बिरामीको पृष्ठभूमि बुझेर व्यवहार गर्नुपर्छ

म दुर्गम जिल्ला जुम्लामा जन्मेकी हुँ । त्यहाँको अस्पतालमा पहिले डाक्टर, नर्स कत्ति पनि नहुने । मेरा अभिभावक शिक्षित हुनुहुन्थ्यो । हामी उपचारका लागि हवाईजहाजबाट सुर्खेत हुँदै नेपालगन्ज जानुपथ्र्यो । सडक यातायातको सुविधा नभएको हाम्रो ठाउँमा डाक्टर, नर्सको सधैँ अभाव हुन्थ्यो । मेरी आमाले तिमीले नर्स पढ्यौ भने आफ्नो ठाउँमा सेवा दिन सक्छ्यौ भन्नुहुन्थ्यो । आमाको त्यही प्रेरणाले म यो लाइनमा आएकी हुँ । उहाँकै कारणले नर्स पढेँ । हाम्रो क्षेत्रमा मातृ तथा शिशु मृत्युदर उच्च हुने, गर्भावस्थामा र बच्चा जन्मँदा पनि धेरै रगत बगेर आमालाई पीडा हुने, यसले आमा र बच्चाको स्वास्थ्यमा ठूलो असर पर्ने र कतिपय आमा र बच्चाको त्यसरी नै मृत्यु हुने गथ्र्यो । मेरी आमा पनि महिला स्वास्थ्यको क्षेत्रमा काम गर्नुहुन्थ्यो । उहाँले त्यो दुःख देख्नुभएको रहेछ र मलाई नर्स बन्न प्रेरित गर्नुभयो ।

नर्स बनेपछि मैले सुरुमा जुम्लाको कर्णाली अञ्चल अस्पतालमा काम गरेँ । त्यसपछि वीर अस्पतालमा आउनुअघि केही समय मुगुको जिल्ला अस्पतालमा सेवा गरेँ । देशको अति विकट भूभाग कर्णालीमा काम गर्दा र देशकै सबैभन्दा ठूलो वीर अस्पतालमा काम गर्दाका अनुभव सँगाल्ने मौका पाएकी छु । दुर्गम र सुगममा काम गर्नुमा धेरै अन्तर छ । त्यसमा पनि वीर अस्पताल देशको मुटुमा रहेको केन्द्रीय अस्पताल हो ।

दुर्गममा रहेका कर्णाली अञ्चल अस्पताल र मुगु जिल्ला अस्पतालमा धेरै पुराना औषधोपचारका सामग्री प्रयोगमा ल्याइने, चिकित्सकको पनि अभाव हुने । यहाँ सबै व्यवस्थित छ, स्वास्थ्य सामग्रीदेखि हरेक कुराको सुविधा छ, साधन–स्रोत र प्रविधिको पर्याप्तता छ । यस हिसाबले कर्णाली र यहाँको तुलनै हुन नसक्ने अवस्था छ । कर्णालीमा कतिपय औषधि म्याद सकिन लाग्दा मात्र पुग्ने गर्थे । पुराना सामग्री, म्याद गुज्रिएका औषधि, आवश्यक यन्त्रउपकरण र प्रविधिको अभावमा सेवाभाव भएर पनि आफ्नो सीपको राम्रो उपयोग गर्न सक्ने अवस्था थिएन त्यहाँ ।

दुर्गम र सुगम रोजाइयो भने प्रायः सबै सुगममै सेवा गर्न रुचाउँछन् र त्यसमा म पनि पर्छु । किनभने, सुगममा सुविधायुक्त सामग्रीसहित उपचार गर्न पाइन्छ । विश्वमा अपडेट भएका प्रविधिसित भिज्न पाइन्छ । प्रविधिको सहयोगले आफ्नो ज्ञान र सीपअनुसारको सेवा दिन सकिन्छ । यी सब दुर्गममा उपलब्ध छैनन् । प्रविधिसम्पन्न ठाउँमा काम गर्दा ज्ञानको दायरासँगै आत्मविश्वास पनि बढ्छ । व्यक्तित्वविकासका अन्य अवसर पनि सुगममै उपलब्ध छन् । पारिवारिक व्यवस्थापनका हिसाबले पनि सबैले सुगम नै खोज्नु स्वाभाविक नै हो ।

नर्सिङ पेसामा लागेर म खुसी छु र हामी दिनदिनै खुसी हुनु पनि पर्छ । कति बिरामी राम्रो भएर जान्छन्, कति एक्सपाएर पनि हुन्छन् । बिरामी निको भएर जाँदा हामीलाई खुसी लाग्छ । कतिपयले राम्रो भएर जाँदा फोन नम्बर दिएर जान्छन्, घरमा आउनुहोस् भनेर जान्छन् । एउटा बिरामी राम्रो भएर जान्छ भने अर्को दुःखी । हामीले दुवै अवस्थामा दुवैखाले रोल प्ले गर्नुपर्ने हुन्छ । बिरामी खुसी हुँदा हामी पनि खुसी हुनुपर्छ, दुःखी हुँदा हामी पनि दुःखी । दुर्गममा काम गर्दा बिरामी निको भएर जाँदा झन् बढी खुसी लाग्थ्यो । बिरामीको सेवामा लाग्ने मान्छे नै दुःखी भयो भने उसले राम्रो सेवा दिन सक्दैन । हाम्रो काम संवेदनशील हुन्छ, पूरै तनमन लगाएर गर्नुपर्ने हुन्छ । त्यसैले हामी सधैँ खुसी रहनुपर्ने हुन्छ र म सधैँ नै खुसी रहने प्रयत्न गर्छु ।

एउटा बिरामी राम्रो भएर जान्छ भने अर्को दुःखी । हामीले दुवै अवस्थामा दुवैखाले रोल प्ले गर्नुपर्ने हुन्छ । बिरामी खुसी हुँदा हामी पनि खुसी हुनुपर्छ, दुःखी हुँदा हामी पनि दुःखी । दुर्गममा काम गर्दा बिरामी निको भएर जाँदा झन् बढी खुसी लाग्थ्यो । बिरामीको सेवामा लाग्ने मान्छे नै दुःखी भयो भने उसले राम्रो सेवा दिन सक्दैन ।

हामीलाई बिरामीसित झर्कोफर्को गर्ने गरेको आरोप पनि यदाकदा आउने गरेको छ । हामीले धेरैभन्दा धेरै समय बिरामीसँग बिताउनुपर्ने हुन्छ । डाक्टर एकछिन आएर हेरेर जान्छन् । नर्सले १२ घण्टा वा ८ घण्टा बिरामीसँगै काम गर्नुपर्ने हुन्छ । नर्सको ड्युटी सिफ्टेड हुन्छ, उनीहरूलाई ड्युटी अवधिभर खाजा खाने फुर्सद निकाल्न पनि गाह्रो हुन्छ । अनेकखाले बिरामी र कुरुवालाई फेस गर्नुपर्ने हुन्छ । कतिपय बिरामीले अस्पतालको नियम र त्यहाँबाट उपलब्ध सेवा–सुविधाबारे कुरै नबुझी हामीलाई दोष दिने पनि गर्छन् । सबैका अनेकखाले जिज्ञासाको चित्त बुझाउनमै हामी व्यस्त हुन्छौँ । त्यसमाथि पनि बिरामीको अनुपातमा नर्सको संख्या न्यून छ, त्यसले पनि समस्या निम्त्याउँछ । नर्स र बिरामीको अनुपात मिल्ने हो भने मात्र राम्रो सेवा दिन सकिन्छ, बिरामी र नर्सबीचको सम्बन्ध पनि सुमधुर रहन्छ । २२ जना बिरामीलाई ८ जना नर्स भएपछि कसरी मिल्छ र ? यसले बिरामीलाई आवश्यक सेवा पुग्दैन, नर्सको थकान र तनाव बढ्छ जसले बिरामीसितको सम्बन्धमा केही समस्या सिर्जना गर्छ । हाम्रो बिरामीसित नराम्रो गरौँ भन्ने सोच कहिल्यै हुँदैन ।

हाम्रो काममा धेरै चाप र दबाब हुन्छ । सधैँ व्यस्त, नभ्याए पनि गर्नैपर्ने, काममा अलिकति पनि भुल हुन नहुने । कहिलेकाहीँ बिदा नपाएर पनि एक प्रकारको पीडा हुन्छ । सातै दिन काम गर्नुपर्दा बोझ हुन्छ । कहिलेकाहीँ त लगातार दुई सिफ्ट पनि गर्नुपर्ने हुन्छ । मानिसलाई कामपछि आराम चाहिन्छ, समय–समयमा बिदा चाहिन्छ, केही समय भए पनि स्वतन्त्रता चाहिन्छ । यो सब नपाउँदाचाहिँ कहिलेकाहीँ फुर्सदको वेला पेसा नै परिवर्तन गर्ने सोच पनि आउँछ । तर, ड्युटीमा भएको वेलाचाहिँ त्यस्तो सोच कहिल्यै आएन र सोच्ने फुर्सद पनि हुन्न । हामी बिरामीलाई बचाउँछु भनेर आएका हुन्छौँ, उसको सबै कुरा हाम्रो हातमा हुन्छ । हामीलाई विश्वास गरेर नै अस्पताल भर्ना हुन आउँछन् । हामीले जे खानुस्, भन्यो त्यही खान्छन्, जे गर्नुस् भन्यो त्यही गर्छन् । बिरामीले हाम्रो विश्वासमा जीवन सुम्पिएको हुन्छ । त्यसैले हामीले सजग इमानदार र भएर बिरामीको सेवा गर्नुपर्ने हुन्छ, गर्छौं पनि ।

नर्सिङ पेसाप्रति अहिले समाजको हेर्ने दृष्टिकोण फेरिएको छ । पहिलेको तुलनामा अहिले यो पेसाप्रतिको सम्मान बढेको छ, नर्सको महत्व बिस्तारै बुझ्न थालिएको छ । यो पेसाप्रति अकर्षण पनि बढेको छ । परिवार र समाजले सम्मान दियो भने हामीलाई पनि आफ्नो पेसामा दत्तचित्त भएर बिरामीको थप सेवा गर्न हौसला मिल्छ । मेरो परिवार शिक्षित भएको र आमाबुबाकै प्रेरणाले यो पेसा रोजेकाले मलाई सधैँ घरपरिवारको साथ र सहयोग मिलेको छ । घरमा नर्स हुँदा परिवारका सदस्यलाई पनि फाइदा हुन्छ । रोगबाट बच्ने उपायहरू, तौल व्यवस्थापन, सन्तुलित खानपान, ब्लडप्रेसर, सुगर आदिको अवस्थालगायतमा हामीले परिवारको मोनिटरिङ गरिरहेका हुन्छौँ । परिवारसँगै समाजले पनि हामीबाट अनौपचारिक रूपमा पनि लाभ लिइरहेको हुन्छ । यसरी सहयोग गर्न पाउँदा हामीलाई पनि खुसी लाग्छ र हामी परिवार र समाजलाई सचेत बनाउने काम गर्छौं ।

अस्पतालमा शिक्षित, अशिक्षित, सम्पन्न, विपन्न सबैखाले बिरामी आउँछन् । त्यसमाथि पनि देशकै केन्द्रीय अस्पताल वीरमा त झन् हरेक जिल्लाबाट सबैखाले बिरामी आइपुग्छन् । कतिपयलाई अस्पतालको नियम, यहाँ प्राप्त हुने सेवा–सुविधा, कुरुवाको काम आदिबारे केही थाहा हुन्न । यस्तो अवस्थामा हामीले बिरामीको पृष्ठभूमि बुझेर त्यसैअनुरूपको व्यवहार गर्नुपर्ने हुन्छ । आफूले नबुझेको कुरामा बिरामी र कुरुवाले हामीले भनेको मानिदिए हामी र बिरामीलाई सजिलो हुन्छ ।

हाम्रो कामअनुसार प्राप्त गर्ने सेवा–सुविधासित हामी सन्तुष्ट हुन सक्ने अवस्था छैन । त्यसैले पनि धेरै नर्स विदेश पलायन भएका छन् । नर्सको विदेशमा राम्रो सुविधासहितको माग छ । यहाँ पनि हाम्रो मिहिनेत, कामको संवेदनशीलतालाई बुझेर तलबलगायत अन्य सुविधामा वृद्धि गर्नुपर्छ ।
नर्सिङ पेसालाई व्यवस्थित बनाउन सबैभन्दा पहिले नर्सहरूको एकता हुनुपर्छ । काममा रुचि जगाउनुपर्छ, समर्पण हुनुपर्छ । सरकारले पनि नर्सको भाइटल रोललाई बुझुनुपर्छ । नर्सले डक्टरले भनेको औषधि खुवाउने मात्र होइन, उसको पनि अहम् भूमिका भन्ने बुझेर त्यसअनुसारको सेवा–सुविधा र महत्व दिनुपर्छ । हामीलाई सधैँ नयाँ कुरा सिक्न, विश्वपरिवेशमा दिनानुदिन विकसित भइरहेका आधुनिक प्रविधिसित अभ्यस्त भई पेसागत दक्षताको विकास गर्न र त्यसको प्रयोग गरेर आफ्नो देशमा केही नयाँ गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । यसमा सरकारको भूमिका महत्वपूर्ण हुन्छ ।

नर्स, वीर अस्पताल

One thought on “बिरामीको पृष्ठभूमि बुझेर व्यवहार गर्नुपर्छ

  1. You are doing great job keep it up and my best wishes to you n yiur occupation. I salute all the nurses who are serving for sick people.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय