बिर्सने रोगको जोखिम पुरुषभन्दा महिलामा बढी

अल्जाइमर स्मृतिक्षय हुने रोग हो । विस्तारपूर्वक भन्ने हो भने अल्जाइमर मस्तिष्कका विकृतिहरूको समूहगत रोग हो, जसले सोच, स्मृति, बोली, निर्णय क्षमता, छनोट तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ । यो रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्व परिवर्तन गर्ने, बिसर्ने, संशय पैदा गराउने, नयाँ कुरा सिक्न नसक्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ ।

यो रोग बिस्तारै बढ्दै जाने भएकाले सुरुमा यसको निदान हुँदैन, जसका कारण सुरुको अवस्थामा अधिकांश बिरामीले परीक्षण तथा उपचारको आवश्यकता महसुस गर्दैनन् । बुद्धि ह्रास हुँदै जाने भएकाले बिरामीले खाना बनाउने, टेलिफोन उठाउने, उपयुक्त कपडा लगाउनेजस्ता दैनिक कामकाज गर्न सक्दैन । अन्ततः आफ्नै छोराछोरीसमेत नचिन्ने अवस्था हुन्छ । उमेर बढेसँगै बढी देखिने यो रोग यति व्यापक हँुदै गएको छ कि, सन् २०५० सम्ममा विश्वका १ प्रतिशतभन्दा बढी (प्रत्येक ८५ मा एकजना) मानिस यसबाट पीडित हुने अनुमान गरिएको छ ।
जोखिमका कारण

बढ्दो उमेर
६५ वर्षमुनिका व्यक्तिमा यो रोग बिरलै पाइएको छ ।
पारिवारिक इतिहास :
यदि नजिकका नातामा अल्जाइमर लागेको छ भने आफूलाई पनि हुने सम्भावना अधिक हुन्छ ।

लिंग
पुरुषको तुलनामा महिला बढी बाँच्ने भएकाले तिनलाई अल्जाइमर हुने बढी सम्भावना हुन्छ । टाउकोमा लागेको चोटपटक तथा संज्ञानात्मक बधिरता (चेतनामा हानि), मुटुरोगसँग सम्बन्धित जोखिमका कारणहरू (उच्च रक्तचाप, मधुमेह, मोटोपन, उच्च लिपिडेमिया)ले पनि अल्जाइमर रोग बढाउनमा भूमिका खेलेका हुन्छन् ।

लक्षण
स्मरणशक्तिमा ह्रास आउन थाल्नु नै अल्जाइमर रोगको संकेत हो । अल्जाइमर रोगीले आफूलाई अल्जाइमर भएको थाहा नपाउन सक्छ, तर परिवारका अन्य सदस्यले उसका व्यवहार हेरेर लख काट्न सक्छन् । अल्जाइमर रोग लागेपछि देखिने स्मरणशक्तिसँग सम्बन्धित केही उदाहरण यसप्रकार छन् :
महत्वपूर्ण तिथिमिति बिर्सनु,
एउटै प्रश्न बारम्बार सोध्नु,
सम्झाउने कुराहरू वा सहयोगी चाहिनु,
आफ्ना दैनिक काम पूरा गर्न नसक्नु,
ठाउँ, मिति र समयबारे भ्रम उत्पन्न हुनु,
असामान्य ठाउँमा सामान राख्नु, आफूले राखेको ठाउँ बिर्सेर फेला पार्न नसक्नु,
राम्रो निर्णय गर्न नसक्नु, जस्तै : जोपायो उसलाई ठूलो रकम दिएर पठाउनु,
सामाजिक क्रियाकलापबाट हात झिक्नु,
आफूलाई मनपरेका कुराहरू पनि नगर्नु,
व्यक्तित्व र मुडमा परिवर्तन आउनु, जस्तै : स–साना कुरामा डराउनु, दिग्भ्रमित हुनु, शंकालु हुनु,
कुनै कुरालाई राम्रोसँग मिलाएर राख्न नसक्ने हुनु, जस्तै :कुर्सी, टेबुल मिलाउन नजान्नु, आदि ।

उपचार
अल्जाइमर रोगको कुनै निश्चित उपचार छैन, खाली चिकित्सकले स्मरण क्षमतामा आएको कमी तथा मस्तिष्कका अन्य क्रियाकलापलाई कसरी व्यवस्थित गर्ने भन्ने सिकाउनेछन् । नियमित शारीरिक व्यायाम, सामाजिक तथा बौद्धिक क्रियाकलापमा सक्रियतालगायतले यो रोग बढ्ने गतिलाई मत्थर पार्छन् ।

रोकथाम
जीवनशैलीका केही तरिकाले अल्जाइमर रोग हुने सम्भावना घटाउन सक्छन् । सामाजिक क्रियाकलापमा बढी सक्रिय हुनु तथा बौद्धिक व्यायाम हुनेखालका काममा लाग्नुले तपाईंको मस्तिष्कको कार्यक्षमतालाई जोगाउन सक्छ । सँगसँगै रक्तसञ्चार प्रणालीलाई चुस्त–दुरुस्त राख्नेखालका नियमित शारीरिक व्यायामले पनि मस्तिष्कलाई ओरालो लाग्नबाट जोगाउने क्षमता राख्दछ । चिल्लोपदार्थ कम भएको खानेकुरा, सागसब्जी र फलफूलको नियमित सेवन पनि अल्जाइमर रोगको सम्भावनालाई न्यून गर्ने उपाय हो । भेजिटेरियानलाई अल्जाइमर हुने संभावना कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय