विदेश जानेलाई वीरमा रोक्नुपर्छ, भन्ने सोच पैदा भएको छ

डा. भूपेन्द्रकुमार बस्नेत, निर्देशक, वीर अस्पताल
प्रकाशित
२०७५ भदौ ७ गते ५:११

धेरै वर्षदेखि छापाहरुमा एउटै खालका समाचार आइरहेका छन्, ‘खस्किँदै वीर अस्पताल’ । तर, केही वर्षदेखि वीरको ओरालो यात्रामा ब्रेकमात्रै लागेको छैन्, वीरको सेवा, सुविधा, उपचकरणसँगै विरामीको सन्तुष्टिको ग्राफसमेत माथि उक्लोदैछ । वीरको यो सुधार यात्रामा निर्देशकको रुपमा नेतृत्व डा.भुपेन्द्र बस्नेतले गरे । अझै वीरमा सुधार गर्नुपर्ने धेरै छ । हालको अवस्था र आगामी बाटोबाट निर्देशक बस्नेतसँगको यो कुराकानी ।

वीर अस्पताल केही वर्षयता बाहिरी स्वरूपमा धेरै बदलिएको देखिन्छ । बाहिर मात्रै हो कि भित्र पनि फेरिएको छ ?
आमपब्लिक र सेवाग्राहीले केही वर्षयता वीरले प्रदान गर्ने सेवामा साँच्चै फरकपन र थप सुविधाको महसुस गरेका छन् । वीर अस्पतालको भौतिक पूर्वाधार, सेवाप्रवाहमा धेरै काम भएको छ । प्राज्ञिक क्षेत्रमा पनि वीरमा धेरै सुधार आएको छ । भर्खरकै तथ्यांकको विश्लेषण गर्दा पनि त्यो देखिन्छ । ०७०/०७१ मा वीर अस्पतालबाट २ लाख ८७ हजारले सेवा लिएका थिए । ०७१/०७२ मा ३ लाख १० हजार, ०७२/०७३ मा ३ लाख ८५ हजार र यो वर्ष (०७४/०७५ मा) ४ लाख १ हजारले सेवा लिएका छन् । मेरो कार्यकालमा मात्रै १ लाख सेवाग्राही बढेका छन् । शल्यक्रियामा माइनरतर्फ ८ सयबाट १ हजार ६ सय र मेजरतर्फ ३ हजार ३ सयबाट ४ हजार ८ सय पुगेको छ । भर्ना पनि ८ हजारबाट १२ हजार पुगेको छ । सेवा उल्लेखनीय रूपमा बढेको छ । २४ घण्टा नै हेमोडाइलासिस गरेपछि ०७२ मा २५ जना नयाँले डाइलासिस पाएकोमा, ०७३ मा १ सय ६३ र ०७४ मा ३ सय ६७ जना नयाँ बिरामीले सेवा पाएका छन् । अन्तरंग बिरामी ८ हजारबाट बढेर १२ हजार पुगेको छ ।

इमर्जेन्सी डाइलासिसलाई हेर्दा ०७२ मा ६० सेसन नयाँ भएको थियो । २४ घण्टा गरेपछि ०७३ मा ४ सय ९८ र ०७४ मा १ हजार ७ सय ६ सेसन भएका छन् । नियमित डायलासिस सेवा ०७२ मा ४ हजार ३ सयले लिएकोमा बढेर ०७३ मा ५ हजार ४ सय पुगेको थियो । ०७४ मा यो संख्या दोब्बरले बढेर ८ हजार ५ सय पुगेको छ । यो एउटा विभागको कुरा हो । नेपालमा वीरमा मात्र उपलब्ध न्युक्लियर मेडिसिनमा यो वर्ष मात्रै ९ सयजनाले सेवा लिएका छन् । पहिले विदेश नै जानुपथ्र्यो । युरोलोजीमा प्रत्येक दिन २ सय ओपिडी र हप्तामा ४०–५० वटा शल्यक्रिया हुन्छ । हामीले त्यसमा सबै नयाँ प्रविधिसहितको सेवा दिएका छौँ । हरेक विभागमा केही न केही नयाँ भएको छ । नेपालमै दुर्लभ रगतरोग विशेषज्ञको सेवा वीरमा उपलब्ध छ । हामीले रेमाटोलोजी राखेर छुट्टै सेवा दिएका छौँ । फोक्सोरोगसम्बन्धी नेपालमा कहीँ नभएको सेवा, फोक्सोभित्र पु¥याएर गरिने अल्ट्रासाउन्ड (इन्डोब्रोङकेल अल्ट्रासाउन्ड) प्रविधि हामीले सुरु गरेका छौँ । ग्यास्ट्रोमा सानो आन्द्राको इन्टेरेस्कोपी, लिभरको फाइब्रोस्क्यान, इन्डोस्कोपिक अल्ट्रासाउन्ड सुरु गरेका छौँ, यसबाट थुपै लाभान्वित भएका छन् ।

बिरामीका लागि बस्ने ठाउँदेखि खानेपानी, उज्यालो, सरसफाइ, रंगरोकन, शौचालय, इमर्जेन्सी बेड, आइसियुमा बस्ने ठाउँ आदिमा सुधार गर्न प्रतिवेदनमा औँल्याइएको थियो । त्यो प्रतिवेदन मार्गदर्शन थियो, त्यही कुरा अझै सबै कार्यान्वयन हुन सकेका छैनन् ।

भौतिक पूर्वाधारतर्फ पनि जाइकाको सहयोगमा मूल भवनको पछाडिपट्टि भवन निर्माण अन्तिम चरणमा पुगेको छ । नर्सिङ क्याम्पस भएको ठाउँमा ६ सय ५० बेडको अस्पताल बनाउन ग्राउन्ड वर्क धमाधम हुँदै छ । दुवाकोटमा १ हजार शय्याको अस्पताललगायत नर्सिङ क्याम्पस, आवासीय डाक्टर भवन निर्माण मास्टर प्लान बनिसकेको छ । अस्पतालभित्रै पनि सानातिना निर्माणहरू, अस्पताल छिर्ने ठाउँको स्वरूप परिवर्तन भएको छ । १ सय २८ वर्षको इतिहासमा पहिलोपटक वीरमा सुविधासम्पन्न फार्मेसी सञ्चालन गरेका छौँ । फार्मेसीबाट सबै किसिमका औषधि २४ घण्टै पाउने व्यवस्था गरेका छौँ । अधिकांश औषधि बाहिरभन्दा आधा सस्तो छ । सिलालियाम भन्ने औषधि बाहिर किन्दा १२ सय पर्छ, यहाँ ७ सय ५० मा बेचेका छौँ । यो एन्टिवायोटिक्स ७ दिन दिनुपर्छ । एक दिनको कस्ट हेर्ने हो भने दिनको हजार बच्छ । कर्मचारी र मन्त्रालयको सकारात्मक सहयोग पाएका छौँ । सबैतिरबाट वीरलाई सहयोग भएको छ ।

छोटो समयमा वीरमा आएको यति ठूलो सुधारको आधार के हो ?
अस्पतालको गुदीदेखि नै अध्ययन गरेर तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको टिमले दिएको हो । हामीलाई पनि केही नभनीकन त्यो टिमले १ महिना लगाएर अध्ययन गरेको रहेछ । त्यसको रिपोर्ट आएपछि हामीलाई बोलाएर ६ पानाको प्रतिवेदन दिएर यो–यो गरे राम्रो हुन्छ भन्नुभएको थियो, हामीले त्यही गरेको हो । बिरामीका लागि बस्ने ठाउँदेखि खानेपानी, उज्यालो, सरसफाइ, रंगरोकन, शौचालय, इमर्जेन्सी बेड, आइसियुमा बस्ने ठाउँ आदिमा सुधार गर्न प्रतिवेदनमा औँल्याइएको थियो । त्यो प्रतिवेदन मार्गदर्शन थियो, त्यही कुरा अझै सबै कार्यान्वयन हुन सकेका छैनन् ।

राजनीतिक र प्रशासनिक वृत्तमा अहिले पनि छलफल हुन्छ, वीरलाई बाहिर फेर्न सकिन्छ तर भित्र डाक्टर–कर्मचारी काम नै गर्दैनन् भनिन्छ, त्यसतर्फ पनि केही सुधार भएको छ ?
यति धेरै बिरामीलाई सेवा दिइरहेको अस्पताल त्यसरी नै चल्न सक्छ होला त ? केही कर्मचारी र डाक्टर त्यस्ता छन्, नभएका होइनन् । तर, २-४ प्रतिशतको मेसेजलाई शतप्रतिशत भनेर बुझिदिनु भएन । धेरै मान्छेले मिहिनेत गरेर बिरामीका लागि काम गरेका छन् । आजै मात्र एकजना डाक्टरसापसँग कुरा गरेको थिएँ । एकजना जुम्लाबाट आएको बिरामीलाई डाक्टरकै प्रयत्नमा ४ लाखबराबरको सेवा गरेर औषधिसमेत निःशुल्क दिएर पठायौँ । यो कुरा मिडियामा आउँदैन । यस्ता थुपै काम भएका छन् । तर, मिडियामा गुनासो मात्रै बढी आउँछ । गत २ वर्षमा ओपिडीको संख्या १ लाख बढ्नु, १ लाख थप मान्छे विश्वास गरेर आउनु धेरै ठूलो कुरा हो । अस्पतालको मार्केटिङ बिरामीबाटै हुने हो । सेवा–सुविधा खस्किँदा बिरामी बढ्दैनन् । विश्वास र बिरामीको संख्या त हामीकहाँ छ । डाइलासिसको सेवा मात्रै ३ सय प्रतिशतले पाएको त तथ्यांकले देखाएको छ ।
वीरको सेवा–सुविधाको कुरा गर्दा बीचबीचमा सानातिना समस्या आउँछन् । सर्बर डाउन भयो, बनाउँदाबनाउँदै १ घण्टा कुर्नुपर्यो । एउटा अनलाइनले बिरामीको बिजोग भनेर लेख्यो । सर्बर बनाउन आइटीको विज्ञ छैन । नेगेटिभ समाचार दिन हतार गर्ने पनि छन् । एमआरआई बिग्रिएको थियो, सियो नबन्ने देशमा एमआरआई बनाउन सिंगापुरबाट इन्जिनियर बोलाउनुपर्यो । काम भइरहेको थियो, तर अनलाइनमा ४ महिनादेखि बनेन भनेर आयो । हामीले छिटो गर्याे भन्ने लाग्छ, तर नकारात्मक रूपमा प्रचार भयो । सरकारी अस्पताललाई गलत भनेर देखाउँदै गर्दा आर्थिक रूपमा आमनागरिक नै पीडित हुन्छन् । सार्वजनिक अस्पताललाई बलियो बनाउन हामी सबै जिम्मेवार हुनुपर्छ ।

२–३ वर्षअघिसम्म वीर अस्पतालमा तलब खुवाउन पनि हम्मेहम्मे थियो, अहिले वीरमा आर्थिक अभाव भन्ने सुन्नुपर्दैन, वीरका लागि अहिले राजनीतिक प्रशासनिक वातावरण कसरी अनुकूल बनेको छ ?
हाम्रो टिम आउँदासम्म यो अस्पताल १७ करोड घाटामा थियो । असार मसान्तमा हामी मन्त्रालय जाँदा पैसा उप्रिएको रहेछ, हामीलाई घाटा छ भन्दा बल्ल मन्त्रालयले पूर्ति गरिदिएको थियो । पछिल्ला २ वर्षमा मात्रै हामीले ३५ करोडसम्म आन्तरिक आम्दानी गरेर सेवा पनि थपेका छौँ, आन्तरिक स्रोतबाट थुप्रै काम गरेका छौँ । यसबीचमा जतिजना स्वास्थ्यमन्त्री आउनुभयो, सबै पोजेटिभ हुनुहुन्छ । वीरका लागि त सबैभन्दा ठूलो सहयोग तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाबाट भएको हो । उहाँले यति ठूलो बजेट वीरलाई दिनुभयो कि, वीरको कायापलट भयो, त्यो सन्देशकै कारणले जति स्वास्थ्यमन्त्री आए, सबैले वीरलाई नै प्रथमिकतामा राखे । पछिल्लो समयमा वीरको रंगरोकनसमेत भयो । राजनीतिक रूपमा राम्रो बनाउनुपर्छ, विदेश जानेलाई वीरमा रोक्नुपर्छ, भन्ने सोच पैदा भएको छ । अहिले राजनीतिज्ञमा निकै सकारात्मक सोच आएको छ ।

केही नदेखिने कुरा राजनीतिक हस्तक्षेप, ट्रेडयुनियान, कर्मचारी मर्यादा, आचारसंहिताभन्दा बाहिर बसेर काम गरिदिने प्रवृत्ति पनि समस्याको रूपमा छ

यति धेरै सुधार भएको छ भन्नुभयो, वीरमा अझै गर्न बाँकी के–के छन् ?
वीरमा केही भन्न सकिने र केही भन्न कठिन हुने समस्या छन् । भौतिक पूर्वाधार बनिनसक्दासम्म समस्या छ । धक फुकाएर सेवा विस्तार गर्न विज्ञ जनशक्ति वीरमा अझै प्रर्याप्त छैन । केही नदेखिने कुरा राजनीतिक हस्तक्षेप, ट्रेडयुनियान, कर्मचारी मर्यादा, आचारसंहिताभन्दा बाहिर बसेर काम गरिदिने प्रवृत्ति पनि समस्याको रूपमा छ । यदि यसलाई मन्त्रालयले गम्भीरतापूर्वक लिएर व्यवस्थापनलाई सहयोग गर्ने हो भने हल गर्न सकिन्छ ।

वीरलाई जनशक्ति र सेवातर्फको अपर्याप्तता के–केमा छ ?
२०–३० वर्षदेखि चलेको न्युरोसर्जरीमा जम्मा दुईजनाको दरबन्दी छ । अस्पतालको लोडअनुसार दरबन्दी छैन । युरोसर्जरीमा दैनिक दुईजना युरोसर्जन छन् । यहाँ त ६ जना चाहिन्छ, अनि मात्र धक फुकाएर सेवा दिन सकिन्छ । यति धेरै डाइलासिसको लोड छ, तर दुईजना मात्र नेफ्रोलोजिस्ट छन् । पुगेन, न्युरोमेडिसिनमा सयदेखि डेढ सय बिरामी आउँछन्, दुईजना डाक्टरले पुग्छ ? हामीले विभिन्न विशेषज्ञ थपिरहेका छौँ । हामीले मानसिक अस्पतालबाट डाक्टर ल्याएर भए पनि सेवा दिएका छौँ । इन्फेक्सियास, बालविशेषज्ञ थपिनुपर्छ । न्याम्सको नयाँ संरचनामा सबै विभाग हुनुपर्छ । सबैको सम्मिश्रण भए मात्र सेवा प्रभावकारी हुन्छ ।

उपकरण थपिएर हो कि सेवा पनि फैलिइरहेको छ वीरको ?
वीरका सेवा नै थपिएका हुन् । पल्मोनोलोजी विषयमा सेवा, जनशक्ति, उपकरण केही थिएन । विदेशबाट पढेर आएका डाक्टरबारे थाहा पाएपछि बोलाएर जागिर दियौँ, ठाउँ, उपकरणको प्रबन्ध गरिदियौँ । हामीकहाँ पल्मोनोलोजीमा नेपालको बेस्ट सेवा छ । हेमोडाइलासिस विभागले आजै पनि प्राविधिक जनशक्ति मागिरहेको छ । हामीले विभागहरूले मागेको जनशक्ति, उपकरण दियौँ, विभागहरूले जनतालाई सेवा दिए ।

वीरमा थुप्रै बजेट आयो, सुशासनको विषयलाई कसरी हेर्नुभएको छ ?
भौतिक पूर्वाधार, सेवा र सुशासनमा पनि काम भयो । सुशासनको सन्दर्भमा त फाइनल अथोरिटी हामीमा नहुनेरहेछ, नटर्ने प्रवृत्ति छ । वीरको निर्देशक नियुक्त हुँदा तपाईंसँग पहिल्यै योजना थियो कि गर्दै जाँदा राम्रो भएको हो ? मैले यो अस्पतालमा धेरै चरण पार गरेको छु । सुरुमा इन्टर्नसिप यहीँ गरेको हुँ, हाउस अफिसर, एमडी रेजिडेन्ट, फ्याकल्टी, डिएम रेजिडेन्ट र डाइरेक्टर भएर काम गरेँ । ती प्रत्येक चरणका समस्या र अनुभव मसँग छन् । मलाई अझै सहयोग हुने हो भने थप गर्न सक्छु । कति कुरा मैले देखेर पनि गर्न सक्दिन ।

धेरै वर्षदेखि वीर र न्याम्सको विवाद छ, त्यसले सेवामा असर पारेको छैन ?
वीर अस्पताल नेपाल सरकारको केन्द्रीय अस्पताल हो, केन्द्रीय अस्पतालकै रूपमा रहनुपर्छ । तर, न्याम्सको पठन–पाठनसँग जोडिँदा यो कति समृद्ध भएको छ भन्ने कुरा पनि बुझौँ । पठन–पाठनका लागि चाहिने प्यासेन्ट यहाँजति अन्यत्र छैन । कर्मचारीमा रहेका असजिला फुकाउनुपर्छ । न्याम्सका कर्मचारीको वृत्तिविकास र नेपाल सरकारका कर्मचारीको वृत्तिविकास नरोकिने मोडाटिली चाहिन्छ । सेवामा प्रत्यक्ष असर नपरे पनि कर्मचारीको मनोबल कमजोर हुँदा दीर्घकालीन रूपमा असर पर्न सक्छ ।

3 thoughts on “विदेश जानेलाई वीरमा रोक्नुपर्छ, भन्ने सोच पैदा भएको छ

  1. Weldone keep it up Dr Bhupendra.
    If patient gets all facilities available in Bir Hospital , number of out bond patient decereases .

  2. Thank you for your initiatives. However, I have some queries with the BIR ADMIN.

    Whom should BIR HOSPITAL has stopped from going abroad? Poor Country Fellow or Rich Leaders, Ministers and Prime Ministers?

    VVIP Medical cabin developed by investing ……………………???.NRs largely remains unused of BIR HOSPITAL. But poor country fellow did not get enough beds to be admitted.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय