के छन् नियुक्ति प्रभावित पार्ने ‘फ्याक्टर’

मुलुककै ठूलो विशेषज्ञ डाक्टर उत्पादन गर्ने स्वास्थ्य विज्ञान प्रतिष्ठान ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–न्याम्स (वीर अस्पताल)को रिक्त उपकुलपतिका लागि २२ चिकित्सकले दरखास्त हालेका छन् ।  कुलपति (प्रधानमन्त्री)बाट गठित सहकुलपति (स्वास्थ्यमन्त्री) संयोजकत्वको समितिले १५ दिनअघि दरखास्त अह्वान गरेको थियो । सोक्रममा दरखास्तको अन्तिम मिति आइतबारसम्म २२ जनाको दरखास्त परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निवर्तमान उपकुलपति डा. गणेश गुरुङदेखि वरिष्ठ प्राध्यापक र पदाधिकारीहरूले दरखास्त हालेका छन् ।

जसमा पूर्वरेक्टर डा. श्रीकृष्ण गिरी, निवर्तमान रेक्टर यहुनचन्द्र सिवाकोटीदेखि प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतमले समेत दरखास्त हालेका छन् । त्यसैगरी, न्याम्सका पूर्वडिन डा. सीताराम चौधरी, वरिष्ठ चिकित्सकहरू अनिल मिश्र, डा. विधाननिधि पौडेल, वीर अस्पताल आकस्मिक विभाग प्रमुख डा. भोलाराम श्रेष्ठ, प्रसूतिगृहका विशेषज्ञ डा. गेहनाथ बराललगायतले दरखास्त दिएका छन् ।

२२ साउनमा निवर्तमान उपकुलपति डा. गणेश गुरुङको कार्यकाल सकिएपछि उपकुलपति सिफारिस गर्न उपप्रधान तथा स्वास्थ्य, जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य रहेको समिति बनेको थियो । सदस्य प्याकुरेलले २२ जनाको दरखास्त परेको भन्दै दरखास्तउपर छानबिन गरेर छिट्टै छनोट प्रक्रिया सुरु गर्ने बताए । ‘सरकार सक्षम, भिजन भएको र संस्थालाई नेतृत्व गर्न सक्ने व्यक्ति उपकुलपति बन्नुपर्छ भन्नेमा छ,’ डा. प्याकुरेलले भने, ‘त्यस्तै उम्मेदवार खोजीका लागि नै प्रक्रिया गरिएको हो ।’

यस्तो छ मापदण्ड
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन दफा १८ को उपदफा २ र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड २०७३ अनुसार मन्त्रालयले दरखास्त आह्वान गरेको थियो ।
उपकुलपतिमा नेपाल सरकारको ११औँ तहको चिकित्सक वा सोभन्दा माथिल्लो तहमा बहालवाला वा अवकाशप्राप्त चिकित्सकले दरखास्त दिन सक्छन् । त्यसैगरी, स्वास्थ्य विज्ञान प्रतिष्ठानका बहालवाला वा अवकाशप्राप्त चिकित्सक, वा स्वास्थ्यसंस्था वा मेडिकल कलेजमा कार्यकारी तहको जिम्मेवारीमा रहेको र जिम्मेवारी वहन गरिसकेको चिकित्सकले दरखास्त दिन सक्छन् ।
दरखास्तसँगै प्रतिष्ठान सञ्चालनको व्यावसायिक कार्ययोजना र व्यक्तिगत विवरणका समेत आधारमा उम्मेदवार छनोट हुने २७ साउनमा प्रकाशित र २ दिनपछि संशोधित सूचनामा उल्लेख छ ।

न्याम्सको उपकुलपति नियुक्तिमा सबैभन्दा पहिलो प्रभाव फ्याक्टर हो – सत्ता गठबन्धन । दोस्रो – संस्थाभित्रको उम्मेदवार । तेस्रो– उम्मेदवारका योग्यता र दरखास्तसँगै पेस गरिएका भिजन ।

नियुक्तिमा प्रभाव पार्ने ‘फ्याक्टर’
कर्मचारी, सेवा क्षेत्र र पठनपाठनका आधारमा पनि न्याम्स, वीर अस्पताल नेपालकै सबैभन्दा ठूलो संस्थामध्ये पर्छ । यसको प्रमुख प्रशासनिक र प्राज्ञिक नेतृत्व गर्ने पद भएकाले उपकुलपतिको नेतृत्व कसले गर्छ भन्ने कुरामा प्रतिष्ठान, वीर अस्पताल, नर्सिङ क्याम्पससँगै थुप्रै ठूला निर्माण र गुरुयोजनाको समेत भविष्य जोडिएको छ ।
जानकारका अनुसार न्याम्सको उपकुलपति नियुक्तिमा सबैभन्दा पहिलो प्रभाव फ्याक्टर हो – सत्ता गठबन्धन । दोस्रो – संस्थाभित्रको उम्मेदवार । तेस्रो– उम्मेदवारका योग्यता र दरखास्तसँगै पेस गरिएका भिजन ।

जनकारहरूका अनुसार उपकुलपति नियुक्तिमा सबैभन्दा बढी प्रभाव कुलपतिको हिसाबले पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै रहन्छ । सहकुलपतिका रूपमा अन्य पदाधिकारी उपकुलपतिको सिफारिसका आधारमा स्वास्थ्यमन्त्रीले टुंग्याउन सके पनि उपकुलपतिको सन्दर्भमा उनले सिफारिस मात्र गर्न सक्छन् ।
यस आधारमा नेकपानिकट देखिएका डा. गौतम, डा. बराल, डा. गिरी, डा. सिवाकोटी, डा. गुरुङ र डा. पौडेलमध्ये एकजना नियुक्त हुन सक्ने अनुमान लगाउन सकिन्छ । त्यसमा पनि पार्टीका नेतासँगको सम्बन्ध र प्रभावका हिसाबले गौतमको बढी सम्भावना देख्नेहरू धेरै छन् ।

तर, गौतम धेरै विवादित छन् । उनी एक निजी मेडिकल कलेजको सेयर नामसारीमा किर्ते प्रमाणित भइसकेका व्यक्ति हुन् । त्यति मात्र होइन, सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री खगराज अधिकारीले उनलाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा गरेको नियुक्तिसमेत विवादमा परेको थियो । काउन्सिलको अध्यक्ष हुन काउन्सिलमा दर्ता भएको कम्तीमा २० वर्ष हुनुपर्ने नियम भए पनि २० वर्ष नपुग्दै ढाँटेर नियुक्ति आएको पुष्टि भएपछि अख्तियारबाट कारबाही चल्ने डरमा राजीनामा दिएका थिए । त्यसकारण प्रभावका आधारमा मात्रै उपकुलपति बन्न गौतमलाई सहज छैन ।

स्रोतका अनुसार डा. गुरुङलाई दोहोर्याउने पक्षमा नेकपा छैन । आफ्नो कार्यकालमा तुलनात्मक रूपमा राम्रै काम गरे पनि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापालाई सहयोग गरेको भनेर पार्टीका नेताहरू उनीसँग सकारात्मक छैनन् । नेकपाभित्र पनि उनी माधवकुमार नेपालनजिक रहेकाले दोहोरिने सम्भावना कम देखिन्छ । पछिल्ला दिनमा कतिपयले डा. बरालको पार्टी समर्थन बलियो देखेका छन् । तर, वीरभित्रकै नहुनुले उनको सम्भावना कमजोर बनाउन सक्छ । पुरानो जनमोर्चा खेमाबाट वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पहुँच पुर्याउन सक्दा मात्रै डा. गिरीको सम्भावना बलियो बन्ला ।

तीबाहेक मन्त्रालयमा चिकित्सा सेवा महाशाखाको नेतृत्व गरिसकेका डा. श्रेष्ठ राजनीतिक फ्याक्टर प्रभाव परेन भने मात्रै उपकुलपति बन्न सक्छन् । किनकि, उनी कांग्रेसनिकट हुन् ।

मन्त्रालयको नेतृत्व गरेका आधारमा नियुक्तिमा प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीकै कुरा सदर गर्ने स्थिति बन्दा डा. शाह, डा. मिश्रा, डा. चौधरीमध्ये एकजना उपकुलपति बन्ने सम्भावना बलियो देखिन्छ । यीमध्ये पनि बलियो डा. शाह देखिए पनि वीरको नहुनु नै उनको सम्भावनामा तगारो बन्न सक्छ ।
तीबाहेक मन्त्रालयमा चिकित्सा सेवा महाशाखाको नेतृत्व गरिसकेका डा. श्रेष्ठ राजनीतिक फ्याक्टर प्रभाव परेन भने मात्रै उपकुलपति बन्न सक्छन् । किनकि, उनी कांग्रेसनिकट हुन् ।

दोस्रो पक्ष
दोस्रो र केही निर्णायक पक्ष भनेको वीरमा उपकुलपति बन्ने वीरभित्रकै मान्छे चाहिन्छ भन्ने भावना प्रबल हुनु हो । प्रतिष्ठानको इतिहासमा हालसम्मका उपकुलपति डा. दिनेशनाथ गंगोल, डा. सिपी मास्के, डा. विश्वराज दली, डा. दामोदर पोखरेल र डा. गणेश गुरुङमध्ये बाहिरबाट आएका मास्के र दलीले कार्यकाल पूरा गर्न पाएनन् । उनीहरूविरुद्ध आन्दोलन भयो ।

तेस्रो पक्ष
न्याम्सको उपकुलपति बन्नका लागि पछिल्लोपटक दरखास्त आह्वान गरिनु र धेरै उम्मेदवार प्रतिस्पर्धी देखिनुले संस्था हाँक्ने भिजन र मन्त्रीसँगको भौगोलिक निकटताले पनि केही अर्थ राख्न सक्छ । तर, विभिन्न समयमा स्वास्थ्य क्षेत्रमा नियुक्ति हुँदाजस्तो आर्थिक चलखेलको गुन्जायस कमै देखिएको जानकारहरू बताउँछन् । ‘अहिलेसम्मको कार्यशैली हेर्दा मन्त्रीले खासै पैसाको पछाडि लागेर दीर्घकालीन असर पर्ने निर्णय गर्न खोजेजस्तो देखिन्न,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसकारणले पनि राम्रो मान्छे आउने सम्भावना जीवितै छ ।’ तर, मन्त्रीनिकट केही व्यक्तिको साथ लिएर उपकुलपति नियुक्तिलाई आफूअनुकूलको व्यक्ति ल्याउन केही उपकरणका ठेकेदारहरू लागेको मन्त्रालय स्रोतको भनाइ छ ।

राजनीतिक पृष्ठभूमि तराई भएका कारण मन्त्री यादवलाई त्यो पक्षको पूर्णतः बेवास्ता गर्न भने कठिन देखिन्छ ।  डा. प्याकुरेल पनि यसपटक मन्त्रालयले संस्थागत हितबाहेक केही नहेरीकनै उपकुलपति सिफारिस गर्ने बताउँछन् । प्याकुरेलले भने, ‘बढीमा ७ पृष्टमा उम्मेदवारले पेस गरेका भिजनले पनि नियुक्तिमा प्रभाव पार्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय