वेलामा नपढेको सजाय अस्पतालको नियमित पाहुना

हेल्थपोस्ट नेपाल

मुटुमा अचानक समस्या आएर आज अस्पतालमा बसेको छु । सिरहाको फूलकुमारी महतो अस्पतालमा चेकअप गरेको थिएँ । त्यहाँको अस्पतालले मलाई गंगालाल अस्पताल जान भनेकाले यहाँ आएको छु । आजभन्दा २ महिनाअघिदेखि यस्तो भएको थियो । समयमै नेपालको सबैभन्दा ठूलो अस्पताल आइपुगेको छु । आशा छ, मेरो स्वास्थ्य राम्रो हुनेछ । युवा नै छु, परिवारमा आमा, बुबा, श्रीमती, छोरी र म गरी पाँचजना छौँ । मलाई केही हुनु भनेको परिवारका पाँचै सदस्यको बिजोग हुनु हो ।

२ वर्ष साउदी अरबमा बसेँ । लाग्छ, त्यहाँको खानपानका कारण पनि मेरो मुटुमा समस्या भएको हो । आजभोलि काम छैन, घरमा यत्तिकै बसेको छु । केही गरौँ भन्दा पनि मुटुको बिरामी छु जस्तो लाग्छ । घरीघरी त कस्तो छाती दुख्छ । डर लाग्छ, अनायास जीवनमा डराउनुपर्ने अवस्था आउँदोरहेछ । रोग पनि जीवनको एउटा पाटो रहेछ । वेलामा पढिएन, १० कक्षासम्म पढेँ । अहिले लाग्छ, यदि धेरै पढेको थिएँ भने विदेशमा मजदुरी गर्न जानुपर्ने थिएन । मुटुमा समस्या आएर अस्पताल बसेको छु, केही हुने पो हो कि भनेर डर पनि लागिरहेको छ ।

मानिसलाई अनेक रोग लाग्ने, अचम्म लाग्छ । मेरो उमेर भनेको केही गरौँ भन्ने हो, तर आज यसरी अस्पताल चहार्नुपरेको छ ।

परिवारको मायाले नै बढी सताउने रहेछ । मलाई केही भयो भने त परिवारको बिजोग हुन्छ । मुटुमा कस्तो समस्या आउने हो भनेर साह्रै चिन्ता लागेको छ । रिपोर्ट पर्खेर बस्न निकै गाह्रो हुँदोरहेछ । मानिसलाई अनेक रोग लाग्ने, अचम्म लाग्छ । मेरो उमेर भनेको केही गरौँ भन्ने हो, तर आज यसरी अस्पताल चहार्नुपरेको छ । सायद, मेरो जीवनको यो दुर्भाग्य हो जस्तो लाग्छ । मलाई सबैभन्दा पिर रिपोर्ट के आउने हो भन्नेमा छ ।

जीवनमा कस्ता–कस्ता समस्या झेल्नुपर्ने पो हो, जीवन अझै बाँकी छ । मलाई अहिले आफ्नोभन्दा पनि परिवारको मायाले सताइरहेको छ । सबैभन्दा ठूलो माया नै रहेछ । मुटुको रोग निको भयो भने म परिवार पाल्न भए पनि विदेश जान्छु । के गर्नु ? परिवार त पाल्नैपर्यो । समयमा नपढेकोमा अहिले धेरै पछुतो लागेको छ । म सामान्य परिवारको मान्छे हुँ, घरमा खासै धेरै सम्पत्ति छैन । पैसा नभै केही नहुने रहेछ । अहिलेसम्म मेरो २५ हजार खर्च भएको छ । सबै ऋणमा चलेको छ, जीवन नै ऋणमा छ र त्यही पैसाको चक्करमा रोग बोकेर म आज यहाँ आइपुगेको छु ।

वर्ष २६
दुधौली, सिन्धुली



Leave a Reply

Your email address will not be published. Required fields are marked *