यसरी जोगियो आमाबच्चाकै ज्यान

बिहीबार बिहान सधैँजस्तै म आठ बजेतिर अस्पताल आइपुगिसकेको थिएँ । आकस्मिक कक्षामा एउटा जटिल ‘केस’ आएको छ भनेर मलाई फोन आयो । म हत्तपत्त आकस्मिक कक्षामा पुगेँ । एकजना गर्भवती महिला थिइन् । काजजात हेरेँ, रामेछाप सुनपातीकी २४ वर्षे प्रमिला आचार्य । छाती सहनै नसक्ने गरी दुःख्न थालेपछि १ घण्टाअघि मात्र अस्पताल भर्ना गरिएको थियो ।

हामीले फटाफट रिपोर्ट हेर्यौँ । केस जटिल थियो । मैले मुटुरोग विशेषज्ञका रूपमा काम गरेको १३ वर्षको करिअरमा यस्तो केस आएको थिएन । मनमोहन सेन्टरमा पनि यस्तो केस पहिलो थियो ।  नर्मल रक्तचाप १२०/८० हुनुपर्छ, तर २००/१२० थियो । मुटुको इको गरेर हेर्दा एओर्टा भनिने धमनी फुट्नै लागेको थियो । यस्तो समस्या जन्मजात पनि भएको हुन सक्छ र रक्तचाप बढेका कारणले पनि आइपरेको हुन सक्छ । शल्यक्रिया गर्न जति ढिलो गर्यो, उति नै ज्यानको जोखिम थियो । बरु वेलैमा शल्यक्रिया गरे बच्ने सम्भावना हुन्छ, रिस्क लिनुपर्छ भन्ने निर्णयमा पुग्यौँ, ‘चान्स लिनुपर्छ’ ।

हामीले बिरामीका आफन्तलाई बोलायौँ । सबै कुरा बुझायौँ र सबै जोखिमबारे बतायौँ । ‘यस्तो अवस्थामा आमाबच्चा दुवैको ज्यान जान पनि सक्छ, दुईमध्ये एकलाई मात्रै बचाउन पनि सकिन्छ । तपाईंहरू भन्नुहुन्छ भने हामी चिकित्सकको धर्म नै अधिकतम प्रयत्न गर्नु हो’ भन्यौँ । यो त मृत्युको मुखबाट फर्काउने प्रयास थियो । परिवारले स्वीकृति दिएपछि बिरामी फटाफट शल्यकक्षमा लगियो । तत्कालै शिक्षण अस्पतालको प्रसूतिरोग विभाग र बालरोग विभागमा त्यसको जानकारी गराइयो र सहयोग मागियो । तत्कालै उताबाट पनि टिम आइपुग्यो ।

सुरुमा सबैजना बसेर यसका चुनौती र त्यसलाई ट्याकल गर्ने तरिकाबारे छलफल भयो । मैले जोखिम र त्यसको व्यवस्थापनका लागि एउटा मुटुरोग विशेषज्ञका रूपमा लिने चरणहरू बताएँ । सुरुमा पेट चिरेर बच्चा निकाल्नु थियो ।
मुटुको नसा फुट्न लागेको अवस्थामा तत्काल रगत पातलो बनाउने औषधि दिनुपथ्र्यो । सँगै शल्यक्रिया गरिरहँदा फेरि बढी रक्तस्राव भएर रोक्न नसकिएर ज्यान पनि जान सक्छ । यो काम निकै ‘ट्रिकी’ हुन्छ । हामीले पहिला पेट खोलेर बच्चा निकाल्यौँ । बच्चाको मुटुको धड्कन थियो, श्वासप्रश्वास थिएन । तत्काल भेन्टिलेटरमा राखियो । केही घण्टापछि नै बच्चाको श्वासप्रश्वास सुरु भइहाल्यो ।

बच्चा निकालेपछि पेट खुल्लै राखेर छाति खोलेर मुटुको शल्यक्रिया थाल्यौँ । मुटुको नसाको शल्यक्रियापछि बल्ल हामीले बिस्तारै रगत पातलो बनाउने औषधिका लागि एन्टिडोज अर्थात् रगत बाक्लो पार्ने औषधि दिन सुरु गर्याैँ । त्यसको प्रभाव देखिन थालेपछि बल्ल सँगै पेट र छाती बन्द गरिदियौँ र महिलालाई लगेर भेन्टिलेटरमा हाल्यौँ । १७-१८ घण्टापछि उनको होस् आयो । हामीलाई ढुक्क भयो ।

यति जटिल र दुर्लभ शल्यक्रिया सफल भएकोमा त्यसको खुसी त बिरामीको आफन्तको अनुहारमा हेर्नुपर्छ । अहिले नेपाली समाजमा चिकित्सकप्रति एकप्रकारको नकारात्मकता बढी छ । तर, चिकित्सकले एउटा बिरामीको ज्यान बचाउन कति रिस्क लिनुपर्छ भन्ने कुरामा ध्यानै पुर्याइन्न । चिकित्सकले बिरामी बचाउँदिनँ भनेर कसरी सोच्न सक्छ? बिरामीले पनि चिकित्सकप्रतिको विश्वास कायम राख्नुपर्छ ।

यस्तो शल्यक्रियामा सम्पूर्ण टिमको महत्वपूर्ण भूमिका हुन्छ । हाम्रो सेन्टरमा प्रसूति, बालरोगको ब्याकअप पनि थियो र न यो सबै सफलता मिल्यो । शल्यक्रियामा कार्डियो सर्जरीतर्फबाट मसहित डा. प्रभात खकुरेल, डा. रवि बराल र डा. निकेश भण्डारी संलग्न थियौँ । डा. विश्वास प्रधान, डा. विभूष श्रेष्ठ, डा. मन्दिरा बस्नेत, डा. प्रिष्का बास्तोला र डा. अर्जुन गुरुङले एनेस्थेसिया टिम सम्हाल्नुभएको थियो ।

स्त्रीरोगतर्फ त्रिवि शिक्षण अस्पतालबाट डा. ज्योति शर्मा, डा. बेखालक्ष्मी मानन्धर, डा. सुनीति रावल, डा. सुनीता वज्राचार्य र डा. सुभाना मास्के हुनुहुन्थ्यो । बालरोग विशेषज्ञ डा. प्रदीप पौडेल र डा. कविता मानन्धर हुनुहुन्थ्यो । परफ्युजन टिममा महेन्द्र भट्ट, पूर्ण मोक्तान र रवीन्द्र शाह, नर्सिङ स्टाफहरूमा जया शर्मा, अर्चना गुरुङ, योजना रेग्मी, सरिता त्रिपाठी, लक्ष्मी योञ्जन, रुचि शाह र रबिना मानन्धर खटिएका थिए । टिम वर्कले आज एउटा दुर्लभ र जटिल शल्यक्रिया सफल भएको छ । एउटी महिलाले नयाँ जीवन पाएकी छिन्, एउटा नवजातले यो धर्तीको नयाँ यात्रा प्रारम्भ गरेको छ ।

मुटुरोग विशेषज्ञ, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लानट सेन्टर (कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय