सुध्रिएनन् जुम्लाका स्वास्थ्य संस्था

जगदीश बुढा
प्रकाशित
२०७५ भदौ २३ गते १०:४५

सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिकामा ४ वटा स्वास्थ्य संस्था छन् । एक सहरी स्वास्थ्य केन्द्रसहित तीनवटा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदै गएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा संयोजक पृथ्वीनाथ योगी स्थानीय तहको निर्वाचनपछि स्वास्थ्य संस्थामा काम गर्न कठिन भएको बताउँछन् । उनले भने, ‘जनप्रतिनिधि स्वास्थ्य शिक्षाबारे चासो दिँदैनन्, स्वास्थ्यकर्मीको माग सम्बोधन नहुँदा स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन ।’ उनले गाउँ/नगरमा सिंहदरबार आएपनि स्वास्थ्य संस्थाको अवस्था नाजुक बनेको बताए । ‘स्थानीय तहमा दरबन्दीअनुसारको जनशक्ति छैन, भएको जनशक्तिलाई समयमै तलब–भत्ता खुवाउन सक्दैनन्,’ उनले भने, ‘कर्मचारीको काम गर्ने जोस नै हराउँदै जान्छ, फलस्वरुप स्थानीयले औषधोपचार पाउँदैनन् । सामान्य उपचारका लागि खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा धाउनुपर्छ ।’

बर्सेनि केन्द्र सरकारले स्वास्थ्यकर्मीको तलब–भत्ता कम पठाउँछ, तर स्थानीय प्रतिनिधिले तलब–भत्तापूर्तिका लागि कुनै पहल थाल्दैनन् । ‘स्वास्थ्यकर्मीको तलब–भत्ताका लागि बर्सेनि १८ नम्बर फारम भर्नुपर्छ । यो जस्तो विडम्बना के हुन सक्छ ? चन्दननाथ नगरपालिकाले स्वास्थ्य क्षेत्रमा रकम छुट्याएको छैन । अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले पठाउने औषधिमा निर्भर छौँ,’ उनले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लगानी गर्नुको साटो उपेक्षा गरेको अनुभव भइरहेको छ । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि काम गर्ने आशा थियो, तर स्वास्थ्य क्षेत्र जनप्रतिनिधिको प्राथमिकतामा पर्न सकेन ।’

‘पटक–पटक औषधि खरिदका लागि कार्यपालिका र गाउँसभामा जनप्रतिनिधिलाई सम्झाउँछौँ,’ संयोजक योगीले भने, ‘पछि व्यवस्थापन गरौँला भन्दै टार्छन्, जिल्ला स्वास्थ्य कार्यालयले औषधि दिइराखेको छ भन्दै उम्कन्छन् ।’

योगीका अनुसार स्थानीयतहको निर्वाचन अघिसम्म स्वास्थ्य कार्यालयबाट पटक–पटक औषधि आपूर्ति हुने देखि स्वास्थ्य चेतनाबारे विभिन्न कार्यक्रम हुँदै आएका थिए । अहिले जनप्रतिनिधिले आफू मातहत चल्नुपर्ने भन्दै हेप्ने गरेको उनको भनाइ छ । ‘जनप्रतिनिधिले औषधि खरिदमा चासो देखाउँदैनन् । चन्दननाथ नगरपालिकामा केन्द्रले पठाउने ससर्त अनुदानको ६ लाख रुपैयाँ मात्रै छ, जसले चट्नी पनि पुग्दैन,’ योगीले भने ।

‘पटक–पटक औषधि खरिदका लागि कार्यपालिका र गाउँसभामा जनप्रतिनिधिलाई सम्झाउँछौँ,’ संयोजक योगीले भने, ‘पछि व्यवस्थापन गरौँला भन्दै टार्छन्, जिल्ला स्वास्थ्य कार्यालयले औषधि दिइराखेको छ भन्दै उम्कन्छन् ।’

पछिल्लो समय स्वास्थ्य कार्यालयमा औषधि आउँदैन । स्वास्थ्य संस्थामा ३५ प्रकारका औषधि आउने गरेकोमा अहिले ५ देखि ७ प्रकारका औषधि मात्र छन् । इमर्जेन्सी औषधि र नियमित प्रयोगका औषधि सकिँदा स्वास्थ्य संस्था खाली हुँदै गएको योगी बताउँछन् । ‘स्वास्थ्य कार्यालयको सबै दायित्व स्थानीय तहमा आइसकेको छ, तर स्थानीयतहले स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि कुनै तदारुकता देखाएका छैनन्,’ योगीले भने, ‘स्वास्थ्य क्षेत्रलाई राम्रोसित बुझेका जनप्रतिनिधिसँग काम गर्न सहज भए पनि समन्वय र स्वास्थ्य क्षेत्र नबुझेका जनप्रतिनिधिसँग काम गर्न निकै कठिन छ ।’

स्थानीय तहमा औषधि जगेडा हुनु आवश्यक छ । ‘जति वेला पनि जस्तो सुकै प्रकोप आउन सक्छ, तर औषधि स्टक हुँदैन,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य क्षेत्रभन्दा पनि सडक खन्ने कामलाई प्राथमिकतामा पार्न थालिएको छ ।’

जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका लक्ष्मण चौलागाईं अहिले स्वास्थ्य क्षेत्र लथालिंग, भताभुंग अवस्थामा रहेको बताउँछन् । ‘स्थानीयतहको चुनावपछि स्वास्थ्य क्षेत्र सुध्रिने स्थानीयमा निकै ठूलो आशा थियो,’ उनले भने, ‘१ वर्षमै स्वास्थ्य क्षेत्रमा निराशा बढ्न थालिसक्यो ।’ स्वास्थ्य संस्था र स्थानीय तहबीच तालमेल नमिलेको चौलागाईं बताउँछन् । ‘जनप्रतिनिधिले स्वास्थ्यसम्बन्धी कार्यक्रमको मर्म बुझ्दैनन्,’ उनले भने, ‘सबै बाटो र विद्युत्तिर लागेका छन्, स्वास्थ्यलाई कम प्राथमिकता दिन थालेको छन् ।’

स्वास्थ्य संस्था र कर्मचारीको व्यवस्थापन गर्न चुनौती छ । स्थानीयतहले दिने सेवा–सुविधामा ठूलो खाडल छ । अहिलेसम्म स्वास्थ्य नीति आइसकेको छैन । ‘स्वास्थ्य कार्यालय मातहत चल्न यहाँका स्वास्थ्य संस्था फर्मेसनमा थिए, तर अहिले मनपरी चलिरहेका छन्,’ चौलागाईंले भने ।

स्थानीयतहमा स्वास्थ्य योजना बनेको छैन । औषधिको मागर आपूर्तिका विषयमा कुनै योजना नदेखिएको चौलागाईं बताउँछन् । उनले भने, ‘अहिलेसम्म स्वास्थ्य कार्यालयले नै निर्देशन गरिहेको छ । औषधि खरिद र स्वास्थ्य सेवा सञ्चालनमा कुनै चेनअफ कमान्ड छैन । स्वास्थ्य संस्थाले गत आर्थिक वषैको प्रतिवेदन पठाउन सकेका छैनन् । चौलागाईंका अनुसार कर्मचारीले तलब पाएका छैनन् । स्थानीय तहको हालसम्मको अवस्था हेर्दा जुम्लामा चरम औषधि संकटको अवस्था आउन सक्ने जानकारहरु बताउँछन् ।

गाउँसभामा स्वास्थ्य सुधारका विषयमा सशक्त रुपमा आवाज उठ्न सकेको छैन । स्थानीय तहले स्वास्थ्य क्षेत्र अनुकूल काम गरेको पाइँदैन । यो क्षेत्र जनप्रतिनधिको प्राथमकितामै पर्ने गरेको छैन । स्वास्थ्य क्षेत्रमा बजेट नदिने वाज्यादैकम दिने गरिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । अहिले प्रत्येक स्थानीयतहमा संयोजक र सहसंयोजक दुईजना स्वास्थ्य शाखामा खटाइएका छन् ।

जिल्लामा ३० वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, १० वटा सामुदायिक स्वास्थ्य केन्द्र र एउटा सहरी स्वास्थ्य एकाइ छन् । जिल्लाका सबै स्वास्थ्य संस्थाको अवस्था अस्तव्यस्त छ ।

जुम्ला गुठीचौर गाउँपालिकाका कार्यकारी अधिकृत केशवराज शर्मा अहिलेसम्म स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम पनि हुन नसकेको र धेरै नाजुक अवस्था पनि नरहेको बताउँछन् । गुठी चौर गाउँपालिकामा देपालगाउँ, मणिसाँघु, गज्र्याङकोट गरी तीनवटा स्वास्थ्य संस्था छन् । गुठीचौर गाउँपालिकाले औषधि र उपकरण खरिदमा गत वर्ष २० लाख रुपैयाँ विनियोजन गरेको थियो । ‘यो वर्ष १० लाख रुपैयाँ स्वास्थ्य संस्था व्यवस्थापन र २० लाख रुपैयाँ औषधि खरिदमा छुट्याएको हो,’ शर्माले भने, ‘जुम्लाका सबै स्थानीय तहमध्ये स्वास्थ्य क्षेत्रमा सबै भन्दा बढी बजेट छुट्याउने गाउँपालिका गुठीचौर हो ।’ डा. अध्यक्ष नै स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हुने प्रावधान छ ।

जिल्लामा ३० वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, १० वटा सामुदायिक स्वास्थ्य केन्द्र र एउटा सहरी स्वास्थ्य एकाइ छन् । जिल्लाका सबै स्वास्थ्य संस्थाको अवस्था अस्तव्यस्त छ । पछिल्लो समयमा स्थानीयमा स्वास्थ्य संस्थाको औषधिप्रतिको विश्वास कम हुँदै गएको छ । उनीहरु स्वास्थ्य संस्थामा जानुभन्दा नजिकैको मेडिकलमा गएर उपचार गर्न तर्फ लागेका छन् । स्थानीय जयमल बुढा गाउँका स्वास्थ्य संस्थामा प्रभावकारी उपचार नहुने गरेको बताउँछन् । उनी भन्छन्, ‘स्थानीय सरकारले औषधि खरिद गर्दैनन् । औषधि नभएपछि बिरामी जाने कुरै भएन । नजिकैको मेडिकल या सदरमुकाम खलंगास्थित अस्पताल नपुगी सुखै छैन ।’

पातारासी गाउँपालिका अध्यक्ष लछिमान बोहोरा स्वास्थ्य संस्था प्राथमिकतामा पर्ने गरेको दाबी गर्छन् । ‘औषधि अभाव हुन नदिन विभिन्न प्रयत्न भइरहेका छन्,’ उनले भने, ‘गत वर्ष ५ लाख रुपैयाँ विनियोजन गरेकोमा पटक–पटक गरेर धेरै रकम औषधिमा खर्च गर्नुपरेको थियो ।’
पातारासी गाउँपालिकामा ४ वटा स्वास्थ्य संस्था छन् । अध्यक्ष बोहोराकाअनुसार जिम्मेवारीपूर्वक स्वास्थ्यकर्मी खटिएको स्वास्थ्य संस्थामा समस्या छैन, तर गम्भीरतापूर्वक जिम्मेवारी पूरा नगर्ने स्वास्थ्य कर्मीको संस्थामा विभिन्न समस्या आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय