बिरामीले समेत नर्सलाई डाक्टरसरह सम्मान दिन्नन्

म ताप्लेजुङको दुर्गम क्षेत्रमा जन्मिएको मान्छे, सानो छँदा काठमाडौंबाट नर्सहरू गाउँ आएर विभिन्न स्वास्थ्य शिविरमा असहाय तथा बिरामीको सेवा गरेको देख्दा मलाई पनि भविष्यमा उनीहरूले जस्तै दुर्गम क्षेत्रमा सेवा गर्ने इच्छा जाग्यो । त्यसैबाट मलाई नर्स पढ्न प्रेरणा मिल्यो ।

०३४ मा एसएलसीपछिको पढाइका लागि म काठमाडौं आएँ । भाइ, दिदी, बुबा, ममी र मसहित हाम्रो पाँचजनाको परिवार हो । मैले नर्सिङ पढ्ने निधो गरेपछि घरमा सुनाएँ । घरको समर्थन मिलेपछि काठमाडौं आएर नर्सिङ पढ नर्सिङ पढ्न थालेँ । काठमाडौंमै पढ्नु राम्रो र सुरक्षित हुन्छ भन्ने घरमा सल्लाह भयो ।

अहिलेको महाराजगन्ज नर्सिङ क्याम्पस त्यतिवेला महाबौद्धमा थियो । म त्यहीँबाट नर्सिङ पढ्न थालेँ । ०३४ मा सुरु गरेको अध्ययन ०३८ मा पूरा भयो । अध्ययन सकिएलगत्तै मैले झापाको भद्रपुर अस्पतालमा काम सुरु गरेँ । भद्रपुर अस्पतालमा १ वर्षको कार्य अनुभवपश्चात् मैले काठमाडौंको टेकु अस्पताल र वीर अस्पतालमा ६–६ महिना काम गरेँ । त्यसपछि त्रिभुवन शिक्षण अस्पतालको स्थापनाकाल (वि.सं. २०४०)देखि नै म यहीँ कार्यरत छु ।

त्यतिवेला म सामान्य नर्सका रूपमा प्रवेश गरेको थिएँ । पेसाप्रतिको लगनशीलता र मिहिनेतका कारण म अहिले त्रिवि शिक्षण अस्पतालको नर्सिङ निर्देशक हुन सफल भएको छु । मेरो सफलताको पहिलो कारण भनेको मेरो कामप्रतिको लगनशीलता नै हो ।

मैले कहिल्यै नर्सिङ पेसामा आएका कारण पछुतो अनुभव गरेकी छैन । बिरामीका लागि आफूलाई समर्पित गर्न पाउँदा ज्यादै खुसीको अनुभूति हुन्छ । आफू तथा नर्सिङ पेसाप्रति सधैँ गौरव लाग्छ ।

नर्सिङ पेसा बाहिर देखिएजस्तो सजिलो छैन । पहिले–पहिले त अझै नेपाली समाजमा ‘छोरी बिग्रिए नर्स’ भन्ने चलन पनि थियो । २४ घन्टै बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने नर्सलाई बिरामीले समेत डाक्टरसरह सम्मान नदिएजस्तो लाग्छ मलाई । त्यतिवेला आफैँमा अपहेलित भएको महसुस हुन्छ । वर्तमान समयमा भने समाज र परिवारको पनि नर्सप्रति हेर्ने दृष्टिकोण फराकिलो हुँदै गएको छ । संसारभर नर्सिङको दायरा बढ्दै गएको छ । विदेशमा नर्सलाई जति सम्मान दिइन्छ, नेपालमा भने अझै पनि त्यस रूपमा लिन सकिएको छैन ।

नर्सिङ पेसामा लागेपछि ड्युटीको कुनै यकिन समय हुँदैन । बिहान, बेलुका राति जुनसुकै समयमा कामका लागि तयार हुनुपर्ने हुन्छ । पेसाका कारण कतिपय अवस्थामा व्यक्तिगत र पारिवारिक जीवनमा कठिनाइसमेत आउने गर्छन् । छोराछोरीका लागि समय दिन नसक्दा उनीहरूसँगको सम्बन्ध राम्रो नहुन सक्छ । अझै नर्सिङ निर्देशक भएर काम गर्नु ज्यादै चुनौतीपूर्ण छ । यो एक सामूहिक कार्य भएकाले समूहका कुनै एकले गरेको गल्तीको जवाफदेही निर्देशकसमेत हुनुपर्ने हुन्छ । उपचार गराउन आउने बिरामी तथा उनीहरूका आफन्तको गुनासो नर्सिङ निर्देशकले सुन्नुपर्ने हुन्छ ।

त्रिभुवन शिक्षण अस्पतालमा काम गरेको अनुभवपश्चात् विदेश जान सहज हुने तथा विदेश गएर त्यहाँ काम पाउनसमेत सजिलो हुने भएकाले पनि कतिपय नर्सहरू त्रिविमा काम गर्न आएका हुन्छन् । तर, मैले कहिल्यै यो संस्थालाई विदेश जाने खुड्किलो बनाउनेबारे सोचिनँ । कामप्रतिको निरन्तर लगनशीलता र संस्थाप्रतिको बफादारीले नै म आज यो ठाउँमा छु र यसैमा सन्तुष्ट छु ।

नयाँ नर्समा क्लिनिकल ज्ञानको कमी हुने भएकाले कतिपय अवस्थामा उनीहरूबाट गल्ती हुने गरेका घटनाहरू नभएका होइनन् । तर, उनीहरूलाई वरिष्ठ नर्सको निर्देशनमा मात्रै काम लगाउने परिपाटी त्रिविमा छ ।

डाक्टरभन्दा बढी नर्सहरू नै बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने भएकाले बिरामी र नर्सबीचको सम्बन्ध अत्यन्त सुमधुर हुनु आवश्यक छ । यसका लागि बिरामी र नर्स दुवै पक्षले आआफ्ना कमीकमजोरी सच्याउनुपर्छ । बिरामी र कुरुवाले अस्पतालको नियम र सीमाभित्र रहेर व्यवहार गरिदिनुपर्छ, नर्सको बाध्यतालाई बुझिदिनुपर्छ । नर्सले पनि मिजासपूर्वक व्यवहार गर्नुपर्छ, काममा दत्तचित्त हुनुपर्छ । कतिपय अवस्थामा अस्पताल प्रशासनको कमीकमजोरीका कारण पनि बिरामीको आक्रोश हामीले झेल्नुपरिरहेको हुन्छ ।

मैले कहिल्यै नर्सिङ पेसामा आएका कारण पछुतो अनुभव गरेकी छैन । बिरामीका लागि आफूलाई समर्पित गर्न पाउँदा ज्यादै खुसीको अनुभूति हुन्छ । आफू तथा नर्सिङ पेसाप्रति सधैँ गौरव लाग्छ ।

नर्सिङ पढ्ने छोराछोरीका लागि सधैँ उत्प्रेरणाको स्रोत बन्न म अभिभावकहरूलाई आग्रह गर्छु । अभिभावकको साथ र समर्थनविना सन्तानले सफलता पाउन सक्दैनन् । यो पेसा अँगाल्ने तथा अँगाल्न चाहनेहरूलाई व्यक्तिगत आकांक्षाभन्दा सेवाभावले नर्सिङ पेसामा लाग्न मेरो आग्रह छ ।
प्रस्तुति : लक्ष्मी चौलागाईं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय