अमृतमय दूध, केसित पिउँदा बन्छ कुन रोगको औषधि ?

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ २९ गते १९:०९


दूध मानिसको मात्र नभई सबै स्तनपायी जीवको पहिलो आहार हो । दूधलाई अमृतको रूपमा लिने गरिन्छ । धार्मिक र वैज्ञानिक दुवै दृष्टिले दूध मानव स्वास्थ्यका लागि अति लाभकारी छ । दूधको बहुउपयोगितालाई बुझेरै हुनुपर्छ, हाम्रा पूर्खाले सदियौँदेखि दूधलाई अति शुद्ध वस्तुका रूपमा हरेक पवित्र कार्यमा प्रयोग गर्दै आएका छन्, जसको महत्व आजसम्म कायम छ । जन्मेको करिब ६ महिनासम्म आमाको दूध सेवन मात्रले पनि बच्चा हृष्टपुष्ट र स्वस्थ रहन सक्छ । त्यसैले बिरामीले दैनिक दूध पिउनु लाभकर हुन्छ । यसरी हेर्दा दूधविनाको जीवन कल्पना गर्न गाह्रो छ ।
वैज्ञानिक दृष्टिले हेर्ने हो भने दूध प्रोटिनको धेरै राम्रो स्रोत हो । बालबालिकाको शारीरिक विकासका लागि प्रोटिन नभइनहुने कुरा हो । बिरामीहरूलाई पनि प्रोटिन र इनर्जीको बढी आवश्यकता पर्छ । दूधले पर्याप्त क्यालोरी प्रदान गर्छ, जसले शरीरमा शक्ति दिन्छ । पोषणको दृष्टिकोणले हेर्दा दूधलाई अत्यन्त पोषिलो खानाको रूपमा मानिन्छ । तर, मोटोपन र ज्यादा कोलेस्टेरोल भएकाहरूले भने फ्याट भएको दूध नखान चिकित्सकहरूले सल्लाह दिने गरेका छन् ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने दूध प्रोटिनको धेरै राम्रो स्रोत हो । बालबालिकाको शारीरिक विकासका लागि प्रोटिन नभइनहुने कुरा हो । बिरामीहरूलाई पनि प्रोटिन र इनर्जीको बढी आवश्यकता पर्छ । दूधले पर्याप्त क्यालोरी प्रदान गर्छ, जसले शरीरमा शक्ति दिन्छ ।

दूध मात्र नभएर यसबाट बन्ने दही, घ्युलगायत वस्तु पनि शुद्ध र स्वस्थकर आहार मानिन्छन् । हामीले पनि दैनिक जीवनमा दूधको प्रयोग गरिरहेका हुन्छौँ । दूध आफैँमा पौष्टिक आहार त हुँदै हो, तर यसमा विभिन्न चिज मिलाएर खाँदा यसलाई थप पौष्टिक बनाउन सकिने र यसले रोगनिरोधकका रूपमा अनेक फाइदा पुर्याउनेतर्फ भने हाम्रो ध्यान कमै मात्र पुगेको हुन्छ । दूधमा विभिन्न चिज मिलाएर सही मात्रामा सेवन गर्नाले हामी थप लाभान्वित हुन सक्छौँ ।

दूधलाई थप पौष्टिक बनाऔँ
दूध हाम्रो पहिलो आहार हो । दूधमा रहेको क्याल्सियमले हड्डी र दाँतलाई मजबुत बनाउँछ । बच्चामा होस् वा जवानीमा या त प्रौढावस्थामा, रोगहरूबाट बच्नका लागि मानिसले नियमित रूपमा दूध पिउनुपर्ने सल्लाह दिने गरिन्छ । दूध आफैँमा पौष्टिक हो, यसमा अन्य पौष्टिक तत्वहरू सही मात्रामा मिलाउने हो भने यो थप पौष्टिक बन्नु स्वाभाविक हो । यहाँ दूधसित बदाम, मह, केरा, बेसार र किसमिस मिलाएर सेवन गर्दा हुने विविध फाइदाबारे यहाँ जानकारी दिइनेछ ।

बदाम र दूध


बदाम र दूध दुवैमा क्याल्सियम र भिटामिन हुन्छ, जसबाट शरीरमा प्रोटिन, फाइबर र मिनरलको पूर्ति हुन्छ । यी दुईलाई अत्यन्त पौष्टिक मानिन्छ । २५० मिलिलिटर दूधमा ६ वटा राम्ररी पिसिएको बदाम, चिनी र सुकुमेल मिलाएर उमाल्ने, त्यसलाई दैनिक पिउनाले ज्वरो र जन्डिसपछिको कमजोरी हराएर जान्छ । यसको सेवनले मांसपेशी पनि मजबुत हुन्छन् । यसका साथै यसको सेवनले स्मरणशक्तिमा सुधारसहित आँत, आँखा, पेट र गलाको जलन तथा सुक्खा खोकीमा लाभदायक हुन्छ ।
तर,
भोक नलाग्ने समस्या भएको अवस्थामा यसको सेवन गर्नुहुँदैन ।

 

मह र दूध


महमा सामान्यतया सबै गुण हुन्छन् । महलाई दूधमा मिलाएर सेवन गर्नाले यसबाट अधिक लाभ लिन सकिन्छ । दूध र मह दुवैमा भिटामिन ए, बी, डी र क्याल्सियम हुन्छन्, जुन एन्टिएलर्जिक, एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिइन्फ्लेमेट्री गुणयुक्त हुन्छन् । २५० मिलिलिटर दूधमा २ चम्चा मह मिलाएर दैनिक एकपटक पिउनाले रगत सफा हुन्छ । यसको सेवनले रोगप्रतिरोधात्मक क्षमता बढ्नुका साथै कलेजोसम्बन्धी रोग र तनावबाट मुक्ति दिलाउँछ ।
तर,
नाकबाट रगत बग्ने समस्या भएका मधुमेहका रोगीले यसको सेवन गर्नुहुँदैन ।

 

केरा र दूध


वजन बढाउन चाहनेहरूका लागि आमरूपमा दूध र केरा मिलाएर सेवन गर्ने सल्लाह दिइन्छ । यसका अन्य महत्वपूर्ण फाइदा पनि छन् । दूध र केराको सेवन मांसवर्धक हुन्छ, जसले बिरामीपछिको कमजोरी र थकान हटाएर शरीरलाई पर्याप्त शक्ति दिन्छ । यसका अतिरिक्त यसले हड्डी र मांसपेशीलाई मजबुत बनाउँछ । यसका लागि दूध र केराको घोल बनाएर दैनिक सेवन गर्न सकिन्छ ।
तर,
कब्जियत, अधिक कोलेस्टेरोल र कफसम्बन्धी समस्या हुनेले यसको सेवन गर्नुहुँदैन ।

 

बेसार र दूध


आयुर्वेदिक दृष्टिले बेसारलाई महाऔषधिका रूपमा लिइन्छ । यदि यसमा दूध मिलाएर सेवन गरियो भने यो पौष्टिक त बन्छ नै, यसले सामान्यदेखि खतरनाक रोगलाई समेत नाश गर्ने क्षमता राख्दछ । बेसारमा भिटामिन ए, प्रोटिन, कार्बोहाइड्रेटका साथै एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक गुण हुन्छ । यो प्राकृतिक पेनकिलर पनि हो । २५० मिलिलिटर दूधमा एकचौथाइ चम्चा बेसार र चिनी मिलाई त्यसलाई उमालेर दिनको एकपटक सेवन गर्नाले गढेको चिसो, कफसहितको खोकी, गलाको एलर्जी, चोटको दुखाइ, सुन्निएको, चिलाएको, मुटुको समस्या, फोक्सोसम्बन्धी रोग, छालाको समस्या, पिसाब र कलेजोसम्बन्धी समस्या हटेर जान्छ ।
मधुमेहका रोगीले समेत चिनी नराखी बेसार र दूधको सेवन नियमित गर्न सक्छन् ।

किसमिस र दूध


किसमिस र दूध मिलाएर सेवन गर्नाले शरीरमा ग्लुकोज र भिटामिन प्राप्त हुन्छ । २५० मिलिलिटर दूधमा १० वटा किसमिसको बियाँ निकालेर मिलाउने र त्यसलाई उमाल्ने, महिनामा १०–१५ दिनसम्म रातको समयमा मात्र यसको सेवन गर्नाले गला र पिसाब पोलेको, आँखा पोलेको वा रातो भएको, दिमागको कमजोरी, ज्वरो, कब्जियतलगायतमा लाभ हुन्छ । यसका साथै शरीरको दुखाइ, स्नायुतन्त्रको गडबडी, खुट्टाको ऐठनलगायत समस्यामा यो अत्यन्त लाभकर छ ।
तर,
मधुमेह र दमका बिरामीले यसको सेवन गर्नुहुँदैन । साथै, कफसहितको खोकी लागेको अवस्थामा पनि यसको सेवन प्रत्युत्पादक बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय