक संघ मौनसाक्षी भएर बसिरहनु भयंकर कमजोरी हो ।

देशभरि बर्सेनि व्यापक रूपमा महामारी हुनु र त्यसबाट नागरिकको अकाल मृत्यु हुनुका पछाडि चिकित्सक समूह पनि निर्दोष छैन । मूल दोषी त राज्य नै हो, जसले बाह्रै महिना सर्वेक्षणको कार्यक्रममा बेवास्ता गरिरहेको छ । इमानदारीसाथ गरिने सर्वेक्षण सस्तो मूल्यमा सम्भव छैन । विदेशमा मिर्गौलारोगको उपचार गर्न जाँदा र कोलोनोस्कोपी गर्न दलबलसहित टोकियो पुग्नुसम्मको रकमको सही लगानी भएको भए देशको आधा भागमा स्तरीय प्रयोगशालासहितको सर्वेक्षण प्रणाली स्थापित गर्न सकिन्थ्यो । स्तरीय प्रयोगशालाविनाको सर्वेक्षण भनेको जुवाखेलाइ हो । नागरिकको ज्यान जुवामा बाजी राख्ने हक हाम्रो राज्यले मात्र प्राप्त गरेको छ । यस्तो स्थितिमा नेपाल चिकित्सक संघ मौनसाक्षी भएर बसिरहनु भयंकर कमजोरी हो ।

त्यसैले चिकित्सकसंघका समस्त सदस्यलाई विनम्र अनुरोध छ कि– हामी हाम्रा कमी–कमजोरीलाई सच्याउने कसरततिर पनि लागौँ र यो अमानवीय राज्यको चिकित्सकप्रतिको कुटिल मनसायलाई एकजुट भएर चक्नाचुर पारौँ ।

हाम्रा यस्ता कमजोरीका कारण राज्यले जनमोहक तर अत्यन्त असान्दर्भिक, चेतनशून्य र अमानवीय कानुनको तर्जुमा गरेर नाजायज फाइदा उठाउने मौका पायो । अब यो कानुनअनुरूप मैले कुनै पनि बिरामीलाई उपचार गर्नुपर्दा पहिले आफूलाई आपराधिक न्यायालयको कठघराभित्र हुलेर मात्र त्यो हिम्मत गर्नुपर्यो । बिरामी बाँच्यो र खुसीसाथ घर फर्कियो भने मात्र म त्यो कठघराबाट फुत्किन पाउने भएँ । देशमा कुनै कानुन छैन, आफूले आफैँलाई आपराधिक दोषी तोक्ने बाध्यता । त्यसैले चिकित्सकसंघका समस्त सदस्यलाई विनम्र अनुरोध छ कि– हामी हाम्रा कमी–कमजोरीलाई सच्याउने कसरततिर पनि लागौँ र यो अमानवीय राज्यको चिकित्सकप्रतिको कुटिल मनसायलाई एकजुट भएर चक्नाचुर पारौँ ।

फेरि पनि सादर अभिवादन !!

डा.घिमिरे, एमबिबिएस (दिल्ली), एमआरसिपी (युके), एफआरसिपी (एडिनबरा)
अाजीवन सदस्य
नेपाल मेडिकल एसोसिएसन

One thought on “राज्यले गरेको अपमान डाक्टरकै दलगत चरित्रको परिणति हो

  1. डाक्टर मधु घिमिरे को लेख एक दमै सान्दर्भिक छ। इमान्दारी साथ डाक्टर ले प्रयोगशाला जाँच लेख्ने र कमिशन नलिने त्यस्तै औषधि लेखे बापत क्म्पनी बाट एक्मुस्ट रकम न लिने ,x – ray , USG ,CT ECO MRI Etc आदिको पनि कमिशन नखाने हो भने यो देश मा अहिले भएको शुल्क मा 50% कममा सेवाग्राही ले लाभ पाउथे।बौद्धिक भ्रष्टाचार ले सबै क्षेत्र जस्तै चिकित्सा क्षेत्र पनि बर्बाद पार्यो साथमा राजनीति ले त झन मल जल हाल्नेत भैहाल्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय