दाँत किराले खाने रोगकाे उपचार

डा. प्रकाश बुढाथोकी

आधुनिकता र सम्पन्नताको परिचायकका रूपमा चिनिँदै आएका मुटुरोग, मधुमेहजस्तै दाँत किराले खाने वा दन्तसडन पनि अहिले मध्यमवर्ग हँुदै निम्न आय भएका, गरिब वर्गमा समेत महामारीका रूपमा बढ्दै गएको छ । यो तितो यथार्थ चिकित्सकलाई मात्र नभई, स्वास्थ्यप्रति सचेत सम्पूर्ण नागरिक र सरकारलाई समेत चिन्ताको विषय बनिरहेको छ ।

सभ्यताको उपहार मानिने दाँत किराले खानु एउटा संक्रामक रोग हो । मुखमा भएका सूक्ष्म जीवले दाँतमा अड्किएर, टाँसिएर बसेका खाद्यपदार्थसँग रासायनिक प्रतिक्रिया गर्दा अम्ल उत्पन्न हुन्छ । अम्लले दाँतका कडा तन्तुहरू (इनामेल, डेन्टिन र सिमेन्टम)लाई नोक्सान गरी दाँतमा खाल्डो बनाउँछ । अम्ल वा तेजावले हातमा पर्दा हात नै प्वाल पार्न सक्छ भने दाँतमा रहँदा खाल्डो नपार्ने कुरै भएन ।
दन्तसडन न औषधोपचारले निको भएर खाल्डो पुरिने रोग हो, न त यसलाई रोकथाम गर्न कुनै औषधि वा भ्याक्सिन नै बनेको छ । दन्तसडन सबैभन्दा बढी भेटिने दीर्धकालीन रोग हो । यसबाट गिजामा उत्पन्न हुने घाउको उपचार गरिए पनि एकपटक नोक्सान भइसकेको दाँत फेरि पलाउन नसक्ने भएकाले जीवनभर पीडित भएको प्रमाण रहिरहन्छ ।

भयावह
विश्व स्वास्थ्य संघका अनुसार औद्योगिक राष्ट्रका बालबालिकामा ९० प्रतिशतसम्म दन्तसडन पाइएको छ । नेपालका ६५ देखि ७० प्रतिशत बालबालिका तथा ९० प्रतिशत वयष्कमा दन्तसडन छ । गाउँमा भन्दा सहरका बालबालिकामा दन्तसडन दोब्बर छ । दाँत गुमाउनुको प्रथम कारण दन्तसडन हो ।
कालाभन्दा गोरा मानिसलाई, पुरुषभन्दा महिलालाई, तलका भन्दा माथिका दाँतलाई, अगाडिभन्दा पछाडिका बंगारालाई र चपाउने सतहलाई दन्तसडनले बढी आक्रान्त पारेको देखिन्छ । तर, दन्तसडनलाई कुनै भौगोलिक, सामाजिक, सांस्कृतिक, धार्मिक परिबन्धले बाँध्दैन । त्यसैगरी, उमेर, लिंग, वंशजले बाँध्न नसक्ने भएकाले सबैमा दाँत किराले खाने रोग देखिन्छ ।
पहिलेपहिलेका मानिसमा दन्तसडन कम देखिन्थ्यो । अहिले पनि बूढापाकामा, गाउँघरमा, सरकारी विद्यालय पढ्ने विद्यार्थीमा र नाङ्लोपसले, भरियाजस्ता कामकाजी पुरुष तथा महिलामा यो रोग कमै देखिन्छ । राउटे, कुसुन्डा, चेपाङजस्ता जातिमा पनि दाँत किराले खाने रोग कमै देखिन्छ । यी सबैले पुष्टि गर्दछन् कि, दन्तसडन सम्पन्नता र आधुनिकताको चिनारी हो । अझ भन्नुपर्दा आधुनिक, प्रशोधित, गुलिया, टाँसिने खाद्यवस्तु, जंकफुड, फास्टफुडलगायतको प्रयोग गर्ने व्यक्तिमा बढी देखिन्छ । गाउँघरमा पनि गुलियो, प्रशोधित–चकलेट, बिस्कुट, पेस्ट्रीको बढी प्रयोग, आफ्ना करेसाबारीमा उत्पादन भएका हरिया सागसब्जी, फलफूल बजारमा लगी बेच्ने र फर्कंदा फास्टफुड, गुलिया खाद्यपदार्थ लिई फर्कने, आफू व्यस्त रहने वा आधुनिकता देखाउने होडमा बजारबाटै खाद्यपदार्थ लिई खाने, बच्चालाई नास्ताको रूपमा गुलिया टाँसिने पदार्थ दिने र बच्चालाई स्तनपान नगराई बट्टा र डब्बाको दूध खुवाउने गर्नाले पनि बच्चामा दन्तसडन देखिने गरेको छ ।

खाद्यपदार्थ
अन्य संक्रामक रोगझैँ दन्तसडन पनि सूक्ष्म जीव, सूक्ष्मजीव बस्ने ठाउँ र वातावरणको उपज हो, तर सूक्ष्म जीव सबैको मुखमा हुन्छन् । दाँत, मुख, ¥याल सबैमा हुन्छ नै, फरक पार्ने भनेको वातावरण वा खाद्य पदार्थले नै हो । कसैमा दन्तसडन बढी वा कम देखिनुको कारण लामो समयसम्म दाँतमा खाद्य पदार्थ टाँसिन दिनु वा नदिनु नै हो । दन्तसडन गराउन कार्बोहाइड्रेट, चिल्लोपदार्थ, प्रोटिन, भिटामिन (ए, डी, के, सी, बी) र खनिजपदार्थ (क्याल्सियम, फस्फोरस, फ्लोराइड, सेलेनियम, भेनेडियम) सबैको भूमिका रहन्छ । तुलनात्मक रूपमा छोटो समयमा, बढी अम्ल निकालेर दन्तसडन गराउने कारक कार्बोहाइड्रेट वा गुलियो पदार्थ हो । आजकल मकै भटमास, सागसब्जीको सट्टा गुलियो पदार्थका खानेकुराको सेवन बढ्दो छ । स्कुले बालबालिकालाई घरबाट खाजा नपठाइदिनु, बच्चा सुताउन स्तनपान तथा बोतल दूधको प्रयोग, जंकफुड, चाउचाउको प्रयोगलगायतले दन्तसडन बढाएको छ ।
खाद्यपदार्थका अतिरिक्त अप्रत्यक्ष रूपले दाँतको बनावट, रूप र एकअर्कासँगको सम्बन्ध र बसाइ स्थिति, ¥यालको बनावट, पिएच, मात्रा, गाढापन, प्रतिरोधात्मक शक्ति, वंशानुगत, गर्भवती भएको अवस्था र सुत्केरी अवस्थाले पनि दन्तसडन हुनमा भूमिका खेलिरहेका हुन्छन् । खाना खाइसकेपछि ब्रस गर्ने वा कुल्ला गर्ने बानीले सूक्ष्मजीव र खाद्यपदार्थको सम्पर्कको समयलाई घटाउने भएकाले हानिरहित हुन सक्छ ।

दुखाइ
दन्तसडनको दुखाइ सहनै नसक्ने गम्भीर किसिमको हुन्छ । हृदयाघात र दन्तसडन दुवैको पीडा भोगेका बिरामी दन्तसडनको दुखाइ १० गुना बढी हुने बताउँछन् । त्यसैगरी, प्रशवपीडा र दन्तसडन दुवैको दुखाइ अनुभव गरेका महिला दन्तसडनको पीडा कैयौँ गुना बढी र लामो समयसम्म हुनुका साथै कहिलेकाहीँ औषधिले पनि काम नगर्ने बताउँछन् । त्यसैले होला, जतिसुकै शिक्षित, सम्पन्न व्यक्ति पनि दाँतको दुखाइ लिएर आउँदा उनीहरूको पहिलो छनोट दाँत निकालेर दन्तअपांगता स्विकार्ने हुन्छ । उनीहरु पछि महँगो खर्चमा पर्ने र पछुताउने गर्छन् ।

निदान र उपचार
जब दन्तसडन दाँतको बाहिरी सतह इनामेलमा मात्र सीमित हुन्छ, हेर्दा कालो दाग मात्रै देखिन्छ, त्यस अवस्थासम्म राम्रोसँग सफा गरेमा, प्mलोराइड भएको दन्तमन्जन, माउथवास र औषधि प्रयोग गर्दा निको हुन सक्छ । जब चकजस्तो सेतो, हल्का–गाढा खैरो देखिन्छ, ब्रसगर्दा, चिसो, गुलियो प्रयोग गर्दा सिरिङ–सिरिङ हुन्छ, खाना अड्कन्छ, खाना चपाउन मिल्दैन, त्यस अवस्थामा सामान्य प्रकारको सिमेन्ट भरे हुन्छ ।
जब राति सुतेका वेला दाँत दुख्ने, गिजा सुन्निने, दाँत हल्लिने, लगातार दुखिरहने अवस्था हुन्छ, त्यसवेला दाँतको जरादेखि नै भरेर वा आरसिटी गरेर दाँत जोगाउन सकिन्छ र अन्य दाँतसरह काम लिन सकिन्छ ।

अन्तमा
भयावह अवस्था न्यूनीकरण गर्न चिनीको कम प्रयोग, फलफूल र सागसब्जीको उपयोग, मुखको उचित सरसफाइ, सुर्तीसेवन र मद्यपानमा रोकजस्ता उपाय अपनाएर जोखिम घटाउन सकिन्छ । सन्तुलित खानेकुरामा जोड दिई नरम ब्रस, फ्लोराइड भएको दन्तमन्जनको प्रयोग र मुख कुल्ला गर्ने बानी बसाली दाँत एवम् मुखको सरसफाइमा ध्यान दिनुपर्छ । हरेक ६ महिनामा नियमित दन्तपरीक्षण गराउने बानी बसाल्नुपर्छ ।

डा. बुढाथोकी वीर अस्पतालमा कार्यरत छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय