प्रोस्टेट ग्रन्थिको समस्या

डा. रविनबहादुर बस्नेत युरोलोजिस्ट
प्रकाशित
२०७५ भदौ ८ गते १३:३१

प्रोस्टेट ग्रन्थि अथवा पौरुष ग्रन्थि पुरुषमा मात्र हुन्छ र यसले पिसाबथैलीको तल, पिसाबनलीको माथिल्लो भागलाई वरिपरिबाट ओखरको आकारमा घेरेर बसेको हुन्छ । यसको मुख्य काम शुक्रकीटलाई पोषणका लागि फ्रुक्टोज नामको तत्व प्रदान गर्नु हो । साथै, यस ग्रन्थिबाट निक्लने झोलले शुक्रकीटलाई पिसाबनलीमा बग्न मद्दत गर्छ । यसको तौल वयष्क उमेरमा औसत २० देखि २५ ग्राम हुन्छ ।

पिसाबथैलीमा भार पर्नाले मांसपेशी बाक्लो हुन्छ र साथसाथै खल्तीहरू पनि देखापर्न थाल्छन्, त्यसमा पनि संक्रमणको सम्भावना अधिक हुन्छ । पिसाबथैलीमा ढुंगा बन्न सक्छ । पिसाबथैलीमा मिर्गौलाबाट वाहिनीनलीको माध्यमबाट पिसाब आउने हुनाले यो नलीमा पनि भार पर्न जान्छ र अन्ततः मिर्गौला सुन्निन र संक्रमणसमेत हुन सक्छ ।

वृद्धिको कारण र प्रभाव
उमेर बढ्दै जाँदा टेस्टोस्टेरोन नामको हर्मोन शरीरमा घट्दै जाने कारणले यस ग्रन्थिको आकार र तौल बढ्दै जान्छ । साधारणतया प्रोस्टेट बढ्नुमा कोषहरूको संख्या वृद्धि पनि कारण हुन्छ । तर, कहिलेकाहीँ क्यान्सरको कारणले पनि प्रोस्टेटको वृद्धि हुन सक्ने हुँदा सतर्क रहनु जरुरी छ । उमेरसँगै बढ्दै गए पनि सामान्यतता पुरुषको उमेर ४० वर्ष नपुगेसम्म यसले समस्या दिँदैन र ८० वर्षको उमेरमा ९० प्रतिशतभन्दा बढीमा केही न केही लक्षण देखा परिसकेको हुन्छ ।

प्रोस्टेट ग्रन्थिमा बाहिरपट्टि खोल हुने भएकाले प्रोस्टेटको अत्यधिक वृद्धि भित्रपट्टि हुन्छ । यसले पिसाबनलीलाई वरिपरिबाट दबाब दिएर साँघुरो बनाइदिन्छ र पिसाबमा समस्या देखापर्दै जान्छ । पिसाबनली साँघुरो भएका कारण पिसाबको बहाव कम हुने हुनाले पिसाबथैलीमा रहेको पिसाब पूर्ण मात्रामा निखार्न सकिन्न र थैलीमा पिसाब जमेर रहने गर्छ । जमेर रहेको पिसाबमा संक्रमण हुने सम्भावना अधिक हुन्छ । पिसाबथैलीमा भार पर्नाले मांसपेशी बाक्लो हुन्छ र साथसाथै खल्तीहरू पनि देखापर्न थाल्छन्, त्यसमा पनि संक्रमणको सम्भावना अधिक हुन्छ । पिसाबथैलीमा ढुंगा बन्न सक्छ । पिसाबथैलीमा मिर्गौलाबाट वाहिनीनलीको माध्यमबाट पिसाब आउने हुनाले यो नलीमा पनि भार पर्न जान्छ र अन्ततः मिर्गौला सुन्निन र संक्रमणसमेत हुन सक्छ ।

दूरविनको सहायताले (सिस्टोस्कोपी) चिकित्सकले प्रत्यक्ष रूपमा पिसाबनली, प्रोस्टेट र पिसाबथैलीको अवस्था हेर्न सक्छन् । यसका साथसाथै पिसाबको परीक्षण, पिसाबको धारको परीक्षण, क्यान्सरका लागि पिएसऐलगायत आवश्यक परीक्षण गरिन्छ ।

लक्षण
प्रोस्टेट ग्रन्थिको अत्यधिक वृद्धिका कारण हुने प्रभावले गर्दा यसको लक्षण देखापर्ने गर्छ । समस्याग्रस्त पुरुषलाई बारम्बार पिसाब फेर्न गइरहनुपर्ने, पिसाब लागेको आभास हुनासाथ तुरुन्त फेरिहाल्नुपर्ने हुन्छ र केही क्षण पनि कुर्न नसकिने वा कुर्दा पिसाब चुहिने अवस्था आउँछ । रातको समयमा बारम्बार पिसाब फेर्न उठ्नुपर्ने हुन्छ र निद्रासमेत अधकल्चो हुने गर्दछ । पिसाब फेर्दा पिसाब सुरु गर्न गाह्रो हुन्छ र पिसाबको धार कमजोर हुन्छ, जसले गर्दा पिसाब फेर्न बल लगाउनुपर्ने हुन्छ । बल लगाउँदा धार अझ मसिनो हुन्छ । पिसाब राम्रो धारमा नआई थोपा–थोपा गरेर आउँछ वा खुल्ने–रोकिनेक्रम पटक–पटक हुन्छ वा लुगा भिज्ने हुन्छ । पिसाबनलीमा परेको दबाबले गर्दा पिसाब फेरिसकेपछि पनि पिसाबथैली पूर्णतः खाली नहुँदा बिरामीलाई पिसाब ननिख्रेको आभास हुन्छ ।

यसका अलावा संक्रमणले गर्दा पिसाब पोल्ने, पिसाबमा रगत देखिने वा कामज्वरो आउने, वाकवाकी लाग्ने, तल्लो पेट दुख्ने, पिसाबनलीमा पीडा हुने समस्या पनि देखापर्न सक्छ । केहीमा अकस्मात् पिसाब रोकिने र तल्लो पेट फुल्दै र दुख्दै जाने पनि हुन सक्छ । लामो समयसम्म समस्या रहेका केही बिरामीमा मिर्गौलाले काम गर्न छोडेर थप जटिलता उत्पन्न हुन सक्छ ।  सामान्यतया प्रोस्टेटको आकार र तौलको वृद्धिले यी सबै समस्या आउने भए पनि प्रोस्टेटको तौलको मात्राले सधैँ लक्षण देखापर्छ भन्ने छैन । यस ग्रन्थिमा पाँचवटा थुम्को हुन्छन् र भित्री थुम्कोको वृद्धिले लक्षण देखापर्छ । यसैले प्रोस्टेटको अत्यधिक तौल भएका कसैकसैमा लक्षण नहुन पनि सक्छ भने सामान्य तौल भएका केहीमा भित्री थुम्कोको वृद्धिले लक्षण देखापर्छ ।

उपचार
यी समस्या देखापरेमा युरोलोजिस्टको सल्लाह र सुझाब लिनु जरुरी छ, किनकि यसको निदान सम्भव छ र केही प्रतिशतमा प्रोस्टेटको क्यान्सरले पनि लक्षण देखापरेको हुन सक्छ, जसलाई प्रारम्भिक अवस्थामा निको पार्न सकिन्छ ।  चिकित्सकले केही शारीरिक जाँच र परीक्षणको माध्यमबाट रोग र यसका प्रभाव पत्ता लगाउन सक्छन् । भिडियो एक्स रेको माध्यमबाट प्रोस्टेटको तौल तथा आकार पत्ता लाग्छ र पिसाबथैली र मिर्गौलाको अवस्था थाहा पाउन सकिन्छ । यसले पिसाब फेरिसकेपछि पिसाबथैलीमा रहने पिसाबको मात्रा पनि नाप्न सकिन्छ । दूरविनको सहायताले (सिस्टोस्कोपी) चिकित्सकले प्रत्यक्ष रूपमा पिसाबनली, प्रोस्टेट र पिसाबथैलीको अवस्था हेर्न सक्छन् । यसका साथसाथै पिसाबको परीक्षण, पिसाबको धारको परीक्षण, क्यान्सरका लागि पिएसऐलगायत आवश्यक परीक्षण गरिन्छ ।

चिकित्सा विज्ञानको विकासले प्रोस्टेटको शल्यक्रिया पहिलेजस्तो जटिल छैन । चिरेर शल्यक्रिया गरेर धेरै दिन अस्पताल बस्नुपर्ने बाध्यतालाई हटाउँदै अहिले नचिरीकन पिसाबनलीबाटै प्रोस्टेटको शल्यक्रिया सम्भव बनाइएको छ ।

प्रोस्टेट ग्रन्थिको वृद्धि भएपछि वा लक्षण देखापरिसकेपछि उपचारको जरुरत पर्छ । संक्रमण भएकालाई एन्टिबायोटिकको जरुरत पर्छ भने अन्यलाई लक्षणअनुसार औषधि वा शल्यक्रियाको माध्यमबाट उपचार गर्न सकिन्छ । औषधिले प्रोस्टेटको वृद्धिलाई स्थिर राख्न वा पिसाबनलीको बाटो खोल्न मद्दत गर्छ भने शल्यक्रियामा बढेको प्रोस्टेट निकाल्ने काम हुन्छ ।  चिकित्सा विज्ञानको विकासले प्रोस्टेटको शल्यक्रिया पहिलेजस्तो जटिल छैन । चिरेर शल्यक्रिया गरेर धेरै दिन अस्पताल बस्नुपर्ने बाध्यतालाई हटाउँदै अहिले नचिरीकन पिसाबनलीबाटै प्रोस्टेटको शल्यक्रिया सम्भव बनाइएको छ । नचिरीकनै पिसाबनलीको बाटोबाट प्रोस्टेट ग्रन्थिलाई खुर्केर (टियुआरपीको माध्यमले) पिसाबको बाटो सरल बनाउन पनि सकिन्छ । उपचारको नयाँ पद्धतिमा लेजरको प्रयोगले यो ग्रन्थिलाई निकाल्न पनि सकिन्छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल
सुमेरु सिटी अस्पताल, जावलाखेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय