मध्यरातमा चिच्याउँदै उठ्छन्, आफन्तलाई पनि नजिक पर्न दिन्नन्

कपिलवस्तु–५ बहादुरगन्जकी १२ वर्षीया बालिका १९ वर्षीय किशोरबाट बलात्कृत भइन् । घटनापछि उनमा एकोहोरो हुने, बोल्न डराउने, नजिकै कोही मान्छे आउँदासमेत तर्सिने समस्या देखापर्न थाले । परिवारले प्रसूतिगृह ल्यायो । दुई साता राखेर उनलाई घर फर्काइयो । तर समस्या उस्तै रह्याे । उनलाई पुनः अस्पताल भर्ना गरियो ।

लामो उपचार र परामर्शपछि उनमा केही मानसिक सबलता देखिँदै थियाे । तर परिवारले हेर्ने नजर पहिलाजस्तो रहेन । ती नाबालिकालाइ परिवारको व्यवहारले सामान्य जीवनमा फर्किन दिएन । जतिवेला उनलाई घरपरिवार, आफन्त र समाजको सहयोगको सबैभन्दा जरुरी थियो, त्यतिवेला उनले आफ्नै परिवारबाट समेत तिरस्कार पाइन् । जसले उनलाई मानसिक रुपमा स्वस्थ बन्न बाधा पुर्याइरहेको छ ।

पहिलो चरणमा उपचारका क्रममा उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन विभिन्न मानवअधिकारकर्मी तथा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका प्रतिनिधि अस्पतालमै आए । त्यो कुराले पनि उनलाई राहतभन्दा आहत नै दियो । परिवारबाट बहिष्करणमा परेकी उनलाई माइती नेपालले विशेष क्षमता वृद्धि तालिम दिई आत्मनिर्भर बनाउन सहयोग गर्यो । हाल उनी त्यहीँ बसेर आर्थिक रूपमा सबलता र मानसिक रुपमा पुरानै अवस्थामा फर्किने प्रयत्नमा छिन् ।

सामूहित बलात्कारको सिकार बनेकी सप्तरीकी अर्की एक बालिका पनि प्रसूतिगृहमा लामो उपचारपछि शारीरिक रुपमा त ठिक भइन् तर, घटनाको आठ महिना बितिसक्दा पनि उनको जीवन सामान्य बन्नै सकेको छैन । विद्यालय नजाने, घरमा पनि एक्लै र टोलाएर बस्ने, निद्रामा झस्किदै ब्युँझने समस्या देखापरिरहेको छ । अधिकांश बलात्कृत महिलामा यस्ता मानसिक समस्या देखिने गरेको चिकित्सकहरु बताउँछन् ।

उनीहरूमा डरत्रास बढ्ने, निद्रा नलाग्ने, कुनै पनि काममा ध्यान नजाने, बढी डराउने, आतिने, राति चिच्याउनेलगायत समस्या देखा पर्छन् । यस्तो अवस्थामा पीडितलाई सामान्य अवस्थामा आउन घरपरिवारको सहयोग र केयर, आफन्तको सद्भाव र समाजको उनीहरूप्रति हेर्ने दृष्टिकोणमा सकारात्मकताको अत्यधिक जरुरत हुन्छ ।

बलत्कार, घरेलु हिंसा वा अन्य खालका शारीरिक तथा यौनहिंसाका सिकार बनेका महिलाका संवेदनशीलतालाई मध्यनगर गरेर खोलिएको वान स्टेप क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसिएमसी)मा यस्ता कहालीलाग्दा कहानीले सामान्य जीवनमा फर्किन नसकेकाहरूका थुपै कथा भेटिन्छन्, जो मानसिक रुपमा त्यस्ता घटनाका कारण बारबार प्रताडित बनिरहेका छन् ।यस्ता समस्या पीडित अधिकांश बालिका र किशोरीमा मानसिक समस्या देखिने गरेको चिकित्सक तथा परामर्शकर्ताको भनाइ छ । बलत्कार तथा महिला हिंसाका घटनाका पीडितका उपचारका लागि प्रसूतिगृहमा रहेको सेन्टरले पाटन मानसिक अस्पतालबाट विशेषज्ञ बोलाएर सेवा दिने गरेको छ ।

बलात्कार तथा घरेलु हिंसामा परेका महिलालाई प्रसूतिगृहमा चेकजाँचका लागि ल्याउने गरिन्छ । कतिपय बिरामी आफैँ पनि उपचारका लागि आउँछन् भने कतिपयलाई पुलिसले ल्याउने गर्छ । अधिकांशलाई महिला प्रहरीले उपचारका लागि ल्याउने गर्छन् । बलात्कारका क्रममा अंगभंग भएका, घाउ र मानसिक समस्याकोसमेत उपचार प्रसूतिगृहले गर्दै आएको छ । प्रसूतिगृहले बलात्कार र घरेलु हिंसाका कारण उपचारका क्रममा आएका २ सय ९५ बिरामीको आर्थिक वर्ष ०७४÷७५ मा उपचार गराएको परोपकार प्रसूतिगृहका निर्देशक जागेश्वर गौतमले बताए ।
त्यस्ता घटनालाई उमेरअनुसार वर्गीकरण गर्दा १४ वर्षसम्म उमेरका १ सय ९ बलात्कृत बालिका उपचारका लागि अस्पताल आएका छन् । त्यस्तै, १५ देखि ४९ वर्षका १ सय ८७ तथा ५० देखि ६५ वर्षको जना बलात्कारपछि उपचारका लागि अस्पताल आएको अस्पतालले जनाएको छ । गत साउन महिनामा मात्रै ४२ वटा बलात्कारका केस आएको प्रसूतिगृह ओसिएमसी विभागकी इन्चार्ज सुकु लामा बताउँछिन् ।

मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाका अनुसार बलात्कारपश्चात् पीडितमा लामोे समयसम्म मनोवैज्ञानिक त्रास उत्पन्न भइरहन्छ ।
उनीहरूमा डरत्रास बढ्ने, निद्रा नलाग्ने, कुनै पनि काममा ध्यान नजाने, बढी डराउने, आतिने, राति चिच्याउनेलगायत समस्या देखा पर्छन् ।
यस्तो अवस्थामा पीडितलाई सामान्य अवस्थामा आउन घरपरिवारको सहयोग र केयर, आफन्तको सद्भाव र समाजको उनीहरूप्रति हेर्ने दृष्टिकोणमा सकारात्मकताको अत्यधिक जरुरत हुन्छ । तर, त्यसको ठिक विपरीत हुँदा पीडितमा मानसिक समस्या थप बढ्ने गरेको छ ।
नेपालभर आर्थिक वर्ष ०७४/७५ मा १ हजार ४ सय ८० बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये परोपकार प्रसूतिगृह थापाथलीले आर्थिक वर्ष ०७४/७५ बलात्कारको सिकार भएका १ सय ९ बालिकाको ओसिएमसी अर्थात् ओन स्टेप क्राइसिस म्यानेज्मेन्ट सेन्टरमा राखी उपचार गराएको छ ।

नेपाल सरकारले तोकेका विभिन्न ओसिएमसी केन्द्रमध्ये प्रसूतिगृह नेपालको सबैभन्दा पहिलो र ठूलो ओसिएमसी केन्द्र हो । काठमाडौं उपत्यकाबाहिर नेपाल सरकारले विभिन्न ठाउँमा यस्ता ओसिएमसी केन्द्र स्थापना गरेको छ । नेपाल सरकारले विगत ७ वर्षदेखि मात्रै ओसिएमसीका लागि बजेट विनियोजन गर्न थालेको भए पनि प्रसूतिगृहले भने करिब ३ दशकदेखि ओसिएमसी केन्द्रमार्फत बलात्कृत बालिका तथा महिलालाई सेवा दिँदै आएको छ ।

उपचारका क्रममा बलात्कार भएको स्थानको समेत अवलोकन हुन्छ । प्रहरीसहितको टोलीले गरेको अवलोकनमा उक्त घटना बलात्कार हो कि होइन भनी पत्ता लगाउन समेत केन्द्रले प्रहरीलाई सघाउने गरेको छ ।  कतिपय अवस्थामा सहमतिमै शारीरिक सम्बन्ध भएको हुन्छ तर त्यसलाई बलात्कारको रूप दिएर उपचारका लागि ल्याइएको हो हैन यकिन गर्न समेत विज्ञहरूलाई सघाउँछन् । जस्ताको तस्तै अवस्थामा पीडितहरू आएमा घटनाबारे अध्ययनमा समेत सहयोग पुग्न सक्छ । उपचारपश्चात् उनीहरूलाई विभिन्न आवासगृहमा राख्ने गरिएको हो । कतिपय बलात्कार केसहरू हाडनाताभित्रै हुने भएकाले घर फर्काउनसमेत समस्या आइपर्ने भएकाले उनीहरूलाई आवासगृहमा लाने गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय