सरसफाइ अभावमा हुन्छ पिआइडी

पेल्भिक इम्फ्लामेटोरी डिजिज (पिआइडी) महिलाको पाठेघरभित्र वा वरपरको क्षेत्रमा हुने संक्रमण हो । महिलामा हुने साझा रोग हो यो । यो रोगले प्रत्यक्ष रूपमा सरसफाइसँग बढी सम्बन्ध राख्छ । महिनावारीको समयमा प्रयोग गरिने टालाहरू फोहोर हुनु, भित्री कपडा सफा नगर्नु, धेरै यौन साथी हुनु, पटक–पटकको गर्भपतन, घरैमा प्रसूति यो रोगका प्रमुख कारण हुन् । धेरै बच्चा जन्माएका महिलामा पनि यसको जोखिम हुन्छ ।
पिआइडी विशेषगरी १८ देखि ४५ वर्षसम्मका महिलालाई हुने गर्छ । आजभोलि भने ११ वर्षको उमेरबाटै महिनावारी हुने भएकाले बालिकामा समेत यो रोग लाग्न सक्ने जोखिम बढ्दै गएको छ । उपचारका क्रममा स्त्रीरोग विशेषज्ञकोमा आउने गरेका ५० प्रतिशतमा पिआइडी हुने गरेको पाइएको छ ।
महिलामा यो रोगको असरअन्तर्गत यौनांग चिलाउने, गन्हाउने, पानी बग्ने, ढाड र तल्लो पेट दुख्ने हुन्छ । यौनांग सफा गर्नका लागि साबुन तथा डिटोलको प्रयोग गर्नुहुँदैन, सफा पानीले मात्रै पखाल्नुपर्छ । बजारमा पाइने यौनांग सफा गर्ने औषधिको प्रयोग भने गर्न सकिन्छ । यौनांगको मासु कमलो हुने भएकाले साबुन तथा डिटोलको प्रयोग गर्दा त्यसले पोल्ने तथा घाउ हुन सक्ने खतरा बढ्न सक्छ ।
लक्षण
– महिलाको तल्लो पेट दुख्ने ।
– ढाड दुख्ने ।
– गन्हाउने पानी बग्ने ।
– यौनांग चिलाउने ।
उपचार
– एन्टिबायोटिक्स उपचार गराउने ।
– रोग लागेको समयमा शारीरिक सम्पर्क भएमा यौनजोडीले समेत उपचार गराउनुपर्ने ।
– सुरक्षित यौन व्यवहार अपनाउने ।
– पिआइडीको दुर्लभ अवस्थामा मात्रै शल्यक्रियामा जान सकिन्छ ।
पिआइडीको खतरा भएका महिलाले सकभर सुतीको कपडा प्रयोग गर्नु राम्रो मानिन्छ । महिनावारीको समयमा महिलाले प्रत्येक ३ घण्टाको फरकमा प्याड फेर्नुपर्ने हुन्छ । लामो समयसम्म एउटै प्याडको प्रयोग गरेमा त्यसबाट विभिन्न रोग संक्रमणको खतरा बढ्छ । पिआइडी भएका महिलाले सकेसम्म सार्वजनिक शौचालयको प्रयोग नगर्नु राम्रो हुन्छ । सार्वजनिक शौचालयको कम्बोडबाट विभिन्न रोगको उत्पादन हुने भएकाले त्यसबाट पनि रोगको संक्रमण बढी हुने खतरा हुन्छ । पिआइडीको समस्या विशेषगरी विवाहित महिलामा बढी हुने गर्छ ।
बच्चा जन्माउने इच्छा नभएका महिलाले अस्थायी साधनको प्रयोग गर्नुपर्छ । अस्थायी साधन प्रयोग गर्ने ७५ प्रतिशत महिलामा पिआइडीको खतरा हुँदैन । रोगले ग्रस्त पारेपछि मात्रै अस्पतालमा आउने परिपाटीका कारण नेपालमा यो रोगको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ । नेपाली महिलाहरू रोगले ग्रस्त नभएसम्म अस्पताल आउँदैनन् । रातभरि सुत्न नसक्ने, चिलाउने, शरीर दुख्ने भएपछि मात्रै अस्पताल आउने परिपाटी छ ।
४५ वर्ष उमेर पुगिसकेपछि हरेक महिलाले प्रत्येक ६ महिनामा स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । रोगले ग्रस्त भएर पाठेघरमा घाउ भएपछि मात्रै महिलाहरू अस्पताल आउने गरेका छन् । पिआइडीको समस्या भएका करिब ३० देखि ४० प्रतिशत महिलामा बाँझोपनको समस्या बढी हुने गरेको छ ।
यौनांगमा हुने रोगहरू पुरुषको तुलनामा महिलालाई बढी हुने गर्छ । समस्या आयो भन्दैमा चिकित्सकको सल्लाहविनै फार्मेसीको भरमा औषधि खानु उचित होइन । जथाभावी औषधिको प्रयोगले निको हुनुभन्दा झन् समस्या बढ्दै जाने खतरा हुन्छ ।
पिआइडीको संक्रमणबाट बच्न बालिकाहरूले ११–१२ वर्षको उमेरदेखि नै यौनांगको सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । रोगग्रस्त महिलाको कपडा प्रयोग गर्नुहुँदैन । आकस्मिक रूपमा शारीरिक सम्बन्ध राख्दा अस्थायी साधनको प्रयोग गर्नुपर्छ । घर, टोल, परिवार र छिमेकीलाई सचेत बनाउनका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्वास्थ्य शिक्षामा विशेष ध्यान दिनुपर्छ ।
Dear Dr. Nutan
Greetings from my side.
You rightly mention the importance of hygiene in PID prevention and control. Yes, Health promotion is the driver for the prevention of PID.
Good Job.