देश जडीबुटीको भण्डार, छैन एउटै संकलन केन्द्र

अतिन आचार्य
प्रकाशित
२०७५ भदौ १५ गते ११:३७

२ सय ७० वर्षअघि स्थापना भएको मुलुककै एक मात्र आयुर्वेद औषधि उत्पादन गर्ने सरकारी कम्पनी सिंहदरबार वैद्यखाना विकास समितिमा जडीबुटी संकलन केन्द्र नहुँदा समस्या परेको छ ।

जडीबुटी संकलन केन्द्र नहुँदा एकातिर करोडौँको जडीबुटी त्यसै खेर गइरहेको छ भने अर्कोतर्फ वैद्यखानाले जडीबुटी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । केन्द्र नभएकै कारण जडीबुटीको तस्करी हुने र कृषक यसको व्यावसायिक खेतीतर्फ आकर्षित नहुने गरेको वैद्यखानाका प्रबन्धनिर्देशक डा. वंशदीप शर्मा खरेलले बताए । नेपालमा ८ सय १९ प्रकारका वनस्पति जडीबुटीका रूपमा प्रयोग हुँदै आएका छन् । तीमध्ये धेरैको सही पहिचान र प्रयोग हुन सकेको छैन । खरेलका अनुसार औषधिका रूपमा जडीबुटीको प्रयोग बढिरहेको छ ।

अहिले समितिले आफैँ जडीबुटी पाइने क्षेत्रमा गएर सार्वजनिक खरिद ऐनको अधीनमा रही जडीबुटी खरिद गर्ने गरेको छ ।

गाउँ वा सहरमा संकलन केन्द्र राख्दा नागरिकले सहज तरिकाले ढुवानी गर्न सक्ने र बजारको माग धान्नसमेत सहज हुने खरेलले बताए ।
नेपालमा वैद्यखानाले मात्रै करिब १ सय १० ब्रान्डका ३ सयभन्दा बढी आकार–प्रकारमा औषधि उत्पादन गर्दै आएको छ । नेपालमा मात्रै ५ अर्बभन्दा बढीको आयुर्वेदिक औषधि खपत हुन्छ । डा. खरेलले स्थानीयस्तरमा उत्पादित जडीबुटी औषधिलाई पहिचान गरी त्यसलाई उपयोगमा ल्याउन सके राज्य र जनताको स्वास्थ्यमा धेरै फाइदा पुग्ने बताए ।समितिसँग आफ्नै औषधि उत्पादन गर्ने कारखानासमेत छ ।
खरेलले देश संघीय संरचनामा गइसकेकाले स्थानीय तहमै जडीबुटी संकलन गर्नुपर्ने र त्यसले स्थानीय सरकारको आयसमेत बढाउन सकिने बताए । ‘सरकारको आम्दानी बढ्छ, नागरिकसमेत व्यावसायिक खेतीतर्फ आकर्षित हुन्छन्,’ उनले भने ।

दैनिकजसो देशका विभिन्न प्रदेशबाट जडीबुटी उत्पादन भइरहेका छन् । सबै प्रदेशमा जडीबुडी संकलन केन्द्र बनाउने योजना रहेको खरेल बताउँछन् ।अहिले समितिले आफैँ जडीबुटी पाइने क्षेत्रमा गएर सार्वजनिक खरिद ऐनको अधीनमा रही जडीबुटी खरिद गर्ने गरेको छ । अहिले बढी खरिद गरिरहेका क्षेत्रमै संकलन केन्द्र बनाउने योजना रहेको उनले बताए ।समितिको तथ्यांकअनुसार औषधिका रूपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा उत्पादन हुने गरेको छ भने सबैभन्दा कम पश्चिमाञ्चल क्षेत्रमा छ ।

कर्णाली क्षेत्रमा राम्रो हावापानी भएको तथा जनसंख्याको चाप कम भएकाले धेरै मात्रामा जडीबुटी उत्पादन हुने गरेको छ । हिमाली क्षेत्रमा भने जटामसी, कुट्की, अतिस, पद्मचाललगायत जडीबुटी उपलब्ध छन् । तेल निस्कने जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, टिमुर, तेजपातलगायत छन् । यीमध्ये जटामसी, पाँचऔँले, कुट्की, निरमसी पाटन (हिमाली घाँसे मैदान) क्षेत्रमा पाइन्छ । नेपालमा उत्पादन हुने जडीबुटीमध्ये अधिकांश छिमेकी मुलुक भारत र चीनमा धेरै निकासी हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय