रत्ननगरका ज्येष्ठ नागरिकलाई घरैमा स्वास्थ्य सेवा

हेल्थपोस्ट नेपाल

चितवनको रत्ननगर नगरपालिकाले ८० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने कार्यक्रम सुरु गरेको छ । ‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत नगरपालिकाका एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई यस्तो सेवा पुर्याइने नगरपालिकाले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई अस्पताल आउन कठिन हुने भन्दै नगरले उनीहरूप्रति सम्मान देखाउन पनि यस्तो अभियान चलाएको हो ।

नगरपालिकाका मेयर नारायण वनका अनुसार नगरभित्रका १६ वटै वडाका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिनेछ । फिजिसियन र प्रयोगशाला प्राविधिकसहितको टोली ज्येष्ठ नागरिकको घरमै पुगेर रगत जाँच, रक्तचापलगायत अन्य आवश्यक परीक्षण गर्ने वनले बताए । नियमित चेकजाँचका साथै बिरामी पर्दा तत्काल घरमै पुगेर निःशुल्क औषधिसहितको सेवा दिने नगरको योजना छ ।

नगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा चालू आर्थिक वर्षका लागि १० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।  ज्येष्ठ नागरिकलाई अस्पताल आउन कठिन हुने भन्दै नगरले उनीहरूप्रति सम्मान देखाउन पनि यस्तो अभियान चलाएको हो । नगरपालिकाले ज्येष्ठ नागरिकका लागि मोबाइल बै‌किङ, ज्येष्ठ नागरिक भत्ताको कार्यक्रम पनि छिटै ल्याउने तयारी गरिरहेको मेयर वन बताउँछन् । त्यस्तै, नगरपालिकाले सुत्केरी तथा बालबालिकाका लागि समेत निःशुल्क स्वास्थ्योपचार कार्यक्रम ल्याउने जनाएको छ । रत्ननगर नगरपालिकालाई कुपोषणमुक्त तथा सुरक्षित मातृत्वको नगरपालिका बनाउने तयारीसमेत गरिएको मेयर वन बताउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *