प्रदेशमै चिकित्सक उत्पादन गर्ने सरकारको योजना

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ ३ गते १३:४२

प्रदेश १ सामाजिक विकास मन्त्रालयले प्रदेशमातहतका सबै जिल्ला अस्पतालहरूको स्तरोन्नति र जनशक्ति उत्पादन गरी प्रत्येक स्वास्थ्यसंस्थामा चिकित्सक उपलब्ध गराउने योजना अगाडि सारेको छ ।
सरकारी स्वास्थ्यसंस्थामा सेवाग्राहीको विश्वास बढाउँदै पहिलो उपचार केन्द्रको रूपमा जिल्ला अस्पतालहरूलाई विकास गर्ने सोचअनुसार यस्तो कार्यक्रम अगाडि सारिएको हो ।
मन्त्रालयले तत्काल कोसी अञ्चल अस्पतालमा विशेषज्ञ जनशक्ति बढाएर विशिष्टीकृत स्वास्थ्य केन्द्र बनाउने र क्रमशः त्यहाँबाट जनशक्ति उत्पादनसमेत सुरु गर्ने मन्त्रालयका अधिकृत गोपी घिमिरेले बताए ।

कोसी अञ्चल अस्पतालमा नाक, कान, घाँटी विशेषज्ञ सेवा, मुटु, क्यान्सरलगायत विशेषज्ञ सेवासमेत सुरु गरिएको छ ।

योजनाअनुसार कोसी अञ्चल अस्पतालमा नाक, कान, घाँटी विशेषज्ञ सेवा, मुटु, क्यान्सरलगायत विशेषज्ञ सेवासमेत सुरु गरिएको छ । दीर्घकालीन रूपमा सबै जिल्लामा चिकित्सक पु¥याउन सरकारी मेडिकल कलेज खोलेर गरिब तथा जेहेन्दार विद्यार्थी पढाउने र अध्ययनपछि कम्तीमा ५ वर्ष ग्रामीण क्षेत्रमा काम गर्नुपर्ने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।
गत फागुनमा प्रदेश मन्त्रालय स्थापनासँगै मन्त्रालयले स्वास्थ्य सेवा सुधारका विभिन्न योजना अगाडि सार्दै आएको छ ।
मन्त्रालयले प्रदेशका स्वास्थ्यसंस्था र निजी अस्पतालको नियमनसँगै अन्य स्वास्थ्य र जनचेतना प्रवद्र्धनका कार्यक्रम गर्दै आएको छ । यो वर्षलाई १ वैशाखदेखि स्वास्थ्य सेवा प्रवद्र्धन वर्ष घोषणा गरेर प्रदेशभर स्वास्थ्य शिविर, सरसफाइका कार्यक्रमसमेत सञ्चालन गरिँदै आएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय