प्रदेश ५ सरकारले बनायो १६ अस्पतालमा नयाँ समिति

हेल्थपोस्ट नेपाल

प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले अञ्चल र जिल्ला अस्पताल सञ्चालनका लागि अस्पताल सञ्चालन तदर्थ समिति गठन गरेको छ । प्रदेशको मन्त्रीस्तरीय निर्णयले समिति गठनको बाटो खुलाएको हो । संघीय सरकारले अस्पताल विकास समिति खारेज गरेपछि प्रदेश सरकारले नयाँ समितिको व्यवस्था गरेको सम्भवतः यो पहिलो हो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता मित्रमणि खनालले प्रदेशअन्तर्गतका अस्पतालहरुको कामकारबाही सुचारु गर्न अस्पतालहरुमा अस्पताल सञ्चालन तदर्थ समितिको व्यवस्था गरेको बताए । प्रवक्ता खनालका अनुसार समितिले नियमित रुपमा सञ्चालनमा रहेका बालबालिका, सुत्केरी, सरकारी बिमित व्यक्तिको उपचारजस्ता आधारभूत स्वास्थ्य सुचारु गर्नुका साथै यसअघि रहेको विकास समितिअन्तर्गतका कामहरु अगाडि बढाउन सक्नेछ ।

अस्पतालमा समिति गठनका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएको छ । कार्यविधिले प्रदेशअन्तर्गतका स्वास्थ्य हेर्ने महाशाखा, निर्देशनालय, स्थानीय तह, अस्पताल र उद्योग वाणिज्य संघका प्रतिनिधिलाई समितिमा राख्ने व्यवस्था गरेको छ ।

अस्पतालहरुले नियमित काम र विकास निर्माणका काम गर्नका लागि समिति गठन गर्न प्रदेशमा अनुरोध गरेपछि अस्थायी विकल्प खोजिएको खनालको भनाइ छ ।

मित्रमणि खनाल, प्रवक्ता, सामाजिक विकास मन्त्रालय,

अस्पतालमा समिति गठनका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएको छ । कार्यविधिले प्रदेशअन्तर्गतका स्वास्थ्य हेर्ने महाशाखा, निर्देशनालय, स्थानीय तह, अस्पताल र उद्योग वाणिज्य संघका प्रतिनिधिलाई समितिमा राख्ने व्यवस्था गरेको छ । संघीय मन्त्रिपरिषद्को देशभरका सबै विकास समिति खारेज गर्ने निर्णयसँगै अस्पताल विकास समितिहरु खारेज भएका थिए । अहिले अञ्चल र जिल्ला अस्पतालहरु प्रदेश सरकारअन्तर्गत आएका छन् ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीका अनुसार अञ्चल अस्पताल सञ्चालन तदर्थ समितिको अध्यक्षमा प्रदेश स्वास्थ्य निर्देशक अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट सदस्य–सचिव र सदस्यहरुमा स्वास्थ्य सेवा महाशाखा प्रमुख, अस्पतालका नर्सिङ प्रमुख, प्रशासन प्रमुखमा तोकिएका छ ।
यसैगरी, जिल्ला अस्पतालमा जिल्ला समन्वय समितिका संयोजक अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट सदस्य–सचिव रहने गरी नगरपालिका प्रमुख, उद्योग वाणिज्य संघको अध्यक्ष र नर्सिङ प्रमुख सदस्य रहनेछन् ।

प्रदेश ५ मा राप्ती अञ्चल अस्पताल दाङ, भेरी अञ्चल अस्पताल बाँके, लुम्बिनी अञ्चल अस्पताल बुटवल र राप्ती क्षेत्रीय आयुर्वेद औषधालय दाङ गरी चारवटा अस्पताल छन् । त्यसैगरी, ११ वटा जिल्ला अस्पताल र पाल्पाको रामपुरमा ५० बेडको अर्को सरकारी अस्पताल गरी १६ वटा अस्पताल छन् ।

यसअघि सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय स्थापना भएको थियो । बुटवलमा रहेको क्षेत्रीय मेडिकल स्टोरमा उक्त निर्देशनालय स्थापना गरिएको छ । निर्देशनालय सहसचिवको नेतृत्वमा रहनेछ भने त्यसमा नौवटा शाखा रहनेछन् । ती शाखामा खरिद तथा आपूर्ति व्यवस्थापन शाखा, नीति, योजना तथा कार्यक्रम समन्वय शाखा, चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा, अनुगमन, मूल्यांकन तथा नियमन शाखा, स्वास्थ्य सूचना तथा जनसंख्या व्यवस्थापन शाखा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा, स्वास्थ्य प्रवर्धन तथा तालिम शाखा, नर्सिङ सेवा व्यवस्थापन शाखा र प्रशासन शाखा छन् । जसको नेतृत्व उपसिचवस्तरको कर्मचारीले गर्ने व्यवस्था छ ।

निर्देशनालयमा ३७ जना कर्मचारीको दरबन्दी छ । निर्देशनालयको स्थापनासँगै बुटवलमा रहेको क्षेत्रीय मेडिकल स्टोर निर्देशनालयअन्तर्गतको खरिद तथा आपूर्ति व्यवस्थापन शाखामा परिवर्तन भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *