फोहोर व्यवस्थापनमा पिएचसीको अनुकरणीय काम

कृष्ण मल्ल
प्रकाशित
२०७५ भदौ २८ गते ११:५६

गह्रौँ ध्याङलिङ प्राथमिक स्वास्थ्यकेन्द्र, वालिङ, स्याङ्जाको फोहोर व्यवस्थापन कक्ष

अस्पताल एवम् स्वास्थ्य सेवाप्रदायक संस्थाहरूबाट निष्कासन हुने फोहोरको व्यवस्थापन दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ । फोहोरको वैज्ञानिक तरिकाबाट ट्रान्सपोर्ट, भण्डारण, प्रशोधन तथा अन्तिम विसर्जन भएको पाइँदैन । धेरैजसो स्वास्थ्यसंस्था नगरपालिकाको फोहोर संकलन संयन्त्रमा निर्भर देखिन्छन् भने केहीले सबै फोहोर स्वास्थ्यसंस्थाको एउटा कुनामा लगेर थुपार्ने र आगो लगाउने गरेको पाइन्छ ।

जोखिमयुक्त फोहोर व्यवस्थापन जटिल भएकाले त्यसको चुनौती बढ्दै गएको छ । स्वास्थ्यसंस्थाबाट उत्पादन हुने फोहोर व्यवस्थापन एकातिर सरकार र अस्पताल सञ्चालकहरूका लागि टाउकोदुखाइको विषय बनेको छ भने अर्कोतिर संक्रमणजन्य फोहोरले मानव स्वास्थ्यमा जोखिम थपेको स्वास्थ्यकर्मीहरू नै बताउँछन् ।

तर, स्याङ्जाको वालिङ नगरपालिकामा रहेको गह्रौँ ध्याङलिङ प्राथमिक स्वास्थ्यकेन्द्रले भने सबैका लागि अनुकरणीय हुने गरी फोहोर व्यवस्थापन गरेको छ । त्यहाँ पुगेर हेरे, बुझे, सिके र व्यवहारमा प्रयोग गरे चुनौतीपूर्ण बन्दै गएको अस्पतालजन्य फोहोरलाई समस्याका रुपमा नलिएर आम्दानीको स्रोत बनाउन सकिन्छ ।

फोहोर छुट्याउन राखिएका बाल्टिनहरू ।

स्वास्थ्यकेन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराई कम लागत र कम मिहिनेतमै अस्पतालजन्य फोहोरको व्यवस्थापन गर्न सकिने बताउँछन् । उनका अनुसार स्वास्थ्यसंस्थाले करिब डेढ लाखको लागतमा फोहोर व्यवस्थापनको सुरुवात गर्न सक्छन् । अस्पताल प्रशासनले चाहे फोहोर व्यवस्थापनमा कठिनाइ नभएको स्थास्थ्यकेन्द्रका संयोजक दुर्गाप्रसाद भण्डारीले बताए । फोहोर व्यवस्थापनका लागि उत्पादित फोहोरको उत्पादनस्थलमै वर्गीकरण गर्नुपर्ने भण्डारीको भनाइ छ ।

फोहोर व्यवस्थापनको सरलीकरणका लागि जहाँ उत्पादन हुन्छ, त्यहीँ वर्गीकरण गर्नुपर्छ । त्यसका लागि हानि गर्ने र नगर्ने फोहोर चिन्नु र छुट्याउनु पहिलो काम हो । तीन रङका बाल्टिनमा कुहिने, नकुहिने र हानि गर्ने–नगर्ने गरी वर्गीकरण गरी फोहोर राख्नुपर्छ । अस्पतालजन्य फोहोरको वर्गीकरण गर्दा ५ देखि ७ प्रतिशत फोहोर मात्र काम नलाग्ने अवस्थाका हुने गरेको अनुभव स्वास्थ्यकर्मीसँग छ ।

‘वर्गीकरण गरिएको फोहोर राख्ने एउटा कोठा भए अस्पतालजन्य फोहोरको व्यवस्थापन हुन्छ । त्यसका लागि थप कर्मचारी पनि चाहिँदैन, केवल कर्मचारीमा बानी बसाल्नु आवश्यक हुन्छ,’ केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराईले भने । यसरी वर्गीकरण गरिएको फोहोरको बिक्रीबाट आम्दानी समेत गर्न सकिने भट्टराई बताउँछन् ।

स्वास्थ्यकेन्द्रमा बिरामीको चेकजाँच गरिँदै

अस्पतालजन्य फोहोरको उपयुक्त व्यवस्थापन गर्ने उद्देश्यले विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागका निम्ति पेस नेपाल नामक संस्थाले काठमाडौं उपत्यकामा सञ्चालित २५ शय्यामाथिका अस्पताल र स्वास्थ्य सेवाप्रदायक संस्थामा गरेको अध्ययनमा पुनः प्रयोग नहुने र क्यान्सरजस्ता घातक रोग लागेका बिरामीको उपचार गर्दा निस्कने संक्रामक फोहोरको तर्जुमा जटिल एवम् चुनौतीपूर्ण बनिरहेको भेटिएको थियो ।

विश्व स्वास्थ्य संगठनले प्रयोग भएका सुई, बिरामीको उपचारका क्रममा निस्कने पिप, रगतजस्ता फोहोर, शरीरका अंग, चिकित्सकीय उपकरण, रासायनिक पदार्थ, नष्ट नहुने औषधिजन्य वस्तुका भाग र रेडियो विकिरणको समुचित व्यवस्थापनमा जोड दिँदै आएको छ । विश्व स्वास्थ्य संगठनको निर्देशिकामा तरल तथा ठोस फोहोर छुट्याएर अस्पतालजन्य फोहोर व्यवस्थापन गर्नुपर्ने प्रावधान छ ।

२५ देखि १०० शय्याका ४७ र १०० भन्दामाथिका १६ वटा स्वास्थ्य सेवाप्रदायक संस्थाले दैनिक ७ हजार ३ सय ५६ किलोग्राम पुनः प्रयोग गर्न सकिने फोहोर निष्कासन गर्छन् भने १ हजार ९ सय ६४ किलोग्राम जोखिमपूर्ण फोहोर विसर्जन गर्छन् ।

यसरी गर्छौं फोहोर व्यवस्थापन

दुर्गाप्रसाद भण्डारी संयोजक गह्रौँ ध्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र, वालिङ, स्याङ्जा

फोहोर व्यवस्थापन गर्नुभन्दा अगाडि यत्रतत्र छरिने फोहोर, सुई, सिरिन्ज, रगत लागेका पन्जा, कटन, गज, फुटेका सिसा आदि एकै ठाउँमा जम्मा पार्ने र आगो लगाई डढाउने गरिन्थ्यो, जसबाट स्वास्थ्यकर्मी, छिमेकीलगायत सबै खतरामा थियौँ । एचआइभी÷एड्स, हेपाटाइटिस बीजस्ता सरुवा रोगको संक्रमण पनि हुन सक्ने खतरा छँदैथियो ।
मैले तालिम लिएपछि संस्थालाई अब व्यवस्थापन नगरी हुँदैन, हामीले नै गर्नुपर्छ र आजैबाट गर्नुपर्छ भन्ने मनसायका साथ काम सुरु भयो । यो अभियानमा हेल्थपोस्टका सबै स्टाफ, हेल्थपोस्ट सञ्चालन समिति, नगरपालिकाको बीचमा छलफल कार्यक्रम आयोजना भयो । नगरपालिकाबाट आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धतापछि काम सुरु गरियो । अनुमानित एक लाख लागतमा फोहोर व्यवस्थापनका लागि सामग्रीको व्यवस्थापन भयो–
१. हामीले तीन रङका गरी ७० वटा बाल्टिन किन्यौँ । रातो बाल्टिनमा बढी जोखिमपूर्ण फोहोर, निलो बाल्टिनमा जोखिम नहुने फोहोर र हरियो बाल्टिनमा कुहिने फोहोर राख्ने गरी बाल्टिनको व्यवस्थापन गर्यौँ ।
२) २५ हजार खर्च गरेर ५ वटा निडिल कटर खरिद गर्यौँ ।
३) फोहोर छुट्याएर राख्ने कोठा बनाउन ४० हजार लाग्यो ।
४) जोखिमपूर्ण फोहोर पकाउने अटो क्याभिङ मेसिन ३५ हजारमा खरिद गर्यौँ ।

त्यसपछि हामीले फोहोर व्यवस्थापन गर्न सुरु गर्यौँ–
क) फोहोर जम्मा पार्ने ।
ख) फोहोरको उपचार गर्ने ।
ग) फोहोर भण्डारण गर्ने ।
घ) भण्डारण गरेको फोहोरलाई रिसाइक्लिङका लागि पठाउने ।

अस्पतालबाट निस्कने फोहोरलाई अहिले हामी जलाउँदैनौँ । यसरी व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी र बिरामी सुरक्षित हुनुका साथै वातावरण प्रदूषणबाट पनि मुक्ति मिल्ने रहेछ । हामीले गरेको काम हेर्न र सिक्न थुप्रै स्वाथ्यसंस्थाबाट स्वास्थ्यकर्मीहरू आउनुभएको छ । अवलोकनमा आउनेहरूले हाम्रो काम देखेर धन्यवाद दिँदा हामीलाई गर्व लाग्छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय