ज्वरो आएका ३९ प्रतिशतलाई टाइफाइड

गीता सापकोटा
प्रकाशित
२०७५ भदौ ३ गते १२:१६

खाद्यन्न र सरसफाईजन्य संक्रमणले निम्तिने टाइफाइडको काठमाडौ उच्चजोखिमयुक्त छ । धेरैले टाइफाइडलाई ज्वरोको एउटा प्रकारका रूपमा बुझ्छन् । तर, टाइफाइड खाद्यपदार्थका कारण फैलिने सरुवा रोग हो । त्यसमा पनि काठमाडौं उपत्यकाजस्ता बढी जनघनत्व भएका र सरसफाइको अवस्था निकै कमजोर भएका ठाउँ टाइफाइडका राजधानी नै हुन् । विज्ञहरूका अनुसार टाइफाइडका दृष्टिले काठमाडौं विश्वकै उच्च जोखिमयुक्त सहर हो ।

नेपालमा प्रत्येक वर्ष देशभरका विभिन्न ठाउँमा टाइफाइड माहामारीको रूपमा देखापर्ने गर्छ । केही वर्षअघि गरिएको एक सर्वेक्षणले उपत्यकाका १५ देखि ३० वर्षका झन्डै ३९ प्रतिशतमा टाइफाइड देखाएको थियो । ज्वरो आएर रगत परीक्षण गरिएका कुल बालबालिकाको ४७ प्रतिशतमा टाइफाइड भेटिएको थियो । विश्वस्वास्थ्य संगठनले एक लाखमा परीक्षण गर्दा सयजनाभन्दा बढीमा संक्रमण देखिएको अवस्थालाई उच्च जोखिमको अवस्था भन्ने गरेको छ ।
यति धेरै मानिस बसोवास गर्ने सहरमा हप्तौँ नउठ्ने र जथाभावी फालिने फोहोर, फोहोर पानी, पानी भण्डारण तथा वितरणको कमसल प्रणालीजस्ता कारणले जोखिम निम्त्याएको वरिष्ठ फिजिसियन डा. भूपेन्द्रकुमार बस्नेत बताउँछन् ।

डा. बस्नेतका अनुसार सहरी क्षेत्रका बासिन्दा जोखिमका आधारमा स्वास्थ्यप्रति बढी सचेत नदेखिनु टाइफाइड फैलिनुको प्रमुख कारण हो । सहरी क्षेत्रमा खुला ठाउँमा बिक्रीका लागि राखिने खाद्यान्न, पानीपुरी, चटपटेका विक्रेतादेखि चियापसलमा समेत सामान्य सरसफाइ नहुँदा टाइफाइड निम्तिने गरेको छ । उपत्यकामा पुरानो पानी वितरण प्रणाली र ढल व्यवस्थापन प्रणालीका कारण टाइफाइड फैलिन सहज भएको चिकित्सकहरू बताउँछन् । ‘दिशाका कीटाणुविनाको पानी पाउनै मुस्किल छ,’ डा. बस्नेत भन्छन्, ‘पिउनेपानी जारको राखेको छ भनेर के गर्नु, भाँडा पाखाल्ने पानी त त्यही हुन्छ ।’

चिकित्सकहरूका अनुसार खानेकुरा सफा नै भए पनि सामान्य चिया पिउने गिलास वा खाने प्लेटसमेत कस्तो पानीले पखालेको हो, त्यसले पनि टाइफाइड गराउन भूमिका खेल्छ ।
विशेषगरी, टाइफाइडको ज्वरो सालमोनेल्ला टाइफाइड वा पारा टाइफाइड कीटाणुबाट हुन्छ । यी कीटाणु चर्पी तथा शौचालयको फोहोर तथा झिँगा बस्ने ठाँउमा बढी पाइन्छ ।

टाइफाइडका कीटाणुले ६० डिग्री सेल्सियसभन्दा बढी तातो सहन सक्दैनन् । रोगी व्यक्ति र व्यक्तिको दिसाका माध्यमबाट रोग सर्न सक्छ । एकपटक टाइफाइड भएपछि अर्कोपटक पनि हुने सम्भावना बढी हुने चिकित्कसहरू बताउँछन् । पानी, दूध, सागसब्जी, माछा, झिँगा, र अन्य वस्तुबाट बढी मात्रामा रोग सर्ने गर्छ ।
यस्ता खानाको माध्यमबाट कीटाणु शरीरमा आन्द्राको माथिल्लो भाग हुँदै रगतमा प्रवेश गरी शरीरभर फैलिन्छन् । सानोआन्द्रामा पुगेपछि लिम्फ ग्रन्थिहरूलाई मुख्य असर गर्छ र आन्द्राका रक्तनलीसमेतमा घाउ बनाएर रक्तश्राव गराउँछ ।

कीटाणुले कहिलेकाहीँ आन्द्रामा प्वालसमेत पार्छ । रोग लाग्नै नदिनका लागि जनचेतना र लागिसकेको अवस्थामा जाँच र औषधि सहज भएकाले धेरै हेलचक्र्याइँविना आन्द्रामा प्वाल पर्ने अवस्था कमै आउँछ । यदि प्वाल परिहालेमा शल्यक्रिया नै आवश्यक पर्ने चिकित्सकहरू बताउँछन् ।
टाइफाइडमा कीटाणुको स्वभाव हप्तैपिच्छे बदलिने हुँदा प्रत्येक हप्ताका लक्षण पनि फरक–फरक देखा पर्छन् । चिकित्सकहरूका अनुसार टाइफाइड निको हुनका लागि कम्तमिा चार हप्ता लाग्छ ।

पहिलो हप्तामा लक्षण

जिउ दुख्ने,
टाउको दुख्ने,
भोक नलाग्ने,
क्रमशः साँझमा तापक्रम बढ्ने,
दिनदिनै ज्वरो बढ्दै जाने,
नाडी ज्वरोको अनुपातमा कम हुने,
जिब्रोमा काई पलाउने,
मुख सुक्खा हुनेजस्ता सामान्य लक्षणहरू ।

दोस्रो हप्ता

ज्वरो धेरै नै आउने,
बिहान र बेलुका ज्वरो फरक हुने,
पेट दुख्ने, फुल्ने,
२–४ पटक पखाला लाग्ने,
शरीरमा राता बिबिरा देखा पर्न सक्ने,
नाकबाट रक्तश्राव,
दिसा कालो हुने,

तेस्रो हप्ता (उपचार थालेमा)
बिस्तारै रोगी ठीक हुँदै जाने,
खानामा रुचि बढ्ने,
सामान्य ज्वरो ।

चौथो हप्ता
उपचार नपाएमा बिरामी झन् सिकिस्त हुन्छ,
उपचार पाएमा पूर्ण स्वस्थ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय