खुट्टा दुख्छ ? बाथ पो हो कि !

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ ३ गते १२:३६

खुट्टाको सामान्य दुखाइमा पनि बाथ भयो कि भनेर आशंका गर्नेको भन्दा ठूलो संख्या बाथले गम्भीर रूप लिइसक्दा पनि केही दिन हेरौँ भन्दै खपेर बस्नेहरूको छ । धेरैलाई हातखुट्टाको दुखाइ बाथ हो कि होइन भन्ने छुट्याउन कठिन पर्छ । वेलैमा बाथ भए–नभएको यकिन गर्नुपर्छ । यसमा प्रवेश गर्नुपूर्व बाथबारे केही जानकारी लिनैपर्छ । बाथरोग एकप्रकारको अटोइम्युन डिजिज हो । हाम्रो शरीरको रोगनिरोधक शक्तिले जब आफ्नै शरीरका अंगमा असर गर्न थाल्छ त्यसवेला अटोइम्युन डिजिज सुरु हुन्छ । जसको फलस्वरूप मुख्यतः शरीरका जोर्नीहरू दुख्ने वा सुन्निनेजस्ता लक्षण देखिन थाल्छन् र क्रमशः अन्य अंगहरूमा पनि असर गर्दछ ।
बाथरोग सयभन्दा बढी प्रकारका हुन्छन् । बाथरोगको लक्षण बाथले असर गरेको अंगअनुसार फरक हुन्छ । लक्षण र कुन प्रकारको एन्टिबडी रगतमा देखिन्छ, त्यसका आधारमा यो रोगको वर्गीकरण गरिन्छ । तसर्थ, यो रोगको नियन्त्रणका लागि लक्षण एवम् एन्टिबडीको संलग्नताका आधारमा रोगको वर्गीकरण र मूल्यांकन गरी उपचार विधि अपनाउनु जरुरी हुन्छ ।

बाथरोगका लक्षण:
१. हातका औँला दुख्ने वा सुन्निने
२. बिहान उठ्नेवेलामा हातखुट्टा अररो हुने
३. गोलिगाँठो दुख्ने वा सुन्निने
४. राति तथा बिहान ढाड दुख्ने वा अररो हुने
५. बिहान ढाड अररो हुने
६. पिँडौला दुख्ने वा करकर खाने
७. खुट्टाका औँलावरिपरि रातो भएर टेक्न असजिलो हुने
८. कुर्कुचा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने
९. हात, खुट्टा वा जिउ अररो हुने
१०. घँडा सुनिने वा दुख्ने

नेपालमा देखिएका प्रमुख बाथरोग
१. र्युमाटाइड आरथ्राइटिस
यो वयष्क तथा बढ्दो उमेरमा देखिने र लामो समयसम्म रहिरहने कडा बाथ हो । यो पुरुषको तुलनामा महिलामा धेरै देखिन्छ । रोगको सुरु अवस्थामा हातगोडाका जोर्नीहरू (विशेषगरी हातगोडाका औँलाहरू, नाडी, कुहिना, कुम, घुँडा र गोलिगाँठा) दुख्ने, सुन्निने र अररो हुने हुन्छ । बिहान बढ्छ भने दिउँसो घाममा सजिलो हुन्छ । रोग छिप्पिँदै गएपछि भने हातगोडाका जोर्नीहरू जाम हुने, बांगिने, बिग्रिने र काम नलाग्ने हुन्छन् । समयमा उचित औषधोपचार नभएमा यसले भित्री अंगहरूमा असर गरी बिरामीको आयु घटाउन पनि सक्छ ।
२. ढाडको बाथ (स्पोन्डिलो आरथ्राइटिस)
ढाडको बाथ ढाडका जोर्नीहरू सुन्निएर हुने एक दीर्घ रोग हो र यसले फिलाभित्रको जोर्नी, ढाड, गर्दन र कहिलेकाहीँ नितम्ब, कुम र हातगोडाका ठूला जोर्नी दुख्ने, सुन्निने गराउँछ । यो बाथ प्रायः ४० वर्षको उमेरअघि नै सुरु हुन्छ र यसले बढी मात्रामा पुरुषलाई असर गर्छ । ढाड, फिला दुख्ने, बिहानपख अररो हुनेलगायत यसले एकतिहाइ बिरामीमा आँखामा असर गरी युमिटाइटिस (आँखा दुख्ने, रातो हुने, घाममा हेर्न गाह्रो हुने) गराउन सक्छ । धेरैजसो बिरामीमा यो बाथ गराउनमा एचएलए बी ट्वेन्टिसेभेन नामक वंशाणुको भूमिका हुन्छ । यही कारणले गर्दा सन्तानमा पनि यो रोग जान सक्छ ।
३. लुपस
यो विशेषगरी जवान र महिलामा सुरु भई लामो समयसम्म रहने एक दीर्घ बाथरोग हो । यसमा अनुहार र शरीरका अन्य भागको छालामा दाग आउने, मुखमा घाउ आउने, जोर्नी तथा मांसपेशीहरू दुख्ने, सुन्निने र अररो हुने, कपाल झर्ने, ज्वरो आउने, रोग कडा भएको खण्डमा मिर्गाैला, मुटु, फोक्सो, रगत तथा स्नायुजस्ता महत्वपूर्ण अंगमा असर पारी ज्यानै जोखिममा पर्न सक्छ । त्यसैले रोगको निदान र औषधोपचार सम्भव भएसम्म अनुभवी चिकित्सकको निगरानीमा रहनुपर्छ ।
४. स्क्लेरोडर्मा (छाला बाक्लो हुने बाथ)
बढ्दो उमेरमा देखिने यो बाथ महिलामा बढी भएको पाइन्छ । यसमा हातगोडा र अनुहारको छाला बाक्लो हुने, दुख्ने, सुन्निनेलगायत चिसो पानी छुँदा हातगोडाका औँला क्रमशः सेतो, निलो र रातो हुने गर्दछ । स्क्लेरोडर्माले छालामा मात्र नभई रगतका नसाहरू, फोक्सो, मिर्गौलामा पनि असर गरी औँलामा घाउ आउने, छाती पोल्ने, दम बढ्ने र मिर्गाैला फेलसमेत गराउन सक्छ । चिसोले रोग बढ्न सक्ने भएकाले यो रोगका बिरामीले बाक्लो पन्जा, मोजा लगाउनु आवश्यक छ ।
५. ओस्टियो आरथ्राइटिस (जोर्नी खिइने बाथ)
बढ्दो उमेरसँगै देखापर्ने यो बाथ प्रायः मोटा मानिसमा देखिन्छ । उमेर बढ्दै जाँदा जोर्नीमा रहेको कुरकुरे हड्डी खिइएर नष्ट हुँदै जाँदा ओस्टियो आरथ्राइटिस हुन्छ । यस किसिमको बाथले मुख्यतः घुँडा, गर्दन तथा कम्मरको मेरुदण्ड, हात तथा गोडाका बूढीऔँलाका फेद, हातका औँला तथा नितम्बको जोर्नीमा असर पार्दछ । हिँडडुल वा चलमल गर्दा घुँडा, औँला, नितम्ब, गर्दन र ढाड दुख्नु यस बाथको प्रमुख लक्षण हो । उमेर, मोटोपन तथा क्याल्सियम, भिटामिन डी, थाइराइड आदिको कमीले पनि हड्डी खिइने बाथ गराउँछ ।

६. गाउट (युरिक एसिडको बाथ)
युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो । रगतमा युरिक एसिडको मात्रा बढ्दै जाँदा यो गोडाको बूढीऔँलावरपर र (पछि अन्य भागमा पनि) जोर्नीमा जम्न जान्छ र एक्कासि दुख्ने, सुन्निने, रातो हुँदै जाने हुन्छ, जसलाई हामी युरिक एसिडको बाथ भन्छौँ । युरिक एसिड बढ्दैमा सबैलाई यो बाथ हुँदैन । यो रोग छिप्पिँदै जाँदा जोर्नी बिग्रने, बांगिने, युरिक एसिडका डल्लाहरू ठाउँठाउँमा जम्ने र मिर्गौला बिग्रने तथा मिर्गौलामा पत्थरीसमेत हुन सक्छ ।

७. केटाकेटीमा हुने बाथ (जुभेनाइल आरथ्राइटिस)
केटाकेटीमा हुने बाथ मुख्य दुई किसिमका हुन्छन् । बाथज्वरो (र्युमटिक फिभर) र जुभेनाइल आरथ्राइटिस । चिसो ठाउँमा बस्ने केटाकेटीमा घाँटीको संक्रमणबाट बाथज्वरो उत्पन्न हुन्छ । जुभेनाइल आरथ्राइटिसमा बालबालिकाको हातगोडाका जोर्नीहरू दुख्ने, सुन्निने, हिँडडुल गर्न नसक्ने, ज्वरो आउने, छालामा विभिन्नखाले दाग आउने र आँखामा असर हुन सक्दछ । समयमै पहिचान गरी उचित औषधि प्रयोग भएमा रोग बढ्न पाउँदैन र हातगोडाका जोर्नीहरू बिग्रन, बांगिन पाउँदैनन् ।

बाथरोगबाट बच्ने उपाय
मेडिकल साइन्सले बाथरोग लाग्नै नदिने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन । यससँग सम्बन्धित भ्याक्सिन र औषधि प्नि छैनन् । परिवारका कुनै सदस्यलाई बाथरोग भएमा अन्य सदस्य सतर्क हुनुपर्छ । बाथरोग भएको पत्ता लागेमा सेकेन्डरी प्रिभेन्सन अपनाई जटिलतालाई रोक्नतिर लाग्नुपर्छ ।

खानपान
धेरैजसो बाथरोगमा खानपान बार्नु आवश्यक हुँदैन । तर, युरिक एसिड बाथमा भने मुख बार्नु आवश्यक हुन्छ । युरिक एसिड बाथमा खुट्टाको बूढीऔँला रातो भएर दुख्ने र सुन्निने हुन्छ । प्रोटिनयुक्त खाना, जस्तै:  सुकेको गेडागुडी, गोलभेँडा, काउली, बन्दा, च्याउ, कोक, फ्यान्टा, काजु, पेस्ता, खसी, राँगा, बँदेलको मासु, जाँडरक्सीको प्रयोगले युरिक एसिड बाथलाई बढाइदिन्छ । युरिक एसिड बाथ १ प्रतिशतलाई मात्र हुन्छ ।

सावधानी
बाथको जटिलताका आधारमा सावधानी अपनाउनुपर्छ । बाथका कारण हड्डी खिइन थालेपछि भुइँमा टुक्रुक्क नबस्ने, पलेँटी मारेर नबस्ने, उकालोओरालो धेरै नहिँड्ने गर्नुपर्छ । जोर्नीलाई धेरै भार पर्ने काम गर्नुहुँदैन र जोर्नीलाई मोड्न पनि हुँदैन । चिसोमा धेरै काम नगर्ने, मनतातो पानी प्रयोग गर्ने, चुरोटको धुवाँमा नबस्ने गर्नुपर्छ । १० बजेअघिको घाम ताप्दा फाइदा हुन्छ । बिहानको कलिलो घाममा भिटामिन डी प्राप्त हुन्छ । नेपाल, भारतलगायत दक्षिण एसियाका देशमा बस्ने मानिसमा भिटामिन डीको कमी धेरै पाइएको छ । भिटामिन डीले बाथसँग मात्र नभई शरीर दुख्ने, क्यान्सर, मुटुरोगसँग पनि सम्बन्ध राख्छ । भिटामिन डीको कमी हुनेहरूमा सामान्य बाथरोग भएमा पनि यो रोग चाँडै कडा बन्दै जान्छ । भिटामिन डीको प्राकृतिक स्रोत घाम नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय