‘बिरामीको मृत्युले म रातभरि सुत्न सकिनँ’

वार्डमा भक्तपुरको एकजना १५ वर्षीय मुटुको बिरामी थियो । बिरामी एकदमै पीडामा थियो, निरन्तरको उपचारले पनि ठिक भएन र मृत्यु भयो । त्यो घटनामा म रातभरि दुःखी भएँ । रातभर निद्रा परेन । युवावस्थामै भएको उसको मृत्युले मलाई साँच्चै ठूलो चोट पुर्याएको थियो ।

नर्सिङ पेसामा कसरी आइपुग्नुभयो ?
यो पेसासँग मेरो पारिवारिक प्रसंग जोडिएको छ । मेरी दिदी नर्स हुनुहुन्थ्यो । उहाँको सुझाबअनुसार मैले २०३५ मा नर्सिङ पढ्न थालेँ । यो पेसा जीवनको अभिन्न अंग नै बन्यो । सेवा सुरु गरेको पनि ३५ वर्ष भइसक्यो ।

यसरी तय भएको यात्रा कसरी अगाडि बढ्दै आयो ?
सुरुमा झापाको सरकारी अस्पतालमा ६ महिना अस्थायी गरेँ । पछि, महाराजगन्जको शिक्षण अस्पतालमा काम गरेँ । आयुर्वेद अस्पतालमा पनि काम गरेँ । ०४३ मा स्थायी भएपछि निरन्तर वीर अस्पतालमै सेवारत छु । सुरुमा दिदीको सल्लाहमा गरेको, त्यस्तै लाग्थ्यो, तर अहिले सेवा आदत बनेको छ । गरिब, दुःखीको सेवा गर्न पाउँदा रमाइयो लाग्छ ।

यो पेसामा लागिसकेपछि खुसी र दुःखका क्षण कुनै छन् ?
खुसीको क्षण भन्नुपर्दा ०४५/४६ तिरको कुरा हो, म त्यतिवेला सर्जिकल वार्डमा काम गर्थें, अर्थोपेडिक्सको एउटा बिरामी भेन्टिलेटरमा राखिएको थियो, ग्यासपिङमा गइसकेको थियो । त्यतिवेला म अर्कै वार्डमा काम गर्थें । एकजना अनमी बहिनीले हेर्दै हुनुहुँदोरहेछ । बिरामी गम्भीर भएपछि आत्तिँदै बोलाउन आउनुभयो । मैले गएर रिसस्टेसन गरेँ । अहिलेजस्तो डाक्टरलाई फोन गरेर बोलाउन सहज थिएन, हामीले कपीमा कल लेखेर पठाउनुपर्थो । त्यतिवेला डाक्टर आउँदासम्म हामीले नै हेरविचार गर्नुुपर्ने भएकाले सबै व्यवस्थित गर्यौँ । पछि त्यो बिरामी बिस्तारै आफैँ ठिक हुँदै आयो । बिरामी आफैँ हिँडेर घर जान सक्ने हुँदा निकै खुसी लाग्यो ।बिरामीका आफन्तले त्यो वार्डमा जाँदा जहिले पनि नर्सले मेरो छोराको वा भाइको जीवनदान दिएको भनेर देखाउने गर्नुहुन्थ्यो । मलाई त्यतिवेलाचाहिँ धेरै खुसी लाग्थ्यो । मेरो सीप र क्षमताले गरेको थिएँ, बिरामीले पुनर्जीवन पाउँदा खुसी लाग्दोरहेछ ।त्यस्तै, दुःखको क्षण पनि छ । वार्डमा भक्तपुरको एकजना १५ वर्षीय मुटुको बिरामी थियो । बिरामी एकदमै पीडामा थियो, निरन्तरको उपचारले पनि ठिक भएन र मृत्यु भयो । त्यो घटनामा म रातभरि दुःखी भएँ । रातभर निद्रा परेन । युवावस्थामै भएको उसको मृत्युले मलाई साँच्चै ठूलो चोट पुर्याएको थियो ।

सेवामूलक पेसामा हुनुहुन्छ, नेपालमा यसको सम्मान र अवस्था कस्तो छ ?
नर्सिङ सेवाभावले मात्रै सम्भव छ । यो त स्वच्छ, सफा, मर्यादित पेसा हो । समाजले पनि यो पेसालाई राम्रो सम्मान दिएको छ । समाजले दिएको सम्मानअनुसार हामी सबै नर्सले संवेदनशीलता देखाउनुपर्छ । कसैको ज्यान जोगाउन सेवा र टेवा दिनु महत्वपूर्ण छ । बिरामीका हरेक दुःख र एक्लोपनमा हामी सेवाभाव देखाएर मनोबल बढाइदिन सक्छौँ ।

बिरामीसँग नर्स सधैँ झर्कोफर्को गर्छन् भनिन्छ, किन त्यस्तो गुनासो आउँछ ?
यस्ता कुरामा शतप्रतिशत सत्यता हुँदैन । हाम्रो जस्तो देशमा बिरामीको उचित स्याहार र हेरचाहका लागि बिरामीको अनुपातमा नर्स छैनन् । पक्कै पनि एकजनाले तीसजना बिरामी हेर्नुपर्दा धेरै गाह्रो हुन्छ । मानसिक रूपमा हामी थकित हुन्छौँ, घरीघरी बिरामीका आफन्त एउटै कुरा धेरैपटक सोध्न आउँछन् । त्यसवेला चाहिँ झर्को लाग्ने गर्छ । अर्कोकुरा, काम गर्दा हाम्रो टिम नमिलेर पनि धेरै झन्झट आउँछ । हो, नर्सले नम्र हुनुपर्छ भन्ने हामीले पनि सिकेर आएका हौँ । कुनैवेला बिरामीका तर्फबाट पनि त्यस्तो समस्या आउँछ, तर शतप्रतिशत त्यस्तो हुन्छ भन्ने छैन । सबैभन्दा बढीचाहिँ बिरामीको अनुपातमा नर्स नभएर पनि त्यस्तो भएको हुन सक्छ ।

ड्युटी समयमा कत्तिको अप्ठ्यारो महसुस गर्नुभएको छ ?
अहिलेको समयमा हामीले ड्युटी त गर्छौं, तर पनि २४ घण्टा भनेर २४ घण्टा नै गर्नुपर्दैन । हाम्रो सिफ्ट ड्युटी हुन्छ । नाइटमा १३ घण्टा हुन्छ, बिहानमा चाहिँ ७ घण्टा हुन्छ । बिहानको समयमा हामीलाई धेरै गाह्रो हुन्छ । चिया पिउनेसमेत फुर्सद हुँदैन । पालोपालो मिलाएर जाने गर्छौं । नाइट ड्युटी र बिरामीको चापले गाह्रो हुन्छ ।

नर्सिङ पेसा छोडेर अन्य कुनै पेसा गरौँजस्तो हुँदैन ?
कहिलेकाहीँ चाहिँ हुन्छ । काम गर्दागर्दै जस पाइँदैन । व्यवस्थापनका तर्फबाट पनि हामीलाई सपोर्ट हुँदैन । आज एउटा इन्चार्जको रूपमा बस्दा पनि हामीलाई सपोर्ट आउँदैन । त्यसवेलाचाहिँ यस्तो काम गर्नुभन्दा त अरू नै केही गरौँ जस्तो लाग्छ ।

परिवार र समाजको नर्सप्रतिको दृष्टिकोण र हेराइ कस्तो पाउनुभएको छ ?
नर्स मर्यादित पेसा हो, गर्नुपर्छ भन्ने दृष्टिकोण प्रशस्तै पाएको छुु । मेरा बुबाले ‘मेरी छोरी नर्स हो, फलानो ठाउँमा काम गर्छे, उसलाई गएर भन, उसले सहयोग गर्छे,’ भनेर मान्छे पठाउनुहुन्छ । आफूले सकेको सहयोग पनि गर्छु । त्यसले गर्दा समाजले पनि नर्सलाई राम्रो प्रकारले हेरेजस्तो लाग्छ ।
बिरामीलाई के गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
साँच्चै भन्नुपर्दा के हुन्छ भने, बिरामीको उपचार गर्नेक्रममा हामीले त नर्सिङ सेवा मात्र दिने भयौँ । जब बिरामी बेडमा आउँछ र उसलाई सफासुग्घर राख्न पाए, उसको आफन्तलाई राम्रोसँग काउन्सिलिङ गर्न पाए, उनीहरूले पाउनुपर्ने सम्पूर्ण सेवा–सुविधा व्यवस्थितकिसिमले उपलब्ध गराउन पाए राम्रो भएर जान्थे भन्ने हामीलाई लाग्छ । तर, सबै बिरामी उस्तै हँुदैनन् । कोही धनी, कोही गरिब हुन्छन्, वीर अस्पतालमा प्रायः गरिब नै आउँछन् । उनीहरूलाई हामीले राम्रो बोली र व्यवहार दियौँ भने पक्कै पनि उनीहरूको रोग आफैँ कम हुन्थ्यो । साथै, हामी उनीहरूलाई राम्ररी काउन्सिलिङ गर्छौं, सल्लाह दिन्छौँ, डक्टरहरूलाई अनुरोध गरेर यसलाई अझ राम्रो हुन्थ्यो कि भनेर सल्लाह दिन्छौँ । आउने दिनमा पनि त्यो गरिन्छ ।

बिरामी कुरुवाले के गर्नुपर्छ जस्तो लाग्छ ?
मुख्य कुरा एउटा बिरामीसँग एकजना मात्र भिजिटर बसोस् जस्तो लाग्छ । हामीले भनेको कुरा उनीहरूले राम्रोसँग बुझिदिए भने राम्रो हुन्थ्यो जस्तो लाग्छ । अर्को कुरा, वार्डको सरसफाइका सम्बन्धमा हामी कतिपटक कुरुवालाई सम्झउँछौँ, बुझाउछौँ, तर उहाँहरू त्यो कुरालाई मानिदिनुहुन्न । भनेको नमानिदिँदा वार्ड फोहोर हुन्छ । वार्ड फोहोर भएपछि उहाँहरू नै अस्पताल फोहोर भयो भनेर कम्प्लेन गर्न आउनुहुन्छ । त्यसकारण कुरुवाले अस्पतालको वातावरण सफासुग्घर राखेर बसून् जस्तो लाग्छ । सफा राख्दा कतिपय रोग आफैँ निको हुन्छन् । सरुवा रोगहरू कम हुन्छन् । त्यसैकारण विशेषगरी कुरुवाले आफ्नो र वार्डको सफाइमा ध्यान दिए हुन्थ्यो भन्ने लाग्छ । हामीले भनेका कुरा मानेर सहयोग गरून्, हामीलाई काम गर्र्ने वातावरण बनाएर सहयोग गरून् भन्ने लाग्छ । बिहानको समयमा डक्टरको भिजिट समय हुन्छ, त्यो समयमा भिड नगरून् जस्तो लाग्छ । भिजिटको समयमा भिड गरेको डाक्टरहरूले पनि मन पराउँदैनन्, भिजिटरलाई किन बाहिर नराखेको भनेर हामीलाई नै कराउँछन् । हामी भिजिटरलाई भन्छौँ तर उहाँहरू मान्नुहुन्न । भिजिटिङको समयमा एकछिन इमानदारीका साथ बाहिर गए हुन्थ्यो जस्तो लाग्छ । हामीले सबैभन्दा बढी बिरामीको हेरविचार गर्ने भनेको दिउँसोको १२ बजेपछाडि हो । त्यतिवेला पनि भिजिटर यत्तिकै बिरामीको वरिपरि हुन्छन् । हामी बिरामीको छेउमा पुग्न पाउँदैनौँ । त्यसवेला पनि भनेजस्तै गरेर बसे हुन्थ्यो जस्तो लाग्छ । त्यसो हुँदा हामीले बिरामीलाई ठिक प्रकारले हेर्न पाउँथ्यौँ ।

नर्सिङबाट आउने तलबबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
नेपालको परिस्थितिमा हेर्ने हो भने यो तलब पक्कै पनि पर्याप्त छैन । परिवारको लवाइ–खवाइ, भाडा, आजकलको महँगो पढाइ, बच्चा हुर्काउनु, औषधोपचार, यो सब कहाँ पुग्छ र ? तर पनि जेजति छ, त्यसको उचित व्यवस्थापन गर्नुपर्छ । हामीले पनि आमाबुबाबाट त्यही कुरा सिकेका छौँ, जसका कारण हामीलाई धेरै सजिलो भएको छ । हामीले जे छ, त्यसबाट प्राथमिकता निर्धारण गरी मिलाएर लाने जमर्को गरेका छौँ । तर, हामी यसमा सन्तुष्ट हुन सक्ने अवस्था भने छैन ।

अस्पतालको कुन वार्डमा काम गर्न सजिलो हुन्छ ?
कुनै पनि वार्डमा काम गर्न सजिलो हुन्न । सर्जिकल वार्ड, आइसियु वार्डमा त झनै गाह्रो हुन्छ । आइसियुमा दुईजना बिरामी छन् भने पनि दुईजना नै स्टाफ चाहिन्छ । सामान्यतया सर्जिकल वार्डमा बिरामी आउँछन्, अप्रेसन गरेर केही समय बस्छन् र जान्छन् । सबैभन्दा गाह्रो काम भनेको मेडिकल वार्डमा हो । किनभने, दीर्घरोगी त्यहीँ हुन्छन्, आउने–जाने गर्छन्, उनीहरूलाई धेरै गाह्रो भएको हुन्छ । एकचोटी मात्र आएर पुग्दैन, घरिघरि आउनुपर्ने भएका कारण धेरै गाह्रो हुन्छ । दीर्घरोगी भएका कारण बिरामी सन्तुष्ट हुँदैनन् । सबैभन्दा गाह्रो काम भनेको चाहिँ मेडिसिन लाइन नै हो, यो बिरामी र हामी दुवैका लागि गाह्रो वार्ड हो ।

नेपालमा नर्सिङ पेसालाई अझै व्यवस्थित गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?
तल्लो तहदेखि भन्दा पनि माथिदेखि नै व्यवस्थित बनाउँदै लानुपर्छ । यसो हेर्दा यो नर्सिङ पेसा महिलाले मात्रै गर्ने हो भन्ने छ । यसमा महिला मात्र समावेश हुनुपर्छ भन्ने जुन सोच छ, त्यो पहिलेको समयमा ठिक थियो, तर अहिलेको समयमा महिला मात्र यो पेसामा जानुपर्छ भन्ने सोच गलत छ । यसमा पुरुषलाई पनि समावेश गरेर मेल नर्सका रूपमा लियौँ भने हामीलाई पनि सहज हुन्थ्यो र यो पेसालाई अझ बढाउन सजिलो हुने थियो । किनभने, महिला मात्र भएका कारण पनि सरकारीतवरबाट केही थिचोमिचो भएकै छ । नर्सिङ पेसालाई स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट थप मर्यादित बनाउन पहल भएको छैन । व्यवस्थापन गर्ने जिम्मा उहाँहरूकै हो । यसमा त्यति ध्यान नजानाले हामी नर्स सधैँ पछाडि परेका छौँ । हरेक कुरामा हामी पछाडि छौँ । डाक्टर र नर्सको तुलनामा हामी निकै पछाडि छौँ । जति डाक्टर पेसालाई सम्मान दिइन्छ, हामीलाई दिइन्न । यो पेसालाई मर्यादित बनाउन व्यवस्थापन पक्षले ध्यान दिनुपर्छ । कुनै–कुनै डाक्टरले भन्नुहुन्छ– नर्सिङ पेसा स्वास्थ्य क्षेत्रको मेरुदण्ड हो । नर्सविना डाक्टरको काम असम्भव छ । त्यसैले नर्सिङ पेसालाई अझ व्यवस्थित बनाएर लानुपर्छ ।

प्रस्तुतिः अतिन आचार्य

2 thoughts on “‘बिरामीको मृत्युले म रातभरि सुत्न सकिनँ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय