म पनि एउटा उपभोक्ता हुँ,मलाई त केही भएको छैन

अन्तर्वार्ता
प्रकाशित
२०७५ भदौ ७ गते ३:०७

पूर्णचन्द्र वस्ती, प्रवक्ता नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

खाद्य गुणस्तर कायम नराख्ने, गुणस्तरहीन तथा न्यून गुणस्तरको खाद्यान्न बिक्री–वितरण गर्ने कम्पनी तथा व्यक्तिमाथि नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेका अनुगनम तथा कारबाहीलगायत विभिन्न विषयमा विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीसँग गरिएको कुराकानी :

 

खाद्य गुणस्तर कायम राख्न के गर्दैै हुनुहुन्छ ?
नेपाल खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले लामो समयदेखि खाद्यवस्तुको गुणस्तर कायम राख्नका लागि नियमनलगायत विभिन्न काम गर्दै आएको छ । आगामी दिनमा विभाग प्राथमिकताका आधारमा काम अगाडि बढाउने योजनामा छ । उदाहरणका लागि पानी, दूध, तेललगायत खाद्यवस्तुको गुणस्तर सुधारका साथै होटेल तथा रेस्टुरेन्टको स्तरीकरण गर्ने कामलाई हामीले मिसनका रूपमा अगाडि बढाउने योजना बनाएका छौँ ।

कतिपय खाद्यवस्तुमा भइरहेका मिसावट तथा गुणस्तरहीनता बाहिर नआएका पनि होलान्, यसबारे के भन्नुहुन्छ ?
हामीले हाम्रो जनशक्तिको उपलब्धताका आधारमा गरेको अनुगमनबाट कतिपय त्यस्ता खाद्यवस्तुको पहिचान हुन नसकेको पनि हुन सक्छ । हामीले उजुरीका आधारमा मिसावटयुक्त खाद्यान्न उत्पादन तथा बिक्री–वितरण गर्ने कम्पनीउपर कारबाही गर्ने हो । कतिपय त्यस्ता कम्पनीउपर उजुरी नै नआएको पनि हुन सक्छ ।

हामीले गरेको एक अनुसन्धानले २ प्रतिशत खाद्यवस्तु मात्रै कम गुणस्तरका छन् भन्ने देखाएको छ । बजारमा पाइने खाद्यवस्तुमध्ये १४ प्रतिशत मात्र गुणस्तरहीन तथा मिसावटयुक्त भएको विभागको अध्ययनले देखाएको छ ।

खासगरी चाडपर्वको मुखमा मात्र अनुगमन गर्ने परम्परा छ नि विभागको ?
चाडपर्वका वेला खाद्यवस्तुको माग अरू समयको भन्दा बढी हुने गर्छ । मागअनुसार नै आपूर्ति हुने भएकाले चाडपर्वका वेला अनुगमन बढी हुुनु स्वाभाविक हो । तर, विभागले चाडपर्वलाई मात्र लक्षित गरेर काम गरेको भने छैन । वर्षभरि नै अनुगमन हुन्छ । विभागले मासिक लक्ष्यअनुसार काम गरिरहेको हुन्छ ।

नेपाली बजारमा बिक्री–वितरण हुने तरकारी खाएमा क्यान्सर हुने त्रास त दूध र पानी खाएमा झाडापखाला । तेल उस्तै हानिकारक । बजारमा खान योग्य कुराचाहिँ के–के छन् ?
म पनि एउटा उपभोक्ता हुँ । खोइ मलाई त केही भएको छैन । हामीले गरेको एक अनुसन्धानले २ प्रतिशत खाद्यवस्तु मात्रै कम गुणस्तरका छन् भन्ने देखाएको छ । बजारमा पाइने खाद्यवस्तुमध्ये १४ प्रतिशत मात्र गुणस्तरहीन तथा मिसावटयुक्त भएको विभागको अध्ययनले देखाएको छ । यसको अर्थ १०० मा ८६ खाद्यवस्तु खान योग्य छन् भन्ने हो । खाद्यपदार्थमा प्रयोग भएको विषदी हाम्रो भान्सासम्म आइपुग्दा कति आयो भन्ने कुरा महत्वपूर्ण रहन्छ । तरकारीलाई राम्रोसँग पखालेर तथा बोक्रा फालेर प्रयोग गर्दा विषादीको नगण्य मात्रा मात्रै हाम्रो खानेकुरामा आइपुग्छ ।

खाद्यवस्तुमा लेबलिङ, म्यानुफ्याक्चर मिति उल्लेख नहुनुलाई के भन्नुहुन्छ ?
उत्पादकले उपभोक्ताको स्तरअनुसार पनि व्यवहार गर्ने गरेको पाइएको छ । उपभोक्ताहरू खाद्यवस्तुको मितिप्रति सतर्क रहेमा उत्पादक पनि त्यस्तै उत्पादन गर्न बाध्य हुने थिए होला । तर, हामीले ऐन–नियमअनुसार उत्पादकलाई लेबलिङ, म्यानुफ्याक्चर मिति राख्न बाध्य बनाएका छौँ । उपभोग्य मिति नराख्ने उत्पादकमाथि विभागले कारबाहीको प्रक्रियासमेत अगाडि बढाएको छ । यदि म्याद सकिएको खाद्यवस्तु विक्रेताले बिक्री गरेमा त्यस्ता विक्रेतामाथि कारबाही हुन्छ । यसमा विगतको तुलनामा धेरै सुधारसमेत भएको छ ।

सरकारी अनुगमनप्रति विश्वास नगरेर उजुरी नै गर्न नआउने उपभोक्तालाई के भन्नुहुन्छ ?
उजुरी गरेर कारबाही भएमा मात्रै उजुरीकर्ता उत्साहित हुने हो । हामीले आएका उजुरीउपर कारबाही गरेका छौँ । गत आर्थिक वर्षमा काठमाडौंमा मात्रै ४४ वटा उजुरी आएका थिए । त्यस्तै, क्षेत्रीय कार्यालयहरूमा आएका उजुरीमाथि पनि निष्पक्ष रूपमा कारबाही भएका छन् । उजुरीमाथि निष्पक्ष छानबिनसहित कारबाही भएपश्चात् उजुरी आउनेक्रम बढेको छ ।  विगत वर्षहरूको तुलनामा केही बढी भए पनि वर्षभरिमा ४४ वटा मात्र उजुरी आउनु निकै कम हो । आगामी दिनमा त्यस्ता उजुरीमाथिको कारबाहीलाई विभागले थप प्रभावकारी रूपमा अगाडि बढाउनेछ ।

एकपटक सिलबन्दी गरेपश्चात् त्यस्ता उद्योग बन्दै त हुँदैनन्, कमजोर पक्षमा सुधार गरेपछि पुनः सञ्चालनमा आउन सक्छन् । त्यसका लागि उद्योगहरूले तोकिएको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।

कम्पनीका कतिपय मुद्दा मिलाइन्छन्, दाषीलाई उन्मुक्ति दिइन्छ भन्ने पनि छ नि ?
उजुरी जहाँबाट आयो हामी त्यहीँ पुग्छौँ । त्यसपछि उद्योगसम्मै पनि पुग्छौँ । कतिपय उद्योगलाई त हामीले उजुरीको छानबिनका आधारमा सिलबन्दीसमेत गरेका छौँ । उजुरीका आधारमा हामीले पानीका कतिपय उद्योगहरू सिलबन्दी गरिसकेका पनि छौँ ।

एकपटक सिलबन्दी गरिएका उद्योग बन्द हुन्छन् ?
एकपटक सिलबन्दी गरेपश्चात् त्यस्ता उद्योग बन्दै त हुँदैनन्, कमजोर पक्षमा सुधार गरेपछि पुनः सञ्चालनमा आउन सक्छन् । त्यसका लागि उद्योगहरूले तोकिएको मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । गुणस्तरहीन तथा मिसावटयुक्त खाद्यपदार्थ उत्पादन तथा बिक्री–वितरण गर्ने कम्पनीमाथि कस्तो सजायको व्यवस्था छ ? यसअघि त्यस्ता कम्पनीमाथि बढीमा १ वर्षको कैद सजाय तथा ५ देखि १० हजारसम्म जरिवाना गर्ने व्यवस्था रहिआएकोमा आगामी भदौ १ गतेदेखि लागू हुने गरी ५० हजारसम्म जरिवाना तथा ५ वर्षसम्म कैद सजाय हुने गरी संशोधन भएको छ ।

खाद्यपदार्थ किन्दा उपभोक्तलाई के–के कुरामा ध्यान दिन सुझाब दिनुहुन्छ ?
सर्वप्रथम उपभोक्ताले खाद्यान्न किन्दा त्यसको लेबलमा ध्यान दिनु आवश्यक छ । लेबलमा कहाँ, कहिले बनेको तथा त्यसको प्रयोग कहिलेसम्म गर्न मिल्छ जस्ता कुरा समावेश हुन्छन् । खाद्यवस्तु किनेर घरमा लगेपछि कसरी भण्डारण गर्ने भन्ने कुरामा समेत उपभोक्ताले ध्यान दिनु जरुरी हुन्छ ।  अर्काेचाहिँ खाद्यपदार्थ खोलिसकेपछि पनि त्यसको बासना, स्वादलगायत कुरा ठिक छ या छैन भन्नेमा ध्यान दिनुपर्ने हुन्छ । खाद्यवस्तु अस्वाभाविक पाइएमा त्यसलाई शंकाको घेरामा राखेर उजुरी गर्नका लागि म उपभोक्तालाई आग्रह गर्छु ।  सकेसम्म सिजनअनुसारका फलफूल प्रयोग गरेमा विषादीको सेवन गर्नबाट बच्न सकिन्छ । सडकपेटीमा राखिएका खानेकुरा नखानु राम्रो हुन्छ ।

उपभोक्तालाई थप केही सुझाब ?
खाद्यवस्तु विश्वका विभिन्न देशबाट आयात भएका हुन्छन् । स्वच्छताका विषयमा त्यस्ता वस्तुमा केही खराबी छ कि भनेर उपभोक्ताले शंका गर्नु आवश्यक छ । अर्काे कुरा शरीरको आवश्यकता तथा कामको प्रकृतिअनुसार खाना खान म उपभोक्तालाई सुझाब दिन्छु । शारीरिक परिश्रमअनुसार खाना खानुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय