च्यापिएको नसाको उपचार

उपप्रा. डा. रागेश कर्ण
प्रकाशित
२०७५ भदौ ७ गते ८:०५

डा. रागेश कर्ण

बच्चाहरू बढ्नेक्रममा किशोरावस्थामा पुग्नुको वेग्लै आनन्द तथा अनुभव हुन्छ । यो उमेर जिन्दगीको रमाइलोपनसँग जोडिएको हुन्छ । यात्रा वा घुमघाम गर्नु रमाइलो गर्नुको एउटा महत्वपूर्ण पाटो हो । यो उमेरमा मानिसहरू साइकल, मोटरसाइकल स्कुटर, कार, जिपलगायत यात्रा गर्ने विभिन्न साधन भर्खर–भर्खर सिकेर अनियन्त्रित तथा अत्यधिक गतिमा सवारी चलाएर त्यसको मजा लिने गर्छन्, जुन नसा च्यापिने समस्याको प्रमुख कारण बन्दछ ।
के हो नसा च्यापिनु ?
कारण :नसा च्यापिनु भन्नाले मेरुदण्डबाट निस्कने स्पाइनल नसाको जरा विभिन्न कारणले मेरुदण्डवरिपरि भएका हड्डीहरूको बीचबाट निस्कने वेलामा थिचिएर वा सुन्निएर आउने अवस्थालाई बुझिन्छ । यसैलाई रेडिकुलोप्याथी भनिन्छ । यस्ता समस्या प्रायः घाँटी तथा ढाडको भागमा देखिने गर्छ । तल्लो ढाडको रेडिकुलोप्याथीलाई सामान्य भाषामा ‘स्याटिका’ भनेर पनि बुझिन्छ । युवा अवस्थामा अत्यधिक गति तथा खाल्डाखुल्डीलाई बेवास्ता गरी सवारी चलाउनाले मेरुदण्डवरिपरिका हड्डीहरूको बीचमा भएको ‘डिस्क’ आफ्नो स्थानबाट पछाडि फुत्केर त्यहाँबाट निस्कने नसाको जरा थिचिने गर्दछ, जसलाई ‘स्लिप डिस्क’ वा ‘डिस्क प्रोल्याप्स’ भनिन्छ । त्यस्तै, अलिक बढी उमेर समूहका मानिसमा मेरुदण्डवरिपरिका हड्डीहरू (भर्टिब्रा) खिएर निस्केको चुच्चो भाग (ओस्टियोफाइट)ले नसाको जरा थिचिने गर्दछ । यी कारणबाहेक केही मानिसमा ढाडको क्षयरोग वा हाडमा फैलिएको क्यान्सरलगायतले पनि नसाको जरा थिचिन पुग्छ ।

लक्षण :यदि ढाडको दुखाइ ढाडमै सीमित नभई एउटा वा दुइटै खुट्टातिर सर्छ वा घाँटीपछाडिको दुखाइ हाततिर सर्छ भने यसले नसाको जरा थिचिएको संकेत गर्छ । सँगसँगै त्यही स्थानमा पोल्ने, झमझम गर्ने, विद्युतीय झड्का, लाटोपना तथा कमजोरीको अनुभूति हुने हुन सक्छ ।
केही मान्छेमा हिँड्दा दुईवटै खुट्टा दुख्नु वा भारी हुनु र ढाड खुम्चनेबित्तिकै वा मान्छे बस्नेबित्तिकै समस्या हराउँदै जानु पनि नसाको जरा थिचिएको संकेत हो ।

पत्ता लगाउने तरिका : विभिन्न माध्यमको प्रयोगबाट यो रोग सजिलै पत्ता लाग्दछ ।
लक्षणहरूको विश्लेषण तथा क्लिनिकल परीक्षणबाट यो रोग पत्ता लाग्छ ।

एक्स रे :यसले हड्डीको अवस्थामा आएको परिवर्तन अर्थात् खिइएको, आफ्नो स्थानबाट सरेको वा फुत्केको वा बांगिएको आदिबारे जानकारी दिन्छ, जसबाट जरा थिचिएको अनुमान लगाउन सकिन्छ ।

 

एमआरआई : यसले नसाको जरा थिचिएको छ वा छैन, कति थिचिएको छ भनी प्रस्ट पार्दछ । केही विशेष परिस्थिति जहाँ एमआरआई गर्न सकिँदैन, त्यहाँ सिटी स्क्यान गर्न सकिन्छ ।

एनसिटी/इएमजी: यसले नसामा प्रवाहित विद्युतीय तरंगलाई रेकर्ड गरी नसामा केही क्षति भएको वा हुन लागेको छ वा छैन भनी यकिनका साथ बताउँछ । केही विशेष परिस्थिति अर्थात् रोग पत्ता लगाउन वा छुट्याउन गाह्रो भएमा यो परीक्षणले धेरै नै मद्दत गर्छ ।

उपचार: नसा च्यापिएको उपचारअन्तर्गत कन्जरभेटिभ तथा शल्यक्रिया पर्दछन् । प्रायः बिरामीमा कन्जरभेटिभ (शल्यक्रियाविनाको ) उपचार बाटै यो रोगलाई करिब ६ हप्तादेखि ३ महिनामा निको पार्न सकिन्छ । यसअन्तर्गत विभिन्न उपचार पर्दछन् । जस्तै ः जीवनशैली परिवर्तन, फिजियोथेरापी तथा औषधोपचार ।

जीवनशैली परिवर्तन :यसअन्तर्गत भारी नउचाल्नु, लगातार बसिनराख्नु, सुरुमा सकेसम्म ओछ्यानमा पल्टिराख्नु, अगाडि निहुरिएर काम नगर्नु, सकभर सवारी नचलाउनु र चलाउनुपरेमा नउफारी चलाउनुजस्ता सल्लाह दिइन्छ ।

फिजियोथेरापी : यसले लक्षण अर्थात् दुखाइको उपचारका साथसाथै मेरुदण्डवरिपरिका हड्डीहरूको बीचमा मांसपेशी तथा अन्य तन्तुलाई बलियो पारी नसाको जरा थिचिएको अवस्थालाई कम गर्छ ।

औषधोपचारः औषधोपचारको पनि उत्तिकै आवश्यकता पर्दछ । यसअन्तर्गत दुखाइ कम गर्न खाने औषधि (एनएसआइडी तथा ओपिवाइडलगायतको सन्तुलित प्रयोग) तथा इपिड्युरल एसटिर्वाइड इन्जेक्सन पर्दछ । खाने औषधिले मात्र समस्या कम नभएका वेला यो उपचारबाट एसटिर्वाइड नसाको जरामा हालिन्छ, जसले सुन्निएको अवस्थामा सुधार आई दुखाइ कम हुन जान्छ ।

शल्यक्रिया : केही विशेष परिस्थिति, जस्तै : नसा धेरै थिचिएको वा कन्जरभटिभ उपचार (जीवनशैली परिवर्तन, फिजियोथेरापी तथा औषधोपचार) लगातार ३ महिनासम्म गरेर पनि कुनै सुधार नआएमा मात्र शल्यक्रिया जरुरी पर्छ ।

बचाउ: सामान्य सावधानीबाट नै यो समस्याबाट बच्न सकिन्छ ।

यसअन्तर्गत
ढाड तथा घाँटीको नियमित व्यायाम गर्नुपर्दछ । यसो गर्नाले यहाँ भएका तन्तुहरू बलियो भई सामान्य चोटपटकले पनि डिस्क स्लिप नहुने गराउँछ । त्यस्तै, स्वस्थ तथा सही बस्ने बानीबाट पनि मद्दत पुग्छ । जस्तै : कुर्सीमा ढाड तथा घाँटी सकभर सीधा गरी बस्ने बानीले यहाँका हड्डीहरू छिटो खिइने सम्भावनालाई कम गर्दछ । सडक तथा अन्य अवस्था हेरी नियन्त्रित गतिमा खाल्डाखुल्डी बचाएर सवारी चलाउने बानीले डिस्क स्लिप कम गराउँछ । नियमित चेकजाँच तथा उपचारले समस्या कम गराउँछ । यसबाट समय–समयमा हाड तथा मांसपेशीसम्बन्धी परीक्षण (जस्तै : क्याल्सियम, भिटामिन डी तथा बोन डेनसिटी आदि) तथा उपचारबाट यी अंगलाई बलियो पारी समस्या कम गर्न सकिन्छ ।

वरिष्ठ नसारोग विशेषज्ञ

6 thoughts on “च्यापिएको नसाको उपचार

  1. Mero pariwar ko nasa sambandhi rog ho.2 years pahile Aims hospital Delhi ma ek hat ko operation bhayeko thiyo tara niko bhayena.ab ke garu.tapai aphno address pathaunu.thank you.

    1. I was also suffering from same problem since one year recently i treated in teachinghospital ktm with dr. gopal neurologist and dr.rajesh lakhe ortho.i took injection and waiting for therapy .plz let me get your cell no and others for easy contact.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय