दुर्गममा सेवा गर्ने मन छ

समीक्षा थापा

मेरा बुबा म सानो छँदैदेखि बिरामी हुनुहुन्थ्यो र अस्पताल गइरहनुपर्ने । त्यहाँ नर्सहरूले बाबालाई सेवा गरेको देखेँ, उहाँहरूको लगनशीलता र प्रतिबद्धता देखेर मलाई नर्स बनेर बिरामीको सेवा गर्ने इच्छा पलायो । बच्चैमा देखेको सपना, आज व्यवहारमा प्रयोग गर्न पाउँदा खुसी छु ।
खासगरी, नर्सिङ पेसा अहिले पेसामा मात्र सीमित छैन, प्रोफेसनल तरिकाले यसको आफ्नै कोड अफ इथिक्स छ, यसका आफ्नै ब्रान्चेज छन् । त्यसैले मैले नर्सिङ पेसा छनोट गरेकी हुँ । मैले ४ वर्ष भारतको बैंगलोरमा पढेँ, बिएससी नर्सिङ गर्दा १ वर्ष भारतमा काम गरेँ । विराटनगरको नोबल अस्पतालमा डेढ वर्ष काम गरेको अनुभव छ मसित । वीर अस्पतालमा आएको चाहिँ भर्खर ३ महिना भयो ।
नर्सिङ मेरो रोजाइको पेसा हो र यसमा संलग्न भएदेखि नै निकै खुसी छु । दिनदिनै नयाँ कुरा सिक्न पाइरहेको छु । त्यसैले हेला, अरू पेसा अँगाल्नेबारे कुनै दिन सोच नै आएन । कहिलेकाहीँ सकेको प्रयत्न गर्दागर्दै पनि बिरामी निको नहुँदाचाहिँ दुःख लाग्छ ।
मेरो विचारमा नर्सिङ सबैभन्दा उत्कृष्ट पेसा हो । किनभने, यसले आज विश्वलाई कभर गरेको छ, पेसाप्रतिको सम्मान बढ्दो छ, विदेशमा त झन् बढी माग छ ।
हाम्रा लागि सबै बिरामी एकनास हुन् । बिरामीले कहिलेकाहीँ कम समय दिएर अरूलाई हेर्न गएको भनेर गुनासो गर्छन् । हामी एकजना बिरामीका लागि पूरा ज्यान दिएर लागेका हुन्छौँ । एकजनाले दिनहुँ २२ जना बिरामी हेर्नुपर्छ । भ्याईनभ्याई हुन्छ । सबैलाई समय दिन्छौँ, तर हामीले अहिलेसम्म कसैलाई नराम्रो व्यवहार गरेका छैनौँ, गर्दैनौँ पनि । बिरामीको मनोविज्ञानमा नर्सहरूले राम्रो व्यवहार गर्दैनन् भन्ने परेका कारण कहिलेकाहीँ सामान्य असमझदारीजस्तो देखिन खोज्छ । यस्तोमा हामी सम्झाउने कोसिस गर्छौं र धेरैले कुरा बुझ्छन् पनि ।
‘पहिले काम, अनि मात्र रमाइलो’, सानैमा पढेको कुराले मलाई अहिले निकै सजिलो बनाएको छ । चाडपर्व आउँछ, मनाउनु पनि पर्छ, तर हामीले त्यसलाई सम्झेर काम नै भुल्ने कुरा त भएन नि ! हामीले सधैँ कामलाई प्राथमिकता दिनुपर्छ । त्यसैले म कहिल्यै काममा निरास र अल्छी हुँदिनँ ।
जीवन संघर्ष हो, नर्स भएपछि जीवन राम्ररी बुझेकी छु । जीवनमा दुःख–सुख त भइ नै हाल्छ, तर जीवनलाई चुनौतीका रूपमा नभई अवसरका रूपमा लिएर हिँडेमा अगाडि बढ्न सकिन्छ । मलाई अगाडि बढ्नमा मेरो पेसाले सहयोग पु¥याएजस्तो लाग्छ ।
हाम्रो पेसाप्रति घरपरिवार एवम् समाजको दृष्टिकोणमा निकै सकारात्मक परिवर्तन आएको छ । सबैलाई नर्सको आवश्यकता र महत्वबोध भएको पाउँदा खुसी लाग्छ । परिवार र समाजले यथोचित इज्जत दिएको छ । अहिले नर्सिङ सम्मानित पेसाको रूपमा स्थापित भइसकेको अनुभूति हुन्छ ।
कामअनुसार प्राप्त हुने सेवा–सुविधाबाट भने हामी सन्तुुष्ट हुन सक्ने अवस्था छैन । तर, मचाहिँ तलबलाई मापन गरेर काम गर्दिनँ । ज्ञान, सीप र क्षमता आर्जन सधैँ प्राथमिकतामा पर्नुपर्छ भन्ने मेरो मान्यता छ । त्यस अर्थमा व्यक्तिगत रूपमा भने म अहिलेकै सेवा–सुविधाबाट पनि सन्तुष्ट नै छु । म अहिले पैसाभन्दा पनि सीप आर्जनमा केन्द्रित छु, क्षमतावान् बन्नु छ मलाई ।
अहिलेको अवस्थामा विशेषगरी नर्सिङ सेवा गाउँमा आवश्यक छ । सेवा सहरकेन्द्रित हुँदा ग्रामीण भेगका जनता स्वास्थ्य सेवाबाट वञ्चित छन् । तसर्थ सरकारले नर्सहरूलाई गाउँमा जान प्रोत्साहित गर्नुपर्छ । नर्सलाई सेवा–सुविधासँगै गाउँमा गएर आफ्नो ज्ञान र सीपको सही प्रयोग गर्न सक्ने वातावरण तयार पारिदिनुपर्छ ।
मलाई भविष्यमा दुर्गममा गएर असहाय, दीन–दुःखी, गरिबको सेवा गर्ने इच्छा छ । सायद म अबको ५ वर्षपछि कुनै एनजिओमा संलग्न भएर दुर्गमका असहाय जनताको सेवामा आफूलाई समर्पित गरिरहेको हुनेछु ।

2 thoughts on “दुर्गममा सेवा गर्ने मन छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय