मधेसमा रक्तदान संस्कार बढाउन शिविर

हेल्थपोस्ट नेपाल

मधेसमा रक्तदान संस्कार बढाउने उद्देश्यले कपिलवस्तुमा रक्तदान कार्यक्रम गरिएको छ । सनसाइन सामाजिक विकास संस्थाको २०औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा ६३ जनाबाट रक्तदान हुँदा ६३ पोइन्ट रगत जम्मा भएको आयोजकले जनाएको छ । रक्तदानमा ६३ मध्ये ४६ जना स्थानीय मधेसी समुदायका व्यक्ति र १७ जना प्रहरी जवान सहभागी भएका थिए । रक्तदानका लागि रक्तसञ्चार केन्द्र बुटवलबाट वारिस अलीको नेतृत्वमा प्राविधिक टोली कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नंं. १० चेतरादेही गाउँ पुगेको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यले आफैँले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सनसाइन सामाजिक विकास संस्थाको आयोजना तथा बुद्धभूमि नगरपालिका कपिलवस्तुको सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।
मधेस क्षेत्रमा रक्तदानको चेतना दिलाउने उद्देश्यले नगरपालिकाले सहयोग गरेको बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले बताए । रक्तदानमा सहभागीलाई श्रेष्ठले धन्यवादसहित प्रमाणपत्र प्रदान गरेका थिए । संस्थाले दोस्रोपटक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । गतवर्ष भएको कार्यक्रममा ६१ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष तुलसीराम यादवले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *