झलमल्ल बन्यो कर्णाली अस्पताल

हेल्थपोस्ट नेपाल

छोराको खुट्टा भाँचिएको उपचार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पुगेका तातोपानी गाउँपालिका–२ का रामबहादुर रावतले रातभरि बिजुली नहुँदा अन्धकार झेल्नुपरेको बिर्सेका छैनन् । उनले राति बिरामी हेर्न आउने चिकित्सक पनि मोबइल र टर्चको उज्यालो प्रयोग गर्न बध्य भएको अनुभव सुनाए । उनले भने, ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बिजुलीको राम्रो प्रबन्ध नहुनु दुःखद हो । तत्काल बिजुलीलाई प्राथमिकतामा पार्नुपर्छ ।’

एकसाताअघि अस्पतालमा अन्धकार झेलेका रावत सोमबार खुट्टाको चेकजाँच गराउन आउँदा चारैतिर झलमल्ल देखे । उनले भने, ‘एकसाताभित्रै कर्णाली अस्पतालले उज्यालो थपेर निकै ठूलो राहत दिएछ । अब कर्णाली अस्पतालमा बस्ने बिरामी, कुरुवा र कर्मचारीले उज्यालोमै उपचार गर्ने र गरेको हेर्ने सपना साकार भएको छ ।

दैनिक लोडसेडिङको मार खेप्दै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २४ घण्टै बिजुली बलेको छ । गुठीचौर गाउँपालिकास्थित नौमुले लघुजलविद्युत् आयोजना देपालगाउँले अस्पतालका लागि छुट्टै बिजुली लाइन दिएपछि अस्पतालमा बिजुलीको अभाव नहुने भएको हो । गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले सम्झौतापत्रमा हस्ताक्षर गरी स्विच बालेर अस्पतालमा बिजुली बलेको घोषणा गरेका थिए ।

विद्युत् सेवा प्रभावकारी नहुँदा जटिल प्रकारका अप्रेसनलगायत प्रशासनिक काममा समेत असर पर्दै आएको थियो । प्रतिष्ठानका रजिस्ट्रार काफ्लेले भने, ‘नियमित रुपमा बिजुली बलेपछि अस्पतालका सबै सेवा नियमित गर्न टेवा पुगेको छ । अस्पतालका सेवा विस्तारमा समेत बिजुलीले ढोका खुलेको हो ।’

झन्डै १ वर्षको पहलपछि अस्पतालमा बिजुली बलेको हो । बिजुली नहुँदा आइसियु सेवा, सिटी स्क्यानलगायत महत्वपूर्ण उपकरण सञ्चालनमा ल्याउन नसक्दा बिरामी मर्कामा परेका थिए ।

झन्डै १ वर्षको पहलपछि अस्पतालमा बिजुली बलेको हो । बिजुली नहुँदा आइसियु सेवा, सिटी स्क्यानलगायत महत्वपूर्ण उपकरण सञ्चालनमा ल्याउन नसक्दा बिरामी मर्कामा परेका थिए । रजिस्ट्रार काफ्लेले भने, ‘नियमित बिजुलीआपूर्तिसँगै आइसियु, सिटी स्क्यान, रक्तसञ्चार केन्द्र, अक्सिजन प्लान्टलगायत चलाउन सहज हुने भएको हो । उनले भदौ महिनाभित्रै यी सबै सेवा सञ्चालन गर्न प्रतिष्ठान जुटिसकेको बताए ।
‘अप्रेसनका लागि २४ घण्टै बिजुली चाहिन्छ, यसअघि जेनेरेटर चलाएर अप्रेसन गर्नुपर्ने बाध्यता थियो,’ रजिस्ट्रार काफ्लेले भने, ‘अब जस्तोसुकै जटिल प्रकारको अप्रेसन गर्न बिजुली पर्खनु पर्दैन, जतिवेला पनि अप्रेसन अनुकूल हुनेछ ।’

तेल नहुँदा जेनेरेटर चलाउन कठिन थियो । साना जलविद्युत् उपभोक्ता समितिले उपलब्ध गराएको बिजुली अधिकांश समय लोडसेडिङ हुँदा आवश्यकताका काम हुँदैनथे । अहिले प्रशासनिक काम गर्न सहज भएको छ । सामान्य कामका लागि जेनेरेटर चलाउनुपरेको छैन ।

अस्पतालले २५ देखि ३० किलोवाट खपत हुने गरी बिजुली समितिसँग सम्झौता गरेको छ । प्रतियुनिट शुल्क ८ रुपैयाँ तिर्नुपर्छ । प्रत्येक कक्षमा सवा मिटर राखिनेछ । नियमित बिजुली आपूर्तिसँगै अस्पतालको सेवाप्रवाह चुस्तदुस्त र प्रभावकारी हुने गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिए । उनले भने, ‘गुठीचौर गाउँपालिकाले दिएको बिजुली सेवाले बिरामीलाई गुणस्तरीय सेवा पुग्ने आशा गरेका छौँ ।’ बिजुली सम्झौतापछि अब जाडोयाममा सोलार सिस्टमले काम गरेन भन्ने बहाना नहुने भएको छ । प्रत्येक कोठामा एसीको व्यवस्था गरिएको छ । बिजुली आपूर्तिले चिकित्सक, बिरामी, कर्मचारी र कुरुवा सबै उत्साहित छन् । अब बेडबेडमा अक्सिजन पुग्ने भएको छ । बिजुली उपलब्ध गराउने विद्युत् समितिका पदाधिकारीलाई दोसल्लासहित सम्मानसमेत गरिएको छ ।

 



Leave a Reply

Your email address will not be published.