आमा बन्ने तयारी

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ ६ गते १०:४६

‘आमा’ बन्नु एउटा ठूलो महत्वको कुरा हो । महिलामा आमा बन्ने योग्यताअनुरूप अंग–प्रत्यंगको निर्माण र विकास भएको हुन्छ । शरीरको बनावट, हर्मोनको प्रभाव, जनेन्द्रीयको विकासले गर्दा एउटी महिला आमा बन्न सक्छिन् । गर्भ महिलाको पाठेघरमा रहन्छ । पुरुषको शुक्रकीट र महिलाको डिम्बको मिलनबाट भ्रुण बन्छ र पाठेघरमा यसको विकास हुन्छ । महिलाले आमा बन्नेक्रममा धेरै कुरा ख्याल गर्न नसक्दा गर्भपतन भएका उदाहरण पनि प्रशस्तै छन् ।

गर्भवती अवस्थामा शरीरका सबै अंग–प्रत्यंग एकसाथ विकसित हुन थाल्दछन् । यो अवस्थामा महिलाको सम्पूर्ण शारीरिक प्रणालीमा परिवर्तन देखिन्छ । महिलाको प्रजननशील उमेर १५–४९ वर्षलाई मानिन्छ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवालका अनुसार परिवारनियोजनको साधन नअपनाएको अवस्थामा कुनै पनि महिलाको नियमित महिनावारीचक्र बन्द भएमा र यदि ती महिला पुरुषसँगै छिन् भने पहिलो सम्भावना गर्भ रहेको भन्ने बुझ्नुपर्छ । तर, ४० वर्षको उमेर पार गरेपछि भने महिनावारीचक्र यसै पनि गडबड हुन सक्छ । ‘महिनावारी रोकियो, स्तनमा केही भारी महसुस भयो, केही खानेकुरा खाऊँखाऊँ र केहीदेखि वाक्क लाग्ने भयो र छिटोछिटो पिसाब फेर्न मन लाग्यो भने गर्भ रहेको प्रारम्भिक अड्कल काट्न सकिन्छ ।’

डा. अग्रवाल थप्छिन्, ‘गर्भ छ भने पिसाब जाँच गर्दा एक प्रकारको हर्मोनको कारणले पिसाबमा एचसिजी पोजिटिभ हुन्छ र गर्भ रहेको पक्का हुन्छ । गर्भावस्था सुरु भएदेखि सुत्केरी हुने दिन गन्न साधारणतया रजस्वला भएको दिनलाई आधार मानिन्छ ।’

चिकित्सकका अनुसार गर्भावस्थाका लक्षण

– बिहान सबेरै वाकवाक लाग्नु (तर यो १३–१४ हप्तामा हराउँछ)
– पिसाब तारन्तार हुनु
– मुटु र छाती पोल्नु
– कब्जियत हुनु
– थकान बढी हुनु
– शरीरको छालाको रङ गाढा हुँदै जानु र दाग, कोठीको रङ पनि गाढा हुनु
– तिघ्राको भित्री भाग, पेटको भाग र स्तन रहेको भागमा छाला तन्किएर दाग बस्नु
– कुनै–कुनै कुरा खान मन पराउनु, जस्तै ः चुल्होको माटो, कमेरो आदि ।
– राम्ररी निद्रा नलाग्नु ।

गर्भावस्थाका असामान्य लक्षण

– योनिबाट रगत बग्नु
– तल्लो पेट बेस्सरी दुख्नु
– योनिबाट धेरै तरलपदार्थ बग्नु
– आँखा तिरमिराउनु
– बेस्सरी टाउको दुख्नु
– बेस्सरी ज्वरो आउनु
– खुट्टा सुन्निनु, औँलाहरू सुन्निनु, मुख फुल्नु
– पेटमा चलिरहने बच्चा नचल्नु वा कम चल्नु
– पिसाब फेर्दा दुख्नु या पिसाब पोल्नु
– धेरै समयसम्म बान्ता आउनु
– पेटमा चोटपटक लाग्नु

गर्भावस्थामा कम्तीमा १० घण्टा आराम (पल्टेर) गर्नुपर्छ । ८ घण्टा रातमा र २ घण्टा दिउँसो पल्टिरहनुपर्छ, निद्रा लागे पनि नलागे पनि यसो गर्नाले आमाको रक्तनलीबाट भ्रुण/शिशुमा पोसिलो पदार्थ र पर्याप्त मात्रामा अक्सिजन पुग्न सक्छ ।

आहार

दाल, भात, रोटी, हरियो सागपात, फलफूल (मौसमअनुसारको) दूध, दही खानुपर्छ । बढी रेसा भएको पदार्थ खानाले र पानी कम्तीमा दैनिक २ लिटर पिउनाले पेट सफा हुन्छ र खान मन लाग्छ । पिसाबसम्बन्धी रोगबाट बचिन्छ ।

औषधि सेवन

गर्भ रहेको पहिलो ३ महिना डाक्टर, स्वास्थ्यकर्मीले दिएबाहेक अरू कुनै पनि औषधि खानुहुन्न । ३ महिना भइसकेपछि हानिकारक नहुने औषधि मात्र सेवन गर्नुपर्छ । आमाको स्वास्थ्यका लागि औषधि नखाई नहुने अवस्थामा स्वास्थ्यकर्मी तथा चिकित्सकको सल्लाहमा मात्रै सेवन गर्नुपर्छ ।

के गर्ने, के नगर्ने ?

– कुनै कुरा जमिनबाट उठाउनुपरेमा पहिले बस्ने, टिप्ने र अनि उभिने, ताकि निहुरिन नपरोस् ।
– दाँत सफा राख्ने, किनकि अड्केको कुरा सडेर दाँतमा किरा लाग्न सक्छ, गिजा पाक्न सक्छ ।
– स्वच्छ हावा आवत–जावत गर्ने ठाउँमा बस्नुपर्छ ।
निद्रा नलागे पनि पल्टेर आराम गर्नु जरुरी हुन्छ । निद्रा नपरे पनि पिर गर्नुहुँदैन ।
– तारेको, बढी चिल्लो हालेर भुटेको, मसला, अमिलो, पिरो पदार्थ नखानु बेस हुन्छ ।
– चुरोट, बिँडी, तमाखु, मादकपदार्थबाट टाढै बस्ने, गह्रौँ चिज नउचाल्ने ।
– टेम्पोमा वा रिक्सामा कच्ची बाटोमा सवार नगर्ने, बरु बिस्तारै हिँडेमा व्यायाम पनि हुन्छ ।
– बस वा कारमा लामो दूरीको यात्रा नगर्ने । यस्तो यात्रा गर्नैपरे अगाडिको सिट मिलाएर बस्ने ।
बाक्लो तलुवा (१ इन्चभन्दा बढी) भएको जुत्ता नलगाउने ।
– बस्दा वा हिँड्दा कुप्रेर नबस्ने, कुप्रेर नहिँड्ने ।
– गर्भावस्थामा कम्तीमा ४ पटक स्वास्थ्यकर्मीकहाँ गई जचाउने ।
–जचाउँदा तौल, ब्लडप्रेसर, पिसाब जाँच, रगतको जाँच, (कम्तीमा हेमोग्लोबिन र ब्लडग्रुप) गराउनुपर्छ । पहिलो गर्भावस्थामा २ पटक सुई लगाउनुपर्छ, त्यसपछिकोमा अघिल्लो गर्भावस्थामा सुई लगाएको ५ वर्ष भइसकेको रहेछ भने २ पटक नै लगाउनुपर्छ ।

चिकित्सकका अनुसार दूधको मुन्टोको हेरविचार गर्दा खासगरी मुन्टोभित्र पसेको छ भने त्यसलाई बिस्तारै औँलामा चिल्लो लगाएर बाहिर निकाल्नुपर्दछ । दूध निचोर्नुहुँदैन । निचोरेमा बिगौती दूधमा हुने भिटामिन र एन्टिबडीको विनाश हुन्छ । यसमा रोगसँग लड्ने शक्ति हुने भएकाले बच्चाका लागि यो अति उपयोगी हुन्छ ।

डा. अग्रवालले गर्भावस्थामा सुरूदेखि नै दिनमा ५–१० मिनेट पूरा शरीरलाई हलुका राखेर लामो–लामो सास फेरेमा बच्चा जन्माउन सजिलो हुने सुझाब दिइन् । उनले साना कुरामा पनि ख्याल गर्दा आमा र बच्चा दुवैलाई ठूलो जोखिमबाट बचाउन सकिने बताइन् । गर्भावस्थामा लुगा कसिने गरी लगाउनुहँुदैन । स्तनको विकास हुने, तौल बढ्ने हुनाले त्यसैअनुसारले लुगा खुकुलो पारेर लगाउनुपर्छ । मौसमअनुसारको लुगा लगाउनुपर्छ, गर्भावस्थामा कसैकसैलाई हर्मोनको कारणले गर्दा कहिले जाडो, कहिले गर्मी लाग्नु सामान्य हो । त्यसअनुसार आफूलाई तयार राख्नुपर्छ । पटुका बाँध्ने बानी भएमा पेटमा बेस्सरी कसेर बाँध्नुहुँदैन । गर्भावस्थामा व्यायाम गर्नाले सुत्केरी हुँदा सजिलो हुन्छ । गर्भावस्थाको पहिलो ३ महिना र अन्तिम डेढ महिना यौनसम्पर्क राख्नुहुँदैन । तर, बीचको अवस्थामा पनि रक्तश्राव भएमा यौनसम्पर्क राख्नुहुँदैन र तुरुन्त स्वास्थ्यसंस्थामा पुर्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय