शौचालयविहीन विद्यालय बनाउँदै सरकार

नागरिकको घरमा शौचालय बनाउन अभियान चलाइरहेको सरकारले आफैँले निर्माण गरेको विद्यालय भने शौचालयविहीन बनाइरहेको छ । २०७२ को भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणका क्रममा राष्ट्रिय प्राथमिकताको स्वास्थ्य र सरसफाइको प्रमुख एजेन्ड नै बेवास्तामा परेको हो ।
गाउँ–गाउँमा खुला दिसामुक्त अभियान चलाइरहेको सरकारले ठूलो संख्यामा बालबालिकाले पढ्ने विद्यालयमा नै शौचालय बनाएको छैन । सरकारले अनुदान एवम् अभियानमार्फत शौचालय बनाउने र खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम चलाइरहेको छ ।

भूकम्पले क्षतिग्रस्त ३१ जिल्लाका करिब ८ हजार विद्यालयमध्ये करिब ३ हजारको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने बाँकी पुनर्निर्माणको क्रममा छन् । तीमध्ये कुनै पनि विद्यालयमा भवनसँगै शौचालय नबनाइको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा केन्द्रीय आयोजना एकाइले जनाएको छ । यतिसम्म कि, अपांगता भएका विद्यार्थीका लागि बनेका भवनमा समेत शौचालय छैनन् । ती विद्यालयमा ४ देखि ८ कोठेसम्मका विभिन्न ढाँचाका भवन बनिरहेका छन् । भूकम्पले भत्किएका विद्यालयहरू विभिन्न दातृनिकाय, दातृराष्ट्र, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थालगायतको खर्चमा निर्माण भइरहेका छन् ।

एकाइसँग विभिन्न विद्यालयका व्यवस्थापन समितिले अनुमति मागे पनि डिजाइन तल–माथि गर्न नमिल्ने भन्दै यथास्थितिमै भवन निर्माण गरिँदै छ । योजना कार्यान्वयन एकाइका प्रमुख इमनारायण श्रेष्ठले विद्यालयको संरचना बन्दा नै शौचालयसमेत बनाउने गरी प्रस्ताव पठाएको भए पनि प्राधिकरणले स्वीकृति नदिएको बताए ।
राजधानीलगायत सहरी क्षेत्रका विद्यालय घना बस्तीका बीचमा रहेकाले खुला ठाउँसमेत नहुँदा विद्यार्थी शौचालय नभएकै कारण विद्यालय नजाने वा गए पनि बीचैमा छाड्ने गरेका छन् । त्यसैगरी, महिनावारीको समयमा छात्राका लागि छुट्टै सुरक्षित शौचालय नहुँदा उनीहरू विद्यालय छाड्न बाध्य छन् ।
एकाइले निर्माणाधीन विद्यालयको प्रगति समीक्षा कार्यक्रमसमेत गरेको थियो । कार्यक्रममा उपस्थित अधिकांश विद्यालयका प्रतिनिधिले शौचालयविनाको भवनले ठूलो समस्या पार्ने गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय