डेन्टल एसोसिएसनको अध्यक्षमा डा. प्रवीन्द्र अधिकारी

हेल्थपोस्ट नेपाल

नेपाल डेन्टल एसोसिएसनको नेतृत्वमा डा. प्रवीन्द्र अधिकारी निर्वाचित भएका छन् । दन्तचिकित्सकहरूको छाता संगठनका रूपमा कार्यरत एसोसिएसनको शनिबार सम्पन्न अधिवेशनले आगामी २ वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । अधिवेशनबाट एसोसिएसनको उपाध्यक्षमा डा. आशिष भट्टराई र महासचिवमा डा. कुम्भराज जोशी निर्विरोध निर्वाचित भएका छन् । बाँकी ७ पदका लागि भने १२ प्रतिस्पर्धीबीच निर्वाचन भएको थियो । डा. अधिकारी दुई प्रतिस्पर्धीलाई पछि पार्दै ३ सय ८९ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा कुल ८ सय ९२ मत खसेको थियो ।

कोषाध्यक्षमा डा. अजय शाह र सहसचिवमा डा. जोह गुरुङ निर्वाचित भएका छन् । यी दुवै पदमा २–२ जनाले प्रतिस्पर्धा गरेका थिए । त्यसैगरी, सदस्यहरूमा डा. सन्तोष अधिकारी, डा. श्वेता सिंह, डा. सूर्यनारायण पुन र डा. कृष्णराज रेग्मी निर्वाचित भएका छन् । ४ पदका लागि भएको सदस्यको निर्वाचनमा ५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

देशभर १ हजार ४ सयभन्दा बढी सदस्य रहेको एसोसिएसनको यो अधिवेशनमा करिब ९ सय सदस्यले भाग लिएका थिए । अघिल्लो शनिबार क्षेत्रीयस्तरमा अधिवेशन गरेको एसोसिएसनले हिजो (शनिबार) काठमाडौंमा केन्द्रीय अधिवेशन सम्पन्न गरेको थियो । शनिबार भएको निर्वाचनको मतपरिणाम आइतबार सार्वजनिक भएको हो ।

नवनिर्वाचित अध्यक्ष डा. अधिकारीले दाँतको उपचार र दन्तचिकित्सकको सेवाबारे विद्यमान साँघुरो सोच परिवर्तन गर्न भूमिका खेल्ने बताएका छन् । भावी योजनाबारे हेल्थपोस्टको प्रश्नमा उनले भने ‘दन्तचिकित्सकको काम दाँत निकाल्ने मात्र हो भन्ने अवधारणा परिवर्तन गरेर ओरल हेल्थ र ओरल हाइजिनबारे जनचेतना बढाउन काम गर्छु ।’  उनले दाँतरोगको उपचार प्रदान गर्ने क्लिनिक र अस्पताल मापदण्डअनुसार हुनुपर्ने भन्दै उनले २ वर्ष कार्यकालमा ठोस काम गर्ने चुनौती लिएर आएको बताए ।

नवनिर्वाचित कार्यसमिति :
अध्यक्ष : प्रवीन्द्र अधिकारी
उपाध्यक्ष : डा. आशिष भट्टराई (निर्विरोध)
महासचिव  : डा. कुम्भराज जोशी (निर्विरोध)
कोषाध्यक्ष : डा. अजय शाह
सहसचिव : डा. जोह गुरुङ
सदस्य :

डा. सन्तोष अधिकारी
डा. श्वेता सिंह
डा. सूर्यनारायण पुन
डा. कृष्णराज रेग्मी



Leave a Reply

Your email address will not be published. Required fields are marked *