एक पदमा चारजनाकाे सरुवा गरिएपछि हाजिर हुन तँछाडमछाड

हेल्थपोस्ट नेपाल

कोटदेवल स्वास्थ्यचौकी बझाङमा कार्यरत स्वास्थ्य सहायक रमेशबहादुर बुढाको कैलालीको पहलमानपुर स्वास्थ्यचौकीमा सरुवा भयो । रमाना बुझेर नयाँ ठाउँमा हाजिर हुने योजना बनाउँदाबनाउँदै उनले सरुवा सूचीमा अनौठो दृश्य देखे । सोही स्वास्थ्यसंस्थामा रानीशिखर स्वास्थ्यचौकी दार्चुलामा कार्यरत स्वास्थ्य सहायक जनकराज पाण्डे, पायल स्वास्थ्यचौकी अछाममा कार्यरत प्रेमकुमार विक र बाटुलासेन स्वास्थ्यचौकी अछाममा कार्यरत प्रकाश चौधरीको समेत सरुवा भएको थियो ।

यो त उदाहरण मात्रै हो, स्वास्थ्य सेवा विभागले चौथोदेखि सातौँ तहका १ हजार ६ सय २० र स्वास्थ्य मन्त्रालयले थप १ सय १८ कर्मचारीको सरुवा गर्दा एउटै संस्थामा मनपरी ढंगले सरुवा गरिएका दर्जनौँ उदाहरण छन् । विभागको कर्मचारी प्रशासन शाखामा सरुवासम्बन्धी गुनासा, उजुरी लिन भ्याईनभ्याई भएको छ ।

यति ठूलो संख्यामा सरुवा हुँदा र एकै ठाउँमा चारजनासम्म सरुवा गरिँदा पनि कर्मचारी सञ्चित नम्बर नराखिएको, रिक्त ठाउँमा सरुवा नगरी एकै ठाउँमा धेरैजनाको सरुवा भएको लगायत थुप्रै समस्या देखिएका छन् ।

स्रोतका अनुसार स्वास्थ्यसचिव डा. पुष्पा चौधरी र विभागका महानिर्देशक डा. गुणराज लोहनीको तजबिजमा केही कर्मचारी खटाएर सरुवाको सूची बनेको थियो । सरुवा गर्दा अधिकांश दुर्गम तथा स्वास्थ्य सूचक कमजोर भएका जिल्लामा कार्यरत कर्मचारीलाई सुगममा सरुवा गरिदिँदा देशभरका दुर्गम ठाउँमा स्वास्थ्य सेवा प्रभावित हुने अवस्था आएको छ ।

सरुवा प्रशासनिक रुपमा निकै त्रुटिपूर्ण भएको कर्मचारीहरु बताउँछन् । यति ठूलो संख्यामा सरुवा हुँदा र एकै ठाउँमा चारजनासम्म सरुवा गरिँदा पनि कर्मचारी सञ्चित नम्बर नराखिएको, रिक्त ठाउँमा सरुवा नगरी एकै ठाउँमा धेरैजनाको सरुवा भएको लगायत थुप्रै समस्या देखिएका छन् । ‘जो पहिला स्वास्थ्यसंस्था पुगेर हाजिर भयो, उसैको सरुवा कायम हुने र अरू अलपत्रमा पर्ने अवस्था आएको छ,’ विभागका ती कर्मचारीले भने ।

विभागले पछिल्लोपटकको सरुवा कर्मचारी समायोजनसम्बन्धी नियमावलीको दफा ११ लाई टेकेर गरेको दाबी गरेको छ । नियमावलीमा संघ/प्रदेश/स्थानीय तहमा कामकाजमा खटाउनका लागि कर्मचारीलाई सरुवा गर्ने व्यवस्था छ । तर, पछिल्लो सरुवामा स्वास्थ्यसंस्थाबाट स्वास्थ्यसंस्थामा र ‘अन्तर्गत’ राखेर समेत सरुवा भएका छन् । योसँगै सरुवा विवादमा परेको छ । यसअघि उमाकान्त चौधरी स्वास्थ्यमन्त्री हुँदा यही तरिकाले ठूलो संख्यामा गरिएको सरुवामा अनियमितता पाइएपछि अख्तियारले बदर गरिदिएको थियो ।

नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरेले पछिल्लो सरुवाले स्वास्थ्यकर्मीको मनोबल गिराएको बताए । ‘यो सरुवा तत्कालै सच्याइएन भने स्वास्थ्य सेवाप्रवाहमा ठूलो समस्या पर्छ, स्वास्थ्यकर्मीको मनोबल गिर्छ,’ घिमिरेले भने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *