टाइफाइडभन्दा भयावह बन्दै स्क्रब टाइफस

गएका केही वर्षदेखि स्क्रब टाइफस संक्रमितको संख्या बढ्दोक्रममा छ । एपिडेमियोलोजी महाशाखाले केही दिनअघि सार्वजनिक गरेको तथ्यांकले यो वर्ष पनि स्क्रब टाइफस युद्धस्तरमा बढ्दोक्रममा रहेको देखाउँछ । बर्सेनि स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढेको पाइन्छ । केही समयअघिसम्म, खासगरी सन् २०१५ अगाडिसम्म खासै चर्चामा नआएको यो रोग हाल ज्वरो आएका बिरामीमा नियमित जाँच गर्दा पनि भेटिने गरेको छ ।

अहिले पनि गाउँघरका स्वास्थ्यकेन्द्रहरूमा स्क्रब टाइफसका बिरामीलाई टाइफाइड भन्दै उपचार गरिरहेको देखिन्छ । अझै पनि स्क्रब टाइफसबारे खासै चर्चा नहुनु तथा पहिचान गर्ने विधि नहँुदा यस्तो भएको हो । साथै, अझै पनि ज्वरो भन्नेबित्तिकै टाइफाइड भन्ने हाम्रो सोचमा परिवर्तन आइसकेको छैन भन्ने पनि यसले देखाउँछ । गत वर्ष मात्र यो पंक्तिकारले काठमाडौंका विभिन्न अस्पतालबाट रक्तपरीक्षणका लागि पठाएका ज्वरोका बिरामीमध्ये सयौँमा स्क्रब टाइफस प्रयोगशालाबाट निदान भएको थियो । कुनै चमत्कार नभए यो वर्ष यही संख्यामा वा त्योभन्दा बढी नआउला भन्न सकिँदैन । यो वर्ष पनि आजका मितिसम्म स्क्रब टाइफसका दर्जनौँ बिरामी भेटिइसकेका छन् ।

सन् २०१५ अगाडिसम्म खासै चर्चामा नआएको स्क्रब टाइफस हाल ज्वरो आएका बिरामीमा नियमित जाँच गर्दा पनि भेटिने गरेको छ ।

किन टाइफाइडभन्दा भयावह बन्दै छ ?
टाइफाइड खासगरी संक्रमित खानपानका कारण हुने गर्छ । वर्षौंदेखि र अहिले पनि सरकारी तथा निजीस्तरका संस्थाहरूले सफा खानेकुरा र पानीबारे जनचेतना फैलाउने तथा वेला–वेलामा अनुगमन गरी दण्ड–जरिवाना गर्ने गरेको हँुदा धेरै हदसम्म पानी तथा खानेकुराजन्य रोगहरू नियन्त्रण हँुदै गएका देखिन्छन् । तसर्थ, टाइफाइड सर्ने माध्यम पनि यही भएकाले आगामी दिनमा यसको संख्यामा कमी आउनेमा दुईमत देखिँदैन । त्यस्तै, टाइफाइड पहिचान गर्दा रगतको कल्चर गरेर हेर्ने गरिन्छ र बर्सेनि तथ्यांकहरू हेर्दा केही दर्जनमा मात्र ब्याक्टेरिया देखिने गरेको पाइन्छ । यो विधिबाट टाइफाइडको कीटाणु देखे मात्र निश्चित रूपमा टाइफाइड भएको मानिन्छ । यसबाहेक विडाल टेस्ट पनि गरिन्छ, जुन त्यति भरपर्दो मानिँदैन । यद्यपि, सबै स्वास्थ्यचौकीमा रगतको कल्चर गर्ने सुविधा नभएकाले यही विधिलाई आधार मानेर उपचार गर्ने गरिन्छ । त्यस्तै, हाल मानिसमा टाइफाइडविरुद्ध खोपको जानकारी र ज्ञान बढ्दै गएको देखिन्छ, जसलाई आगामी दिनमा टाइफाइड क्रमिक रूपमा कम हँुदै जाने बलियो आधार मान्न सकिन्छ । तर, स्क्रब टाइफसबारे अहिले पनि नेपालमा राम्रो जानकारी छैन भनेर ज्वरोका बिरामीलाई गरेको उपचारको प्रकृतिबाट नै देख्न सकिन्छ । यसले गर्दा स्क्रब टाइफसको जाँच गर्ने चलन कम हुँदै छ भने संक्रमितको संख्या ह्वात्तै बढ्दै छ । यसबाट टाइफाइडभन्दा स्क्रब टाइफस भयावह बन्ने सहजै अनुमान गर्न सकिन्छ ।

के गर्ने ?

यो चिगर माइटको टोकाइबाट सर्ने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउनु जरुरी हुन्छ । हाल यो अत्यधिक मात्रामा ग्रामीण भेगमा देखिँदै आएकाले त्यहाँका स्थानीयवासीलाई रोगबारे, कसरी सर्छ र बच्ने पूर्वउपायहरूबारे राम्ररी जानकारी गराउनुपर्छ । त्यहाँ खटेका स्वास्थकर्मीले पनि यो रोगलाई ध्यानमा राखेर उपचार गर्नुपर्छ वा छुटाउनुहँुदैन । प्रयोगशाला जाँच गर्न सहज नहुने भएकाले लक्षणहरू मिलेमा, कहाँ फैलँदै छ भन्ने जानकारी राखेर र यसको उपचारमा प्रयोग हुने एन्टिबायोटिक एक–दुई दिन मात्र चलाएर हेर्दा सुधार भएमा स्क्रब टाइफस शंका गरी उपचारलाई निरन्तरता दिनुपर्छ । सहरी इलाकामा शंका लागे पहिचान गर्न टेकु अस्पताल वा केन्द्रीय प्रयोशाला पठाउन सकिन्छ । हाल यो ग्रामीण भेगमा मात्र नभई सहरी इलाकामा पनि देखिनेक्रम बढ्दो भएकाले यहाँ सेवा दिइरहेका स्वास्थकर्मीले पनि ज्वरो आएका बिरामीमा स्क्रब टाइफसलाई पनि विशेष ध्यान पुर्याएर जाँच तथा उपचार गर्नुपर्छ ।

स्क्रब टाइफस मृत्युदर ३० प्रतिशतसम्म हुने गरेको अनुसन्धानहरूले देखाएका छन् ।

स्क्रब टाइफसको समयमा पहिचान नभए बिरामीको मृत्युसमेत हुने गर्दछ । यसको मृत्युदर ३० प्रतिशतसम्म हुने गरेको भारतीय अनुसन्धानहरूले देखाएका छन् । नेपालमा स्क्रब टाइफसको मृत्युदरबारे राम्रो तथ्यांक पाउन अझै अनुसन्धानहरू गर्न बाँकी नै छ । यो रोगले भौगोलिक हिसाबले पनि आफ्नो सीमा बढाउँदै गएको देखिन्छ भने लक्षणहरू पनि नयाँ–नयाँ थपिँदै गएका देखिन्छन् । ज्वरो आयो कि टाइफाइड भन्ने पुरानो सोचमा आगामी दिनमा परिवर्तन आई स्क्रब टाइफस भन्ने समय आउँदै गरेको सहजै अनुमान लगाउन सकिन्छ । यसले टाइफाइडभन्दा स्क्रब टाइफस आगामी दिनमा भयावह रूपमा फैलँदै छ भन्ने संकेत गर्दछ ।

(डा. पुन, क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संयोजक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय