आफैँले स्थापना गरेको ओमबाट किन बाहिरिए डा. भोला रिजाल ?
वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. भोला रिजाल झन्डै तीन दशकअघि आफैँले स्थापना गरेको ओम अस्पतालबाट बाहिरिएका छन् । डा. रिजाल आफ्नो सेयर कायमै राखेर व्यवस्थापकीय र क्लिनिकल सेवा दुवै भूमिकाबाट अलग भएका हुन् । लामो समयसम्म अस्पतालका अध्यक्ष रहेका रिजाल बीचमा अध्यक्ष छाडेर १ वर्षअघि मात्र पुनः अध्यक्ष बनेका थिए ।
डा. रिजाल, डा. मधु घिमिरे र डा. गोविन्द शर्माको अगुवाइमा ०४६ मा ओम अस्पताल स्थापना भएको थियो । सुरुकै चरणमा यो टिममा डा. ध्रुव मुडभरी, डा. सुपात्रा कोइराला, डा. लिसा राजपुत, डा. आनन्द श्रेष्ठ र डा. गुरु ढकालसमेत जोडिएका थिए । सानो समूहबाट सुरु भएको अस्पतालमा अहिले रिजालको १२ प्रतिशत सेयर छ ।
डा. रिजालले अस्पतालबाट आफू बाहिरिनुपर्ने अवस्थाबारे धेरै खुलाउन चाहेनन् । ‘मेरो मनले चिताएजस्तो सबै इन्भारमेन्ट त्यहाँ भएन,’ उनले भने, ‘बिरामीलाई सेवा दिनुबाहेक मेरो केही स्वार्थ छैन, सेवाका लागि अर्कै अस्पताल रोजेको छु ।’
डा. रिजालले आफूले ७–८ वर्षअघि नै अस्पताल छोड्न चाहेको भए पनि साथीहरूकै आग्रहमा जोडिइरहेको बताए । ‘अब मैले कमाउनुपर्ने नाम, पैसा, मान सबै कमाइसकेँ,’ उनले भने, ‘मलाई खोज्दै आउनेलाई सेवा दिनुबाहेक मेरो स्वार्थ छैन, त्यसका लागि त्यहाँ वातावरण भएन,’ रिजालले भने ।
सेयर होल्डरमध्ये चन्डीराज ढकाल, डा. जागेश्वर गौतम, विजय मल्ल अस्पतालमा बढी प्रभावशाली छन् । खासगरी मेनेजिङ डाइरेक्टर कार्की र डा. गौतम नै रिजाल बाहिरिनुको कारण भएको स्रोतको भनाइ छ ।
अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले अस्पतालको रेकर्डअनुसार हाल डा. रिजाल घरमा रेस्टमा रहेको भन्दै अरू जानकारी नभएको बताए । ‘उहाँले अध्यक्षबाट राजीनामा दिएपछि बोर्डले उद्धव पौडेललाई अध्यक्ष बनाएको छ,’ उनले भने, ‘सेवा कहाँबाट दिनुहुन्छ, त्यो बेग्लै कुरा हो ।’ सञ्चालक समितिले बिहीबार मात्रै पौडेललाई अध्यक्ष बनाएको थियो । बीचमा केही समय रिजाल उपचारका लागि बेलायतसमेत गएका थिए ।
स्रोतका अनुसार ओममा कार्यकारी भूमिका रहेका रिजाल र प्रमुख सेयर सदस्यबीचको ‘टसल’ नै रिजाल बाहिरिनुको कारण हो । ‘बीचमा १ वर्ष अध्यक्ष नहुँदा पनि बिरामी हेर्न, शल्यक्रिया गर्न छोड्नुभएको थिएन,’ अस्पतालका एक चिकित्सकले भने, ‘अहिले भने फर्केर समेत आउन्नँ भन्नुभएको छ ।’ पुरानो निजी अस्पताल ओम पछिल्लोपटक धेरै अस्थिर बनेको छ ।
सेयर होल्डरमध्ये चन्डीराज ढकाल, डा. जागेश्वर गौतम, विजय मल्ल अस्पतालमा बढी प्रभावशाली छन् । खासगरी मेनेजिङ डाइरेक्टर कार्की र डा. गौतम नै रिजाल बाहिरिनुको कारण भएको स्रोतको भनाइ छ ।
डा. रिजालले अस्पताल छाडेसँगै आफूले सार्वजनिक रूपमा नियमित स्वास्थ्य सेवा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल (एनएमसी) अत्तरखेलबाट दिने बताएका छन् । उनले अत्तरखेलसम्म अपायक पर्ने बिरामीका लागि अर्को कुनै पायक पर्ने ठाउँबाट सेवा दिने समेत जानकारी दिएका छन् ।