व्रतका १५ विज्ञानसिद्ध फाइदा

डा. ओममूर्ति अनिल
प्रकाशित
२०७५ भदौ २७ गते १६:५९

हाम्रो समाजमा, विशेष गरी हिन्दू धर्मावलम्बी, त्यसमा पनि अधिकांश महिलाहरू धार्मिक दृष्टिकोणले व्रत –उपवास) बस्ने गर्छन् । व्रतको मूल उद्देश्य देवी–देवतालाई खुसी बनाई परिवारमा सुख, शान्ति, समृद्धि भित्र्याउनु तथा पति, सन्तान र आफ्नो सुस्वास्थ्यका लागि वरदान प्राप्त गर्नु हुन्छ । धेरैमा यो आस्था छ, तर के साँच्चिकै व्रत बस्नु वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यका लागि लाभकर छ त ? के यसका वैज्ञानिक आधार छन् ? यो लेख यसै विषयमा केन्द्रित रहनेछ ।
व्रत बस्नेवेला कम्तीमा १६ घण्टा खाना र क्यालोरी प्राप्त गर्ने कुनै पनि झोल कुरा नखाँदा विभिन्न फाइदा हुने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्–

१. उपवासले तौल घटाउन मद्दत गर्छ

कम क्यालोरीको सेवनबाट मेटाबोलिक रेट बढ्ने र ग्रोथ हर्मोनको बढी उत्पादन हुने भएकाले तौल घटाउन मद्दत गर्छ । तपाईं तौल घटाउन इच्छुक हुनुहुन्छ भने व्रतको तरिकाबाट सुरु गर्न सक्नुहुन्छ ।

२ . कोलेस्टेरोल नियन्त्रण 
उपवासले फैटको मेटाबोलिज्म बढाएर कोलेस्टेरोललाई नियन्त्रण गर्छ । साथै, उपवासका वेल मांसाहारी खानाको प्रयोग नहुनु र फलफूलको प्रयोग बढी हुनुले पनि नराम्रो कोलेस्टेरोल र ट्राइग्लिसराइड घटाउने र राम्रो कोलेस्टेरोल बढाउने सम्भावना हुन्छ ।

उपवास बस्दा ग्यास्ट्रिकको समस्या हुने कुरा पूर्ण सत्य होइन । उपवास बस्दा पेटमा एसिडको उत्पादन कम हुने भएकाले ग्यास्ट्रिकको समस्या पनि कम हुनुपर्ने हो । तर, कसैकसैलाई उपवास बसेका वेला भोक लाग्दा, खानेकुरा सम्झिँदा वा अरूले खाएको देख्दा मस्तिष्कमा त्यसको असर भएर एसिडको उत्पादन बढ्न सक्छ, जसले पेटमा एसिडिटी बढाउने (हर्ट बर्न) अवस्था हुने गर्छ ।

३. इन्सुलिन सेन्सिटिभिटी बढाउन

उपवासले विभिन्न रासायनिक प्रक्रियाको मद्दतले इन्सुलिनको कामलाई प्रभावकारी बनाउँछ र मोटोपन भएको व्यक्तिमा इन्सुलिन रेसिस्टेन्सको वातावरण हुनाले यस्तो व्यक्तिका लागि उपवास अत्यन्तै लाभदायक हुन्छ ।

४. रक्तचाप नियन्त्रण
उपवासमा क्यालोरी र नुनको प्रयोग कम हुने भएकाले उच्च रक्तचापको नियन्त्रणमा मद्दत पुग्छ ।

५. रोग प्रतिरोधात्मक क्षमतामा सुधार
उपवासले रोगसँग लड्ने कोषको संख्यामा सुधार ल्याउँछ र हानि पुर्याउने कोषहरूलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

६. क्यान्सर लाग्नबाट बचाउन मद्दत

क्यान्सर लाग्नबाट बचाउन मद्दत गर्छ उपवासले कोषहरूको मर्मत गर्छ, स्वास्थ्य तन्तुहरूलाई सुरक्षित राख्छ र विकार वा घातक पदार्थहरूलाई कोषभित्रै निष्क्रिय बनाउँछ । उपवासले हानिकरक हर्मोन (आइजिएफ–१) लाई नियन्त्रण गर्ने र अन्य कोषभित्रको गतिविधिलाई साकारात्मक बनाएर क्यान्सरको जोखिम घटाउने तथ्य विभिन्न जनावरहरूमा गरिएको अध्ययनले पुष्टि गरेको छ ।

७. स्ट्रेस र इन्फ्लामेसनको नियन्त्रण
क्यान्सर, मुटुरोग, बाथरोग, स्नायुरोग र अन्य जटिल दीर्घरोगहरूको प्रमुख कारणमध्ये एक स्ट्रेस र इन्फ्लामेसन प्रमाणित तथ्य हो । उपवासले फ्री रडिकलले हुने हानिलाई रोक्ने साइटोकाइनलाई नियन्त्रण गर्नेजस्ता अन्य रासायनिक क्रियामा सकारात्मक असर गरेर धेरै यस्ता रोगका जोखिमलाई घटाउने वैज्ञानिक धारणा देखिन्छ ।

८. बूढोपनलाई रोक्छ (एन्टी एजिङ) 

उपवासले जिन, कोष, तन्तु, हर्मोन, इम्युनी, मेटाबोलिज्ममा प्रभाव पारेर व्यक्तिको शरीरलाई वास्तविक उमेरभन्दा कान्छो बनाउन सहयोग गर्छ ।

९. छालालाई आकर्षक बनाउँछ
छालामा हुने कोलाजिन र अन्य प्रोटिनमा सकारात्मक असर गरेर छालालाई सुन्दर र आकर्षक बनाउँछ ।

१०. मस्तिष्कको क्रियाकलापमा सुधार
उमेरअनुसार हुने मस्तिष्कको विकृत क्रियाकलापमा विभिन्न तरिकाले कमी ल्याउँछ ।

११. मुटुरोगीलाई फाइदा
उपवासले मुटुका मांसपेशीलाई नष्ट हुनबाट बचाउने नयाँ मसिना रक्तनलीहरूको निर्माण गर्ने र मुटुभित्रका हानिकारक रासायनिक प्रतिक्रियालाई नियन्त्रण गरेर मुटुरोगीलाई ठूलो लाभ प्रदान गर्न सक्ने अनुसन्धानहरूको दाबी छ ।

१२. जीवनमा खुसियाली ल्याउँछ
विश्वास नलाग्न पनि सक्छ, तर यो सही कुरा हो कि उपवासले जीवनमा खुसियाली ल्याउँछ । तपाईं कुनै व्रतधारीलाई सोध्नुहोस् वा आफैँ व्रत बसेको दिन सम्झिनुहोस्, त्यो दिन तपाईंले आफूलाई स्पेसल ठान्नुहुन्छ, तपाईंको सोच सकारात्मक र पवित्र हुन्छ । भित्रैबाट उमंग र उत्साह भरिएको हुन्छ । यसमा उपवास, स्वच्छ आहार र धार्मिक आस्था मात्रै नभएर वैज्ञानिक कारण छन् । उपवासले मस्तिष्कमा इन्डोर्फिन नामक हर्मोनको उत्पादन बढाउँछ, जसको प्रमुख काम मुड फ्रेस गर्नु, खुसी बनाउनु र शरीरमा स्फूर्ति ल्याउनु हो ।

१३. भोकमाथि नियन्त्रण
उपवासले लेपटिन र अन्य भोक पैदा गर्ने (हङ्गर) हर्मोनको स्तरमा सुधार ल्याएर, थ्य्रोइद हर्मोनको उत्पादन बढाएर, मेटाबोलिज्ममा सुधार ल्याएर, भोक निर्धारण गर्ने केन्द्र (स्याटिटी सेन्टर)मा असर गरेर व्यक्तिको भोकै बस्न सक्ने क्षमता बढाउँछ । त्योभन्दा पनि महत्वपूर्ण कुरा थोरै खाएर सन्तुष्ट हुने बानी बस्छ, जसले गर्दा अत्यधिक खानाबाट हुने स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

१४. डिटक्सिफिकेसन गर्छ
शरीरमा रहेको बोसोमा प्रायः हानिकारक रसायनहरूको भण्डारण हुन्छ । उपवासले बोसोलाई खर्च गर्नेक्रममा (मेटाबोलिज्म), स्टोर भएका धेरै टोक्सिनलाई शरीरबाट निष्कासन गर्छ ।

१५. मांसपेशीलाई बलियो बनाउँछ
उपवासले ग्रोथ हर्मोनको (एचजिएच) उत्पादन बढाएर, फैटलाई पगालेर मांसपेशीलाई बलियो बनाउँछ ।

माथि उल्लेख गरिएका उपवासका सबै फाइदा मानव जातिमा अध्ययन गरेर पुष्टि भइनसकेको भए पनि प्रस्तुत तर्कहरू सान्दर्भिक देखिन्छन् । मैले उपवासका यी फाइदाबारे अध्ययन गर्दै जाँदा मन–मस्तिष्कमा एउटा मात्रै कुरा बारम्बार हाबी भएको पाएँ । हाम्रा पूर्वज, सन्त, ऋषिमुनिहरू रोगरहित लामो आयु बाँच्नुका पछाडि अवश्य पनि व्रत वा उपवास बस्नु र स्वच्छ शाकाहारी खानेकुरा खानु नै कारण रहेकोमा म पूर्ण रूपले विश्वास गर्दछु । आधुनिक मानवको आयु घट्नु र नयाँ–नयाँ रोग जन्मिनुपछाडिको प्रमुख कारण असन्तुलित र अत्यधिक भोजन नै हो भन्ने यथार्थलाई नकार्न सकिँदैन ।

उपवास बस्नेवेला अपनाउनुपर्ने सावधानी
१. गर्भावस्थामा उपवास वर्जित छ ।
२. स्तनपान गराउने आमाले उपवास गर्न मिल्दैन ।

३. मधुमेहको औषधि सेवन गर्ने बिरामीले चिकित्सकको परामर्शमा मात्र उपवास गर्नुपर्छ ।
४. रक्तचापको औषधि सेवन गर्नेले पनि उपवास बस्दा विशेष ध्यान दिनुपर्छ र चिकित्सकको परामर्श लिनुपर्छ ।
५. मुटु, मिर्गौला, पेट, कलेजोजस्ता रोगका दीर्घरोगी र त्यसको औषधि सेवन गर्नेहरूले पनि चिकित्सकको परामर्शमा मात्र विशेष ध्यानपूर्वक उपवास गर्नुपर्छ ।

६. उपवासले शरीरमा पानीको कमी हुनेतर्फ ध्यान पुर्याउनुपर्छ ।
७. उपवासले विशेषगरी माइग्रेनका रोगीलाई टाउको दुख्ने समस्या बढाउन सक्छ ।

८. उपवास गर्दा निद्रा नलाग्ने र त्यसबाट तनाव हुने सम्भावनातर्फ ध्यान पुर्याउनुपर्छ ।

उपवास बस्दा ग्यास्ट्रिकको समस्या हुने कुरा पूर्ण सत्य होइन । उपवास बस्दा पेटमा एसिडको उत्पादन कम हुने भएकाले ग्यास्ट्रिकको समस्या पनि कम हुनुपर्ने हो । तर, कसैकसैलाई उपवास बसेका वेला भोक लाग्दा, खानेकुरा सम्झिँदा वा अरूले खाएको देख्दा मस्तिष्कमा त्यसको असर भएर एसिडको उत्पादन बढ्न सक्छ, जसले पेटमा एसिडिटी बढाउने (हर्ट बर्न) अवस्था हुने गर्छ ।

यो लेख लेख्नेक्रममा मैले उपवासका फाइदैफाइदा भेटेँ र न्यून मात्र बेफाइदा भेटेँ । यसले मलाई व्रत गर्न प्रेरित गरेको छ र म विश्वास गर्छु कि, तपाईंलाई पनि पक्कै हप्ता वा महिनामा एकचोटि १६ घण्टाको व्रत गर्न प्रेरित गर्नेछ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल http://drommurtianil.com मा नियमित लेख्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय