पसिनाको पीडाको उपचार

डा. विभूषाल थापा
प्रकाशित
२०७५ भदौ ७ गते ७:३४

पसिनासित को परिचित छैन र ? सामान्यतया स्वस्थ जिउको लक्षण मानिने पसिनाले शरीरको तापक्रमलाई स्थिर राख्न मद्दत गर्छ । तर, अति पसिना आउनु रोग हो । ‘हाइपरहाइड्रोसिस’ (अति पसिना) नामक एउटा रोग छ, जसबारे यहाँ चर्चा गरिन्छ । समाजमा धेरैलाई यो समस्याले सताएको छ । जुनसुकै उमेर, क्षेत्र वा जातका मानिस यसबाट ग्रस्त हुन सक्छन् । कुनै पनि वेला अप्रत्याशित रूपले अति पसिना बग्नु यसको लक्षण हो । ‘सिम्प्याथेटिक नर्भ’ भनिने एककिसिमको छातीभित्रको स्नायुका नसाहरूको खराबीले गर्दा छालामा भएका पसिनाका ग्रन्थिहरू उत्तेजित भएर पसिना धेरै पैदा हुन्छ ।

यो रोगले हात, खुट्टा, काखी, अनुहारलगायत शरीरका केही भागमा ज्यादा असर गर्ने गर्छ । यो एककिसिमको वंशानुगत रोग हो । पसिना धेरै बग्नाले हातखुट्टा चिसो भइरहने, शरीरमा पानी र अरू तत्वको कमी हुन गई जलविनियोजन हुने र छालाको संक्रमण हुनेजस्ता समस्या हुन सक्छन् । यो रोग हो र यसको उपचार सम्भव छ भन्ने थाहा नपाउनाले यसबाट प्रभावित मानिसले आफ्नो जीवनशैली फेर्ने, काम बदल्ने वा कामै छोड्नेसम्म गरेको पाइएको छ । सामान्य कामसमेत गर्न नसक्ने अवस्थामा हुने, मानसिक तनावले पनि सताउने हुँदा सबै हिसाबले यो एक साधारण समस्या हो भनी मान्न सकिँदैन । तर, दुःखलाग्दो कुरा के छ भने अधिकांश स्वास्थ्यकर्मीसहित धेरैजसोलाई यसबारे चेतनाको कमीले गर्दा हाम्रो समाजमा यो रोगको पहिचान र उपचारमा अझै सन्तोषजनक उपलब्धि हात पर्न सकेको छैन ।
हातमा आउने अति पसिना सामान्यतया १४–१५ वर्षको उमेरमा सुरु हुन्छ र जीवनभर दुःख दिइरहन्छ । कहिले तनाव, डर, चिन्ता, उत्तेजना आदिले पसिना आउन थाल्दछ त कहिले विनाकुनै कारण नै । निम्न समस्या देखिएमा हातको अति पसिना हुन सक्ने कुरा विचार गर्नुपर्छ :

हात पुछिरहने
– हात मिलाउन नखोज्ने
– लेख्न, टाइप गर्न, पैसा वा कागजपत्रको काम गर्न गा¥हो हुने÷नखोज्ने
-शृंगार गर्न वा कपडा लगाउन गा¥हो हुने
-कसैसँग हिमचिम बढाउन नचाहने
– छटपटी भइराख्ने र एकाग्र भएर बस्न नसक्ने
– बाजा बजाउन गा¥हो हुने/नखोज्ने

असिनपसिन भएको मान्छेलाई हामी डराएको वा हतास भएको ठान्छौँ । अब यो रोग लागेको व्यक्तिले अन्तर्वार्ता कसरी देला ? परीक्षा कसरी देला ? समूहमा छलफल गर्ने, बहस गर्ने कसरी गर्ला ? यसरी उसको पेसागत, शैक्षिक, व्यक्तिगत र सामाजिक उपलब्धिमै बाधा पुग्न सक्ने, उसको वृत्तिविकास र व्यक्तिगत सम्बन्धविकास नै कमजोर हुन जाने कुरा के कम भयावह छ ?
खुट्टाको अति पसिना बरु हत्तपत्त नदेखिन सक्छ, तर बिरामीलाई हुने समस्या त छँदै छ । जुत्ता–चप्पल चिप्लो हुने, खुट्टा गन्हाउने, खुट्टामा संक्रमण भई खुट्टा पाक्नेसम्मका समस्या झेल्नुपर्ने हुन्छ ।
काखी यसै पनि बढी पसिना आउने ठाउँ हो । यो रोग लागेपछि त अति हुने नै भयो । कसैलाई भने अनुहार, घाँटी वा तालुमा पसिना बगेर हैरानी हुन्छ । खाँदाखाँदै, कसैसित बोल्दाबोल्दै वा कहिले त भिडमा जानेबित्तिकै पसिनाको खोलो बग्न थाल्छ । भर्खर गरेको शृंगार लतपतिन्छ, शृंगार नगरेकै भए पनि अनुहार रातो भएर अप्ठ्यारो पार्न सक्छ ।
उल्लिखित समस्या वंशानुगत हुन् । तर, शरीरका अरू समस्याले पनि यो समस्या जन्माउन सक्छन्, जस्तै

-थाइराइडका रोगहरू
-विभिन्न संक्रमणहरू
– क्यान्सर/ट्युमर
-मोटोपन
-रजोनिवृत्तिका वेला
– चिनी रोग
– विभिन्न मानसिक समस्या, आदि ।

त्यस्तो स्थितिमा भने पसिनाको समस्याबाट मुक्ति पाउन मूल रोग नै ठिक हुनुपर्दछ । यसरी हेर्दा समस्या थुप्रै छन् । तर, समस्याको पहाड मात्र छैन, विज्ञानको प्रगतिले गर्दा विभिन्न उपचार पद्धति पनि उपलब्ध छन् ।
औषधि
समस्याग्रस्त भागमा लगाइने औषधिले पसिना–ग्रन्थिबाट पसिना उत्पादन केही हदसम्म कम गराउँछ, तर बिरामीले खासै फाइदाको अनुभव गरेको पाइँदैन । पसिना आउने ठाँउमा नै छालाभित्र दिइने ‘बोटोक्स’ नामको सुईले पनि पसिनाको उत्पादन नै कम गर्ने हो । पसिना आउने ठाउँमा (विशेषगरी काखीमा) १५–२० ठाउँमा सुई दिएपछि बिस्तारै सुधार हुन थाल्दछ । तर, यो उपाय झन्झटिलो छ र खर्चिलो पनि । एकपटक लगाएपछि ६ महिना मात्र काम गर्छ, अनि सुई लगाउँदा बहुत पीडा हुन्छ र कहिलेकाहीँ हात कमजोर (प्यारालाइसिस) पनि हुन सक्छ ।
शल्यक्रिया
सुरुमै भनियो, यो रोग छातीभित्र हुने एककिसिमको स्नायुको नसाको खराबीले हुने हो । त्यसैले यसको शल्यक्रिया त्यही नसाको शल्यक्रिया हो । काखीको मुनिपट्टि औँलो छिर्ने २–३ वटा प्वाल बनाएर दूरविनको प्रयोगले नसालाई काटिन्छ । बिरामीलाई पूरै लठ्ठ बनाएर करिब १ घण्टामा गरिने शल्यक्रियापछि होसमा आउनेबित्तिकै उसले फरक महसुस गर्छ, पसिनारहित सुक्खा र न्यानो हात । शल्यक्रियापछि एक दिन मात्र अस्पतालमा बसे पुग्छ । एकपटकमा छातीको एकापट्टि वा आवश्यक परेमा एकैपटक दुवैपट्टि पनि शल्यक्रिया गर्न सकिन्छ ।
दूरविनको मद्दतले गरिने पेटको शल्यक्रिया (ल्यापारोस्कोपी) नेपाली समाजमा पनि पर्याप्त भिजिसकेको छ । त्यस्तै किसिमको छातीको शल्यक्रिया भ्याट्स भने हाम्रो देशमा फाट्टफुट्ट मात्र गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हालै स्थापित यो सेवा अहिले सुचारु छ । अति पसिनाबाट पीडित बिरामीले यसबाट यथोचित लाभ लिन सक्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय