लुभुमा २५ शय्याको अस्पताल बन्ने

निर्मला थापा नगर उपप्रमुख महालक्ष्मी नगरपालिका

ललितपुरको महालक्ष्मी नगरपालिकाअन्तर्गत लुभुमा २५ शय्याको अस्पताल निर्माण कार्य सुरु भएको छ । २४ घण्टै बर्थिङ तथा इमर्जेन्सी सेवा सुचारु गर्नका लागि अस्पताल निर्माण कार्य सुरु गरिएको हो । अस्पतालमा ३ चिकित्सक रहने तथा अलग्गै दन्त विभाग, आँखा विभाग तथा समान्य सेवा विभागको स्थापना गरिने नगरपालिकाकी उपमेयर निर्मला थापाले बताइन् ।

नगरपालिकाले लुभुका १० वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । प्रत्येक वडामा तीन सयदेखि आठ सयको संख्यामा बिरामीले शिविर मार्फत उपचार गराएका छन् । शिविरबाट स्त्रीरोग र पाइल्सका बिरामी बढी लाभान्वित भएको थापा बताउँछिन् । नगरपालिकाको पहलमा ललितपुरको किस्ट अस्पतालले महालक्ष्मीवासीलाई रोगको प्रकृतिअनुसार ३० देखि ५० प्रतिशतसम्म उपचार रकममा छुट दिने गरेको छ ।

नगरपालिकाभित्रका ४ स्वास्थ्यचौकी तथा ४ उप–स्वास्थ्यचौकीले स्वास्थ्य क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । विशेषगरी किशोरी शिक्षाका क्षेत्रमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् । महिनावारीका समयमा महिला तथा किशोरीमा हुने शारीरिक तथा मानसिक संवेदनशीलता तथा सरसफाइमा विशेष ध्यान दिँदै नगरपालिकाले निःशुल्क सेनिटरी प्याड वितरणको कार्यक्रम पनि सञ्चालन गरेको उपमेयर थापा बताउँछिन् ।

नगर क्षेत्रमा स्त्रीरोग तथा मधुमेहका रोगी बढी छन् । नगरपालिकाले भदौभित्र स्त्रीरोगसम्बन्धी विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
शिक्षा, स्वास्थ्य तथा खानेपानीजस्ता पूर्वाधारको विकासविना नगरपालिकाको विकास सम्भव नरहेको थापाको दाबी छ । सम्पूर्ण नगरवासीमा स्वच्छ खानेपानीको पहुँच पुर्याउन नगरपालिकाले दुई करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा २२ लाख रुपैयाँ विनियोजन गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्वास्थ्यचौकीको स्तरोन्नति, फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण तथा विपद्व्यवस्थापनका लागि समिति गठन गरेको छ ।

विपद्व्यवस्थापन तथा वातावरण संरक्षणका लागि नगरपालिकाले यहाँका केही वडामा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत महिना विभिन्न वडामा कागतीको बिरुवा वितरण गरिएको थियो । ‘कागतीको बिरुवाले आयआर्जनका साथै वातावरण संरक्षणमा समेत सहयोग पु¥याउने भएकाले यस्तो कार्यक्रम ल्याएका हौँ,’ उपमेयर थापाले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय