किशोरावस्थामा शारीरिक परिवर्तन, अनौठा चाहना

हेल्थपोस्ट
प्रकाशित
२०७५ भदौ ३ गते ११:४१

आमाबाबु तथा अभिभावकले किशोर–किशोरीलाई प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी दिनुपर्छ । किशोरकिशोरीले पनि साथीहरूबीच प्रजनन स्वास्थ्यबारे छलफल गरेर उचित ज्ञान र सीप हासिल गर्नुपर्छ ।

किशोरावस्था
१० देखि १९ वर्ष उमेरसमूहका केटाकेटीलाई किशोरकिशोरी भनी परिभाषित गरिएको छ । यसलाई बाल्यकालपछिको वयष्कावस्थामा प्रवेश गर्ने अवस्था पनि भनिन्छ । यस अवस्थामा किशोरकिशोरीमा शारीरिक विकार र परिवर्तन आउनुका साथै मानसिक स्थितिमा पनि परिवर्तन आउन थाल्छ । यस अवस्थामा मन चञ्चल हुने हुन्छ ।

साधारणतया किशोरीहरूमा करिब १० देखि १४ वर्षको बीचमा शारीरिक परिवर्तन आउन थाल्छ भने किशोरहरूमा करिब १२ वर्षदेखि परिवर्तन सुरु हुन थाल्छ ।
किशोरभन्दा किशोरीहरूको शारीरिक परिवर्तन चाँडै हुने भएकाले समान उमेरमा किशोरभन्दा किशोरीको उचाइ अलि बढी देखिन्छ । तर, रजस्वला भएपछि किशोरीको शरीर बढ्नेक्रम बिस्तारै कम हुँदै जान्छ ।
किशोरीको दाँजोमा किशोरहरूको उचाइ बिस्तारै बढ्ने भएकाले १९ वर्षको उमेरसम्म पनि उनीहरूको उचाइ बढ्नेक्रम जारी नै रहन्छ ।

किशोरावस्थामा किशोरहरूमा आउने शारीरिक परिवर्तन:
१. हलक्क बढ्नु र काँध चौडा हुनु
२. दाह्रीजुँगा आउनु
३. स्वर धोद्रो हुनु
४. काखीमुनि रौँ आउनु
५. यौनकेस (यौनांगवरिपरि रौँ) आउनु
६. पसिना ग्रन्थी बढी सक्रिय भई बढी पसिना आउनु
७. डन्डिफोर आउनु
८. लिंग तथा अण्डकोष बढ्नु
९. वीर्य उत्पादन सुरु हुनु
१०. लिंग उत्तेजित हुनेक्रम बढ्नु र कहिलेकाहीँ स्वतः उत्तेजित हुनु
११. स्वप्नदोष हुनु

किशोरावस्थामा किशोरीहरूमा आउने शारीरिक परिवर्तन
१. हलक्क बढ्नु
२. नितम्ब चौडा हुनु
३. स्वर अझै सुरिलो हुनु
४. काखीमुनि रौँ आउनु
५. यौनकेस (यौनांगवरिपरि रौँ) आउनु
६. पसिना ग्रन्थी बढी सक्रिय भई पसिना धेरै आउनु
७. डन्डिफोर आउनु
८. पाठेघर पढ्नु
९. महिनावारी सुरु हुनु
१०. तिघ्रा सोली आकारको हुनु

किशोरावस्थामा हुने भावनात्मक तथा व्यावहारिक परिवर्तन
१. विपरीत लिंगीप्रति आकर्षण बढ्नु
२. यौन चाहना हुनु तथा यौनसम्बन्धी विभिन्न खोजीनीति गर्नु
३. मनोदशामा चाँडो–चाँडो परिवर्तन हुनु
४. बढी स्वतन्त्र हुने कोसिस गर्नु
५. बढी जिज्ञासु हुनु
६. एक्लै बस्न मनपराउनु
७. स्वभाव परिवर्तन भइरहनु
८. स–साना कुरामा बहस गर्नु र कम आज्ञाकारी हुनु
९. बढी गोपनीयता चाहनु
१०. शारीरिक परिवर्तनबारे बढी सोच्नु र आफ्नो स्वरूपबारे अलमलिनु । महिनावारी, स्वप्नदोष, हस्तमैथुन, स्तन वा लिंगको आकारबारे बढी चिन्ता गर्नु । के म ठीक छु ? भन्ने प्रश्न गर्नु ।
११. दिवास्पप्न देख्नु र बढी कल्पनाशील हुनु । काल्पनिक (असम्भव) कुराहरू सोच्नु ।
१२. आफ्नै मूल्यमान्यताको विकास गर्न सुरु गर्नु ।
१३. आफ्ना समस्यालाई बढाइ–चढाइ गर्नु, आफ्नो समस्या ‘कसैले बुझ्दैन’ भन्ने सोचाइ हुनु ।
१४. विभिन्न राम्रा–नराम्रा बानी बसाल्न सुरु गर्नु, जस्तै ः धूमपान, मद्यमान, आदि ।

अभिभावकले छोरा र छोरीलाई समान व्यवहार गर्नुपर्दछ । विशेषगरी किशोरी छोरीलाई अवसर र मौका दिनुपर्दछ । साथै, खानपानमा पनि ध्यान दिनुपर्दछ ।
लागुपदार्थ तथा मादकपदार्थका बेफाइदाबारे प्रस्ट पारिदिएर यस्ता कुलतबाट टाढै राख्नुपर्छ ।

किशोरावस्थामा शारीरिक परिवर्तन हुनु र प्रजनन अंगहरूको विकास हुनु सामान्य प्रक्रिया हो । यस उमेरमा किशोरकिशोरीले आफ्नो शरीरको हेरचाह, सरसफाइ, व्यायाम तथा पौष्टिक एवम् सन्तुलित खानपानमा बढी ध्यान दिनुपर्दछ ।
किशोरकिशोरी न बालक हुन्, न त प्रौढ नै । यसै उमेरमा उनीहरूको मानसिक र भावनात्मक परिवर्तन हुने भएकाले अभिभावक तथा घरपरिवारका अन्य सदस्य र स्कुल–कलेजका शिक्षकका साथै स्वास्थ्यकर्मीले उनीहरूको मनोवैज्ञानिक पक्षलाई ध्यानमा राखी उचित शिक्षा तथा सरसल्लाह दिनु आवश्यक छ । अन्यथा उनीहरू अज्ञानताले नराम्रा कुरामा भड्किन सक्छन् ।
किशोरावस्थामा दुव्र्यसनमा फस्ने तथा असुरक्षित यौन क्रियाकलापबाट यौनरोग लाग्ने सम्भावना धेरै हुन्छ । यसबाट बच्नु, भविष्यका लागि उचित अध्ययन गर्नु र राम्रो बानीको विकास गर्नु अति जरुरी हुन्छ ।
विवाहअघि किशोरकिशोरीहरू सकेसम्म यौनसम्पर्कमा लाग्नुहुँदैन । सुरक्षित यौनका विषयमा ज्ञान हुनुपर्छ । यतिवेला किशोरीहरू शारीरिक र मानसिक रूपले सक्षम हुँदैनन् । यस अवस्थामा किशोरीहरूले गर्भधारण गर्नाले विभिन्न समस्या आइपर्न सक्छन् । त्यसैले समयमै सतर्कता अपनाउन अभिभावकले रेखदेख गर्नुपर्दछ । यदि किशोरावस्थामै किशोरीहरूको वैवाहिक सम्बन्ध गाँसिएमा पनि २० वर्ष उमेर नपुगेसम्म गर्भवती नहुन परिवार नियोजनका अस्थायी साधनहरू अपनाउनु आमा र बच्चाको स्वास्थ्यका लागि अति आवश्यक छ ।

अभिभावकले छोरा र छोरीलाई समान व्यवहार गर्नुपर्दछ । विशेषगरी किशोरी छोरीलाई अवसर र मौका दिनुपर्दछ । साथै, खानपानमा पनि ध्यान दिनुपर्दछ ।
लागुपदार्थ तथा मादकपदार्थका बेफाइदाबारे प्रस्ट पारिदिएर यस्ता कुलतबाट टाढै राख्नुपर्छ । नचिनेका व्यक्तिले बोलाएर दिएका खानेकुरा खानुहुँदैन र एकान्तमा भेटघाट गर्नुहुँदैन ।
किशोरावस्था नै उज्ज्वल भविष्य निर्धारण गर्ने अवस्था भएकाले यही वेला जीवनोपयोगी सीपआर्जनमा विशेष ध्यान दिई यसको विकासका लागि अभिभावकले आवश्यक सहयोग र सल्लाह दिने गर्नुपर्दछ ।
जीवनोपयोगी सीप भन्नाले निर्णय गर्ने क्षमता, आइपर्ने समस्याको समाधान, नयाँ एवं सिर्जनात्मक कुराहरूको सोचाइ, भावनात्मक सम्बन्ध आदि हुन् ।
किशोरावस्थामा कुनै कुरामा निर्णय गर्ने क्षमता, आइपर्ने समस्या समाधान गर्ने तरिका, आत्मविश्वास, अर्काको भावना बुझ्नुजस्ता जीवनोपयोगी सीपहरूको कमी हुन सक्छ । जसले गर्दा भविष्यमा कठिनाइ भोग्नुपर्ने हुन्छ । यस्ता कुराहरूमा अभिभावकले उचित सहयोग र सल्लाह दिनुपर्छ । यस्ता कुराहरूमा किशोरकिशोरीको उचित मार्गदर्शन नभएमा शारीरिक र मानसिक रूपबाट उनीहरू अशक्त हुन सक्छन् र लागुऔषधजस्ता दुव्र्यसनमा फस्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय